३१ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
कला

शहरीया विद्यार्थीकाे दुःख: खेलमैदान छैन, कक्षाकोठाभित्रै घुम्छ फुटबल!

विद्यालयको घडीमा बिहानको १० बजेपछि टिनिनी घन्टी बज्छ। बालबालिका विद्यालय बाहिरै गर्नुपर्ने प्रार्थना पनि नगरी कक्षा कोठाभित्र छिर्छन्। कक्षाकोठामा बेञ्चमै उभिएर गाउँछन् उनीहरुले राष्ट्रिय गान पनि। त्यसपछि पढाइ सुरु भइहाल्छ। विद्यालय परिसरमा प्राथना गर्ने ठाउँ छैन, न त खेलमैदान नै छ।

काठमाडौं महानगरपालिका–१० मा पर्ने बुद्धनगर आधारभूत विद्यालयका बालबालिकाको दैनिकी हो यो। विद्यालयमा पठनपाठनसहित अतिरिक्त क्रियाकलापहरू गर्नुपर्नेमा उनीहरूसँग खेलमैदान भने छैन। विद्यालयमा उनीहरू खेल्ने सामग्री र खेलौना त थुप्रै छन् तर खेल मैदानको अभावमा ‘स्टोर’मै थन्किएका छन्।

कक्षा ७ मा पढ्ने सुमनलाई भविष्यमा फुटबल खेलाडी बन्ने चाहना छ। लाग्छ, विद्यार्थीको चाहना र आकांक्षा पूरा गर्न सघाउने आधार भनेको विद्यालय हो। तर विद्यालयमा मैदान नै नभएपछि उनी कहाँ फुटबल खेल्ने अभ्यास गरून् र आफ्नो  सपना पूरा गरून्? “पढाइ पनि राम्रै छ, यति मात्रै हो खेल्ने र कुद्ने ठाउँ छैन”, समुन भन्छन् “खेल्न पाए पो स्कुल आउन मन लाग्छ।”

विद्यालयमा मैदानको अभावका कारण पर्याप्त मात्रामा खेल्न र सिक्न नपाएको उनको गुनासो छ।

खेल्न त मैदानमै मन थियो, तर कहिलेकाहीं कक्षाकोठामै फुटबल भेटिन्छ। बालबालिका। मैदान नहुँदा विद्यार्थीहरू कोठामै फुटबल खेल्न बाध्य छन्।

“फुटबल खेल्ने ठाउँ छैन, कक्षाकोठामै खेल्छौं”, सोही विद्यालयका विद्यार्थी सुमन भुजेल भन्छन्, “खेल मैदान भए मज्जाले खेल्न पाइन्थ्यो तर हाम्रो विद्यालयमा मैदान छैन। हामीले त अहिलेसम्म बाहिर खेल्नै पाएका छैनौं।”

विद्यालयको दुईतले भवन त छ तर बालबालिका खेल्ने मैदान भने छैन। भलिबल, फुटबल या अन्य खेल खेल्ने कुरा त परै जाओस् अरू विद्यालयमा झैं नियमित प्रार्थना गर्ने, पिटी (शारीरिक कसरत) गर्ने जस्ता क्रियाकलाप गर्ने ठाउँ पनि यहाँ छैन। यहाँका बालबालिका स्कुलको दैनिक प्रार्थना पनि गर्न पाउँदैनन्। शारीरिक कसरत गर्ने पर्याप्त स्थानको अभावमा उनीहरुका सबै क्रियाकलाप नै कक्षाकोठाभित्रै हुने गर्दछ।

कक्षा ५ की अन्जली तिवारीलाई पनि फुटबलमै मन छ। घरमा खेल्न अभिभावकले खासै महत्त्व दिंदैनन्। यता विद्यालयमा मैदान त छैन नै, कहिलेकाहीं कक्षाकोठामै पुग्ने फुटबल पनि उनी छुन पाउँदिनन्। स्कुलको ‘हाफ छुट्टी’मा उनी ढुङ्गा बटुलेर गट्टा खेल्ने, चुङ्गी खेल्दै गर्छिन्।

हुन त स्टोरमा क्यारम्बोर्ड, ब्याडमिन्टनका सामग्री पनि छन्। तर पनि खेल्ने र सिक्ने वातावरण भने नभएको उनले सुनाइन्। “मेरो खुट्टाले अझै फुटबल छुन पाएको छैन”, उनी भन्छिन् “स्कुलमा भलिबल, फुटबल पनि थन्किएका छन् तर खेल्न पाइदैन।”

 अन्जलीकी साथी आँचल भण्डारीको गुनासो पनि उही छ। स्कुलमा खेल्ने र रमाइलो गर्ने निकै रहर हुँदा हुँदै प्रशस्त स्थानको अभावले मन खुम्चाएर बस्नुपरेको उनी बताउँछिन्।

बुद्धनगर आधारभूत विद्यालयकी गणित शिक्षक शान्ता पराजुलीले स्थानकै अभावका कारण बालबालिकाको अतिरिक्त क्रियाकलाप अभ्यास गराउन समस्या भएको स्वीकार्छिन्। उनका अनुसार खेलौनाहरू स्टोरमै थन्किएका छन्। वडा कार्यालयमा खेल मैदान उपलब्ध गराउनु भनेर निवेदन दिएको समेत उनले जानकारी दिइन्।

“खेल्दै र सिक्दै पढाउनुपर्ने बालबालिका ठाउँकै अभावले खुम्चिएका छन्”, उनले भनिन्, “वडा कार्यालयले छिट्टै नै खेल मैदानको व्यवस्थापन गर्ने भन्नुभएको छ।”

साँघुरो विद्यालयको रूपमा थापाथलीस्थित गुजेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयले पनि समस्या भोग्दै आएको छ। विद्यालय एक रोपनी तीन आना, तीन दाम जग्गामा बनेको छ। यसमा पनि १२ आना जग्गा व्यक्तिले आफ्नो भएको भन्दै अदालतमा मुद्दा परेको छ।

काँक्राको चिरोजस्तै बाँकी रहेको थोरै जग्गामा बालबालिका कोच्चिएर खेल्छन्। साँघुरो ठाउँमा खेल्दा धेरै पटक अरू बालबालिकालाई बलले चोट लागेर दुर्घटना समेत भएको बालबालिका बताउँछन्। पर्खालबाट बल उछिट्टिएर बाटोमा पुग्दा पर्खालबाटै मान्छे आएपछि बल पाउला भन्दै पर्खिरहनुपर्ने अवस्था उनीहरूसँग छ। “पर्खाल बाहिर बल जान्छ, कोही मान्छे आउलान् र बल दिन्छन् कि भन्दै कुरेर बस्छौं”, यहाँका विद्यार्थी राहुल राई बताउँछन्। “मज्जाले खेल्ने र उफ्रिने ठाउँ नै छैन।”

विवादमा परेको जग्गामा ढुङ्गा र इट्टा छन्। कहिलेकाहीं बालबालिका त्यहीँ पुगेर ठोकिन्छन् र घाइते पनि हुने गरेका छन्। विवादित जग्गाका कारण मैदान सफा र व्यवस्थित बनाउन नसकेको गुजेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयकी प्रधानाध्यापक नीता पौडेलले बताइन्।

काठमाडौं महानगरपालिकाले बालमैत्री विद्यालय बनाउन, खेलकुद र अतिरिक्त क्रियाकलापमा बनाउन प्रोत्साहनस्वरूप योजनाहरू ल्याएको भए पनि विद्यालयको संरचना बालमैत्री नहुँदा पूर्ण रूपमा लागू गर्न नसकिएको उनले बताइन्।

विवादित जग्गा मात्रै विद्यालयको नाममा बनाउन सके मैदान सुन्दर र व्यवस्थित बनाउन सकिने उनले सुनाइन्। उनका अनुसार २०५७ सालदेखि नै विद्यालयको जग्गा अदालतमा मुद्दा चलिरहेको छ। पटकपटक नगरपालिकालाई जानकारी गराउँदा समेत विद्यालयमा जग्गा ल्याउनुपर्नेमा नगरपालिकाले खासै चासो देखाएको प्रधानाध्यापक पौडेलले बताइन्।

मध्यबानेश्वरस्थित रत्न राज्यलक्ष्मी उच्च माध्यमिक विद्यालयका विद्यार्थीले शिक्षक समक्ष खेल मैदानको अभाव भएको गुनासो गर्दै आएको पनि धेरै भयो। विद्यालयमा भएको एउटा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानाध्यापक र वडाध्यक्ष समक्ष खेल्ने मैदान उपलब्ध गराइदिनुपर्ने माग राखेका थिए।

कक्षा ९ की विद्यार्थी क्रिष्टिना खड्काले काठमाडौं महानगरपालिका–१० का अध्यक्ष रामकुमार केसीसमक्ष खेलमैदान साँघुरो भएको र खेल्ने वातावरण मिलाइदिन अनुरोध गरेकी थिइन्। खड्काले सोमबार आफ्नै स्कुलको हलभित्र वडाध्यक्षलाई  साेधेकी हुन्। विद्यालयमा विद्यार्थीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएकाले विद्यालयको खेल मैदान साँघुरो भएको हो।

दुई हजारभन्दा बढी विद्यार्थी रहेको विद्यालयमा खुलेर खेल्ने मैदन साँघुरो हुँदै गएको विद्यालयका प्रधानाध्यापक रामाशिष यादवले स्वीकारे। काठमाडौं महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसीले विद्यार्थीलाई खेल्न जरुरी रहेको बताउँदै चाँडै खेलमैदानको बनाउने योजना रहेको सुनाए।

“काठमाडौंका अधिकांश विद्यालयमा खेलमैदानको अभाव छ”, उनले भने, “खेलबिनाको बालविकास हुन सक्दैन। हामीले खेलमैदान उपलब्ध गराउने योजनामा छौं।”

खेलमैदान बिनाका स्कुलमा खेल्दैमा सरकारको नीति असफल स्थानीय तहदेखि सङ्घीय शिक्षा नीतिसम्म बालमैत्री विद्यालय हुन खेलकुद मैदानको अवस्था र जग्गा (रोपनी वा विगाहमा) अनिवार्य हुनुपर्ने उल्लेख छ। काठमाडाैं महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ मा पनि विद्यालयका अनिवार्य पूर्वाधार शर्तमा खेलकुद मैदान अनिवार्य हुनुपर्ने बताइएको छ।

खेलकुद र त्यसलाई आवश्यक पर्ने पूर्वाधारसहितको ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ भन्ने नाराका साथ शिक्षाको गुणस्तर अभिवृद्धि गर्न महानगर गौरवको योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ। सङ्घीय र स्थानीय शिक्षा नीतिमा राखिएका बालमैत्री बुँदाहरूमध्ये खेलमैदान व्यवस्थापन गर्न चुनौती नै थपिएको शिक्षकहरू बताउँछन्।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्थानीय तहमा निर्वाचन भएको वर्षदेखि नै विद्यालयलाई बालमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। महानगरपालिकाको २०८०/ ८१ नीति तथा कार्यक्रममा नै हेर्ने हो भने पनि खेलकुदमा विद्यार्थीलाई जोड दिइएको छ।

नीति तथा कार्यक्रममा शिक्षा नीतितर्फ महानगरपालिकाले भनेको छ, “सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नसक्ने क्षमताको विकास गर्न आधारभूत प्राविधिक ज्ञान र सीपका साथै तन्दुरुस्त जीवनका लागि खेलकुद र त्यसलाई आवश्यक पर्ने पूर्वाधारसहितको गरी खाने शिक्षा, महानगरको इच्छा भन्ने नाराका साथ शिक्षाको गुणस्तर अभिवृद्धि गर्न महानगर गौरवको योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ।”

गुजेश्वरी विद्यालयकी प्रधानाध्यापक नीति पौडेलका अनुसार बालमैत्री विद्यालय बनाउन बजेट आएको भए पनि भौतिक संरचनाको जटिलताका कारण व्यवस्थापन गर्न सकिएको छैन।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका शाखा अधिकृत उषा लामिछानेका अनुसार बालबालिकाको व्यक्तित्व विकासका लागि अविनार्य खेलकुद हुनुपर्छ। शैक्षिक पाठ्यक्रममा नै कक्षा १ देखि योग सिकाउने भनिएको छ। विद्यार्थी अधिकांश समय विद्यालयमै बिताउने हुँदा उनीहरूको शारीरिक स्वास्थ्यको लागि खेलकुद अत्यावश्यक रहेको उनले बताइन्।

कक्षा १ देखि नै योगका तीन आशन जस्तै, सब आसन, सुखासन र शिशु आसन सिकाउने शैक्षिक पाठ्यक्रममा उल्लेख भए पनि विद्यालयमा पूर्ण रूपमा लागू नभएको उनले सुनाइन्। “खेल्ने पूर्वाधार छैन, अतिरिक्त क्रियाकलाप व्यावहारिक बन्न सकेको छैन”, उनले भनिन्,“यसमा स्थानीय तहले विशेष ध्यान दिनुपर्छ।”

शिक्षाविद् विद्यानाथ कोइरालाले अतिरिक्त क्रियाकलापबिना बालबालिकाको शारीरिक र मानसिक वृद्धिमा असर पर्छ। शिक्षा नीतिको आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्नु नीतिगत समस्या शहरीकरणको समस्या भएको बताउँछन्। शहरमा भूमिको अभाव छ। तर, यसो भन्दैमा कोठामै खुम्चिएका बालबालिकालाई विद्यालयमा समेत खुम्चाएर राख्नु उनीहरूको अधिकार माथिको हनन हो।

“जुन विद्यालयमा प्रशस्त खेल मैदान छैन, त्यस्तो विद्यालयका बालबालिकालाई खुला मैदानमा खेल्ने अवसर मिलाउनुपर्छ,” उनले भने,“नभए, हाम्रा शहर पढ्ने बालबालिका कोठा पनि बन्द स्कुलमा पनि बन्द भएर बस्नु बाध्य हुन्छन्। यसले उनीहरूको सिर्जनात्मक क्षमता वृद्धि हुन सक्दैन।”

सङ्घीय शिक्षा नियमावली २०५९ को परिच्छद १४ अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन गर्नु पर्ने नियमावलीमा उल्लेख छ। विद्यालयको विद्यार्थीहरूको सिर्जनात्मक प्रतिभाको विकासको लागि विद्यालयमा अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन गर्नु पर्ने उल्लेख छ।

यसमा भनिएको छ, “अतिरिक्त क्रियाकलाप कार्यक्रममा शिक्षक तथा विद्यार्थी दुवैले भाग लिनुपर्नेछ।”

विद्यालयले अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन गर्दा विभिन्न बुँदा राखिएको छ। यसअन्तर्गत विद्यालयमा राष्ट्रियताको भावना जगाउने, मनोरञ्जनात्मक तथा राष्ट्रिय संस्कृति वा कलाहरूप्रति अभिरुचि बढाउने किसिमका नाटक, नृत्य र लोकसङ्गीतको अभ्यास तथा प्रतियोगिता गर्ने, विद्यार्थीको शारीरिक विकासको लागि विभिन्न  खेलकुद नियमित रूपमा अभ्यास र सञ्चालन गर्ने तथा विद्यार्थीहरूमा सामाजिक सेवा र वातावरण संरक्षणप्रति चेतना बढाउने क्रियाकलाप गर्नुपर्छ।

त्यस्तै विद्यार्थीहरूलाई शिक्षण संस्था, सामुदायिकस्थल वा त्यस्तै अन्य स्थानको सरसफाइ र संरक्षण, विद्यालय बगैंचा, करेसाबारीको निर्माण, वृक्षरोपण र साक्षरताजस्ता कार्यक्रममा संलग्न गराउन प्रोत्साहन गर्ने, राष्ट्रिय, अन्तर्राष्ट्रिय, ऐतिहासिक, सामाजिक, धार्मिक पर्वको महत्त्व तथा नैतिकता सम्बन्धमा प्रवचन गर्न लगाउने, स्काउट, जुनियर रेडक्रसजस्ता संस्थाका एकाई खोल्न प्रोत्साहन गर्ने व्यवस्था राखिएको छ।  

प्रकाशित: २९ जेष्ठ २०८१ १३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App