१९ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

बाटो गाउँ आयो, गाउँ सहर पस्यो!

निर्देशक नवीन सुब्बाले एक दशकपछि ‘कमब्याक’ गरेको ‘गाउँ आएको बाटो’ फिल्म शुक्रबार रिलिज हुँदैछ। पछिल्लो समय नेपाली फिल्ममा गाउँका कथाले प्राथमिकता पाइरहेका छन्। ‘गाउँ आएको बाटो’ पनि गाउँमा विकास पुगेपछि त्यसल सम्बन्धमा ल्याएको उतारचढामा आधारित छ।

‘नुमाफुङ’, ‘खाङ्ग्री’, ‘दलन’, ‘गुडबाई काठमाडौं’, ‘सिंहदरबार’ जस्ता फिल्म तथा टेलिसिरियल निर्देशन गरिसकेका सुब्बालाई गाउँको कथा प्रदान गरेर नेपाली फिल्ममा लामो अन्तरालपछि कमब्याक गराउन सफल लेखक महेश राई ‘गाउँ आएको बाटो’ फिल्म आफ्नो व्यक्तिगत भोगाइ र अनुभवमा आधारित रहेको सुनाउँछन्।

‘आदिवासी समुदायको परम्परागत प्रणालीमा आधारित गाउँमा विकासका क्रममा मोटरेवल सडक पुगेपछि त्यसले बाबु–छोराबीचको सम्बन्धमा ल्याएको उतारचढावको कथा यस फिल्ममा छ,’ उनी भन्छन्, ‘२०६२/६३ को आन्दोलनपछि संघीयता, अधिकार र विकासका कुराले प्राथमिकता पाए। भौतिक पूर्वाधार निर्माण हुनुलाई विकास भनेर व्याख्या गरियो। भौतिक पूर्वाधार निर्माण हुनु नै विकास हो भन्ने बुझाइ रह्यो।’

व्यक्तिगत जीवनसँग जोडिएको कथासमेत भएकाले निरन्तर रूपमा उनी ७–८ वर्षसम्म यसको ‘स्क्रिप्ट’मा लागिरहे।

हाल ‘भिजुअल एन्थ्रोपोलोजी’ अन्तर्गत ‘इथ्नोग्राफिक’ फिल्ममाथि त्रिभुवन विश्वविद्यालयबाट एमफिल गरिरहेका उनी निर्देशक सुब्बाले ‘गाउँ आएको बाटो’ स्क्रिप्टमाथि काम नगरे पनि फिल्मचाहिँ बन्ने बताएको स्मरण गर्छन् ‘फिल्म बने पनि यो लेभलको चाहिँ बन्दैन थियो,’ राई स्मरण गर्छन्, ‘उहाँले यो स्क्रिप्टलाई अघि बढाउनुपर्छ भनेर नभनेको भए यक्तिको बन्दैन्थ्यो। उहाँलाई यसको स्क्रिप्टले कमब्याक गरायो। मलाई पनि लेखनमा अघि बढ्न प्रोत्साहन मिल्यो। उहाँले गाइड गर्नुहुन्थ्यो। म लेख्दै जान्थें।’

कोरोना महामारी सुरुताका झन्डै ११औं खेस्रामा ‘गाउँ आएको बाटो’ को स्क्रिप्ट फाइनल भएको थियो।

सन् २०१० तिर ‘गाउँ आएको बाटो’ फिल्मको कथा लेख्न सुरू गर्दा उनी मानवशास्त्रमा स्नातकोत्तर पढ्दै थिए। ‘विकास मानवशास्त्रले विकासमाथि कट्टरपन्थी आलोचना गरेको छ,’ राईले भने, ‘त्यसले मलाई ट्रिगर गरिरहेको थियो। त्यहीक्रममा मेरो गाउँ भोजपुरमा सडक पुग्यो। त्यहाँका स्थानीयले उत्सव मनाए। त्यहाँ बसोबास गर्ने माइला पात्रप्रति यो फिल्म समर्पित छ।’

 राईका अनुसार सानो झुपडी भएका माइलाको जीवनशैली रमाइलो थियो। राई भन्छन्, ‘उनका छोरा मभन्दा केही जेठा थिए। छोरो हुर्किएपछि उनी सिलोङतिर भासिए। गाउँमा सडक र बत्ती पुगेपछि हस्तकलामा माहिर माइलाको जीवनमा असन्तुलन आयो। सडक र बत्ती एकसाथ गाउँमा पुगेपछि उनीजस्ता मान्छेका लागि के भयो भन्ने कुरामा केन्द्रित रहेर कथा लेख्न लागिपरेको थिएँ। समय परिवर्तन भइरहेको छ, अवस्थाहरू बदलिएका छन्।’

सामुदायिक लगानीमा बनेको ‘गाउँ आएको बाटो’ टोरोन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सव, बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सव, मुम्बई फिल्म महोत्सव र गोटेवर्ग फिल्म महोत्सवमा प्रदर्शन भइसकेको छ।

‘राजधानी काठमाडौं आएपछि द्वन्द्वका कारण गाउँ फर्कन समस्या थियो,’ उनले स्मरण गरे, ‘राजधानी बसाईंको १० वर्षपछि बल्ल म गाउँ गएको थिएँ। २०६२/६३ सालको आन्दोलनपछि गाउँ फर्कंदा मेरो स्मृतिमा ताजा रहेको गाउँ फेरिएको थियो। मैले देखेका साना नानीहरू जवान भइसकेका थिए।

 मेरा संगतीहरू बुबाआमा भइसकेका थिए। मानिसको व्यवहार फेरिइसकेको थियो। समाज परिवर्तन भइसकेको थियो। अर्मापर्मा संस्कृति हराइसकेको थियो। स्थानीयले खेती गर्नुभन्दा बजारबाट किनेर खान थालिसकेका थिए। प्रकृतिमाथिको दोहन अत्यधिक देखिन्थ्यो।’ उनी २०५८ सालताका राजधानी काठमाडौं पसेका थिए।

गाउँमा गाडी पुगेपछि स्थानीयले श्रम गर्न छाडेको विषयले उनलाई चिन्तित र गम्भीर बनायो। ‘खेती गर्ने संस्कृतिले मानिसलाई स्वस्थ राख्छ,’ उनले भने, ‘वैदेशिक रोजगारीको आम्दानी र गाडी एकसाथ गाउँ पुग्दा मानिस बिलासी भए। जीवनशैलीदेखि सम्बन्ध र संस्कृति परिवर्तन हुँदै गए।’

उनका अनुसार व्यक्तिगत विलासितामा रेमिट्यान्स खर्च भइरहेको छ। ‘मैले गाउँमा सडक र गाडी पुग्नु गलत हो भन्ने खोजेको चाहिँ होइन,’ उनले भने, ‘सडक र गाडी पुगेपछिको अर्को पाटो हेर्न भुल्यौं भने हाम्रा लागि घातक हुनसक्छ।’

विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी भइसकेको ‘गाउँ आएको बाटो’ फिल्म राईले भने हेर्न पाएका छैनन्। निर्देशक सुब्बालाई फिल्मको स्क्रिप्ट बुझाएपछि ‘द डेथ अफ दि अथर’ भन्ने सिद्धान्त पछ्याउँदै उनी फिल्मको कुनै गतिविधिमा संलग्न भएनन्।

उनका अनुसार लेखक बुझेपछि मात्र उसले लेखेको कथा बुझ्न सकिन्छ। ‘लेखक नबुझी उसले लेखेको कथा कसरी बुझ्न सकिन्छ?’

उनी प्रश्न गर्छन्, ‘अरू निर्देशकसँग भए यस विषयमा प्रतिवाद गर्थे। निर्देशक सुब्बाले फिल्म बनाउनु नै महत्त्वपूर्ण कुरा हो। उहाँसँग काम गर्न अवसर पाउनु मेरा लागि ठुलो कुरा हो। हरेक स्क्रिप्टको कन्टेन्ट र फर्म फरक हुन्छ। फर्मलाई कन्टेन्टले गाइड गर्छ भन्ने कुरामा धेरैले ध्यान नदिएको पाएको छु।’

लेखक र निर्देशकले नेपाली समाजका विभिन्न आयामलाई बुझ्न नसकेको तर्क उनको छ। ‘अहिले नेपाली फिल्ममा राजधानीका मध्यम वर्गीय व्यक्तिहरू हाबी छन्,’ उनले भने, ‘केही लेखक र निर्देशकले राजधानीलाई मात्र नेपाली समाज भनेर बुझेका छन्। समाज भनेको काठमाडौं मात्र होइन। समाज बुझ्न गाउँगाउँका कथा खोजिनुपर्छ। फिल्ममेकरले जबसम्म गाउँगाउँ पुगेर कथा खोज्दैन तबसम्म नयाँ कथाहरू नेपाली फिल्ममा आउन सक्दैनन्।’

भारतीय सेनामा जागिरे भएका बुबासँग निकट सम्बन्धको अनुभव गर्न नपाएका राई ‘गाउँ आएको बाटो’ ले लिने र दिनेबीचको अन्तर, सम्बन्धहरूप्रतिको फरकपन र विकाससम्बन्धी बुझाइमा पुनर्विचार गर्न सन्देश दिएको छ।

राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको ‘गाउँ आएको बाटो’ले गाउँमा सडक र बाटो पुगेपछि बाबु–छोराबीचको सम्बन्धमा देखापरेको उतारचढाव चित्रित गरेको छ।

अमोद राईले सामुदायिक लगानीको अवधारणामार्फत निर्माण गरेको ‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमिन्त्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ।

अमेरिकी जोस हेरम सिनेमाटोग्राफर रहेको यो फिल्ममा हङकङकी हाइडी लीको संगीत छ। यसको सम्पादक क्वान पुन लुङ ताइवानी हुन्। यो फिल्म भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन गरिएको हो। यस फिल्मले बुधबार राजधानीमा प्रिमियर सोकाजना गरेको थियो।

प्रकाशित: २५ जेष्ठ २०८१ ०८:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App