२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

पछिल्लो दशकका 'महानायक' दयाहाङ राई

५० र ६० को दशकको मध्यसम्म नेपाली चलचित्र क्षेत्रको पुरा भारी नायक राजेश हमालले बोकेका थिए। चलचित्रको गुणस्तर जस्तोभए पनि नेपाली चलचित्रलाई त्यो समय एक विन्दुबाट अर्को विन्दुसम्म पु¥याउने हकको दाबी गर्नसक्छन् महानायको समेत उपमा पाएका राजेश हमालले। त्यस समय हमाल यती व्यस्त थिए कि एकै दिनमै तीन–तीन चलचित्रको अभिनयमा उनी काम गरिरहेका हुन्थे। ठीक उस्तै किसिमको अवस्थालाई डोर्‍याइ रहेका छन् अभिनेता दयाहाङ राईले ७० को दशक र ८० को दशकको सुरुमा ।  

भन्ने नै हो भने दयाहाङ राईका प्रत्येक महिना अहिले नयाँ चलचित्र बजारमा आइरहेका हुन्छन्। कुनै न कुनै चलचित्र वर्षैभरी सिनेमाघरमा प्रदर्शनमै हुन्छन्। गतवर्ष अर्थात् २०८० सालमा दयाहाङ बाह्रै महिना सिनेमा घरका पर्दामा छाइरहे। २०८० को बैशाख १ गते ‘जारी’लाई प्रदर्शनको पहिलो फिल्म मान्ने हो भने २०८१ को जेठ ‘मनसरा’ सम्म आउँदा १३ महिनामा ११ चलचित्र पदर्शनमा आइसकेका छन्। ‘जारी’ र ‘विहेपास’ तथा ‘दायारानी’ र ‘हात्तीछाप’ सँगै प्रदर्शनमा आएपछि दयाहाङ राईले दयाहाङ राईसँगै तीब्र प्रतिस्पर्धा गरे । त्यसको नाफा वा नोक्सानको हिसाब उनै गरुन। तर नेपाली चलचित्रलाई चलायमान बनाउन उनको भूमिका महत्त्वपूर्ण छ।

दयाहाङका लागि चलचित्र भनेको निर्देशकको सुन्दर परिकल्पना हो। एक छुट्टै संसार निर्माण गरी आफ्नो समय वा आफूले भोगी आएको एक आनन्दको परिकल्पनामा लगेर मानिसलाई मानिससँग अन्तरसंवाद गर्ने माध्यमका रूपमा चलचित्रलाई परिभाषित गर्छन् दयाहाङ।  

उसो भए चलचित्र कस्तो हुनुपर्छ? हाम्रो प्रश्नमा एकछिन अडिए दयाहाङ, ‘यस्तै हुनुपर्छ भन्ने छैन। निर्देशकले जस्तो सोच्नुहुन्छ त्यस्तै हो’, समाजको ऐना, कल्पनाको प्रस्तुति, मनोरञ्जन मात्रैको कथा, वा इतिहास देखाउने, या कुनै अरू? प्रश्नको जवाफमा भन्छन्, ‘यी सबैथोक पर्छन्। कल्पना बेगर पनि फिल्म बन्दैन, समाज बिना पनि सम्भव छैन, इतिहास त चाहिन्छ नै। चलचित्रको कथा सृजना गर्दा त्यसभित्र सबै थोक हुन्छ।’  

वर्षभरी व्यस्त हुने कलाकारमध्येमा परेपनि दयाहाङ पनि आरोपबाट मुक्त भने हुनसकेका छैनन्। एउटै क्यारेक्टर, उस्तै शैली, लगभग मिल्दोजुल्दो कथावस्तु। नियमित दर्शक त वाक्क नै हुन्छन् होला? प्रश्न भुईमा झर्न नपाउँदै आफ्नै पाराले दयाहाङ भन्छन्, ‘एउटै कथा वस्तु र एकै चरित्र छैनहोला। दाबी गरेरै भन्छु। देख्ने बेला देखिए पनि । पारिवारक कथा भन्नाले बुबाआमा, छोराछोरी वा श्रीमती छोरा वा आमाछोरा यो कथा त एउटै भएन। परिवार त परिवारिक नै हो नि’, उदाहरण प्रस्तुत गर्दै आरोपबाट मुक्त हुन चाहन्छन् र भन्छन्, ‘जारी भन्ने फिल्म लिम्बुू समुदायको एक पात्रको हो, पछिल्लो समय आउँदै गरेको चलचित्र ‘गाउँ आएको बाटो’ मा राई समुदायको एक पात्र छ। देखिदा व्यक्ति त म एउटै हो। मैले नै गरेको विभिन्न चरित्रहरू छन्। मलाई लाग्छ एउटै कथा पनि छैन एउटै चरित्र पनि होइन।’

‘गाउँ आएको बाटो’ दयाहाङको पछिल्लो समय रिलिजका लागि कुरिरहेको चलचित्र हो। २५ जेठबाट प्रदर्शनमा आउने यो चलचित्रमा बाबु–छोराको सम्बन्ध देखाउन खोजिएको टिजर र टेलरले बयान गर्छ। नवीन सुब्बा, निर्देशित यो चलचित्रमा विकाशका हिसाबले सडक पूर्वाधार समेत नभएको नेपालको कुनै गाउँमा सडक पुगेपछि परिवार वा बुबा र छोराको सम्बन्धमा आएका विभिन्न किसिमका उतारचढावलाई देखाउन खोजेको छ। गाउँमा बाटोसँगै यातायातको पहुँचले हुने सुविधा र त्योसँगै आउने विकृति समेतलाई चलचित्रमा उतार्न खोजेको नायक दयाहाङ प्रष्ट पार्छन्।

‘गाउँ आएको बाटो’ क्यानडाको ‘टोरोन्टो’, दक्षिण कोरियाको ‘बुसान’, ब्राजिलको ‘साउ पाउलो’, भारतको ‘मुम्बई’ स्विडेनको ‘गोटेबर्ग’, चीनको ‘बेइजिङ’लगायतका विश्वका २० भन्दा बढी फिल्म फेस्टिवलमा प्रदर्शन भइसकेको छ। निर्माता र निर्देशकको सोच अनुसार यो चलचित्रलाई नेपालमा मात्रै सिमित नराखी विश्वव्यापी प्रदर्शन गरेको दयाहाङको बुझाइ छ।  

‘हामीले हाम्रो बजारलाई मात्रै प्रदर्शन गरेर, रमाएर मात्रै पुग्दैन। विश्व बजारमा पनि हाम्रो फिल्म पुग्नुपर्छ र विश्व बजारले पनि हाम्रो फिल्मलाई हेर्नुपर्छ। भन्ने अवधारणा बनाएर नै उहाँहरूले चलचित्रको निर्माण गर्नुभएको हो’, उनी थप्छन्, ‘त्यसैलाई मध्यनजर गरेर अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (चलचित्र महोत्सव) मा हाम्रो चलचित्र अफिसियल्ली छनोट भयो र त्यो प्रदर्शनको मौका मिल्यो।’ कार्यव्यस्तताले टोरोन्टो मात्रै जान पाएको बताउँदै दयाहाङ भन्छन्, ‘दर्शक चलचित्र हेरेर भावुक हुनुभयो, फिल्म मेकर, समिक्षकले निकै ठूलो तारिफ गरे। मैले नसोचेको प्रतिक्रिया पाए।’

वर्षभरी व्यस्त रहिरहने अभिनेताका एक्ला दाबेदार हुन् दयाहाङ राई।  सबैभन्दा व्यस्त हुने कलाकार दयाहाङ हुने भने कसै अरूले दाबी गर्ने वाला छैन। व्यस्तसँगै उनका चलचित्रले नेपाली चलचित्रको बजार पनि मज्जाले चलाएका छन्। त्यसो भए नेपाली चलचित्रप्रति दयाहाङले न्याय गरेकै छ त? ‘कोसिस गरिरहेको छु। न्याय केलाई भन्ने कुरा नि हुन्छ होला। योजना र सपना अनुसार अलिअलि भइरहेको छ’, विगत सम्झन्छन्, ‘कुनै समय फिल्म गर्छु गर्ने भनेर आउँदा बजार एक्दमै सुस्त भइसकेको थियो। लुट फिल्मको रिलिजताका त्यसको दुई साता अघि नेपाली चलचित्रको लागि संकटकालका लागि तयारी भइरहेको थियो। नेपाली चलचित्र कसरी बनाउने, किन बनाउने, कसरी प्रदर्शन गर्ने हाहाकारी थियो। किनभने त्यति बेला दर्शकको खडेरी थियो। त्यो समय हाम्रो लुट चलचित्र प्रदर्शनमा आयो।’  

लुटले त्यतिबेला नेपाली सिनेमा बजारमा तहल्का पिट्यो। निर्माताले पैसाका बोरा बोके। सिनेमा घरलाई बेस्सरी ततायो। निदाएका दर्शक आँखा मिच्दै हलसम्म पुगे । सकारात्मक रूपमा अर्थ लगाउने हो भने लुटले लुट नै मचायो। यसअघि देशबाहिर पार्टी प्यालेस र सानो स्केलमा मात्र प्रदर्शन गरिने चलचित्रलाई विदेशी सिनेमा घरका पर्दामा उत्रार्न सफल भयो ‘लुट’। त्यसकै देन भन्नुपर्छ नेपाली सिनेक्षेत्रले संकटकालको सामना पनि गर्नु परेन र डायसपोरा मार्केटमा पनि स्थान बनाउन सक्यो।  

त्यसपछि प्रदर्शनमा ल्याइएको चलचित्र थियो ‘कबड्डी’। नियमित भन्दै फरक कथा पस्किनु र डायसपोरा मार्केटलाई थप विस्तार गर्ने सोचले ‘कबड्ड’ को परिकल्पना गरेको अभिनेता दयाहाङ स्मरण गर्छन्। त्यो अनुसार भयो पनि। पछिल्लो समय मुलुक भित्र राम्रो आम्दानी गर्न नसकेका चलचित्रले मुलुकबाटै भएपनि लगानी उठाउने मात्रै नभई नाफा समेत कमाउन पाएका छन्। यसकारण पनि आफूले नेपाली चलचित्र क्षेत्रलाई न्याय गर्न सकेको अनुभुति हुनेगरेको दयाहाङ बताउँछन्।

आफूले गरेको काम धेरैका सामु पुगोस् भन्ने कसलाई लाग्दैन र? फिल्म बनाउँदै जाँदा आफूले अभिनय गरेको चलचित्र नेपालमा मात्रै सीमित नभई विश्वव्यापी प्रदर्शन होस् भन्ने दयाहाङलाई पनि लाग्दो रहेछ। यसको सुरुवात नवीन सुब्बा, छिरिङ् सुब्बा वा दिपेन्द्र गौचनले गरिरहँदा सँगै दयाहाङ पनि सपना पालेर बसेका थिए। मीन भाम वा दीपक रौनियार पनि यसकै तयारीमा थिए। पछि दीपकसँगै सहकार्य गरेर निर्माण गरेको चलचित्र ‘हाइवे’ वर्लिङ फिल्म फेस्टिवलमा वर्ल्ड प्रिमियर समेत गरे। ‘ह्वाइटसन’ भेनिसमा प्रदर्शन गरियो। गाउँ आएको बाटो टोरन्टोमा भयो। उनका चलचित्रले बक्स अफिसमा करोड कलेक्सन समेत गरिरहेकै छन्। तर यतीमै दयाहाङ चित्त बुझाएर बसेका भने छैनन्।

गतवर्ष १३ महिनामा ११ चलचित्रको समीक्षा गर्दा ‘निरफूल’, ‘हात्तीछाप’ र ‘रंगेली’ बक्स अफिसमा कमजोर साबित भए। सृजनाका हिसाबले अब्बल नैै भएपनि बजारमा राम्रो प्रतिक्रिया पाएनन् र घाटाको व्यापार भएको स्वयम दयाहाङ बताउँछन्। तर बक्स अफिसको कमाइ मात्रै चलचित्र मापकको सूचक नभएको उनको बुझाई छ।  

‘आजको बक्स अफिसका लागि मात्रै फिल्म बन्दैन। मैले १५-२० वर्ष अगाडि गरेको वा आज गरेको १५-२० वर्ष पछाडि ५० वर्ष पछि पनि फिल्मको त्यति नै महत्त्व हुन्छ होला। भविष्यमा आफूले आफैलाई समीक्षा गरौला’, उनी थप्छन्, ‘आजको मितिसम्म मैले गरिरहेको फिल्महरूलाई हेर्दा सृजनात्मक पक्ष र व्यावसायिक दुवै हिसाबले सन्तुष्ट छु।  

दयाहाङ राई कस्तो अभिनेता? भर्सटायल वा कुनै एक क्षेत्रमा सीमित नायक? दयाहाङ भन्छन्, ‘म कोशिस मन पराउने नायक हो। विविध चरित्रमा काम गर्ने कोशिस गर्छु। घरी थकाली, घरी गुरुङ भएर काम गरेको छु, घरी मगर भएर घरी राई भएर, घरी लिम्बू भएर कोशिस त गरिरहेकै छु’, पुनारो आरोपलाई स्मरण गरेहोलान्, ‘चलचित्रमा एउटै देखिनु एउटा कुरा होला। तर त्यो जुन समुदाय, परिवार, परिवेश वा पात्रको मनोविज्ञानसम्म पुग्नु मुख्य कुरा हो। त्यहाँ पुग्ने कोशिस गर्छु। त्यो हिसाबले म आफूलाई भर्सट्रायल त भन्न सक्दिन तर विविधता ल्याउन कोशिस गर्ने एक अभिनेता चाही हो। प्रफेन्ट केही पनि हुन्छ भन्ने लाग्दैन।’

दयाहाङको पहिलो चलचित्र ‘अनागरिक’ हो। जुन सन् २००६ मा प्रदर्शनमा आएको थिया। यसरी हेर्दा नेपाली चलचित्र क्षेत्रमा करिब दुई दशकको इतिहास बोकेका अभिनेता दयाहाङ नेपाली चलचित्र क्षेत्रले स्वतन्त्र रूपमा काम गर्न नसकेको स्वीकार छन्। नेपालका निर्माता वा निर्देशकले स्वतन्त्र भएर काम गर्न नसक्दा त्यसको दबाब कलाकारलाई समेत परेको दयाहाङको तितो अनुभव छ।  

च्लचित्र निर्माणका क्रममा निर्देशकलाई निर्माताले दबाब दिने गरेको गुनासो सुन्ने गरेको दयाहाङको भनाइ छ । प्रदर्शनको समयसीमा, छायांकनमा पनि दबाब, समयसीमा तोक्ने, जस्ता कुराले दबाब सृजना हुनेगरेको उनको अनुभव छ। त्यसले गर्दा सृजना भन्दा पनि क्याल्कुलेटिभ हुने उनी बताउँन्।  

गुणस्तरीय चलचित्र निर्माण गर्ने हो भने अब सोच्ने बेला अबेला भइसक्यो। यो शुभेच्छा आमनेपाली चलचित्र शुभेच्छुकको हो। यसमा दयाहाङ पनि समर्थन गर्छन्, चलचित्र निर्माण अघि पूर्व तयारी गर्न जरुरी रहेको उनी देख्छन्। कलाकारले आफ्नो तयारीका लागि समय दिनुपर्ने र निर्देशकले पनि स्वतन्त्र भएर काम गर्न पाउनुपर्ने उनको बुझाइ छ।  

सिनेमाघरका पर्दामा नायकका रूपमा देखिने दयाहाङ दुई छोराका पिता पनि हुन्। ११ र डेढ वर्षका दुई छोरा छन् दयाहाङका। अरूकालागि अभिनेता भएपनि घरमा उनले पिताको भूमिका वास्तविक रूपमै निभाउनु पर्छ। तर परिवारलाई दिनुपर्ने समय दिन नसकेको दयाहाङको स्वीकारोक्ति छ। अरूबेला निर्धक्क बोलिरहेका दयाहाङ परिवार र छोराको कुराले भावुक भए र मलिन भएर भने, ‘नेपाली समाज संयुक्त परिवारमै बाँचेका छौं, एकअर्काका आडभरोसामै बाचिरहेका छौं। त्यो हिसाबले म कठोर र  स्वार्थी भएर आफ्नो काममा अगाडि बढेको छु। जुन हिसाबले हुनुपर्ने हो परिवार, इष्टमित्र, नातागोतासम्म मैले समय दिन पाएको छैन। दिनुपर्ने थियो भन्ने त लाग्छ। महशुस हुन्छ।’ घरबाट सिधै गुनासो नआए पनि महशुस गर्ने गरेको उनी बताउँछन्। तर परिवारले आफ्नो कामलाई ठूलो सपोर्ट गरेको र आफ्नो व्यस्तता बुझेको उनले बताए।

करिब पाँच दर्जन चलचित्रमा आफ्नो अभिनय प्रस्तुत गरिसकेका अभिनेता दयाहाङको कुनै गज्जबको सपना भने छैन। चलचित्रमा डाइलक दिए जस्तै उनी भन्छन्, ‘धेरै ठूलो सपना पालेर हिड्ने मान्छे म होइन। जो चाँही नपुगेर भोलि बीचमै अइठन परौ जस्तो खालको पनि सोच्दैन। जे होस यति चाँही छ म काम गरिरहन्छु। शारीरिक र मानसिक दुवै हिसाबले साथ दिउँजेल काम गर्नेछु’, गर्वका साथ भन्छन्, ‘नेपाली फिल्म बजार विश्वमै स्थापित भएको हेर्ने मेरो सपना छ।’

कुनै समय नेपालमा राम्रो चर्चा बटुलेका कलाकार अहिले सिनेजगतबाटै लोपभएको अवस्थामा दयाहाङलाई एउटा प्रश्न नगरी भएन। विदेश पलायन बारे के छ बिचार? ‘त्यो त व्यक्तिगत आ–आफ्नो सोच हो। अहिले मेरो दिमागमा छैन’, तर उनी पनि आशंकामै रहेछन्, ‘कुनै दिन त्यस्तो सोच पनि आउन सक्ला नि त। शारीरिक वा मानसिक रूपमा थाकिला। थाके पछि गर्ने भनेकोे त विसराम नै हो। तर विसराम कस्तो प्रकारको गर्ने, त्यो चाहि थाकेकै दिन भनौला। सोचौला।’

 

प्रकाशित: ११ जेष्ठ २०८१ १८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App