१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

सरुभक्तलाई हेमराज पहारी स्मृति पुरस्कार

हेमराज पहारी स्मृति पुरस्कार-२०८० बाट साहित्यकार सरुभक्तलाई १ लाख राशिको पुरस्कार प्रदान गर्ने भएको छ। बर्सेनि प्रदान गरिंदै आएको यो पुरस्कार यस वर्ष पोखराबाट उदाएका स्रष्टा सरुभक्तलाई छनौट गरिएको हो।

पद्यराज ढकाल संयाेजक रहेकाे प्रतिभा छनोट समितिले उक्त निर्णय गरेकाे हाे। छनाेट समितिमा कृष्णप्रसाद पौडेल र सरस्वती श्रेष्ठ ‘सरु’ सदस्य रहेका थिए।

छनोट समितिका संयाेजक पद्यराज ढकालले नेपाली साहित्यमा सरुभक्तको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको बताए।

नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति समेत रहेका सरुभक्त ५ दशकदेखि नेपाली साहित्यमा क्रियाशील छन्। प्रायः साहित्यका सबै विधामा कलम चलाउँदै आएकाे उनका चार दर्जनभन्दा बढी कृति प्रकाशित छन्।

साहित्यकार एवं समाजसेवी हेमराज पहारीको स्मृतिमा स्थापित हेमराज पहारी स्मृति प्रतिष्ठानले स्थापना र सञ्चालन गर्दै आएको यो पुरस्कारबाट यसअघि सत्यमोहन जोशी, राप्ती साहित्य परिषद्, विमल गुरुङ स्मृति पुस्तकालय, लोककवि अली मियाँ, झरना साहित्य परिवार र साहित्य सन्ध्या सम्मानित भइसकेका छन्।

साहित्यकार पहारीको गीत सञ्चयन ‘हेमराज पहारीका गीतहरू’, नियात्रा सञ्चयन ‘उत्तरी गोलार्द्धको एक फन्को’ र कविता सञ्चयन ‘देशको अभिभारा’ प्रकाशित छन्।

प्रतिष्ठानले हेमराज पहारीका बाँकी सिर्जना प्रकाशन, उनका योगदान र सिर्जनाको प्रवर्द्धन एवं नेपाली साहित्यको उत्थानका लागि काम गरिरहेको अध्यक्ष रीता पहारी बताइन्। उनले यो पुरस्कार वैशाख ७ गते एक  समारोहको बीच अर्पण गर्ने पनि बताइन्।

प्रकाशित: २ वैशाख २०८१ १३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App