२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

पानी खाने एआई

यस्ताे पनि!

पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्सको उपयोग आश्चर्यजनक रूपमा बढेको छ। तर यसको लोकप्रियताले सबैभन्दा बढी मार भने पानीलाई परिरहेको छ।

संसारका तीन ठूला प्रविधि कम्पनीहरू माइक्रोसफ्ट, गुगल र मेटा (फेसबुक)को पानी खपत गर्ने क्रम चुलिँदै जान थालेको छ। अहिले ४.२ बिलियन क्युबिक मिटर पानी प्रयोग भइरहेकामा सन् २०२७ सम्म सो क्रम बढेर ६.६ क्युबिक फिट पुग्ने अनुमान गरिएको छ। सो पानीको मात्रा भनेको बेलायतका सारा घरले वर्षभरि प्रयोग गर्ने पानीको मात्रा बराबर रहेको अध्ययन समूहले सचेत गराएका छन्।

क्यालिफोर्निया विश्वविद्यालयका अध्येताहरूले पानीको खपत अचाक्ली बढ्ने देखिएपछि अहिले प्रयोग भइरहेको एआई मेसिनहरू चिस्याउने समस्याको नमुनालाई गम्भीर रूपमा सोच्नुपर्ने र पानीको विकल्प प्रयोग गर्नतर्फ ध्यान दिनुपर्ने अध्येताहरूको धारणा छ।

त्यसै पनि पछिल्लो समय अमेरिकामा खानेपानीको समस्या बढ्दै जान थालेको छ। यस्तोमा एआईको शक्तिशाली मेसिनहरूलाई कम तापक्रममा राख्नका लागि व्यापक मात्रामा चिसो पानी आवश्यक पर्छ। त्यसो त सर्भर फार्मको तातो बाफ बनाउन प्रयोग हुने पानीलाई कतिपय कम्पनीहरूले पुनः प्रयोगसमेत गर्ने गरेका छन्।

सन् २०२२ मा माइक्रोसफ्टले पानीको प्रयोग ३४ प्रतिशतले बढाएको तथ्यांक सार्वजनिक गरेको थियो। गुगलले २२ र मेटाले तीन प्रतिशत पानीको प्रयोग बढाएको पाइएको थियो। तर पछिल्लो समय यो पर्याप्त नभएको भन्दै पानीको प्रयोग अझ बढ्ने आफ्नो रिपोर्टमा उल्लेख गरेको थियो।

यसैगरी माइक्रोसफ्टले सन् २०३० सम्म पानीको प्रयोग अत्यधिक बढ्नेसमेत आकलन गरेको थियो।

गत महिना मात्र च्याटजिपिटी चलाउने कम्पनी ओपनएआईले आइओवा राज्यको वेस्ट डेस मोनिस क्षेत्रका सर्वसाधारणले प्रयोग गर्ने पानीको ६ प्रतिशत एक्लैले उपयोग गर्ने गरेको तथ्य सार्वजनिक भएको थियो। त्यसपछि उसमाथि बढी पानी प्रयोग गरेको भन्दै सर्वसाधारणले जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।

च्याटजिपिटीको चौथो संस्करण अघिल्ला संस्करणभन्दा अझ शक्तिशाली भएकाले पहिलेको तुलनामा अझ बढी पानी प्रयोग हुने देखिएको छ। हामीले जब एआई प्रयोग गर्छौं, संसारको एउटा कुनामा यी कम्पनीले पानीको अत्यधिक दोहन गरिरहेका छन् भन्ने पनि बुझ्नुपर्ने हुन्छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १८ फाल्गुन २०८० ०८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App