१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

गिद्धे पहरा

लघुकथा

पहाडी खोला छ। खोलाको उँभोपट्टिको भूभाग छ, उँभोखोला। उँधोपट्टिको भूभाग छ, उँधोखोला।

खोलावारिपट्टिको भेग छ, वारिखोला। पारिपट्टिको भेग छ, पारिखोला। चारै दिशामा बाक्ला गाउँहरू छन्।

उत्तरतिर युगौंदेखि उभिएको कहालीलाग्दो कालो पहरा छ। यो चट्टानी पहराको नाम हाे गिद्धे पहरा।

पहरामा युगौंदेखि गिद्धहरूको वास छ। ती बुढा गिद्धहरूलाई पूरै थाहा भएको सिंगो गाउँको इतिहास छ।

यसै मेसोमा जिज्ञासु युवा गिद्धले बाजे गिद्धलाई अचानक सोध्यो, ‘बाजे, यो गाउँ किन यति सुनसान छ? मानिस किन यति सुस्त छन्?’

बाजे गिद्धले जवाफ दियो, ‘नाति, पहिले यो गाउँ यस्तो थिएन। युवाहरूले भरिपूर्ण एकदमै गुल्जार थियो। आजभोलि विदेश जान नसक्ने बुढाबुढी, बालबच्चा, अशक्त र गरिबहरूको बस्ती भएको छ। अब यो कुरुवाहरूको गाउँ हो। यस्तै पारा हो भने छिट्टै देशै कुरुवाहरूको मात्र हुनेछ। र, बन्नेछ कुरुवाहरूको मुलुक।’

नाति गिद्धले उदेकलाग्दो पाराले सोध्यो, ‘अनि हामी?’

बाजे गिद्धले भन्यो, ‘अनि हामी कुरुवाहरूको देशका गिद्ध।’

नातिबाजे एक अर्कालाई हेर्दै खितितिती हाँसे।

भित्ताको झुसिल्किरालाई किनकिन नातिबाजेको त्यो हाँसो बीभत्स प्रतीत हुँदै थियो।

प्रकाशित: ११ फाल्गुन २०८० ११:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App