२७ कार्तिक २०८१ मंगलबार
image/svg+xml
कला

चित्रकलाबाट काठमाडौंमा झल्कियो खोटाङ

काभ्रेपलाञ्चाककी रोजिना तामाङ खोटाङ पुग्न पाएकी छैनन्। तर उनले सोमबारदेखि काठमाडौँ बबरमहलस्थित नेपाल कला परिषद्मा सञ्चालित चित्रकलामार्फत खोटाङबारे नजिकबाट नियाल्न मौका पाइन्। काठमाडौँको एक विद्यालयमा कक्षा–१२ मा अध्ययनरत तामाङ ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’मार्फत राखिएका खोटाङका धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलबारे जानकारी लिइन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यही फागुन ५ गतेदेखि आयोजना गरेको प्रदर्शनीमा आएकी रोजिनाले भनिन्, “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा राखिएका क्यानभास चित्रहरू काठमाडौँमै बसेर अवलोकन गर्न पाउँदा सिङ्गो खोटाङ कस्तो रहेछ भन्ने थोरै भए पनि जानकारी लिन पाइयो। चित्रकला हेरेपछि खोटाङ मेरो घुम्नै पर्ने सूचीमा परेको छ। त्यहाँ पुगेर धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलहरु घुम्ने छु।” 

काठमाडौँको एक क्याम्पसमा बीबीए पढ्दै गरेकी अर्घाखाँचीकी कुसुम श्रेष्ठ पनि सोही चित्रकला प्रदर्शनीमै भेटिएकी थिइन् । “चित्रकला प्रदर्शनीमा सिङ्गो खोटाङको रूप झल्किएको पाएँ। अर्घाखाँचीको मान्छेलाई काठमाडौँमै बसेर खोटाङको धर्म, संस्कार, संस्कृति र परम्पराबारेमा चित्रकलामार्फत जानकारी लिने अवसर मिल्यो। यो कार्यक्रमले खोटाङ चिन्न सहयोग गरेको महसुस गरेकी छु।”

भक्तपुर बस्ने धनगढीका गणेश कडाल पनि श्रीमती र बच्चासहित चित्रकलाप अवलोकनका लागि आएका थिए। चित्रकलाको प्रसंशा गर्दै यसबाट खोटाङको सस्कृति र परम्परा बुझाउने प्रयास गरिएको बताए।

राष्ट्रपति रामचन्द्र पौडेलले क्यानभासमा चित्र कोरेर उद्घाटन गरेको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रममा रोजिना, कुसुम र गणेशजस्तै दैनिक करिब पाँच सयले चित्रकला अवलोकन गर्दै आएका छन्।

दिक्तेलको धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढी, भवनगैरा, हाटडाँडा, शङ्खधर शाख्वाचोक, शुभम् फाउण्डेसन र जालपा पुगेर ख्यातिप्राप्त चित्रकारले प्रत्यक्ष रुपमा उतारेका क्यानभास चित्रलाई प्रदर्शनीमा राखिएको छ।

दिक्तेलमा गत असोज–१७ गतेदेखि २१ गतेसम्मा आयोजना गरिएको ‘चित्रकला कार्यशाला तथा प्रदर्शनी’मा सहभागी नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारसहित विभिन्न ५० देशका ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेका दुई सय १० वटा चित्रलाई सङ्कलन गरेर प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ।

देश तथा विदेशमा समेत ख्यातिप्राप्त चित्रकारहरुले खोटाङको धार्मिक तथा पर्यटकीयस्थलहरु त्रिधार्मिकस्थल हलेसी, जन्तेढुङ्गा, भुलभुले दूधकुण्डलगायतका ठाउँको क्यानभास चित्र उतारेका छन्। धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलहरुका साथै जिल्लाको भौतिक विकास तथा धर्म, संस्कार, संस्कृति र रहनसहनबारेमा चित्रकारहरुले क्यानभासमा उतारेका चित्रलाई प्रदर्शनीमा राखिएको हो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रम आयोजना गरेर इतिहास निर्माण गरेको चित्रकार केके कर्माचार्यले बताएका छन्। “प्रदर्शनीमा राखिएका क्यानभास चित्रहरु ऐतिहासिक छन्। यो नगरपालिकाको सम्पत्ति हो। यस्तो कार्यक्रम अहिलेसम्म कसैले गरेका छैनन्”, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपतिसमेत रहेका उनले भने, “चित्रकला कलामध्येका एउटा अद्भूत कला हो। यसलाई जसले जसरी अथ्र्याउन पनि सक्छन्। क्यानभास चित्रलाई युगौँ युगसम्म राख्न सकिन्छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विश्वका ख्यातिप्राप्त चित्रकारको चित्र सङ्कलन गर्न सफल भएको छ। यो ऐतिहासिक कार्य हो। यसले नगरपालिकालाई विश्वभर परिचित गराएको छ।”

चित्रकार कर्माचार्यको अमूर्त क्यानभास चित्रहरुसमेत प्रदर्शनीमा राखिएका छन्। अमेरिकाकी चित्रकार एवम् प्रोफेसर जोय वल्फ, लातभियाकी चित्रकार आन्दा पैकाने, नेपाली चित्रकारहरु रतनकुमार राई, विजय थापालगायत ५० देशका चित्रकारले क्यानभासमा उतारेर प्रदर्शनीमा राखिएका चित्रहरुलाई खोटाङमै बोलाएर जिल्लाका दशवटै स्थानीय तहका धार्मिक, ऐतिहासिक एवम् पर्यटकीयस्थलहरु तथा धर्म, संस्कार, संस्कृति, परम्परा र रहनसहनलाई क्यानभासमा उतार्न लगाइएको थियो।

संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्यका साथ धनु आर्ट स्टुडियोसँगको सहकार्यमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ कार्यक्रम आयोजना गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताएका छन्।

“मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीलाई दिक्तेलमा आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’कै अर्कोे शृङ्खलाको रुपमा आयोजना गरिएको छ। प्रदर्शनमा राखिएका चित्रलाई पुनः दिक्तेलमा लगेर सङ्ग्रहालय बनाएर राख्ने योजना बनाइएको छ”, उनले भने।

स्वदेश तथा विदेशबाट आएका ख्यातिप्राप्त चित्रकारले उतारेका क्यानभास चित्रमा समग्र खोटाङको तस्वीर झल्किएको प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार राईले बताएका छन्। “चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रमले नगरपालिकाको मात्र नभइ समग्र खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउँदै यहाँको सँस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पुगेको छ”, उनले भने, “नेपालसहित १४ देशबाट आएका ख्यातिप्राप्त चित्रकारहरुले समग्र खोटाङको चित्र कोरेका छन्। यसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सफल भएको छ।”

स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले जिल्लाका विभिन्न ठाउँमा बसेर क्यानभासमा उतारेका प्रत्यक्ष क्यानभास चित्रलाई प्रदर्शनी कार्यक्रम सकिएपछि  पुनः दिक्तेल लगेर सङ्ग्रहालयमा राख्ने तयारी गरिएको नगर उपप्रमुख विशन राईले बताएका छन्।

“स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रहरु हाम्रो नगरपालिकाको सम्पत्ति हो। यी चित्रहरुलाई नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत बनाउने योजना छ”, उनले भने, “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रम प्रत्यक्ष फाइदा नदेखिए पनि हामीले एउटा ईतिहास निर्माण गरेका छौँ। आगामी दिनमा यो नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत बन्नेछ।”

 -केदार मगर

प्रकाशित: ८ फाल्गुन २०८० १२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App