उसको कुनै जात थिएन, पहाडको पारिजात थियो
उसको कुनै थर थिएन , तराईको समथर थियो।
हिमालजस्तै फक्रिएको ऊ , कडामाझ मुस्कुराउँथ्यो
खै किन मन पर्यो ? बस्, मलाई ऊ मन पर्याे।।
हावाजस्तै चञ्चल थियो, सागरजस्तै शान्त थियो
ऊ उसको पछाडि पनि कुदेन, उसलाई पछाडि पनि कुदाएन।
उ सधैँ प्रेममा थियो, दिवस कहिले कुरेन
उसलाई को मन पर्यो रुबस मलाई ऊ मन पर्याे।।
ऊ मस्जिदमा नमाज सुन्थ्यो ,मन्दिरमा घण्टी बजाउँथ्यो
बाइबल हातमा बोकेर, बौद्ध परिक्रमा गर्थ्यो।
उसले कुनै पाप गरेन, उसको कुनै धर्म थिएन
ठिक गर्यो, कि बेठिक गर्यो ? बस्, मलाई ऊ मन पर्याे।।
उसको वाणीमा शीतलता थियो, विचारमा सरलता थियो
औसीमा जुनकिरी झैँ टिपटिपाउथ्यो ,पूर्णिमामा चन्द्रमा चम्कन्थ्यो।
ऊ वसन्तमा गुनगुनाउँथ्यो ,साउनमा मयूरझैँ नाच्थ्यो
कालो बादलमा चाँदीको घेरो, बस मलाई ऊ मन पर्यो।।
ऊ सँग धेरै असहमत थिए, भिडमा एक्लो देखिन्थ्यो
नयाँ बाटो कोर्दे ,नयाँ पाइला चाल्थ्यो।
गन्तव्यसँग चिन्ता गर्दैनथ्यो, यात्रामै रमाउँथ्यो
उसलाई के मन पर्यो ? बस् मलाई ऊ मन पर्यो।।
प्रकाशित: २ फाल्गुन २०८० ०८:१२ बुधबार