१) मुक्तक
पक्कै, जीवनका अनुभव सबैका थरिथरि हुनुपर्छ,
दिन र रात जसरी सुख र दुख घरिघरि हुनुपर्छ।
अनि पो जिउनुको छुट्टै आनन्द मिल्दछ त,
हितैषी टाढै बसून् बरु, आलोचक वरिपरि हुनुपर्छ।
२) मुक्तक
परिश्रममा विश्वास गरें, आफ्नो भागको पाटो कुरें,
जे थियो निस्वार्थ दिएँ, न त त्यसको साटो कुरें।
र पनि कुनै गुनासो छैन विगतप्रति मलाई,
न तिमीले माया गर्छु भन्यौ, न मैले तिम्रो बाटो कुरें।
३) मुक्तक
बार बारे जोगिन्छ भन्छन् बार्नै पर्यो हजुर,
जस्तोसुकै समस्या पनि टार्नै पर्यो हजुर।
अनुभवी जीवनको वास्तविकता यही रहेछ,
ज्ञानले सधैं जित्नुपर्यो, अज्ञानले हार्नै पर्यो हजुर।
४) मुक्तक
मान्छेको जीवनशैली, हाउभाउ र लय फेरियो,
बुज्रुकप्रति गर्ने आदर, सम्मान र भय फेरियो।
एक आपसमा हुने आड, भरोसा भेटिंदैन आजकाल,
आफन्त खोज्ने, सहयोगमा चल्ने समय फेरियो।
५) मुक्तक
सञ्जजालले ताजाताजा खबर आफैं दिन्छ,
विज्ञापनले चाहनाको रहर आफैं दिन्छ।
मुकदर्शक भएर हेरी मात्र रहनुपर्छ यहाँ,
समयले हरेक प्रश्नको उत्तर आफैं दिन्छ।
प्रकाशित: १९ माघ २०८० १२:५३ शुक्रबार





-600x400.jpg)