२९ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

गेटमै सन्तान जन्माउन बाध्य भएकी बविताको स्वास्थ्य बुझ्न अस्पताल पुगे सस्मित

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको गेटमै सुत्केरी हुनुपरेको घटनापछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आज सो अस्पतालको आकस्मिक स्थलगत निरीक्षण गरेका छन्।

अस्पताल पुगेका मन्त्री पोखरेलले हाल उपचाररत पीडित बविताकुमारी पासवानसँग प्रत्यक्ष भेट गरी उनी र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

अस्पतालको गेटमै प्रसूति गराउनुपरेको घटना सार्वजनिक भएपछि मन्त्री पोखरेल वस्तुस्थिति बुझ्न स्वयं अस्पताल पुगेका हुन्।

अस्पताल प्रशासनका अनुसार हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। पासवानलाई अस्पतालको बेड नम्बर २२ मा राखेर आवश्यक उपचार तथा स्याहारसुसार भइरहेको छ।

निरीक्षणका क्रममा मन्त्री पोखरेलले अस्पतालको समग्र सेवा प्रवाह, भौतिक पूर्वाधार तथा जनशक्तिको अवस्थाबारे अस्पताल व्यवस्थापनसँग विस्तृत जानकारी लिएका थिए।

सरकारी अस्पतालमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन सेवा विस्तार तथा सुदृढीकरण गरिनुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य उपकरणको व्यवस्थापनका लागि सरकारका तर्फबाट तत्काल ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २९ भाद्र २०८३ १८:०२ सोमबार