४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

आँसु झार्दै रुन्छिन् आमा भ्यूटावरको छेउमा बसी!

पाँच गजल

१) गजल

बाहिर छोडी भित्र लाग्ने घाम देखेर तर्सिन्छु म,

मुटु झिकी खान सक्ने दाम देखेर तर्सिन्छु म।

मुखले भन्दा बराबरी सबैलाई चिप्लो पारी,

नाफा आफ्नै भागमा पार्ने काम देखेर तर्सिन्छु म।

बाटोघाटो कुवा तलाउ धारा अनि पोखरीमा,

जताततै हजुरको नाम देखेर तर्सिन्छु म।

पहिले, नारीलाई बचाउन युद्ध गर्थे ज्यान थापेर,

अहिले, छोरी चेली लुट्दै बेच्ने राम देखेर तर्सिन्छु म।

२) गजल

इमान्दार हुन्छन् साथी मागी खाने जोगीहरू,

उस्तै हुन्छन् पसीनामा जीवन धान्ने भोगीहरू।

ज्यूज्यू गर्दै फुर्ती गर्ने धेरै देखे सुटेटहरू,

कति सारो सल्बलाका खुरापाती ढोगीहरू।

घाउ लागे पेट दुखे ऐयाआत्थ भन्छन् सबै,

उपचार गर्न गाह्राे सोचाइका रोगीहरू।

बाहिर हेर्दा सफासुग्घर मनभित्रका फोहोरीको,

साना हेप्ने ठूलाको पाउ मोल्दै हिंड्ने फोगीहरू।

३) गजल

फूलले पनि डाहा गर्छ तिमीलाई देखेपछि,

मनभरि माया फल्छ तिम्रो नाम लेखेपछि।

थाहै नपाई रसाउँछ परेलीको पल्लो कुना,

डाँडाकाँडा पहाड बनी हामीलाई छेकेपछि।

तिमी जस्तै बन्न पाऊँ चन्द्रमाले भन्छ,

औंसी बनी कालो रातले उसको ढाड सेकेपछि।

उज्यालो भो झलमल्ल अन्धकार रात पनि, 

मेरो घरको मझेरीमा तिमीले पाइला टेकेपछि।

४) गजल

आँसु झार्दै रुन्छिन् आमा भ्यूटावरको छेउमा बसी,

डोकोनाम्लो डाँडापाखा गर्दा उमेर भछ असी।

सिटामोल नपाएर मरेको हो उनकै छोरो,

सराप्दै हिंड्छिन् बरा पटुकीले पेट कसी।

खुला आकाशमुनि पढ्छन् गाउँघरका केटाकेटी,

ठूला गफ दिंदै हिंड्छन राखेको रे देशको शशि।

भित्र हेर्दा संन्सार सबै देखिएला भन्दै चढिन्,

छोरा खोजिन् जीवन खोजिन् भ्यूटावरमा पसीपसी।

केही पनि नभेटेसि रोकिएनन् उनका आँसु,

तपाई गर हेर्नु होला भेट्नुहुन्छ प्रमाणदसी।

५) गजल

फूल तिम्रो फल तिम्रो पात पनि तिम्रो,

भतेर तिम्रो डाडू तिम्रो भात पनि तिम्रो।

वारि तिम्रो पारि तिम्रो सबैतिर तिम्रो-तिम्रो,

दिन तिम्रो छिन् तिम्रो रात पनि तिम्रो।

टाउकोमा राखिदेऊ कि खुट्टामा छोउ,

शिर तिम्रो पाउ तिम्रो हात पनि तिम्रो।

आको जति बोली हाल बोल्न पाएकै छौ,

लाजघिन पचाएसी बात पनि तिम्रो।

प्रकाशित: १४ माघ २०८० ०७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App