२३ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

बझाङको बाघ: ‘रोड टु युएफसीको सेमिफाइनल पुग्ने पहिलो नेपाली खेलाडी

नेपालका व्यावसायिक मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले विश्वचर्चित ‘रोड टु युएफसी’ सिजन ५ मा ऐतिहासिक सफलता हात पारेका छन्।

चीनको मकाउस्थित ग्यालेक्सी एरेनामा बिहीबार भएको क्वाटरफाइनल भिडन्तमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउण्डमा पराजित गर्दै रविन्द्र सेमिफाइनलमा प्रवेश गरेका हुन्।

यो जितसँगै ‘बझाङको बाघ’ उपनामले चिनिने २७ वर्षीय रविन्द्र ‘रोड टु युएफसी’ मा सेमिफाइनल पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्। उनले फिलिपिन्सका अनुभवी फाइटर किम्बर्टलाई खेलको सुरुवातदेखि नै लगातार दबाबमा राखेका थिए।

ब्यान्टमवेट विधाको यस प्रतियोगितामा हजारौं नेपाली समर्थकहरू रविन्द्रलाई हौसला दिन एरेना पुगेका थिए। अब सेमिफाइनलमा रविन्द्रले जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीच हुने खेलको विजेतासँग भिड्नेछन्।

यस तौल समूहमा विजेता बनेमा रविन्द्रले विश्वकै सबैभन्दा ठूलो र प्रतिष्ठित एमएमए मञ्च ‘अल्टिमेट फाइटिङ च्याम्पियनसिप’ (युएफसी) को मुख्य स्टेजमा प्रतिस्पर्धा गर्ने आधिकारिक सम्झौता पाउनेछन्।

२०५५ साल मंसिर १५ गते बझाङको दुर्गम बित्थडचिर गाउँपालिकामा जन्मिएका रविन्द्रको यहाँसम्मको यात्रा निकै कष्टकर र प्रेरणादायी छ। अत्यन्तै न्यून आर्थिक अवस्था भएको परिवारमा हुर्किएका उनले सानै उमेरमा घर छोडेर भारतमा श्रमिकको रूपमा काम गर्नुपरेको थियो।

बिरामी बुवाको उपचार र घरको गुजारा चलाउन उनी भारत पसेका थिए।

उनका बुवा रविन्द्रले मजदुरी वा कुनै प्राविधिक जागिर गरोस् भन्ने चाहन्थे। सुरुवाती दिनमा उनले एमएमए फाइटर बन्ने सपना बुन्दा परिवारबाट खासै समर्थन पाएका थिएनन्। आर्थिक अभाव र भविष्यको चिन्ताका कारण परिवारले उनलाई खेल क्षेत्र त्याग्न दबाब दिएका थिए।

तर, रविन्द्रले हार खाएनन्। उनले धेरै समयसम्म आफ्नो प्रशिक्षण र एमएमए प्रतिको लगाव परिवारबाट गोप्य राखे। सन् २०१९ मा भारतमा भएको एमेच्योर राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण पदक जितेपछि मात्र उनको प्रतिभाको चर्चा हुन थाल्यो।

बिस्तारै अन्तर्राष्ट्रिय स्तरमा सफलता पाउन थालेपछि मात्र परिवारले उनको सपनालाई स्वीकार गर्दै साथ दिन थालेको हो।

रविन्द्रले भारतको ‘मेट्रिक्स फाइट नाइट १७’ (एमएफएन) मा भारतीय खेलाडीलाई नकआउट गर्दै च्याम्पियन बनेर चर्चा कमाएका थिए। आज मकाउको रिङमा उनी जुन उचाइमा देखिएका छन्, त्यसको श्रेय उनी आफ्नो टिमलाई दिन्छन्।

यसअघि म्याट्टी इआनसँग खेल्ने तय भए पनि इआन घाइते भएपछि अन्तिम समयमा आएका किम्बर्टलाई पराजित गर्दै रविन्द्रले व्यावसायिक एमएमए करियरमा १०औँ जित दर्ता गरेका छन्।

प्रकाशित: १४ जेष्ठ २०८३ १८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App