३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
कला

सर्वत्र भुलभुलैया, इन्द्रजाल र छली छ!

मुक्तक

१) मुक्तक

जसरी सुकै बुझून् त्यो मलाई मतलब भएन,

दुत्कारून् कि पुजून् त्यो मलाई मतलब भएन।

छातासम्म दिएकै हो घनघोर बर्सातको बेला,

ओत लागून् कि रुझून् त्यो मलाई मतलब भएन।

२) मुक्तक

सबै काम आफैं एक्लै जान्न पनि गाह्रो हुने,

अरूका कुरा सबैसबै मान्न पनि गाह्रो हुने।

विश्वासमै अडेको छ संसार यो भन्यो सोच्यो,

कोको छन् त विश्वासयोग्य छान्न पनि गाह्रो हुने!

३) मुक्तक

के पाइन्छ कसबाट भन्नेतिर खासै चासो पनि रहेन,

केही पाइएन जिन्दगीबाट भन्ने गुनासो पनि रहेन।

खाइयो, लाइयो, रमाइयो बस् जिन्दगी यस्तै भयो,

आँखा रोएन तर ओठमा उन्मुक्त हाँसो पनि रहेन।

४) मुक्तक

हरियो काँक्रोमा नुन लगाएर हेर्नुस्,

र मान्छेलाई अलिकति गुन लगाएर हेर्नुस्।

अन्तर प्रस्ट छ, काँक्रो मात्र रसाउनेछ,

नपत्याए पाउमा साबुन लगाएर हेर्नुस्।

५) मुक्तक

जहाँ पसीनाको कम अत्तरको बढी, सुवास मन पराइन्छ,

र, हातभन्दा धेरै मुख चलाउनेलाई, खास मन पराइन्छ।

त्यहाँ लक्ष्मी र सरस्वतीको बास हुँदै हुँदैन बुझिराख्नुस्,

जहाँ घैया धानभन्दा आयातीत,भटमास मन पराइन्छ।

६) मुक्तक

बन्नै नसक्ने काम पनि बनाईवरी सघाएका हुन्,

बापतमा प्राप्त बक्सिस सीमापार नघाएका हुन्।  

चोर औंलो अरूतिर सोझ्याएर मात्र के गर्नु र खै!

यहाँ दिनेले दिएकै कारण खानेहरू अघाएका हुन्।

७) मुक्तक

आउँछन्,केही दिन्छन्,मानौं गुन लगाएर जान्छन्,

सधैं आश्रित तुल्याई घाउमा नुन लगाएर जान्छन्।

कोही दिंदैनन् यहाँ बिरुवा, चिस्यान र मलिलो माटो,

मौका छोपी हाम्रै भकारीमा घुन लगाएर जान्छन्।

८) मुक्तक

हर खुसी अनौठो लाग्नु,यो केको लक्षण हो?

अझ चराकै पछि भाग्नु, यो केको लक्षण हो?

यस्तो लाग्छ म शिशु हुँ,अझै तरूण भएको छैन,

कुवामै झुल्के घाम माग्नु,यो केको लक्षण हो?

९) मुक्तक

कस्तो विरक्त लाग्छ जब घाम छोपिएको देख्छु,

रावणको छायाभित्र जब राम छोपिएको देख्छु।

गफको गमलामा गफकै गुलाब फुलाऊँझैं लाग्छ,

कुराको भकारीभित्र जब काम छोपिएको देख्छु।

१०) मुक्तक

विचार सत्य युगीन छ, आचारमा कलि छ,

सर्वत्र भुलभुलैया, इन्द्रजाल र छली छ।

कसरी चिन्नु खै मान्छेभित्रको मान्छेलाई,

यहाँ आँसु अनि मुस्कान दुवै नक्कली छ।

प्रकाशित: ११ माघ २०८० ०६:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App