३० वैशाख २०८१ आइतबार
image/svg+xml
कला

ढुंगाझैं मन हुनेलाई किन आफ्नो भन्नु!

मुक्तक

१) मुक्तक

लाग्ने ठेस जिन्दगीको यात्रा गर्दाखेरि,

अरूसँग भन्दा पनि आफ्नैसँग फेरि।

छलछाम गर्ने पनि आफ्नैले त रैछन्,

सबै बुझी हिंड्नै पर्ने बाटो आफ्नै फेरी।

२) मुक्तक

सत्ताको मात क्षणिक हुन्छ अमर हुँदैन,

एकैछिनमा अस्ताइहाल्छ जीवन्त हुँदैन।

सत्ताको भरमा पाएको मान टुक्रन्छ, खिइन्छ,

सत्ताको बल निर्दयी हुन्छ, समृद्घ हुँदैन।

३) मुक्तक

ढुंगाझैं मन हुनेलाई किन आफ्नो भन्नु,

दुनो सोज्याई भाग्नेलाई किन आफ्नो भन्नु।

संसारमा चोखो माया पाउन रैछ गाह्रो,

छोडी जाने निर्दयीलाई बिर्सनु नै भन्नु।

४) मुक्तक

लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो,

आफ्नो देश आफ्नो शान पाउनु कति राम्रो।

माटो प्राण, माटो आस्था जीवन रहुन्जेल,

स्वाधीनता जोगाई राखौं सबै मिली हाम्रो।

५) मुक्तक

हाम्रो घरको छिमेकी यस्तो दाउ मार्छ,

लोलोपोतो घसीघसी सधैं पञ्जा पार्छ।

अबचाहिं सीमा विवाद सुल्झाउन है,

नत्र त चाल मारेर सबै स्वाहा पार्छ।

६) मुक्तक

विदेशमा जान्छौ कि त जान्छौ आफ्नै गाउँ,

जे भने नि प्यारो हुन्छ जन्मिएको ठाउँ।

आत्मा साक्षी राखेर नै गुन्ने दिन आए,

बलबर्कत हुँदैमा नै फर्की आऊ गाउँ।

७) मुक्तक

भेटका मिठा पलहरू खास भइदिन्छ,

कैलेकैले सम्झना नि उदास भइदिन्छ।

टाढा हुँदा पछ्याउने यादका फन्काहरू,

माया साँच्ने बन्धनको डोरी भइदिन्छ।

८) मुक्तक

आजकल नेताजीको नजिक पर्न डर लाग्छ,

सत्य कुरा लुकाउने सबै बेइमान लाग्छ।

अपराध-अत्याचार बढेको छ शहरमा,

शक्ति पाउने सबै खेल बेकार कर्कर लाग्छ।

प्रकाशित: ३ माघ २०८० ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App