३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
कला

कर्तव्य

लघुकथा

महेश धनी बाउको छोरो। छोरो बिरामी भएको थाहा पाएपछि डाक्टरलाई घरमै बोलाए। डाक्टरले लेखाइदिएको महँगो औषधि खुवाएर सुताए। बाबु टिभी हेर्न बसे। आमाले निधार छामिन्। ‘ज्वरो घटेन भने हस्पिटल लैजानुपर्छ’ भनिन् र पल्लो कोठामा गएर मोबाइल चलाउन थालिन्।

ज्वरो नघटेपछि दिदीले ट्याक्सी बोलाइन्, हस्पिटलमा भर्ना गरेर फर्किन्।

सुरेश गरिब बाउको छोरो। छोरो बिरामी भएको थाहा पाएपछि बाबुले निधार छामे, पानीपट्टी लगाइदिए अनि छोराकै सिरानीनेर बसिरहे। आमाले जाउलो पकाएर ल्याइन् र आफ्नै हातले खुवाइन्। दिदीले बिस्तारै उठाइन् र काखमा राखेर तातो पानी खान दिइन्।

भोलिपल्ट सुरेश सञ्चो भएर स्कुल जान थाल्दा महेश हस्पिटलमा नै सुतिरहेको छ भन्ने सुनियो।

    -रमेशचन्द्र घिमिरे

प्रकाशित: २८ पुस २०८० ०६:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App