७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

फुटेको चिया कप

कथा

इलाम ब्यारेकबाट पिटी–दौडमा निस्केको सेनाको टोली देखेपछि मलाई मुटुभित्र गाँठो परेजस्तै हुन्छ। अमन पनि कुनै ब्यारेकबाट निस्केर यसरी नै पिटी दौडिरहेको होला। सेनाको टोली घुम्तीमा नछेलुन्जेल हेरिरहन्छु। माया त उसले पनि मलाई खुब गर्थ्याे, सधैंभरि ख्याल राख्थ्यो तर भाग्यमा हाम्रो मिलन लेखिएको रहेनछ। प्रेम त अमनले जति मेरी आमाले पनि गर्नुभएको छैन जस्तो लाग्थ्यो। आमाको माया त अरू सन्तानमा बाँडिएको थियोे तर अमनले मलाई मात्रै माया गर्थ्याे।

अमनले इलाम छोडेर जाँदा कोठामा छाडिराखेको उसको म्याट्रेस, बुटलगायतका सामानहरू अहिले पनि जतन गरेर राखेकी छु। यसो हेर्छु, उसको बुट, कम्ब्याट ड्रेस। त्यसै आँखा रसाएर आउँछ। उसको न्यास्रो मेट्न उसले लगाउने एडिडास ब्रान्डको निलो रङको ज्याकेट लगाउने गर्छु बेलाबखत।

म गाउँदेखि महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाममा पढाइलाई अगाडि बढाउन एसएलसीपछि कोठा खोज्दै लखतरान भएर आएपछि बल्लतल्ल भेटाएको यो कोठा आज ११ वर्षपछि पनि साह्रै प्रिय लाग्छ।

म आज धेरैपछि इलाम अनि यही कोठामा आइपुगेकी छु। कोठामा पसेपछि सबैभन्दा बढी अमनको सम्झनाले बेसरी रुवाउँछ। अमनले टेकेको कोठा, ऊ बस्ने कुर्सी सबैसँग बेहद माया छ। उसकै रोजाइका झ्यालका पर्दा हावाले हल्लाएर मलाई छुँदा पनि अमनले नै छोएर गएको जस्तो लाग्छ।

यही कोठा अनि हामीले बिताएका जीवनका अनमोल पल सम्झेर मुटुमा बेसरी गाँठो पर्छ। म शनिबार सधैं अमनको ड्रेस धोइवरी सुकाएर राखिदिन्थें, अमनले त्यसपछि कहिल्यै आफ्ना कपडा धोएन होला, जब उसलाई मैले प्रेम गरें, हृदयमा बास दिएँ।

म कहिलेकाहीं अमनका लागि भात पकाएर पर्खिरहेकी हुन्थें। अब अमन त्यसरी कहिल्यै पनि आउने छैन, मैले पकाएर राखेको भात हतारहतार गरेर खाइदिने छैन। साह्रै रुन मन लाग्यो। रहरैरहरमा इलाम बजारको ‘शाक्य फोटो स्टुडियो’मा एउटा फोटो खिचेका थियौं। मैले ठुलो बनाएर भित्तामा राखेकी थिएँ। त्यही फोटो हेरेर रुन्छु। अब त अमनलाई सम्झिएर रुनु मात्रै रहेछ, आफ्नो भन्ने कुनै अधिकार थिएन, मुटु दुख्ने गाढा सम्झनाबाहेक। जति दिन बित्दै जान्थे, उति नै अमनको सम्झनाले मुटु दुख्थ्यो ।

बेलाबखत अमनको सम्झनाको पासो घाँटीमा कसिएको जस्तो लाग्थ्यो ।

सम्झन्छु, अमन गढीथुम्का ब्यारेकबाट जिल्ला प्रशासन सुरक्षार्थ रहेको पोस्ट ड्युटीमा आइसकेको थियो। अब अमन मेरै आँखा अगाडि हुन्थ्यो। खुब माया लाग्थ्यो, माया त अमनले पनि बेसरी गरेको थियो।

मैले अमनको बुट (जुत्ता) टिलिक्क टल्काउन सिकिसकेकी थिएँ भने अमनको ससुराली ड्रेस (कपडाको पाइन्ट, सर्ट, ढाका टोपी लगायत) सबै कपडा आइरन गरेर, मिलाएर राख्न जानिसकेकी थिएँ। अमनलाई सफा र चिटिक्क परेर हिँड्नुपर्थ्याे। सायदै ऊ अहिले त्यसरी नै हिँड्दो हो।

बस्, कपडामा आइरन लगाएर दराजमा ठिक्क पारिदिने हात फरक छन्। ऊ बुझ्ने थियो, समझदार र मायालु थियो। म बिरामी हुँदा कति ख्याल गर्थ्याे। ब्यारेक नजिकै थियो, गेट पास नभए पनि कसो कसो गरेर आउँथ्यो। खाना खाएर जान्थ्यो। कहिलेकाहीं शनिबार कपडा धुन माईखोला जान्थ्यौं। अलिकति भएको समय पनि ऊसँगै बिताउन चाहन्थें। हामी एकअर्कामा ऐनाझैं थियौं। मेरो रहर मलाई भन्दा अमनलाई धेरै थाहा हुन्थ्यो ।

चिया हाम्रो लत थियो। सम्झन्छु, आज श्रीमतीले उसलाई चिया पकाएर दिँदा मेरो याद आउँछ कि आउँदैन होला?

दुई दिन त्यो कोठामा रोएर म विराटनगरको अफिस फर्किएँ।

-                  -                       -                        -

आज धेरै वर्षपछि म इलाम, गढीथुम्का ब्यारेकअघि बडाभोजको अवसरमा पाहुना भएर उभिएकी छु। उस्तै रहेछ गेट, प्रतीक्षालय अनि काँडेतार! बाटो राम्रो बनेछ अनि ब्यारेकका घर अलि राम्रा बनेछन्। किन किन यी सबैलाई म असाध्यै प्रेम गर्छु। सक्ने भए यी सबै पोको पारेर मुटुभित्र लुकाउँथें। प्रतीक्षालयमा एक छिन बस्न मन लाग्यो, बसें, अमनलाई सम्झें।

म प्रायः अमनलाई यही प्रतीक्षालयमा पर्खिरहन्थें। एकछिनपछि ऊ मुसुक्क हाँस्दै आउँथ्यो। अग्लो शरीर, छोटो कपाल, ठुल्ठुला आँखा, ठुलो निधार, हँसिलो मुहारमा सिनित्त परेको नाक, सधैंभरि हाँस्न तम्तयार ओठ अनि चिउँडामा सुहाउने कोठी।

ऊ हाँस्दा फूल बर्सन्थ्यो। प्रायः हातमा घडी नछुटाउने अमन चिटिक्क परेर हिँड्थ्यो। आज पनि ऊ छेउमा बसेर त्यसरी नै हाँसिरहेको छ जस्तो लाग्यो। म मिठोमसिनो पाकेको बेला ल्याइदिन्थें। उसलाई सुँगुरको मासु खुबै मन पर्थ्याे। म आफू नखाने भए पनि सधैंभरि पकाएर लगिदिन्थें।

‘मैले सुँगुरको मासु खाएको कुरा पछि घरमा नभन्नू है सानु, मलाई घरभित्र पस्न दिँदैनन् कसैले !’ भनेर हाँस्थ्यो ऊ। मलाई अमन हाँसेको जस्तो मनपर्दो अरू केही लाग्दैनथ्यो। अमनलाई यही गढीथुम्का ब्यारेकवरिपरि खोजिरहन मन लाग्यो, अनायासै आँखा रसाएर आए।

ऊ भौतिक रूपमा जति टाढा भए पनि मेरै वरिपरि भएजस्तो लाग्छ। कम्ब्याट ड्रेस लगाएर हिँडेको जोकोही पनि मलाई अमनजस्तै लाग्छ अनि फर्केर हेर्छु। मुटु चिसो हुन्छ। मायाले मात्रै संसार नचल्ने रहेछ। केही दिनमा आउँछु भनेर हिँडेको ऊ ११ वर्ष बितिसक्दा पनि फर्केर आएको छैन र अब फर्केर आउँदैन पनि।

म बडाभोज सकिएपछि त्यही पुरानो कोठामा फर्किएँ। आज भाइले ब्यारेकको गेटसम्म मलाई पुर्‍याएर फर्कियो। मेरो आँसु र सेनाप्रतिको प्रेम देखेर भाइको सेनातर्फ झुकाव बढेको थियो। अफिसर्स क्याडेडको तालिमपश्चात् भाइ पहिलोपटक ड्युटीमा खटिएको थियो, गढीथुम्का ब्यारेकमा। कोठामा आएर अमनको तस्बिर हेर्छु, पुराना दिनको सम्झनाले आँखा रसायो ।

यसो ऐना हेर्छु, त्यो रूप, रङ, जवानी, त्यो बेलाका सपना बेपत्तै छन् ।

‘बिहे गर्दिनस्?’ भन्ने मेरा आफ्नाहरूको प्रश्नले पनि अब त जिस्काएजस्तो मात्रै लाग्छ।

सम्झन्छु, इलामदेखि अमनको दुई वर्षे कार्यकाल सकिन लागेको थियो। दुई वर्षमा जीवनका सबै खुसी पोको पारेकी रहेछु, रहरको पछ्यौरीमा। ऊ मायालु, इमानदार, सबैको प्रिय ‘क्याप साब’। मेरो प्राण थियो ऊ। मेरो सास उसैमा बस्थ्यो। मैले कहिल्यै पनि यसरी सासबिना बाँच्नुपर्ला भन्ने सोचेकी नै थिइनँ।

समय र परिस्थिति हाम्रो अनुकूल भइदिएन। मेरो पनि इलामदेखि विराटनगर सरुवा भइसकेको थियो तर अमन नै अगाडि भयो सरुवा जान। ऊ अगाडि बढेको हेर्दाहेर्दै जिन्दगी अघि बढाउन म पछि परें।

बडादसैं सुरु भइसकेको थियो। म घर जाने तयारीमा हुन्छु, घरमा पापा र आमा मात्रै हुनुहुन्थ्यो।

साँझ म जिल्ला प्रशासनको चउरमा बसिरहेकी थिएँ। अमनको कल आयो। धेरै समयपछि अमनले कल गरेको थियो। खुसी लाग्यो। नम्बर डिलिट गरेको रहेनछु। कहीं न कहीं उसले आफ्नो जीवनमा मलाई पनि राखेको रहेछ भन्ने सोचेर फेरि गह भरिए आँसुले। मेरो नम्बर डिलिट गर्न उसका हात र हृदय काप्छन् रे ! मुटु सधैंभरि यही कुराले दुखिरहन्थ्यो।

‘सानु, म फेवातालको किनारामा माछापुच्छ्रे हेरेर बसिरहेको छु। माछापुच्छ्रे हाँसिरहेको देख्दा तिम्रा सेता दन्तलहर सम्झिरहेको छु। हिमाल र हिउँ हेरेर चित्त बुझाउँदै छु,’ लर्बरिएको स्वर। मेरो नाकमा ‘रेड लेवल’को गन्ध ह्वास्सै ठोक्कियो। अमन सधैं रेड लेवल पिउँथ्यो जमघट र चाडपर्वमा।

‘तिमीले फेरि रक्सी खायौ?’ मैले भनें। ‘मन त भन्छ, विष पिइदिऊँ, सक्दिनँ सानु! कति लाचार छु म। रहरले केही गर्न सक्दिनँ, आफ्नो मर्जीले रुन पनि सक्दिनँ!’

‘बिदा लेखेनौ? दसैंमा त घर जानुपर्थ्याे नि। बाबुले बाटो हेरिरहेको होला,’ मैले भनें।

‘लेखिनँ, घर जान मनै लाग्दैन। शून्य छु, एक्लै छु। उजाड र उदास छु। चाडपर्वका रङहरू चढ्दैनन् ममाथि!’

‘तुरुन्त ब्यारेक फर्केर मलाई अफिसको नम्बरबाट कल गर।’

‘तिमी कत्ति पनि बदलिएकी छैनौ सानु।’

कल काटियो, सायद अमन ब्यारेक फर्कंदै गरेको हुनुपर्छ। आमाप्रतिको कर्तव्यको दाँजोमा छोडिएकी मलाई कहिलेकाहीं यसैगरी सम्झन्छ। आफू पनि रुन्छ, मलाई पनि रुवाउँछ। अमन मेरो आफ्नो हुनुको आभास यही आँसुले मात्रै गराउँछ।

०००

आज फेरि इलाम आइपुगेकी छु, मेरै पुरानो कोठामा। मैले त्यो कोठा छोड्नै सकिनँ, बिदा मिलाएर म यही कोठामा आइपुग्छु। जीवनयात्रामा जब थकान महसुुस हुन्छ, यति ठुलो संसारमा एक्लै भएजस्तो लाग्छ, तब म अत्तालिएर कोठामा आइपुग्छु अनि अमनको कम्ब्याट ड्रेस, बुटहरू छातीमा टाँसेर रुन्छु। मनलाई ऊर्जा मिल्छ।

बिहानै उठेर चिया पिउँदै बाटोमा हेरिरहन्छु, गढीथुम्का ब्यारेकदेखि सेनाको टोली पिटी दौडमा निस्कन्छ, मेरै आँगनबाट जान्छ। अमनको साह्रै झल्को लाग्छ अनि उसलाई मैले पहिलोपटक भेटेको सम्झन्छु।

छोटो कपाल, हँसिलो मुहार, अग्लो शरीरमा चिटिक्क मिलेको कम्ब्याट ड्रेस, टिलिक्क टल्केको बुट कति सुहाउँदो हो उसलाई अनि काँधमा सहसेनानीको दर्ज्यानी चिह्न।

अमनलाई पहिलोपल्ट गढीथुम्का ब्यारेक जाने उकालो बाटोमा देख्दै थिएँ। म घरको आँगनमा बसेर चिया पिउँदै थिएँ। जिल्ला प्रशासन कार्यालयबाट अलि पर रहेको ओपी धाराको अलिकति उकालो कटेपछि म बस्ने घर थियो।

अमन र मेरा आँखा पहिलोपटक त्यही घरको आँगनमा जुधेका थिए। ठुल्ठुला आँखा, हँसिलो मुहार अनि चिउँडाको कोठी खुब मन परेको थियो। माथिल्लो घुम्तीमा नछलिउन्जेल अमनले पनि मलाई दुईपटक फर्केर हेरेको थियो, म एक्लै मुसुमुसु हाँसेको देखेर चियाबारी पनि लजाएको थियो।

अब प्रत्येक बिहान अमनको प्रतीक्षा गर्नु, एक झल्को देख्न पाउनु, अलिकति लजाएर हाँस्दै घुम्तीमा नछेलिउन्जेल फर्केर हेर्नु हाम्रो रुटिन नै बनेको थियो। म आज ती दिनहरू सम्झिरहेकी छु ।

‘सानु, हेर न, हाम्रो तलब नै हालेको छैन। साह्रै गाह्रो भएको छ। अलिकति खर्च पठाऊ है,’ साउनमा अमनले भनेको सम्झन्छु। कलेज बिदा भएर घर बसेकी थिएँ। म पनि जागिरको खोजीमा थिएँ। परिवारको बोझ बन्नुहुँदैन भन्ने सोच्थें। २–३ ठाउँमा आफ्नो बायोडाटा बुझाएकी थिएँ ।

म गाउँकी केटीसँग कति नै हुन्थ्यो र पकेट खर्च? तैपनि अमनलाई पैसा त पठाइदिनै पथ्र्यो। उसलाई ब्यारेकमा कति अप्ठ्यारो पर्ला? दुई चार हजार साथमा नहुँदा कति गाह्रो हुन्छ? मलाई राम्रोसँग थाहा थियो। उसलाई प्रेम गरेकी थिएँ, उसको दुःखसुख मेरै त थियो नि ! नगद पैसा नभए पछि मैले माइतीको पेवा एउटा खसी बेच्ने भएपछि घरमा हल्ला भयो, कारण खोजियो।

मैले साथीसँग कोठाभाडा तिर्ने पैसा नभएकाले भन्ने स्पष्टीकरण दिएपछि घरमा हल्ला शान्त भएको थियो। खसी बेचेको १० हजार र अमनलाई मनपर्ने अकबरे खुर्सानीको अचार, साग, काँक्रा, हरियो मकै र नासपती पठाइदिएकी थिएँ।

सायद उसलाई मैले गर्ने माया यस्तै थियो। ऊप्रति खुब प्रेम पोख्न मन लाग्थ्यो। फिक्कल बजारदेखि सदरमुकाम इलामसम्म गाडीमा हालेर पठाइदिएको सामान र पैसा पाएपछि मलाई अमनले फोन गरेर भनेको थियो– लभ यु सो मच सानु ।

म फुरुक्क परेर पल्लो बारी घाँस काट्न गएकी थिएँ। गाउँमा साथीहरूमध्ये मसँग मात्रै मोबाइल थियो। मोबाइलभन्दा पनि नेपाल टेलिकमको ‘नमस्ते सिम’ थियो, अमनले नै मलाई ब्यारेकबाट मिलाइदिएको। अहिलेसम्म म त्यही नम्बर चलाइरहेकी छु, अमनले जिन्दगी अगाडि बढाए पनि। साउन आएपछि उसलाई सम्झन्छु।

‘क्याप साब !’ मेरो सम्बोधन अमनलाई खुब मन पथ्र्यो। म महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम पढ्थें। म कलेज जाँदा प्रायः ऊ पिटी दौडिरहेको हुन्थ्यो। पिटी नदौडिएको दिन म जिल्ला प्रशासनको बाटो कलेज जाँदा बाटोमा उभिएर पर्खिरहेको हुन्थ्यो।

दिउँसो म अफिस जान लागेकी थिएँ, मानव अधिकार मञ्च इलाममा। कहिलेकाहीं ब्यारेकको प्रतिक्षालयमा उसलाई पर्खनुपर्दा संसारकै भाग्यमानी ठान्थें आफूलाई। ब्यारेक वरपर हिँड्नुपर्दा सिपाहीहरूको नजर ममाथि पर्थ्याे।

म सबैलाई चिन्न थालेकी थिएँ। जम्काभेट भएमा ‘गुड मर्निङ म्याम! गुड आफ्टरनुन म्याम ! गुड इभिनिङ म्याम !’ क्याप साबसँग जोडिएर आएको यो सम्मान र सम्बोधन मलाई साह्रै प्रिय र आफ्नो लाग्थ्यो। किनकिन मलाई पनि त्यो ब्यारेक र त्यहाँका सिपाहीहरू परिवारकै सदस्यजस्ता लाग्थे अनि बंकर, ट्रेन्चहरू आफ्ना लाग्थे, प्रिय लाग्थे।

मेरो कोठाको झ्यालबाट जिल्ला प्रशासन कार्यालय सुरक्षार्थ बसेको सैनिक ब्यारेकको आधा भाग देखिन्थ्यो। म फुर्सद भयो कि झ्यालमा बसेर ब्यारेक नै हेरिरहन्थें ।

अमनले पनि मलाई अथाह प्रेम गरेको थियो तर जताउन जानेन। स्वभाव नै त्यस्तै थियो उसको। मैले अमनलाई बुझेकी थिएँ।

सैनिक अधिकृत भएर पनि होला, ऊ आम मान्छेभन्दा अलि फरक थियो तर मलाई त्यो उसको फरकपन नै असाध्यै मन पर्थ्याे।

मेरा रहर र सपना अमनसँगै थिए। ऊ काठमाडौं सरुवा गएको थियो। म विराटनगर थिएँ। मन उडेर काठमाडौं पुग्थ्यो तर चाहेकोजस्तो पटक्कै नहुने।

कहिलेकाहीं दिनमा पटकपटक कल गथ्र्यो, कहिले दुईचार दिनसम्म कल आउँदैनथ्यो। मन आत्तिएर डराइरहन्थ्यो। अलि रिस कन्ट्रोल गर्न नसक्ने ऊ मलाई यहीं मात्रै पिरले कलेजो खाइरहन्थ्यो। मलाई पनि उसले कल ब्याक गरेन भने खुब रिस उठ्थ्यो तर मेरो फेसबुक स्टोरीमा लभ रियाक्ट गरेपछि म उसलाई माफी दिन्थें।

मन डराउँथ्यो, ऊबिना म कसरी सास फेरौंलाजस्तो लाग्थ्यो। तर, के थाहा? आज ऊबिना पनि यसरी बाँच्ने दिन आउँछ भनेर! एउटा मिठो भ्रम रहेछ मलाई कि ऊ पनि मबिना हाँस्न सक्दैन भनेर।

मलाई अमनको ससाना कुराले पनि धेरै फरक पार्थ्याे र उसलाई पनि। फेसबुक स्टाटसमा आउने कमेन्ट र रियाक्टले पनि कहिलेकाहीं मन भतभती पोल्ने गर्थ्याे। उसलाई पनि थाहा थियो, मेरो प्राण उसैमा बसेको छ भनेर।

हप्ता दिन भएको थियो उसको कल नआएको। उसको मोबाइल अफ थियो। फेसबुक लगायत सबै सामाजिक सञ्जालमा कुनै अपडेट थिएन। म भित्रभित्रै मरिसकेकी थिएँ। उसलाई खोज्ने कुनै बाटो थिएन र मैले प्रेम गर्थें, त्यसैले बदलामा उसलाई कुनै प्रकारको बदनाम गर्न सक्दिनथें। म सधैंभरि चाहन्थें, मेरो कारणले ऊसँग कसैले पनि कुनै प्रश्न नसोधी देओस्। म आत्तिएर इलाम त्यही कोठामा पुगेकी थिएँ, जुन कोठामा मैले अमनलाई सम्पूर्ण रूपमा पाएकी थिएँ ।

त्यो दिन बिहानैदेखि इलाममा पानी परिरहेको थियो। बाटोमा भिज्दै पिटी दौडिरहेको सेनाको टोली देख्नेबित्तिकै अमनको झन् याद आयो। यसो चिया पकाएँ। म सधैं अमनले चिया पिउने कपमा नै चिया पिउने गर्छु। उसले चिया पिउने कपमा म कसैलाई पनि चिया दिने गर्दिनँ ।

कस्तो रहरले इलाम बजारको ‘वैद्य स्टोर’बाट हामी दुवैले एकै रङको चिया कप किनेका थियौं अनि ऊ सरुवा जाँदा मेरो कप लिएर गएको थियो। चिया पकाएँ अनि ओछ्यानमा बसेर फेसबुक खोलें। अमनलाई अरूले नै ट्याग गरेर नयाँ तस्बिर अपलोड गरेका रहेछन्। ‘हेप्पी म्यारिड लाइफ क्याप्टेन साब !’

ममाथि पृथ्वी खस्यो। आँखा तिरमिर भयो। केही देखिनँ। हातगोडा थरर काँपे। भित्तामा उसको र मेरो तस्बिर हाँसिरहेको थियो ।

अमनको कम्ब्याट ड्रेस हातमा लिएँ, छातीमा टाँसें, नाकले उसको सुगन्ध थाहा पाइहाल्यो। ढुकढुकी रोकियो। बिस्तारै अमनको बुट छामें अनि बेसरी रोएँ।

आजबाट मेरो प्रतीक्षाको दीप निभेको थियो। मेरो दुनियाको सबै खुसी एकै पलमा गुमाइसकेकी थिएँ। थरथर काँप्दै उसको प्रोफाइल हेरें। हाम्रा केही तस्बिर उसैगरी हाँसिरहेका थिए।

बिस्तारै दिनहरू बित्दै गए। म मरिसकेको मन बोकेर विराटनगर फर्किएकी थिएँ। ‘सानु, मलाई माफ गर !’ अमनले धेरै दिनपछि मलाई कल गरेर भनेको थियो। अरूकै भइसकेको उसका अगाडि रुन मन लागेन ।

‘बधाई अनि शुभकामना ! क्याप साब। संसारको खुसी मिलोस् तिमीलाई,’ मैले भनें।

‘सानु, बाँचेर पनि बाँचेको जस्तो पटक्कै लागेको छैन, हाँसेर पनि हाँसेको जस्तो पटक्कै छैन।’

म केही बोलिनँ, शब्द केही थिएन।

‘म कर्तव्यको भुमरीमा फसें सानु। विधवा मुमा (आमा)को वचन काट्न सकिनँ। तिमीबाहेक अरूलाई म प्रेम गर्न सक्दिनँ। तिमी भन्छ्यौ भने म दुनिया भुलेर तिम्रो अघि उभिन तयार छु। म परिस्थिति र बाध्यतामा बाँधिएँ। प्राण त तिमीमा बसेको छ मेरो !’ उसको सुक्सुकाहट मेरो कानमा बम बनेर पड्किरहेको थियो ।

‘तिमी खुसी हुनु, म यसै ठिक छु। म तिम्रो जिम्मेवारी र कर्तव्यबिच कहिल्यै पनि आउने छैन ।’

‘सानु, म कहींको रहिनँ।’

‘तिमीप्रति कुनै गुनासो छैन तर मलाई एकचोटि सोधिदिएका थियौं भने मेरो प्रेमप्रतिको तिम्रो सम्मान सम्झेर मन बुझाउँथें। तिमीले त मलाई सम्झेनौ है? केही छैन। तिमी आफ्नो जिन्दगी सजाऊ, आमा र श्रीमतीप्रति सधैं बफादार रहनू।’  

‘सानु !’

ऊ बोल्दै थियो, मैले कल काटिदिएँ अनि खुब रोएँ।

अब म खाली खाली भइसकेकी थिएँ। धेरैपछि उसले आफ्नो फेसबुकमा मैले चिया खाने गरेको कप फुटेको तस्बिर अपलोड गरेको रहेछ।

ऊप्रति चासो राख्दिनँ भन्दाभन्दै हरेकपल्ट फेसबुकमा उसको प्रोफाइल हेर्न मन लाग्छ, प्रत्येकपल्ट फोनको रिङटोन बज्दा झट्ट उसको झल्को लागि हाल्ने।

आफ्नो प्रोफाइलमा राखेको मेरो तस्बिर उसले कहिल्यै हटाएन।

म उसलाई सधैंभरि खुसी देख्न चाहन्थें तर ऊ भन्थ्यो– ‘मेरो सबै खुसी तिमी हौ सानु ।’ म निःशब्द बन्थें। उसको सुकसुकाहटले म बिथोलिन्थें। ऊभन्दा बढी दुःखी म थिएँ। ऊ पो मसँग रुन्थ्यो, म त ऊसँग रुन पनि सक्दिनथें। मैले उसको ठाउँमा कसैलाई राख्न सकिनँ, मेरा आँखालाई ऊबाहेक कोही मन परेन।

उसको यादले अँठ्याएपछि धेरै गाह्रो हुन्थ्यो। अब अमनबाट टाढा जाने निर्णय गरेर एकपटक रुन इलाम आइपुगेकी थिएँ।

सबै ठाउँ पुगें, जहाँ हामी दुई पुग्ने गथ्यौं। ऊ बस्ने गरेको ब्यारेक धितमरुन्जेल हेर्न चाहन्थें। पहिले सँगसँगै हिँडेको बाटो एक्लै हिँड्न साह्रै नमिठो लाग्ने रहेछ।

आमाप्रतिको कर्तव्य पूरा गर्दा छोडिएकी म, उसलाई सम्झेर रोइरहन्थें। अहिले पनि रोएकी नै छु। अमनप्रति गुनासो कत्ति पनि थिएन। बस् विवाहअघि मलाई एकपटक मात्रै सोधेर मेरो प्रेमको मान राखिदिएको भए हुन्थ्यो जस्तो लाग्छ अहिले पनि। कहिलेकाहीं फोन गरेर सुकसुक रुने उसलाई सम्झाउने कुनै शब्द छैन।

मसँँग मेरो संसार भन्नु, शब्दकोश भन्नु नै उही मायालु ‘क्याप साब’ थियो। ‘क्याप साब’रूपी शब्दकोश जतनले राखेकी थिएँ तर आज त्यो शब्दकोशका पाना अरू कसैले पल्टायो, पढ्यो अनि आफ्नो पुस्तकालयमा सजायो। मेरो भन्नै सकिनँ।

नेपाल हुँदा बारम्बार आइरहने उसको कल अनि उसको सुकसुकाहटदेखि धेरै टाढा जाँदै छु। अफिसबाट कागजपत्र मिलाएर द्वन्द्वग्रस्त राष्ट्र साउथ सुडान जाने अन्तिम तयारीमा छु, मानव अधिकारसम्बन्धी एउटा प्रोजेक्टमा।

मनमा लाग्छ, मेरो खरानी भएको मुटु त्यतै उडोस्, बमको धुवाँसँगै! तर के म भौतिक रूपले पृथ्वीको अर्कै कुनामा भए पनि उसको सम्झनाले पछ्याउन छोड्ला त? आफ्ना केही महत्त्वपूर्ण सरसामानहरू ब्यागमा हालिसकेकी थिएँ।

एकपटक हेर्नुप¥यो भनेर ब्याग खोल्छु, सबैभन्दा पहिला त अमनकै कम्ब्याट ड्रेस, निलो रङको एडिडास ब्रान्डको ज्याकेट र हामी दुई जनाको शाक्य फोटो स्टुडियो, इलाममा हाँस्दै खिचेको तस्बिर हालेकी रहेछु।

बरर आँसु खसे। ऊ बसेको मुटु बेसरी दुख्यो।

प्रकाशित: १४ पुस २०८० ०५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App