२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

किशोरकिशोरीले पढ्नै पर्ने उपन्यास चरीमाई

पुस्तक

उपन्यासकार अन्जना पौडेलकाे चरीमाई नेपाली समाजको यथार्थ चित्र बोकेको उपन्यास हो। यो हामी सबै पाठकले पढ्नै पर्ने उपयाेगी कृति रहेछ। उपन्यासले समाजको सटिक विश्लेषण गरी परिवार,समाज र राज्यलाई समेत जिम्मेवार बन्न आग्रह गरेको छ।

चरीमाई उपन्यास नेपाली समाजले देखेभोगेका यथार्थ घटनामा आधारित छ। यसमा आफ्नै दाजुभाइ, श्रीमान्, बुबा, भाइभतिजबाट पैसाको लोभमा परेर आफ्ना  कोमल चेलीछोरीहरूको मनको भावना नबुझी कलिलै उमेरमा बिहे गरिदिएकाले मुम्बईको कोठीमा बेचिन पुगेका नारीहरूको दर्दनाक कथाव्यथा समेटेर तयार पारिएको उपन्यास हो चरीमाई।

विशेषतः यो उपन्यास चेलीबेटी बेचबिखनमा परेका सम्पूर्ण सीमान्तकृत दर्दनाक पीडा खेपेका चेलीहरूको सामूहिक स्वर हो। सरकारले जतिसुकै कडा कानुन बनाए पनि आजसम्म  चेलीबेटी बेचबिखन जस्तो अपराध रोकिन सकेको छैन।

आजको समाजका नारीहरू शिक्षित हुँदै गएका छन्। यसो भन्नुको अर्थ पनि कोरा कागजमा मात्र सीमित भएको र व्यवहारमा लागु नभएको  तितो सत्य हामीलाई अवगतै छ।

चेलीबेटीहरू आफ्ना घरपरिवारकै सदस्यहरूबाट सुरक्षित हुन नसक्नु यो चेलीबेटीको कमजोरीभन्दा पुरुषको मनोविकार र अपराधीलाई सरकारले कानुनी कठघरामा उभ्याउन नसक्नु मूल समस्या हो।

समाजसँगै सरकारी निकायको कमजोरी छ जस्तो मलाई लागेको हो। हामी सबैले चेलीबेटी बेचबिखन अपराध हो भन्दै आएका पनि छाैं। यो बन्द हुनुपर्छ र बेचिएका चेलीहरूको सकुशल उद्धार हुनुपर्छ। उद्धार गरिएका चेलीहरूले स्वदेश फर्किएर सम्मानित पेशा अपनाएर सुखद् जीवन बाँच्न पाउनुपर्छ। यसका लागि परिवार,समाज र सरकार पनि जिम्मेवार बन्नु जरुरी छ।

प्रस्तुत उपन्यासमा उल्लेख गरिएको संघर्षका धेरैजसो कथावस्तु यही मूल मर्म बोकेकी सामाजिक अभियन्ता चरीमाया तामाङको जीवन भोगाइसँग मेल खाएको मैले पाएँ।

घटनावस्तु र नाम दुवै मिलाएर राखिएको हुँदा चरीमाया तामाङकै जीवन संघर्षमा आधारित कथावस्तु उपन्यासको रूपमा ल्याइएको हो कि भन्ने धेरै पाठकलाई आभास हुन्छ। यो हो कि होइन, यथार्थ कुरा लेखक अन्जना तथा समाजसेवी तामाङ शक्ति समूह नेपालकी चरीमाया तामाङलाई थाहा होला।

आफूलाई बेच्ने अपराधीहरूविरुद्ध कानुनी कारबाहीका लागि हिम्मतका साथ उनी डटेकी  छन् र अपराधीहरूलाई सजाय दिलाउन समेत सफल भएकी चरीमाया तामाङ एक साहसी महिला हुन्। उनी आफ्नै पहलमा अन्य बेचिएर जीवनदेखि हरेस खाएका महिलाहरूको उद्धार गरी प्रेरणाको स्रोत पनि बनेकी छन्।

उनले गरेका विभिन्न सामाजिक कार्यमा महिला उत्थान पनि महत्त्वपूर्ण छ। समाजसेवी चरीमायाका कामहरूको  मूल्यांकन गर्दै नेपाल लगायत विश्वका अन्य राष्ट्रहरूले पनि उनलाई सम्मानित गरेको विषय पनि कतै लुकेको  छैन।

अन्त्यमा यो चरीमाई उपन्यास स्कुलमा पढ्ने किशोरकिशाेरहरूले पनि पढ्न पाए उनीहरूको चेतना स्तर वृद्धि भई दलालहरूको पन्जाबाट बँचेर हजारौं निर्दोष चेलीबेटी नारकीय जीवनबाट मुक्त हुन सक्नेछन्।

यिनले जीवनमा भोग्नुपरेको दुर्दशा दोहोरिने थिएन। चेलीबेटी बेचबिखन जस्तो आपराधिक क्रियाकलापमा पनि  कमी आउने थियो भन्ने मलाई लागेको छ।

यसतर्फ सरकार र सरोकारवालाहरूको  ध्यान जाओस् र चेलीबेटीलाई समयमै सुरक्षा दिन सकियोस्। भोलिका दिनमा यो समस्याले भयानक स्थिति  नल्याओस् भन्दै सरकारको पनि ध्यानाकर्षण गराउँछु।

समाज घचघच्याउने सामाजिक समस्या उठाएर नेपाली साहित्यको फाँटलाई उपन्यास जस्तो गहन कृति दिन सफल भएकोमा उपन्यासकार पौडेललाई धेरैधेरै बधाई छ। आउँदा दिनमा अझ सशक्त उपन्यास पढ्न पाइयोस् भन्ने अपेक्षासहित कृति सफलताको लागि शुभकामना व्यक्त गर्दछु।

चरीमाई उपन्यास विद्यालय र क्याम्पसमा राम्रो माग भइरहेकाले दोस्रो संस्करण पनि छिट्टै बजारमा आउन लागेकोमा हार्दिक बधाई तथा शुभकामना अन्जनाजी। उक्त उपन्यास २२१ पृष्ठको छ। व्यक्तिगत मूल्य ४४९ र संस्थागत मूल्य १०००/- रूपैयाँ रहेको छ।

 -सुशीला ढकाल अधिकारी

प्रकाशित: ३ पुस २०८० ०५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App