१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

उपराष्ट्रपतिद्वारा विवाह पञ्चमीको शुभकामना

उपराष्ट्रपति रामसहायप्रसाद यादवले विवाह पञ्चमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन्।

आज एक शुभकामना सन्देश जारी गर्दै उपपराष्ट्रपति यादवले हरेक वर्षको मंसिर शुक्लपक्ष पञ्चमी तिथिमा मनाइने विवाह पञ्चमी २०८० का अवसरमा सनातन धर्ममा विवाह पञ्चमीको ठूलो महत्व रहेको भन्दै सबैलाई शुभकामना दिए।

उनले ऐतिहासिक, सांस्कृतिक, धार्मिक र मौलिक अनुष्ठानले सिंगो मानव जीवनलाई सत्य, निष्ठा, प्रेम, स्नेह, सहिष्णुता, मेलमिलाप, मैत्रीभाव, कुटुम्बभाव, भाइचारा आदिको सकारात्मक सञ्चार गर्ने विश्वास पनि व्यक्त गरेका छन्।

उपराष्ट्रपति यादवले विवाह पञ्चमी मनाउँदै गर्दा धर्म, संस्कृति, रीतिरिवाज र परम्पराका नाममा पछिल्लो समय देखासिकी, विकृति र विसंगति मौलाउँदै गएको भन्दै त्यसलाई परित्याग गर्न सक्नुपर्ने पनि धारणा राखेका छन्।

‘लाखौं रकम खर्चेर बनाइने महँगा पण्डाल, ठूलो परिमाणको अनाजबाट मूर्ति बनाउनेजस्ता आयातीत र महँगा संस्कृतिले विवाह पञ्चमीको मौलिकता ओझेलमा पर्न सक्छ’, उनले भने, ‘विवाह पञ्चमीलाई महोत्सवका रूपमा मनाउने तर यो दिन वैवाहिक सम्बन्ध कायम गर्न नहुने जुन भाष्यलाई पछिल्लो समय बढी प्रचारमा ल्याइएको छ, त्यसले नकारात्मक सन्देश जान सक्छ, यसप्रति सबैजना सचेत र सावधान हुन अति जरुरी छ।’

विवाह पञ्चमीका अवसरमा रामजानकी मन्दिरहरूमा भव्य कार्यक्रम आयोजना हुनुका साथै माता सीता र श्रीराम भगवान्को पूजा-उपासना गर्ने परम्परा रहिआएको छ। धार्मिक मान्यताअनुसार यसै तिथिमा भगवान् राम र जनक नन्दनी सीताको शुभविवाह भएको थियो।

यस अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधाम स्वदेश र विदेशका श्रद्धालु, भक्तजन र धार्मिक पर्यटकले खचाखच भरिएको हुन्छ। यो अवसरमा सीताराम स्तुति, कथावाचन, प्रवचन, धार्मिक झाँकी, प्राचीन गीतसंगीत आदिको आयोजना हुने गर्दछ। –रासस

प्रकाशित: १ पुस २०८० ०५:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App