५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

युक्रेनमा बन्धक छु

खासमा म भोकसँग लड्न निस्केको

बा आमाको रोगसँग लड्न निस्केको

सन्तानका दुखसँग लड्न निस्केको

बेरोजगारीको मूलसँग लड्न निस्केको

तर,

मलाई युरोपमा युद्ध बन्दी बनाइयो

अहिले म युक्रेनको कब्जामा छु

..........

युक्रेनसँगे मेरो शत्रुता थिएन,

रुससँग कुनै मित्रता थिएन

म त जीवनको लडाइँमा

आफैँसँग लड्न निस्केको

अभावले बन्धक बनाउँदै गर्दा

स्वतन्त्र हुन निस्केको

बिराएका पाइलाहरूले

बिरानो देशमा पुर्‍याएछ

नलडेको युद्धमा युद्ध बन्दी बनाएछ

.........

बाजेहरूले भन्थे–

हुलमुलमा जिउ जोगाउनु

म अनिकालको बिउ जोगाउन

परदेश निस्केको

काँधमा कसले बन्दुक राखिदियो

मलाई पत्तै भएन

गोडामा कसले बुट लगाइदियो थाहै भएन

आँखामा पट्टी बाँधिएको मलाई

म को भन्ने पनि थाहा छैन

मलाई यत्ति थाहा छ 

मेरो घर नेपाल हो,

अहिले म युक्रेनमा बन्धक छु।

...........

मलाई  यो पनि थाहा छ

न त मलाई बिदेसिन बाध्य पार्ने

मेरो देशले जोगाउन सक्छ

न त म आफैँ मार्न गएको देशले

मलाई जोगाउने रहर गर्छ 

बा आमाको एक्लो सन्तान म

अहिलेसम्म बाँचेकै छु

आफैँसँगको युद्धमा

युक्रेनमा हारेको  छु।

.............

गोर्खाली सन्तान म  परिचय भाडाको सिपाही बनेको छ

मेरो अधुरा  सपना युक्रेनमा पुरै बन्धक बनेको छ 

अपरिचित देशबाट परिचितमाझ  मलाई यत्ति भन्नु छ,

मेरो घर नेपाल हो,अहिले म युक्रेनमा बन्धक छु। 

प्रकाशित: २५ मंसिर २०८० ११:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App