१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

‘सीमान्तकृत आवाजलाई फिल्मले महत्त्व दिन सक्नुपर्छ’

नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११औं संस्करणमा बेलायती फिल्ममेकर माइकल ब्राउनले सामाजिक परिवर्तनका लागि सहभागी र एथ्नोग्राफिक डकुमेन्ट्री फिल्म निर्माण आवश्यक रहेको बताएका छन्।

महोत्सवअन्तर्गत आइतबार नेपाल पर्यटन बोर्डमा आयोजित ‘सहभागी र एथ्नोग्राफिक डकुमेन्ट्री फिल्म निर्माण’ शीर्षकको मास्टर क्लासमा उनले सामाजिक परिवर्तनका लागि एथ्नोग्राफिक र सहभागी फिल्म निर्माण आवश्यक रहेको बताएका हुन्।

‘समाजको तल्लो तहका सीमान्तकृत र पिछडिएका मानिसदेखि वातावरणलाई प्रत्यक्ष रूपमा असर पार्ने मुद्दाहरूको छलफलमा प्रभावकारी आवाज उठाउन फिल्मले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ,’ उनले भने, ‘संसारभरिका विविध परिस्थिति र देशमा समुदायसँग काम गरेको छु। प्रायः अनुभवजन्य अनुसन्धानमा आधारित रहने एथ्नोग्राफिक फिल्म निर्माणले मानिस र समुदायबीचको सम्बन्धलाई बहुमूल्य अन्तर्दृष्टि प्रदान गर्छ ।’

उनले अगाडि थपे, ‘मैले सहभागितामूलक विधिहरूमा विभिन्न सीप प्रयोग गर्दै धेरै समुदायमा आधारित विकास परियोजनामा प्रमुख अन्वेषकको रूपमा काम गरेको हुँदा सहभागितामूलक र एथ्नोग्राफिक डकुमेन्ट्री फिल्म निर्माणले यी प्रक्रियालाई बुझ्न र सहज बनाउने गरेको अनुभव गरेको छु।’

महोत्सवको दोस्रो दिन ‘सिनेमा विकासका लागि राजनीतिक प्रतिबद्धता’ शीर्षकमा वक्ताहरूले आआफ्नो धारण राखेका थिए। शनिबार महोत्सवको उद्घघाटन गर्दै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको संरक्षण, संवर्धन र प्रवर्धनका लागि फिल्म प्रभावकारी माध्यम भएका बताए।

‘फिल्म शिक्षा प्रदान गर्ने प्रभावकारी माध्यम हो,’ उनले भने, ‘फिल्मले मानवअधिकार सुरक्षित गर्न, प्रवर्धन गर्न र जागरूकता सिर्जना गर्न सहयोग गर्छ। समाजमा बालबालिकाको अपहरण, महिला हिंसा, जातीय विभेदजस्ता अपराध शृंखला रोकिएका छैनन्। जसको निरूपणमा फिल्म प्रभावकारी माध्यम बन्न सक्छ।’

मंगलबारसम्म चल्ने महोत्सवमा नेपाल, फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमन, थाइल्यान्ड, म्यानमार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्की, क्रोएसिया, इटाली, अयारल्यान्ड, किर्गिस्तान, जर्जिया, पोल्यान्ड, ताजिकिस्तान, नर्बे, युक्रेन, बंगलादेश र भारतबाट प्राप्त मानव अधिकारका विषयमा केन्द्रित फिल्म तथा डकुमेन्ट्री प्रदर्शन भइरहेका छन्।

बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई रहेको निर्णायक टोलीले उत्कृष्ट पाँच फिल्म छनोट गर्नेछ। महोत्सवमा उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिनेछ।  

प्रकाशित: २५ मंसिर २०८० ०५:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App