१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

अन्तर्राष्ट्रिय फिल्म महोत्सव : पुगेर फर्कियो ‘गाउँ आएको बाटो’

निर्देशक नवीन सुब्बाको फिल्म ‘गाउँ आएको बाटो’ आगामी जेठ १८ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ। ‘गाउँ आएको बाटो’ का निर्माता आमोद राईले विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सव प्रदर्शन भएपछि आगामी जेठ १८ देखि नेपालभरका हलहरूमा रिलिज गरिने जानकारी गराए।

‘विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन भएर हाम्रो फिल्म अब नेपाल फर्किएको छ,’ निर्माता राईले भने, ‘देशभर आगामी जेठ १८ गतेदेखि फिल्म प्रदर्शन हुँदै छ। नेपालको ग्रामीण परिवेशको कथावस्तुलाई दर्शकले मनपराउनु हुनेछ भन्ने अपेक्षा गरेका छौं।’

निर्देशक सुब्बाको ‘गाउँ आएको बाटो’ फिल्म टोरन्टो फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर गरिएलगत्तै बुसान फिल्म महोत्सवमा एसिया प्रिमियर भएको थियो। सेप्टेम्बर ७ देखि १७ सम्म टोरोन्टोमा आयोजित टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभलको ‘सेन्टर पिस’ सेक्सनअन्तर्गत ‘गाउँ आएको बाटो’ फिल्म वल्र्ड प्रिमियर भएको थियो।  

अक्टोबर ४ देखि १४ मा दक्षिण कोरियाको बुसानमा आयोजित महोत्सवको ‘अ बिन्डो अन एसियन सिनेमा’ विधाअन्तर्गत ‘गाउँ आएको बाटो’ फिल्मको एसिया प्रिमियर गरिएको थियो। यसअघि सुब्बा निर्देशित ‘गुडबाई काठमाडौं’ समेत सन् २०१७ मा बुसानमा प्रिमियर भएको थियो। ‘गाउँ आएको बाटो’ फिल्म साउ पाउलो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र भारतको जिओ मामी मुम्बई फिल्म फेस्टिभलमा समेत प्रदर्शनमा आएको थियो।

राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको यस फिल्ममा गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई देखाइएको छ। सामुदायिक लगानीको अवधारणामा निर्माण भएको यस फिल्मको निर्माणमा देशभित्र र विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीहरूले सामूहिक लगानी गरेका छन्। भोजपुर, संखुवासभा र धरान वरपर छायाङ्कन गरिएको यस फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बालगायतले अभिनय गरेका छन्।

निर्देशक सुब्बा र महेश राईको लेखन रहेको यस फिल्मलाई जोस हेरमले खिचेका छन् भने आमोद राई र नवीन सुब्बा निर्माता रहेको छन्। 

निर्देशक सुब्बाले यसअघि ‘नुमाफुङ’, ‘गुडबाई काठमाडौं’ र ‘दलन’ जस्ता फिल्म बनाइसकेका छन्। ‘अस्थिर राजनीतिका कारण हरेक दिन युवाहरू वैदेशिक रोजगारीमा गइरहेका छन्,’ निर्देशक सुब्बाले भने, ‘देश विकसित हुन नसक्दा हरेकलाई अबको गन्तव्य विदेश हुनुपर्छ भनेर समाजले सिकाइरहेको अवस्थामा यस विषयमा लामो समयदेखि फिल्म बनाउनुपर्छ भन्ने महसुस गरिरहँदा महेशले यस्तै खालको कथा लिएर आए। हामीले सहकार्य गरेर स्क्रिप्ट अघि बढाएका हौं।’

प्रकाशित: २३ मंसिर २०८० ०१:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App