२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

आफ्नै अभिव्यक्तिका कारण किन चर्चामा छन् टिकटक स्टार ?

सरकारले सामाजिक सञ्जाल टिकटक नेपालमा प्रतिबन्ध लगाएसँगै अहिले विभिन्न खालका टिका टिप्पणी भइरहेको छ।

कतिपयले सरकारले राम्रो कदम चालेको प्रतिक्रिया दिइरहेका छन् भने कतिले सरकारको निर्णयको आलोचना पनि गरिरहेका छन्।

टिकटक बन्द भएको बारे विशेष गरी टिकटक स्टारहरूले आ आफ्नो धारणाहरू राखिरहेका छन्। टिकटक मार्फत नै आफूहरूको व्यवसाय सञ्चालन गरिरहेका हुँदा टिकटक खोल्नु पर्ने र  सरकारले यसको भइरहेको विकृति रोक्नुपर्ने उनीहरुले बताइरहेका छन्।

तर उनीहरुले दिएको कुनै कुनै अभिव्यक्ति भने अहिले सामाजिक सञ्जालमा ट्रोल बनिरहेको छ। टिकटकमा आफ्नो राम्रो क्रेज कमाइरहेका मनोज केसीले टिकटक नखोले एक महिना भित्र दाहाल सरकार ढल्ने बताएका छन्।

सरकारले गरेको टिकटक प्रतिबन्ध विरुद्ध प्रदर्शनमा पुगेका केसीले भनेका छन्, 'टिकटक खुलेन भने प्रचण्ड सरकार एक महिनामा ढल्छ, तपाइहरू ढुक्क हुनुस्।'

अहिले केसीको अभिव्यक्ति सामाजिक सञ्जालमा ट्रेलको सिकार भइरहेको छ। सरकार कसरी बन्छ भन्ने थाहा नहुँनेले सरकार ढल्नेको कुरा गरिरहेका छन् भनेर धेरैले आलोचना गरेका छन्। 

त्यस्तै अर्की टिकटक स्टार इष्टु कार्कीले पनि एक टेलिभिजन अन्तरवार्तामा दिएको अभिव्यक्ति आलोचनाको सिकार भइरहेको छ। उनले अन्तरवार्तामा टिकटक प्रयोगकर्ताहरूले विश्वमा नेपाल भन्ने देश चिनाइरहेको बताएकी छिन्। 

उनले नेपाली टिकटक प्रयोगकर्ता आयुष र पाकिस्तानी टिकटक प्रयोगकर्ता एलीजाको सम्बन्धका कारण नेपाल विश्वभर चिनिएको बताएकी थिइन्। अहिले उनको यो भनाइ सामाजिक सञ्जालमा ट्रोल भइरहेको छ।

त्यसैगरी अर्की टिकटक प्रयोगकर्ता इभा गिरिले टिकटक बन्दले नेपालमा आर्थिकसंकट पैदा हुने बताएकी छिन्। उनले टिकटकै कारण अहिलेसम्म नेपालको अर्थतन्त्र चलेको र टिकटक बन्दले आर्थिक सङ्कट हुने बताएकी हुन्। 

गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट दर्ता भएका थिए।

मंगलबार उक्त रिटको आज प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। रिट निवेदकले अन्तरिम आदेश जारी गर्न माग गरे पनि सर्वोच्चले भने दिएन। सर्वोच्चले अन्तरिम आदेश जारी नहुने गरी १५ दिनभित्र लिखित जवाफ दिन आदेश गरेको हो।

प्रकाशित: ६ मंसिर २०८० ११:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App