१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

कर्णाली: जाउँ कि नजाऊँ

जीवन बुझ्नु छ ? एक पटक कर्णाली जाऊ

जीवन जोगाउनु छ ? दोहोर्‍याएर कर्णाली नजाऊ।


यी राजमार्ग हैनन् , मृत्यु मार्ग हुन्

जहाँ हरेक वर्ष सपनाहरूको दुर्घटना हुन्छ

भिरमा अड्किएका  पिरहरू जब कर्णालीको खोँचमा बजारिन्छन् 

तब देखेका नदेखेका सबै सपना चकनाचुर हुन्छन्।


कर्णालीलाई भूकम्पले त भर्खरै हल्लाएको हो 

गरिबी र अभावले सदिंयौदेखि हल्लाएको छ

भत्केका घरहरू भर्खरै देखिएका हुन्

भत्किएका मनहरू सदिंयौदेखि बेखबर छन्।


जीवन नियाल्नु छ, एक पटक कर्णाली जाऊ

जीवन नियालिरहन मन छ दोहोर्‍याएर कर्णाली नजाऊ।


बाटो जस्तो त कोरिएछ कर्णालीमा

तर जीवन कोरिएनछ

हिमालमा नथाकेका पाइला

थोत्रा बसमा गल्न थालेको छ

भिरमा नचिप्लेका आँटहरू

सडकमा छेउ लाग्न थालेको छ

राज्यले बेवास्ता गरेकाले

 यात्रीलाई कर्णालीले अँगाल्न थालेको छ।

 

जीवन  उठाउन मन छ ? एक पटक कर्णाली जाऊ

जीवन उठाइरहन मन छ ? दोहोर्‍याएर कर्णाली नजाऊ।

 

कर्णाली सुन हो तर नुनमा चराएको छ

कर्णाली गुन हो, तर  बैगुनले आहत छ

कर्णाली रारा बनेर रोकिएको छ

सिञ्जा बनेर  बगेको छ

कर्णाली फोक्सुन्डोमा प्रतिबिम्बित छ,

गमगढीमा गममग्न छ

कर्णालीको सुन्दरता नियाल्न मन छ ?

एक पटक कर्णाली जाऊ

सुन्दरतामा रमाइरहन मन छ ?

दोहोर्‍याएर कर्णाली नजाऊ।


अब, ढलेका घरसँगै भत्केका कर्णाली मन पनि उठाइयोस् 

पिछडिएको कर्णालीलाई अगाडि बढाइयोस्

मृत्यु मार्ग राजमार्गमा बदलियोस्

कर्णालीमा सुस्केरा हैन, कर्णप्रिय सुसेली सुनियोस्


तब   घुमन्ते मन खुसीले भन्छ

प्रकृति र जीवन बुझ्नु छ ? 

एक पटक कर्णाली जानुस्

जीवन साँच्चिकै जिउनु छ ? 

बारम्बार कर्णाली जानुस्।

प्रकाशित: ३ मंसिर २०८० १०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App