१८ असार २०८१ मंगलबार
image/svg+xml
कला

टीका लगाइदिन बाआमा नै शहर जान थाले

लघुकथा

बाआमाले दुःखजिलो गरेर छोराहरूलाई पढाए। छोराहरूले प्रगति गर्दै गए, शहरमा घर बनाए।बाआमालाई शहरमै बोलाए तर मानेनन्।

‘गाउँको घर छोड्न बाआमाको मन किन मान्थ्यो त नि!’ छोराहरूले कर गर्न सकेनन्। बाआमाप्रति सबै छोराको उत्तिकै श्रद्धा थियो। बेलाबेलामा गाउँ आइरहन्थे। मिठामिठा खानेकुरा र राम्राराम्रा कपडा लिएर पालैपालो आउँथे। बुहारीहरू त झन् सासूससुराप्रति हुरुक्क हुन्थे, नातिनातिनाहरू पनि हजुरबाहजुरआमा भनेपछि अझै भुतुक्क हुन्थे।

दसैंको बेला ढिलोमा फूलपातीको अघिल्लो रातमा सबै भेला भइसक्थे। भोलिपल्ट आँगनका दुई छेउमा दाजुभाइ पिङ हाल्न कस्सिन्थे। गाउँकै घरमा लिङ्गे पिङ र घुर्रे पिङ खेल्न पाउँदा नातिनातिनीहरू खुब रमाउँथे। हजुरबाले पिङ नहल्लाइदिएसम्म नातिनातिनीहरूको मन मान्दैनथ्यो। बुढाले सबै केटाकेटीको मन राख्थे।

शहरमा हुने चोरी, घर कुर्नुपर्ने बाध्यता जस्ता कारण देखाएर बिस्तारबिस्तार छोराहरू दसैंको टीकाको दिनमा मात्रै आउन थाले। त्यसो हुँदा बुहारी, नाति वा नातिनी कोही न कोही छुट्थे।

छोराहरू व्यस्त हुँदै गए। बाआमा बुढा हुँदै गए। अब दसैंमा गाउँमा खसी खोज्नुपरेन, मार हान्नु परेन, आँगनीमा पिङ हाल्ने झन्झट बेसाउनु परेन, जमरा राख्नुपरेन, फुलेका तितेपाती काटेर ल्याउनु परेन। नैबेतका लागि केराको घरी काटेर भकारीमा पकाउन हाल्नुपरेन। गाउँमा टिकै नलगाउने भएपछि रातो माटो र कमेराले घर सिंगार्न पनि परेन।

‘सबैलाई किन दुःख दिनु र! हामी बुढाबुढी नै शहर गएपछि टन्टै खलाँस!’

छोराहरूलाई दसैंको टीका लगाइदिन अचेल वृद्ध बाआमा नै शहर जान थालेका छन्।

 -रमेशचन्द्र घिमिरे 

( कथाकार घिमिरे ईशानेश्वर क्याम्पस मध्यनेपाल नगरपालिका-६, भोर्लेटार, लमजुङका क्याम्पस प्रमुख हुन्।)

प्रकाशित: ७ कार्तिक २०८० ०३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App