समकालीन नेपाली कविताको प्रमुख स्वर भनेको पहिचान हो। पहिचानलाई केन्द्रबिन्दुमा राखेर सिर्जना गर्न कविहरू सक्रिय छन्। २०६२÷६३ को जनआन्दोलनले नेपाली समाजलाई विनिर्माण गर्यो। यही सेरोफेरोका विनिर्माणवादी कवि हुन्–इन्दु नेपाल योन्जन। उनको नवीन कवितासंग्रह ‘अन्तिम सेलो’ प्रकाशित भएको छ।
कवि योन्जनले यस संग्रहमा तामाङ जातिका संस्कृति, मिथक र परम्परालाई आफ्नो कवितामा प्रविष्टि दिएका छन्। कवि सरल, सहज र सुबोध लाग्छन्। गीतिमयता उनको गुण हो। विम्ब र प्रतीकका झुन्ड कवितामा छैनन्।
कवि योन्जन ‘प्रिय थेवा’ कवितामा लेख्छन्:
‘एकैछिनमा गुराँसका फूलहरू ओइलाउँछन्
एकैछिनमा आरुका फूलहरू झर्छन्
अब कसरी गुराँसजस्तो मुस्कुराउन सक्छिन् डोल्मा।’
शब्दबाट सौन्दर्य ल्याएर उनले काव्यशिखर चुम्ने प्रयत्न गरेका छन्। योन्जन प्रेम, परिवार, सामाजिक विसङ्गति, प्रकृति र आफ्नो धर्म–संस्कृतिलाई शब्दको पदचापमा हिँडाउने कवि हुन्।
संखुवासभामा जन्म भई धरानको सहरिया जीवन बाँच्न पुगेका योन्जनको कवितामा गाउँले जीवन, पहाड, संस्कृति र भूगोल छुटेका छैनन्। यी सबैसँग एकाकार भई उनी शब्दबाट बोध गर्छन् र तामाङ सेलोमा जोडिएको आफ्नो अस्तित्व स्विकार्छन्।
आसेङ,
अब युङवार साप्राहरू
भेला गर्न थालौं
लामा र आनीहरूलाई
सिमानाको गुम्बा र मठमा
परिचालन गरौं (सिमाना आसेङ)
समकालीन नेपाली कवितामा पुनरावृत्ति दोष रहेको छ। सकभर मौलिक रचना र भाषाको चमत्कारलाई जोगाउनुपर्ने हुन्छ। यस कार्यमा योन्जन सफल देखिन्छन्। सरल र सहज विम्बद्वारा उनका कविता दुरुह छैनन्, पारदर्शी लाग्छन् :
हेर त तक्मारे खोला उस्तै छ
चन्द्र र सूर्य उस्तै छन्। (तक्मारे खोलाको वियोगान्त कथा)
समय बहँदो छ। प्रकृति उस्तै छ। जीवनको क्षण भंगुरतालाई उनले केलाएका छन्। समय जतिसुकै लामो अथवा छोटो नै किन नहोस्
समयलाई समयले नै नाप्छ
र एउटा अनुत्तरित प्रश्न बनेर
शून्यतामा लीन भइरहन्छ। (समय)
यो उनको उत्कृष्ट कविता हो, जहाँ कविताको तत्व–मीमांसा गरिएको छ। समय गहिरो रूपमा छैन र पनि छ। समयको व्यापकताबाट कोही भाग्न सक्दैन। ४० कविताको सञ्चयनस्वरूप संग्रह आएको छ। समकालीन कवितामा पहिचान लेखनमा योगदान भएको छ। यो कृति ‘अन्तिम सेलो’ अन्तिम नहोस्। कविले काव्यको गुञ्जनबाट तामाङ जाति र नेपालको सेलो गाइरहून्।
प्रकाशित: ६ आश्विन २०८० ०३:५५ शनिबार