७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

बत्ती बाल्न बिर्सिएको त्यो साँझ

कथा

त्यो अनजान सहरमा ऊसँग सबैभन्दा सुरक्षित महसुस गरिरहेकी थिएँ। पहिलोपटक उसको अँगालो मलाई दुनियाँमा सबैभन्दा प्रिय लागेको थियो। सम्पूर्ण रूपमा उसका अगाडि समर्पित भएकी थिएँ। मलाई कसैको डर थिएन। म संसारको सबैभन्दा सुरक्षित स्थान र प्यारो मान्छेसँग थिएँ।

म एकोहोरो उसलाई हेरिरहन्छु। मलाई उसको नाम पनि थाहा छैन। उसले पनि मलाई अघिदेखि नै नोटिस गरिरहेको थियो। म हेर्छु, ऊ असहज मान्दै लजाएर अर्कोतर्फ फर्कन्छ। ऊ मतिर फर्कने आशामा हेरिरहन्छु। एकछिनमै उसले मलाई हेर्छ। जे पर्ला पर्ला, अलिकति हाँसिदिएँ। ऊ झन् लजायो, अनुहार रातो बनाएर। क्याप टोपी अलि मिलाएजस्तो गर्‍यो। हातमा बोकेको रेड्युल सेट (नेपाल प्रहरीको आन्तरिक सञ्चार सेट)लाई बर्दीको सर्टको गोजीमा राखेर फेरि घोप्टिएर मलाई अलिकति हेर्‍यो। म पनि हेरिरहेकी छु। अलिकति हाँसेर फेरि अर्कोतिर फर्कन्छ। म भुतुक्कै हुन्छु। अन्जान बनेर खै के सम्झ्यो, ऊ पनि मलाई हेरेर थोरै हाँँस्दै भुइँतिर निहुरिन्छ।

ऊ कतिखेर यो हृदयमा बसिसकेछ, पत्तो नै पाइनँ मैले। मेरो आफ्नो कामतिर ध्यान थिएन। बस् उसलाई नियालेर बसिरहन्छु। ऊ लजाउँछ। थोरै मुस्कुराउँछ। म देखिहाल्छु तर हाम्रो बोलचाल भएको छैन। हँसिलो मुहार, ठुलो निधार, छोटो कपाल अनि चिउँडामा भएको कोठीमा मेरा नयन गाडिएका छन्। खुब प्यारो लाग्छ उसको सानो सिनिक्क परेको नाक। म अफिसको कार्यक्रमका सिलसिलामा केही दिनदेखि उसको सहरमा थिएँ।

आँखाभरि ऊ लजाएको, अलिकति डराएको, लुकीलुकी मसँग नजर जुधाएको सम्झन्छु। मन रोमाञ्चित हुन्छ। कुनै पुरुष मन परेर फुरुंग परेको यो मेरो पहिलो अनुभव थियो। यसरी मसँग कोही नजिक भएको थिएन र फेरि हुने पनि छैन। ऊ मेरो पहिलो प्रेम अनि आकर्षण थियो।

कार्यक्रम स्थलबाट म अर्को मिटिङमा जानुपर्ने भयो। मलाई जान त मनै थिएन। बसेको स्थानदेखि उठेर हिँड्ने जाँगर नै चलेन। त्यहाँबाट ऊ लजाएको, डराएको नियालिरहेकी थिएँ।

जीवनमा पहिलोपटक मन परेको मान्छे थियो ऊ। उसको लजालु हेराइ, मुसुक्क हाँस्दा अलिकति देखिने दन्त लहर, छोटो कपाल, ठुलो निधार, अलि अलि राखेको जुँगा अनि सबैभन्दा राम्रो चिउँडाको कोठी। लाग्छ गएर गर्लम्म अँगालो हालाैं, त्यो सुन्दर मुहार दुवै हातले सुमसुम्याऊँ अनि बेस्सरी छातीमा टाँसिएर बसूँ तर त्यो असम्भव थियो। ऊ पनि बेला बेला मलाई हेर्दै थियो। कहिले हकले त कहिले अलिकति छलिएर। कस्तो मन परेको उसको ठुलो निधार अनि आँखा। मलाई कार्यक्रमपट्टि ध्यान थिएन, बस् उसको नाम जान्नु थियो। घर र थर थाहा पाउनुथियो। मोबाइलको क्यामेरामा जुम गरेर एउटा तस्बिर लिएँ उसको।

म जानैपर्ने भएकाले हिँडें। उसले पनि मलाई पर पुगुन्जेल हेरिरहेको थियो। म फर्की फर्की उसलाई नै हेर्दै थिएँ।

मेरो साथीले मलाई चिमोटेर जिस्काइन्-तेरो पारा निको छैन नि। इन्सपेक्टर साब मन परेको हो? म अघिदेखि तिमीहरू दुवैलाई हेरिरहेकी छु। कुनै केटा मन नपर्ने तँलाई इन्सपेक्टर साब कसरी मन पर्नुभयो? म सपनामा छुजस्तो लागिरहेको छ। साधुनी बनेर खरानी घस्न मात्रै बाँकी थियो त।’ उनी मज्जाले हाँसिन्, म लजाएँ।

ऊ आज्ञाकारी बनेर मसँगै होटलको सिँढी चढ्न थाल्यो। फेरि हाम्रा आँखा जुधे। मैले उसको पाखुरा बेस्सरी समाएर छातीमा टाँसें। म युद्ध मैदानमा आत्मसमर्पण गरेको सिपाहीझैं उसको अघि उभिएकी थिएँ।

उसलाई छाडेर कार्यक्रमको अर्को हलमा जाने मन त थिएन तर जानैपर्ने बाध्यता। म मिटिङमा बसिरहेकी थिएँ तर मन ऊसँगै छोडिएको थियो।

साँझ पर्न लाग्यो। यता हाम्रो मिटिङ सकिँदैन। उठेर हिँड्न नमिल्ने, म आफै कार्यक्रम आयोजक समितिको मान्छे।

बल्लबल्ल मिटिङ सकियो। केटाकेटीझैं दौडेर जान नमिल्ने। बाध्यता थियो अर्को। तैपनि हतारहतार आएर हेर्छु, ऊ त्यहाँ थिएन। ऊ बसेको कुर्सी खाली थियो। यसो छोएँ। उसको न्यानोपन छातीभरि पाएँ। नमिठो लाग्यो। उसको नाम मात्रै थाहा भएको भए ! थक्क लाग्यो आफैसँग।

साथीले जिस्काइन्– ‘ल इन्सपेक्टर साब त हिँडिसक्नुभएछ। कसैलाई सास फेर्न कम्ती गाह्रो भएको छ र! म उहाँको नाम पत्तो लगाइदिऊँ?’

‘धेरै नजिस्का है मलाई,’ मैले भनें।

पर गेटमा प्रहरीहरूको भिड थियो। एउटा आशाको दियो चम्कियो आँखामा। बिस्तारै साथीहरूसँग भिड नजिकै पुग्दा ऊसँग आँखा जुध्यो। कति मिठो मुस्कान, चिउँडाको कोठी, ठुलो निधार, अलि छोटो कपाल, सानो सिनिक्क परेको नाक, अलिअलि राखेको जुँगा मलाई असाध्यै मन परेको।

मैले दुनियाँ भेटेकी थिएँ उसको चिउँडाको कोठीमा। उसलाई देखेर साथीले मलाई घचेटेर ‘जा बोल्,’ भनिन् तर मेरा पाइला सर्दै सरेनन्।

प्रहरीको भिडमा उसलाई त्यसरी उभिरहेको देख्दा मनले सगरमाथाको शिखरमा विजयको झन्डा फहरायो। ऊ मैले मन पराएको पहिलो व्यक्ति थियो। साथीले मलाई तान्दै उसको नजिक पुर्‍याएकी थिइन् तर बोल्न सकिनँ।

सायद उसले पनि मलाई नै पर्खिरहेको जस्तो लाग्यो। म फेरि हलतिर जानुपर्ने भएका कारण हलतिर जान लागेकी थिएँ। यसो हेरें, ऊ प्रहरीको गाडीमा चढेर हिँड्न लागेको थियो। मुटु चुँडिएझैं भयो अनि शरीर नै चिसो भएर आयो। तर फर्केर आउँछ भन्ने भ्रम जाग्यो मनमा।

ऊ पनि मलाई हेरेर गाडीमा बस्यो। म बिस्तारै हलतिर लागें।

छलफल, भेटघाटमा व्यस्त हुनुपर्‍यो तर मन ऊसँगै थियो। रातको ८ बजेसम्म पनि म मिटिङ हलमा थिएँ। बल्ल बल्ल आजको कार्यक्रम स्थगित भएको जानकारी आयो। यसपालि दौडेर ऊ बसेको गेटमा आउँछु, ऊ बसेको स्थानमा अर्कै इन्सपेक्टर बस्नुभएको रहेछ। मन खंग्रङ्ग भयो तैपनि ऊ त्यहीं छजस्तो लागेर म जता उज्यालो (बिजुली) छ, त्यतातिर उभिन्छु, बस्छु। टाढाबाट भए पनि मलाई बिजुलीको उज्यालोमा देखेर ऊ आउँछजस्तो एउटा मिठो भ्रम, छट्पटी भयो।

‘हौसला राख, भोलि उहाँको ड्युटी पर्ला नि ! पागल न हो। म भोलि जसरी भए पनि उहाँको नाम, नम्बर पत्ता लगाइदिउँला,’ साथीले सान्त्वना दिँदै थिइन्।

मलाई त रुन मन लागिरहेको थियो। उनलाई अँगालेर लामो सास फेरें।

‘ल खाना खाएर होटल फर्कनुपर्छ,’ उनैले भनिन्।

‘म होटलमा नै खान्छु, यहाँको अलि मिठो लागेन,’ मैले बिस्तारै भनें।

उनले ठिटलाग्दो तरिकाले मेरो अनुहार हेरिन्।

‘जा खाना खान। म होटल फर्कन्छु।’

उनी केही नबोली खाना खान लाइनमा उभिइन्। म भने पर पर प्रहरीको भिडमा उसलाई नै खोजिरहेकी थिएँ। खिन्न थियो मन। साथीलाई ‘जान्छु है’ भनेर म निरास बन्दै कार्यक्रमस्थलबाट होटल फर्कें।

त्यो मेरो मन परेको चिउँडाको कोठी, हिमालझैं खुल्ने दाँतका लहर, हँसिलो मुहार, ठुला आँखा अनि ओठमा राखेको अलिअलि जुँगा सम्झँदै थिएँ।

ठुलाठुला आँखा, छोटोेकपाल भएको टाउको, ठुलो निधार, हिमशृङ्खलाझैं सेता दन्तलहर, मधुर ओठ, ओठमाथि राखेको अलिअलि जुँगा, चिउँडाको कोठी, कसिलो शरीर, चौडा छाती, काँधमा दज्र्यानी चिह्न। आहा ! कति प्यारो मान्छे।

होटलमा फर्केपछि डंग्रङ्ग ओछ्यानमा लडें। सायदै म भोलि नै काठमाडौं फर्कनुपर्ने थियोे। मेरो कार्यक्रम तालिका त्यस्तै थियोे। अहिलेसम्म उसको नाम पनि थाहा थिएन। ऊ अति मन परेको मान्छे, नबोलेरै, नजानेरै प्रेम भएको मान्छे। म खाना खान टेबुलमा बसें। सँगै ऊ पनि बसेको छ जस्तो लाग्छ।

खाना नै रुचेन। कस्तो बेचैनी? रातभरि निन्द्रा लागेन।

कतिबेला बिहान होला? कतिखेर कार्यक्रममा पुग्नु ? कतिबेला ८ बज्लाजस्तो भएको थियोे। साथीहरू आआफ्नो रुममा बसिसकेका थिए। म पनि रुममा गएँ। बेडमा ढल्किएर बसें। यहाँ पनि ऊ साथमा बस्दै लजाएर मुसुक्क हाँसेजस्तो लाग्यो। म आफ्नो छटपटीमा आफै लजाएँ। जबरजस्ती आँखा चिम्लिएँ। उसको चिउँडाको कोठी झुलुक्क झुल्कियो। मलाई उसको नाम मात्रै जान्न पाए हुन्थ्यो जस्तो लाग्यो। उसकै नाम जपेर जुनी काट्न तयार भइसकेको थियो मन।

आँखाभरि ऊ लजाएको, अलिकति डराएको, लुकीलुकी मसँग नजर जुधाएको सम्झन्छु। मन रोमाञ्चित हुन्छ। कुनै पुरुष मन परेर मन फुरुंग परेको यो मेरो पहिलो अनुभव थियोे। यसरी मसँग कोही नजिक भएको थिएन र फेरि हुने पनि छैन। ऊ मेरो पहिलो प्रेम अनि आकर्षण थियो।

कति खेर निदाएछु, सपनाभरि ऊ थियो मसँगै। बिहान ८ बजे म कार्यक्रमस्थल पुग्दा गेटमा प्रहरीहरू ड्युटीमा बसिरहेका थिए।

म अत्तालिएर यताउता हेर्छु। मञ्चअगाडि कुर्सीमा बसिरहेको देखें मेरो मन परेको, चिउँडाको कोठीवाला, मेरो मन परेको मान्छे।

‘ऊ तेरो हेन्सम हाकिम साब। जा कुरा गरिहाल्ल्,’ साथी मलाई घचेट्दै थिइन्। म फेरि अलिकति लजाएँ, अलिकति डराएँ।

लाग्यो, ऊ पनि मलाई नै पर्खिरहेको थियोे। हाम्रा आँखा जुधे, ऊ पनि सायद आँटैले थोरै मुस्कुराएर लजायो।

ओहो ! उसलाई कस्तो सुहाएको त्यसरी लजाउँदा। जे पर्ला पर्ला, म बिस्तारै ऊ बसेको ठाउँमा गएँ। म कसरी ऊ भएको ठाउँसम्म पुगें, थाहै भएन।

नमस्कार आदानप्रदान भयो। उसले आफ्नो छेउमा कुर्सी राखिदियो। म आज्ञाकारी भएर थपक्क बसें।

मेरा ओठ, हात, गोडा डरले, खुसीले थर थर काँपिरहेका थिए। एकछिन त बोल्नै सकेनौं। सबैका आँखा छलेर मौनतामा केही कुरा भए आँखाको भाकामा। परिचय भयो अनि फोन नम्बर साट्यौ। सम्झनास्वरूप एउटा तस्बिर खिच्यौं।

हामी दुईका कुरा, चाहना र रहरहरू सबैलाई थाँती राखेर म फेरि कार्यक्रममा व्यस्त भएँ।

संस्था अध्यक्षको प्रदेश इन्चार्जहरूसँग छलफल कार्यक्रम तालिकाअनुसार म मिटिङ हलतर्फ लागें चाँडै आउने बाचा गरेर। ऊ हातमा रेड्युल सेट बोकेर मलाई नै परसम्म हेरिरहेको थियोे। फर्केर हेरें, ऊ मुसुक्क हाँस्यो, मैले संसार जितें !

हामी कार्यक्रमको अन्तिम चरणमा थियौं। केही साथी आआफ्नो जिल्ला फर्किसक्नुभएको थियो भने केही साथी फर्कने तयारीमा हुनुहुन्थ्यो। कार्यक्रम आयोजक भएका नाताले केही काम बाँकी नै थिए मेरा।

म फेरि ऊ बसेको ठाउँमा गएँ।

‘हजुर बस्नू न,’ नजिकै कुर्सी तान्दै उसले आग्रह गर्‍यो।

म नजिकै बसें। उसको शरीरको तातोपन मैले महसुस गरें। मन फुरुंग भएर उड्यो कता कता। म उसलाई हेर्छु, ऊ फेरि अलिकति लजाउँछ। छोरा मान्छेलाई लजाएको कस्तो सुहाउने? उसको ठुलो निधार, ठुला ठुला आँखा, चिटिक्क परेको नाक, हँसिलो मुहार अनि मलाई खुब मन परेको चिउँडाको कोठी!

हामी सँगसँगै थियौं। अलिकति कुर्सीको हात अड्याउने भागले मात्रै हामीलाई छुट्याएको थियो। उसको कुहिनाको स्पर्श मैले पाइसकेकी थिएँ।

म मोबाइलमा काठमाडौं फर्कने टिकटको खोजीमा हुन्छु तर त्यो दिनको चन्द्रगढीदेखि काठमाडौंसम्मका सबै टिकट सकिइसकेका रहेछन्।

एक मनले टिकट नपाइए पनि हुन्थ्यो, प्लेन केही दिन नउडून्, गाडी नगुडून्, समय ठप्प होस् जस्तो लागेको थियो। म मेरो खुब मन परेको चिउँडाको कोठीसँगै जीवनका केही पल बिताउन चाहन्थें।

उसलाई हेर्छु। लजाएर अलिकति हाँस्छ अनि छोटोे कपाल मिलाएजस्तो गर्छ। म हुरुक्क हुन्छु।

‘हजुर पनि आजै फर्कने हो र?’ उसको प्रश्न।

‘नाइँ, म तिमीसँगै बस्छु ल,’ भन्न मन थियो तर सकिनँ।

‘टिकट मिले फर्कन्छु।’

‘म बुझिदिऊँ हजुर? एयरपोर्टमा मेरो साथी छ।’

कस्तो अबुझ बनेको होला ऊ। मन खिन्न भयो मेरो। म चाहन्थें– उसले मलाई रोकोस्, छेकोस्, छोडेर नजाऊ भनोस्।

‘मलाई रोक्दैनौ ?’ भन्ने भावले उसलाई हेरें। ऊ फेरि अलिकति लजाएर हाँस्यो अनि रेड्युल सेट हातमा राखेर अलिकति सुमसुम्यायो। म उसको हातमा भएको त्यो सेट बन्न सकेको भए ...!

मेरो काठमाडौं फर्कने टिकट मिल्दै मिलेन। म सुदूरपूर्वको बिर्तामोडमा छु। काठमाडौं अफिस पुगेर गृह जिल्ला कैलाली जानु छ। एकप्रकारले टिकट मिलेन, खुसी छ मन। ऊसँग केही समय बिताउन मन थियोे। हामीले आआफ्ना कुरा अलि अलि बताइसकेका थियौं।

म उसलाई नियालिरहन्छु। भुतुक्क हुनेगरी लजाउँछ। त्यसरी लजाउँदा कस्तो सुहाउने उसलाई। उसका ठुला ठुला आँखा, छोटो कपाल भएको टाउको, ठुलो निधार, हिमशृङ्खलाझैं सेता दन्तलहर, मधुर ओठ, ओठमाथि राखेको अलिअलि जुँगा, चिउँडाको कोठी, कसिलो शरीर, चौडा छाती, काँधमा दज्र्यानी चिह्न। आहा! कति प्यारो मान्छे। मन चाहन्थ्यो-त्यो प्यारो मान्छेलाई सानो बनाएर मुटुमा लुकाएर राख्न, दुनियाँको नजरदेखि ! ऊ प्रेमपूर्ण नजरले मलाई हेर्छ, मक्ख पर्छु।

म मेरो फेसबुकमा केही तस्बिर अपलोड गर्छु। साथीहरू फर्कन लागेपछि म पनि होटलतर्फ लाग्छु। होटलमा हिसाबकिताब मेरै भागमा परेको थियोे। म ऊसित बिदा मागेर होटलतर्फ लाग्ने तयारीमा हुन्छु।

‘म हजुरलाई कल गर्छु है ?’ मैले आँटैले भनें। उसले छोटोे कपाल भएको टाउको हल्लायो।  

कति प्यारो मान्छे ...!

‘हजुरका लागि केही हेल्प गर्न सक्छु कि?’

‘थ्यांक यु सर, परे भन्छु नि,’ मैले भनें।

‘हजुरको टाइम मिले भेट्न सक्छु?’

‘अवश्य’ मुटुको धड्कन एक्कासि बढेजस्तै लाग्यो। म मुस्कुराएँ, ऊ अलिकति लजायो।

म साथीहरूसँग होटलतर्फ लागें। कस्तो हतार थियोे मनमा तर केको हतार? थाहै थिएन।

उसलाई सम्झेर म एक्लै हाँसेकी थिएँ।

होटलमा मेरो रुमबाहेक सबै रुमको चेकआउटपछि साथीहरू पु¥याउन गाडी चन्द्रगढी एयरपोर्टतर्फ लाग्यो।

म काउन्टरअघि बसेर ग्रिन टी पिउन लागेकी थिएँ। वाइफाई कनेक्ट भएर मोबाइलमा नोटिफिकेसन रिङ बज्यो। हेरें, उसले फेसबुकमा एड गरेर मेसेज गरेको रहेछ– ...जधि...।

कस्तो सटिक शब्द। म फेरि मेसेज हेरेर मुस्कुराएँ। मेसेजका अक्षरमा उसका ठुला आँखा, ओठमा राखेको अलि अलि जुँगा र चिउँडाको कोठी खुलिरहेका थिए। मनले सगरमाथाको शिखर चुमिसकेको थियो।

मैले एक घुट्की ग्रिन टी पिएँ। यस्तैमा उसकै नम्बरबाट कल आयो।

‘म हजुरलाई भेट्न आउँदै छु।’  

उसको बाटोमा मेरा नयनहरू टोलाइरहेका थिए। हृदय बिछ्याएर म स्वागतमा उभिएकी थिएँ।

होटलमा अन्य जिल्लाका साथीहरू हुनुहुन्थ्यो। टिकट नमिलेर बस्नुभएका उहाँहरू नजिकैको इलाम, भारतको सिलिगुडीतिर घुम्न जाने तयारीमा हुनुहुन्थ्यो। म आफ्नै मनको मालिक थिएँ। आफ्नै मर्जी थियो जिन्दगीको त्यो एक पल। मैले सबैलाई भुलिसकेकी थिएँ। जिम्मेवारी, कर्तव्य सबै एकातिर थन्क्याएर म आफ्नो मात्रै जीवनको एक पल बाँच्न खोजिरहेकी थिएँ।

मन अलि चञ्चल भइरहेको थियो। एकप्रकारको छटपटी ...।

ऊ आइपुग्यो। लजाउँदै गाडीबाट ओर्लिएको दृश्य अझै आँखामा नाँचिरहन्छ। उसलाई होटलको गेटसम्म छोडेर गाडी फर्कियो।

मेरो दुनियाँ मेरै अघि थियो।

मैले उसको हात च्याप्पै समाएँ, सारा लाज र संकोचको सीमारेखा नाघेर। त्यहाँ अरू जिल्लाका केही साथी पनि हुनुहुन्थ्यो। म उहाँहरूको नजरबाट गिर्न चाहन्नथें।

हामी अपरिचित होइनौं भनेर सन्देश दिन मैले उसको हात समाएकी थिएँ। उसको तातो हातको स्पर्शले मेरो डर, लाज, संकोचले चिसिएको मुटुमा रक्त सञ्चार भएजस्तो लाग्यो। अब ऊ अलि सहज बनेजस्तो लाग्यो।

त्यहाँ उसलाई त्यतिकै उभ्याइराख्न मनले मानेन।

‘माथि रुम मै बसौं,’ कसरी भनें हुँला? अचम्म  लाग्छ सम्झँदा।

ऊ आज्ञाकारी बनेर मसँगै होटलको सिँढी चढ्न थाल्यो। फेरि हाम्रा आँखा जुधे। मैले उसको पाखुरा बेस्सरी समाएर छातीमा टाँसें। उसले पनि हात फैलाएर मेरो कुम अठ्याएर अलि च्याप्यो। म युद्ध मैदानमा आत्मसमर्पण गरेको सिपाहीझैं उसको अघि  उभिएकी थिएँ।

मैले कोठाको ढोका खोलें। उसलाई सोफामा बसाएँ। उसले बोकेको रेड्युल सेट टेबलमा राख्यो अनि निलो रङको क्याप टोपी पनि।

म अर्को सोफामा बसें। उसले ढोका बन्द गर्‍यो। म उसलाई हेरिरहन्छु। उसले बिस्तारै दुवै हात तानेर मलाई छेउमा बसायो अनि मेरो अनुहार आफूतिर फर्काएर भन्यो–‘म हजुरको मुस्कानमा हराएँ।’

म बोल्नै सकिनँ।

‘हजुरको अगाडि हाजिर छु म,’ उसले मेरा दुवै हातका औंला सुमसुम्याउँदै भन्यो। म उसका ठुला ठुला आँखा, मधुर ओठ, छोटोे कपाल, ठुलो निधार अनि अलि अलि राखेको जुँगा र चिउँडाको कोठी हेरिरहन्छु। तीभन्दा सुन्दर र प्रिय मेरा लागि संसारमा केही छैनजस्तो लागेर आयो।

उसले मलाई सोफामा राखेर घुँडा टेकेर भन्यो– ‘म हजुरलाई खुब मन परे हो?’

मनै थाम्न सकिनँ। उसलाई बेस्सरी कसेर अँगालो हालें। हामी निकैबेर चुपचाप थियौं।

उसले मेरो मुहार आफूतिर फर्काएर निधारमा गहिरो चुम्बन गरेर भन्यो-सानी!

मेरा आँखा आँसुले डबडब भए, उसको सेतो धर्के भेस्ट अनि निलो एडिडास ब्रान्डको ज्याकेटमा मुख लुकाएर रोएँ। ऊ प्रेमले मेरो पिठ्युँ थपथपाइरहेको थियो।

टेबुलमा उसको रेड्युल सेट बजिरहेको थियो।

खै, किन म उसको छातीमा रुन पुगे? थाहै भएन। म किन रुन चाहन्थें ऊसँग? ऊ को लाग्थ्यो र मेरो ? जीवनको ३२आै वसन्तको उत्तरार्धमा उभिएको म अनि त्यो मेरो जीवनको विशिष्ट पल मेरा लागि सबैभन्दा प्रिय उपहार थियो समयको।

म त्यसरी त आमासँग पनि रोएकी थिइनँ। आज म उसका अगाडि मेरा मनका भारी बिसाउन चाहन्थें। मैले बल्ल मेरा थाकेका पाइला रोक्ने ठाउँ पाएकी थिएँ। जिन्दगीको भारी बिसाउने चौतारी भेटेकी थिएँ। म संसार भुलेर ऊसँग रमाउन चाहन्थें।

उसको स्पर्शमा मैले बिताएका सबै निरस र उदासी पल चटक्कै भुलेकी थिएँ।

त्यो अनजान सहरमा मैले ऊसँग सबैभन्दा सुरक्षित महसुुस गरिरहेकी थिएँ। पहिलोपटक उसको अँगालो मलाई दुनियाँमा सबैभन्दा प्रिय लागेको थियो। अनायासै म ऊप्रति तानिएकी थिएँ। सम्पूर्ण रूपमा उसका अगाडि समर्पित भएकी थिएँ। मलाई कसैको डर थिएन। म संसारको सबैभन्दा सुरक्षित स्थान र प्यारो मान्छेसँग थिएँ।

मैले उसलाई नजिकैबाट नियालिरहेकी थिएँ। उसको छोटोे कपाल, कसिलो शरीर, बलिष्ठ पाखुरा अनि कोमल हातका औंलाहरू जतनले छोइरहेकी थिएँ। म उसको छातीमा बेस्सरी टाँसिएकी थिएँ। उसले बिस्तारै मेरो मुहार आफूतिर फर्काएर मेरो निधारमा अनि ओठमा गहिरो चुम्बन गर्‍यो। उसको रसिले ओठको स्वाद आजन्म मेरो ओठमा रहिरहने छ। मेरो केशराशि केलाउँदै ऊ प्रेमपूर्वक मलाई अँगालो हालेर केही मायालु कुरा गर्दै थियोे। म क्रमशः उसका अगाडि गल्दै थिएँ, एउटा मिठो तृष्णाले व्याकुल बन्दै थिएँ।

म उसका अगाडि खाली कापीको पानाझैं खोलिएकी थिएँ। चाहन्थें– म ती खाली पानामा उसले प्रेम, स्नेह, विश्वास र समर्पणको अजम्बरी कथा लेखोस्। मलाई चाहनाले निथ्रुक्क भिजाएका शब्दहरू कोरोस्।

उसको निलो रङको एडिडास ब्रान्डको ज्याकेट बिस्तारै शरीरबाट छुट्दै थियो। म अलिकति लजाएँ।

उसको स्पर्श र ओठको चुम्बनले लाजका पर्दाहरू उघ्रिए। दुवैका आँखामा चाहना र ओठमा अनगिन्ती प्यासका समुन्द्री छालहरू उठे !

‘लभ यु सो मच सानी!’ सासले मात्रै उसले मेरो कानमा भन्यो।

म झन् गलें अनि बेस्सरी उसको छोटोे कपाल भएको टाउको मेरो छातीमा टाँसें।

हाम्रा सीमारेखाहरू मेटिँदै थिए। मैले आँखामा उसका आँखा मिलाउन सकिनँ अनि आँखा चिम्लिएँ। मैले ओढेको फुस्रो रङको सल बिस्तारै हटायो उसले। म लाजले अलिकति खुम्चिएँ।

उसले पछाडिबाट अँगालो हालेर फेरि कानमा फुसफुसायो–‘सानी !’

उसको गहिरो आवाजले म झन् ऊप्रति नजिकिएँ। म उसको प्रेमिल स्पर्शले लल्याकलुलुक भइसकेकी थिएँ। उसले मलाई जतनसाथ बोकेर बेडमा सुतायो। मैले दुवै हातले अनुहार छोपें। उसले मेरा हात हटाइदियो। फेरि मैले उसका आँखा छोपिदिएँ अनि हेरें–चिउँडाको कोठी कति प्रिय र राम्रो थियो।

उसले फेरि मेरो निधार र ओठमा गहिरो चुम्बन गर्‍यो। साँझ रातलाई अँगालो हाल्न व्यग्र थियो।

सहरमा सायद साँझ बत्ती बलिसकेको थियो तर हामीले साँझ बत्ती बाल्न भुलेका थियौं त्यो कोठामा! तर हामी दुवैलाई लाग्दै थियो- त्यो कोठाभन्दा उज्यालो ठाउँ कहीं कतै छैन।

प्रकाशित: ६ आश्विन २०८० ०२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App