१२ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

प्रज्ञाप्रतिष्ठानको चालीसौं प्राज्ञसभा सुरु

चालु आर्थिक वर्षका लागि कार्यक्रम र बजेट पारित गर्न नेपाल प्रज्ञाप्रतिष्ठानको चालीसौं प्राज्ञसभा सुरु भएको छ।

प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइलाले आज शुभारम्भ गरेको सो सभामा प्राज्ञ परिषदबाट पारित भएका कार्यसूची र निर्णय अनुमोदन गरिने भएको छ।

सभामा आर्थिक वर्ष २०७९/८० को कार्यक्रम तथा बजेटको वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०८०/८१ कार्यक्रम तथा बजेट अनुमोदन, प्रतिष्ठानको नियमावली, २०६७, कलाकार तथा कर्मचारी सेवासम्बन्धी नियमावली, २०७७ र आर्थिक प्रशासन नियमावली, २०७९ का केही नियममा समसामयिक संशोधनका कार्यसूची छन्।

पूर्व कुलपति काइलाले राज्यले प्राज्ञिक निकायलाई पर्याप्त बजेट नदिएर उपेक्षा गर्ने गरेको बताए। उनले बजेट वृद्धिका लागि प्रतिष्ठानका कुलपति र सदस्यसचिव मन्त्रालयका उपसचिव तथा सहसचिवको कार्यकक्षमा धाउनुपर्ने बाध्यता आफूहरूले पनि व्यहोरेको सुनाए।

प्रतिष्ठानका कुलपति भूपाल राईले ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञाप्रतिष्ठान’ भन्ने उदघोषसहित आफूहरूले कार्य प्रारम्भ गरेको उल्लेख गर्दै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकापछि प्राज्ञिक क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा प्रस्ताव गरे।

राजनीतिज्ञ र कर्मचारीतन्त्रले प्राज्ञिक क्षेत्रलाई महत्त्व नदिएको गुनासो गर्दै उनले ज्ञान र विचारको विकेन्द्रीकरण गर्ने पक्षमा आफूहरू अग्रसर रहेको बताए।

भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले सबै राष्ट्रभाषाको प्रज्ञाप्रतिष्ठान हो भन्ने मान्यता र सोच आत्मसात गरेर काम गर्न सुझाए।

नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति निशा शर्माले प्रज्ञाप्रतिष्ठानलाई व्यवस्थित रूपमा सञ्चालन गर्न कानुन संशोधन हुनुपर्नेमा जोड दिए भने ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले तीनवटै प्रज्ञाप्रतिष्ठानको सहकार्य हुनुपर्ने आवश्यकता औंल्याए। कार्यक्रममा प्रतिष्ठानको नयाँ प्रकाशन ‘समाज अनुसन्धान’ पत्रिका विमोचन गरिएको थियो।

प्रकाशित: ६ भाद्र २०८० ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App