५ वैशाख २०८१ बुधबार
कला

अन्तिम रात

कथा

म निरोजलाई अँगालो हालेर रुदै छु। उसका ठुला ठुला आँखा चुम्छु, ठुलो निधार सुमसुम्याउँछु। छोटो कपाल, चिउँडामा भएको कोठी अनि अलिअलि राखेको जुँगा छाम्छु। हृदय हुरुक्कै हुन्छ। निरोज, मैले असाध्यै प्रेम गरेको मान्छे।

ऊ पनि मलाई हेर्छ। मेरो मुहार सुमसुम्याउँछ। केशराशि मिलाइदिन्छ।

ओठ र आँखामा चुम्छ।

‘तिमी यति बेलासम्म कहाँ थियौं सानी?’ यो प्रश्न म दुई वर्षदेखि सुनिरहेकी छु तर जवाफ छैन। यसपालि मलाई असह्य हुन्छ। आँखादेखि आँसु खसेर उसको सेतोमा कालो धर्सा भएको भेस्ट भिज्छ।

‘किन रोएकी?’ ऊ बिस्तारै मेरो पिठ्युँमा सुमसुम्याउँदै बोल्छ अनि दुवै हातले मेरो मुहार आफूतिर फर्काएर आँसु पुछिदिन्छ।

निकैबेर म उसलाई अँगालेर रोइरहन्छु। रुनबाहेक अरू विकल्प पनि थिएन मेरो। ऊ मेरो पिठ्युँमा थपथपाइरहन्छ।

हामी कहिल्यै जोडिन नसक्ने दुई किनारा थियौं। हृदयमा माया कति थियो कति? तर एक अर्कालाई अँगालेर हिँड्न सक्दैनथ्यौं। सामाजिक रीति र कानुनी व्यवधान थियो।

‘सानी, भोलि त तिमी गइहाल्छ्यौ। खुब सताउनेछ मलाई तिम्रो यादले। तिमी मेरो साथ बस्न मिल्दैन?’ ऊ यसरी नै मलाई जहिले पनि प्रश्न गर्छ। म थोरै हाँस्छु अनि रुन्छु।

म निरोजलाई अँगालो हालेर रुदै छु। उसका ठुला ठुला आँखा चुम्छु, ठुलो निधार सुमसुम्याउँछु। छोटो कपाल, चिउँडामा भएको कोठी अनि अलिअलि राखेको जुँगा छाम्छु। हृदय हुरुक्कै हुन्छ। निरोज, मैले असाध्यै प्रेम गरेको मान्छे।

‘ल किन रुनु फेरि?’ उसले मलाई यति भनेर छातीमा बेसरी टाँस्छ। मलाई पनि उसको साथ बस्ने रहर नभएको त कहाँ हो र? तर सक्दिनथें गति छाड्न!

‘आकाशमा जुन हेर्नू, म तिमीलाई जुन बनेर नियाल्ने छु सानी,’ यति भनेर निरोजले मेरो देब्रे गाला र हात चुम्छ। मेरो मुटु चिरा चिरा भएजस्तो लाग्छ।

‘सानी, तिमीलाई म कहिल्यै भुल्ने छैन। हाँस्न तिमीसँग नसके पनि रुन मलाई तिम्रो काख चाहिन्छ।’ निरोज मेरो केशराशि खेलाउँदै बोलिरहेको थियो। मेरा आँखा रोइरहेका थिए।

‘तिमीबिना कसरी बाँचुँला र म पनि’ भोलिको कहालीलाग्दो बिछोड मेरा आँखामा नाँचिरहेको थियो। म ऊसँगै रमाउन चाहन्थें। उसको चिउँडाको कोठीलाई, ओठमाथि अलिअलि राखेको जुँगालाई हर क्षण सुमसुम्याउन चाहन्थें। ऊप्रति म आफ्नो अधिकार जमाउन चाहन्थें। उसको मुसुक्क हाँस्दा देखिने सेता हिमालझैं दाँतका लहरहरू नियालेर बाँच्ने रहर थियो। छोटो कपाल अनि बेला बेला अगाडि अलि लामो राखेको कपाल मिलाउने गरेको त्यो दृश्य सधैंभरि आँखामा राखिरहन चाहन्थें।

‘तिमी हिउँझैं कञ्चन अनि गोरी, म कालै छु। हेर त सानी ! झापाको घामले खुब डढायो तिम्रो निरोजलाई,’ उसले मलाई हँसाउन प्रयत्न गरिरहेको थियो। म निरोजको चौडा छातीमा टाउको राखेर रोइरहेकी थिएँ।

बेलाबेला ऊ रेड्युल सेटमा आएको सूचनाको जवाफ दिँदै गर्छ। निरोज सहरको सुरक्षा अधिकारी, पूरै सहरको सुरक्षा जिम्मा उसकै काँधमा थियोे। त्यति ठुलो जिम्मेवारी लिएको मान्छे, कठोर अनि अनुशासित मान्छे लाचार बनेर मेरो आँसु पुछिरहेको थियो।

उसको प्रेमप्रति म विश्वस्त थिएँ। मनलाई थाहा थियो–हामी कहिल्यै एकै रथका दुई पांग्रा हुन सक्दैनौं तर पनि मनलाई बुझाउन सकिरहेकी थिइनँ।

लाग्दै थियो–समय यहीं ठप्प रोकियोस्, कहिल्यै उज्यालो नहोस्। यो रातको अँध्यारोमा हामी दुई सधैंका लागि हराउन पाऊँ तर समय आफ्नै गतिमा चलिरह्यो।

निरोजले मलाई छातीमा टाँसेर पूरै सहरको सुरक्षास्थितिबारे जानकारी लियो अनि आवश्यक आदेश दियो।

अब रेड्युल सेटको भोल्युम अलि सानो बनायो। उसको रेड्युल सेट बजिरह्यो।

‘नरोऊ न सानी,’ दुवै हातले मेरो अनुहार आफूतिर फर्काएर सुमसुम्याउँदै निधार, ओठ र आँखामा हल्का चुम्बन गर्‍यो निरोजले। मलाई झन् हिक्का छुट्यो।

‘समयले तिमी र मलाई भेट गराउन धेरै ढिला गर्‍ यो नि सानी,’ गुनासो हाम्रो समयसँग नै थियो।

‘तिम्रो मुस्कान, लामो केशराशि, लजालु हेराइ, यो गुलाबी ओठमा मात्रै मेरो अधिकार भएको भए? तिमी किन छिट्टै जन्मेकी सानी?’ ऊ सधैं यसै भन्ने गर्छ।

म निरोजलाई हेरिरहन्छु। उसले लगाएको सेतोमा कालो धर्सा भएको भेस्ट, निलो रङको एडिडास ब्रान्डको हल्का ज्याकेट अनि निलै ट्रयाक र खैरो रङको स्पोट्र्स जुत्ता खुब सुहाउने शरीरमा।

टेबुलमा राखेको उसको मोबाइलमा कल निरन्तर आइरहेको छ तर ऊ रिसिभ गरिरहेको छैन।

बेला बेलामा ऊ रेड्युल सेटमा चाहिँ बोलिरहन्छ। म उसको भाषा खासै त बुझ्दिनँ तर निरोज सहरको सुरक्षा स्थितिप्रति धेरै सजग रहेको पाउँछु।

‘सानी, यो होली (फागु पर्व) नपरेको भए तिमीसँग खुलेर, बिनाचिन्ता बिदा लिएर यो समय बिताउन चाहन्थें। यसपटक यस्तै भयो। डोन्ट वरि डियर,’ फेरि उसले मेरो निधार चुम्छ।

म आँखा पुछेर उसलाई हेर्छु। ऊ मुसुक्क हाँस्छ। सेता दाँत अलिकति देखिने गरेर अनि ऊ हाँस्दा चिउँडामा भएको कालो कोठी खुब खुलेको लाग्छ मलाई।

‘तिमीबिना कसरी बाँचुँला र म पनि’ भोलिको कहालीलाग्दो बिछोड मेरा आँखामा नाँचिरहेको थियो। म ऊसँगै रमाउन चाहन्थें। उसको चिउँडाको कोठीलाई, ओठमाथि अलिअलि राखेको जुँगालाई हर क्षण सुमसुम्याउन चाहन्थें। ऊप्रति म आफ्नो अधिकार जमाउन चाहन्थें।

मेरो पनि घरदेखि ठुली छोरीको फोन आयो। निरोज रेड्युल सेट बोकेर होटलको लबीमा निस्कियो।

‘मम, हजुर कहाँ?’

‘झापा छु रानी।’

‘घर छिटो आइस्यो न भन्या।’

‘भोलि फर्कंदै छु राजा।’

‘बुबा हजुरले चोकमा बबाल झगडा गरिस्यो रे। म दिक्क भइसकें मम। मेरो युएसको भिसा भोलि नै लागे हुन्थ्यो।’

छोरीको स्वरमा गुनासो, पीडा र दिकदारी भेट्थें म सधैंभरि।

मुटु खंग्रङ्ग भयो।

केही जवाफ दिन नपाई छोरीले कल काटिहालिन्।

म निरोजलाई भेट्न अनि समय बिताउन झापामा रोकिएकी थिएँ।

हाम्रो एक समूह पूर्व नेपालको भ्रमणमा आएको थियो। साथीहरू हिजो नै काठमाडौं फर्किसकेका थिए। विगत केही समयदेखि म निरोजसँग नजिकिएकी थिएँ। मेरा श्रीमान्को व्यापारिक पृष्ठभूमि भएका कारण राजनैतिक नेताहरूसँगको चिनजान र आउजाउ निकै थियो।

यसै क्रममा दुई वर्षअघि बहालवाला मन्त्रीको कार्यक्रममा मेरो निरोजसँग भेट भएको थियो। त्यही भेट हाम्रो लागि टर्निङ पोइन्ट भएको थियो।

बिस्तारै हामी नजिकिएका थियौं। हामीमा भावनात्मक मात्रै होइन, शारीरिक सम्बन्ध पनि धेरै गहिरिएर गएको थियो।

बिस्तारै हामी एक अर्काका परिपूरक भएझैं लाग्थ्यो। निरोजले मप्रतिको सम्बन्ध इमानदारीपूर्वक निभाएको थियो। काठमाडौं ऊ बिदा मिल्नासाथ पुग्थ्यो। मप्रति ऊ समर्पित थियो।

रानीको बाबाले गर्ने उपेक्षा, उहाँको रक्सीको लत, जुवातास र अपहेलनालाई निरोजको प्रेममा बिर्सिएकी थिएँ।

घरको कुरा सुनेर डंग्रङ्ग सोफामा लडें। नमिठो लाग्यो। चुपचाप आँखाबाट आँसु बगिरहे।

केही बेरमा निरोज कोठामा फर्कियो। मेरा आँखा पुछिदिएर मलाई जुरुक्क उचालेर बेडमा सुताइदियो। झापामा गर्मी बढिसकेको थियो। एसी अन गर्‍यो अनि छेउमा बसेर मेरो निधारमा सुमसुम्याउँदै सोध्यो, ‘रानीले के भनिन्?’

मैले सबै सुनाइदिएँ।

‘हत्तेरी!’

मैले फेरि उहाँका साथीलाई कल गरेर उहाँलाई घरमा पुर्‍याइदिन अनुरोध गरें। श्रीमती भएका नाताले त्यति त गर्नै पथ्र्यो। उहाँको र मेरो सम्बन्ध कागजमा मात्रै सीमित थियोे। हामी एउटै घरमा भए पनि हाम्रो बेडरुम फरक फरक थियोे। सँगै बसेर खाना नखाएको ५–६ वर्ष भइसकेको थियो। सानी छोरी जन्मेपछि हाम्रो सम्बन्धमा चिसोपन सुरु भएको थियो तर छोरीहरूलाई असाध्यै माया गर्नुहुन्थ्यो। हामीबीचमा त्यस्तो ठुलो झगडा भएको पनि थिएन।

हाम्रो एक समूह पूर्व नेपालको भ्रमणमा आएको थियो। साथीहरू हिजो नै काठमाडौं फर्किसकेका थिए। विगत केही समयदेखि म निरोजसँग नजिकिएकी थिएँ। मेरा श्रीमान्को व्यापारिक पृष्ठभूमि भएका कारण राजनैतिक नेताहरूसँगको चिनजान र आउजाउ निकै थियो।

एकाएक हामीबीच दुरी बढ्दै गयो र सम्बन्ध कागजमा मात्रै सीमित हुन पुग्यो। त्यो कागज च्यात्ने साहस भने हामी दुवैमा थिएन। घरमा हामी एकअर्का भएको आभास पनि हुन छोडिसकेको थियो। हामी अन्जान भइसकेका थियौं। हामीलाई एकअर्काको कुनै पनि कदमले फरक पार्न छोडिसकेको थियो।

मैले श्रीमान् र उहाँले श्रीमतीको स्पर्श भुलिसकेका थियौं।

निरोजले मेरो कानका झुम्का, औंठी, ब्रासलेट, घडी साह्रै प्रेमले खोलेर जतनले राखिदियो।

अरू बेलाझैं मुटु चिसो भएर आयो। यसैगरी उसले बिहे गरेपछि आफ्नी स्वास्नीको कानको झुम्का जतनले खोलिदिन्छ होला! मुटु ढक्क फुल्यो।

म सदैव उसलाई मेरो भएको हेर्न चाहन्थें। उसका हरेक कुरामा म मेरो हक जताउन चाहन्थे। आखिर मन त रहेछ। ऊ कतै बाँडिएको देख्न सक्ने क्षमता थिएन ममा।

म आँखा चिम्लेर चुपचाप अडेस लगाएर बसिरहें। साँझ रात हुने तयारीमा थियो।

निरोजको रेड्युल सेट बजिरहेको थियो।

मलाई डर लागेको थियोे कि निरोजले मलाई एक्लै छाडेर नजाओस् किनकि ऊ ड्युटीमा नै थियो।

‘म कतै जानुपर्ने हुन्छ है सानी,’ ऊ भन्दै थियो। तर म ऊसँग निस्फ्रिकी त्यो रात बिताउन चाहन्थें। सारा चाहना र रहर मेट्न चाहन्थें। जीवनभर पुग्नेगरी उसको स्पर्श र चुम्बन पोको पार्न चाहन्थें। ऊसँग अधिकार जमाएर जीवनकै अन्तिम रात बिताउन चाहन्थें किनकि म निरोजलाई असाध्यै प्रेम गर्थें। म उसको जीवन अघि बढेको हेर्न चाहन्थें।

उसको बिहे होस्, बालबच्चा होस् भन्ने चाहन्थ्यो मन। म उसलाई मेरो प्रेमको बन्धनदेखि मुक्त गर्न चाहन्थें। यही रात अन्तिम थियो मेरो ऊसँगको तर म भित्र भित्रै टुटिसकेकी थिएँ। ऊसँगको बिछोडको कल्पनाले फेरि म उसको मुहार, ठुलो निधार, चिउँडाको कोठी सुमसुम्याएँ। कस्तो सासै रोकिएजस्तो लाग्यो अनि निरोजलाई बेसरी छातीमा टाँसेर निःशब्द रोएँ।

कोठामा उसको रेड्युल सेटको आवाज मात्रै सुनियो। हामी दुवै केही बोल्न सकिरहेका थिएनौं।

‘सानी, यति धेरै किन रोएकी ? म सधैंभरि तिम्रै त हुँ नि,’ निरोजले मेरा दुवै हातका औंला खेलाउँदै भन्यो।

कति ज्ञानी थियोे निरोज। कस्तो गहिरो प्रेम थियो ऊसँग। उसको सामीप्यले प्राण भर्थ्याे ममा। हामीमा छल्न, ढाँट्न, लुकाउन पर्ने केही कुरा थिएनन्।

ऊ जिम गएका, ड्युटीमा भएका, कार्यक्रमतिर गएका प्रत्येक तस्बिर पठाइरहन्थ्यो।

‘यति राम्रो मान्छे देखेर कति ढल्दा हुन् बाटोमा!’ म जिस्काउँथें उसलाई।

‘मेरो त्यस्तो कोही छैन हौ सानी। जे छौ, जो छौ, तिमी मात्रै छौ। अब मलाई देखेरै कोही ढल्छन् भने त्यसमा मेरो के दोष?’ यति भनेर मुसुक्क हाँस्थ्यो। ऊ हाँस्दा त मेरो संसार खुल्थ्यो।

निरोज मेरो कति ख्याल गथ्र्यो। आफूलाई मनपर्ने खानेकुराको सङ्केत बिहान गरें भने साँझ आइपुग्थ्यो।

म पनि उसकै रहरले बाँच्थें, उसकै रहरको रङ भएको कपडा लाउँथें।

निरोजलाई गर्ने प्रेमको कुनै हद थिएन। यति ठुलो संसारमा मलाई उसकै एक कल फोनले मात्रै फरक पार्थ्याे। म बाँचेको, हाँसेको महसुुस गराउने उसकै मात्र सम्झना थियो।

निरोज मेरो जीवनमा आएदेखि म सामान्य अवस्थामा बाँच्दै थिएँ। फूल, रङ मन पर्न थालेका थिए। दुई छोरीको ख्याल राख्न थालेकी थिएँ। उसलाई मन पर्छु भन्ने थाहा पाएपछि आफ्नो शरीरको ख्याल गर्न थालेकी थिएँ। मोटोपन घटाउन खानामा धेरै कन्ट्रोल गर्न थालेकी थिएँ।

‘दिनदिनै झन् झन् राम्री लाग्छ्यौ सानी,’ ऊ प्रत्येक दिन भन्थ्यो। मलाई पनि अब बाँच्नुपर्छ जस्तो लागेको थियो उसलाई भेटेपछि।

निरोजले भिडियो कल गर्छ भनेर म सिँगारिएर बस्थें। आखिर जीवनमा एउटा आत्मीय साथ त चाहिने रहेछ। जुन साथ मैले निरोजबाट पाएकी थिँए। सबैले भन्थे, ‘तिमीले पुनर्जन्म पाएकी छौ।’

‘म कतै जानुपर्ने हुन्छ है सानी,’ ऊ भन्दै थियो। तर म ऊसँग निस्फ्रिकी त्यो रात बिताउन चाहन्थें। सारा चाहना र रहर मेट्न चाहन्थें। जीवनभर पुग्नेगरी उसको स्पर्श र चुम्बन पोको पार्न चाहन्थें। ऊसँग अधिकार जमाएर जीवनकै अन्तिम रात बिताउन चाहन्थें किनकि म निरोजलाई असाध्यै प्रेम गर्थें। म उसको जीवन अघि बढेको हेर्न चाहन्थें।

निरोजले मलाई भेटेपछि बारम्बार कल गर्न थालेको थियो, सम्झाउन थालेको थियो अनि म हाँस्न थालेकी थिएँ। तीनचार वर्ष त मैले बन्द कोठामा रोएर बिताएकी थिएँ। निरोजको साथले म डिप्रेसनदेखि बिउँझिदै गएँ। रानीका बुबाले गर्नुभएको तितो व्यवहार भुल्दै गएँ। उहाँको बाहिरी सम्बन्धले मलाई गहिरो चोट लागेको थियोे, जतिबेला सानी छोरी जन्मिएकी थिइन्।

 सुत्केरी अवस्थामा पाएको त्यो चोटले मलाई मृत्युको बाटो देखाएको थियो तर आफूलाई सम्हालेर बाँच्न सिकें। कसरी हुर्किए छोरीहरू, मलाई थाहै भएन तर पनि बाँचें। ठुली छोरी त होस्टेल थिइन्, सानी छोरीलाई पनि मैले मातृत्व पोख्न सकिनँ।

हिजोआज दुवै छोरी मसँग लुटपुटिन्छन्, मलाई माया गर्छन् तर पनि उनीहरू मसँग भन्दा आमासँग नजिक छन्। आमा अर्थात् घरमा काम गर्ने, नानीहरूलाई स्याहारसुसार गरेर हुर्काउने काभ्रेतिरकी एकल महिला। मलाई भन्दा बढी उनीहरू आमा नै खोजिरहेका हुन्छन्। छोरीहरूको जीवनमा आमाले जति मैले ठाउँ बनाउनै सकिनँ। छोरीहरूका रहर सबै आमाले नै बुझ्थिन्। घरमा भौतिक सुविधाको अभाव केही थिएन।

कहीं जान परे गाडी सधैं तयारी अवस्थामा हुन्थ्यो। घरभरी देशविदेशका सामान कोसेलीस्वरूप छरिएका, पोखिएका हुन्थे। कमी त केही थिएन, पारिवारिक वातावरण, आत्मीयताबाहेक सबै थियो। बीचमा रानीका बाबाले हाम्रो सम्बन्ध सुधारको प्रयास पनि गर्नुभयो तर जुन दिन मेरो ठाउँ अरू कुनै अन्जान महिलालाई दिनुभयो, मैले माफ गर्न सकिनँ।

 त्यो सुत्केरी अवस्थामा मैले पाएको घातले उहाँप्रति अलिकति पनि मायाप्रेम साँच्न सकिनँ। तीनचार वर्ष पागलजस्तै बर्बराउँदै उहाँको नाम भुलिसकें अनि रोएर उहाँको निम्ति रहेको माया, आफ्नोपन सबै बगाइदिएँ। अब उहाँका लागि मसँग खालिपनबाहेक केही थिएन। न मिठोपन न तितोपन, मनै मरेपछि कुनै कुराले अर्थ नराख्ने रहेछ।

बिस्तारै हामी अन्जान भइसकेका थियौं। मेरो कुरा, खबर सोध्नुपरे आमालाई सोध्नुहुन्थ्यो अनि म पनि उहाँको खबर आमालाई नै सोध्ने गर्थें। कहिलेकाहीं घरभित्र जम्का भेट भइहालेमा एकअर्कालाई नियाल्नबाहेक हामीमा बाँकी केही थिएन। आँखा जुधिहालेमा केही प्रश्न उठ्थे दुवैका मनमा तर जवाफ थिएन दुवै जनासित।

सुत्केरी अवस्थामा पाएको त्यो चोटले मलाई मृत्युको बाटो देखाएको थियो तर आफूलाई सम्हालेर बाँच्न सिकें। कसरी हुर्किए छोरीहरू, मलाई थाहै भएन तर पनि बाँचें। ठुली छोरी त होस्टेल थिइन्, सानी छोरीलाई पनि मैले मातृत्व पोख्न सकिनँ।

जतिसक्दो चाँडो मेरी ठुली छोरी अमेरिका उड्न चाहन्थिन्। मेरा माइती सबै उतै थिए। म पनि उनलाई मेरो दिन नसकेको मायाबाट मुक्त गर्न चाहन्थें। म मेरी छोरीका आँखामा मप्रति उब्जेका सबालको जवाफ दिन असमर्थ थिएँ। मलाई पनि उनी मेरो अघि भइन् भने असहज लाग्थ्यो तर उनी ज्ञानी थिइन्। मलाई विश्वास थियोे, एकदिन छोरीले मेरो अवस्था बुझ्ने छिन् र मलाई माफ गर्ने छिन्। सानीलाई त बाँकी जीवनको माया दिनेछु भन्ने मैले ठानिसकेकी थिएँ।

मैले मेरो मायाको बन्धनबाट निरोज र रानीलाई मुक्त गर्नु नै पर्थ्याे।

छोरीलाई त माया दिन सकिनछु, मलाई थाहा थियो तर निरोजलाई गरेको माया? खुब प्रश्न उब्जन्थ्यो मनमा र मैले बुझिसकेकी थिएँ कि माया बन्धन होइन, मायाले बाँधेर राख्नु हुँदैन माया गरेको मान्छेलाई। माया त त्यो हो, जसले उड्न, बढ्न र बाँच्न सिकाओस्। मैले निरोजलाई गरेको माया यस्तै थियो।

म उसको जीवन अगाडि बढेको हेर्न चाहन्थें। गाह्रो त एकदमै भइरहेको थियो तर पनि निर्णय गरिसकेकी थिएँ। शारीरिक आकर्षण मात्रै थिएन ऊप्रतिको प्रेम तर यी दुई वर्षको अवधिमा मैले निरोजसँग सम्पूर्ण जीवन बाँचिसकेकी थिएँ। ऊ मेरो मात्र हो र हुनुपर्छ भन्ने भ्रमबाट मुक्त हुन लागेकी थिएँ। यहाँसम्म कि मोबाइल र ल्यापटपको स्क्रिनमा समेत उसको तस्बिर थियो। उसको तस्बिरसँग नबोली, उसलाई नहेरी निदाउन सक्दिनथें तर उसका लागि अनि उसका बुढा भएका बाआमाका लागि मेरो प्रेम–बन्धनबाट उसलाई मुक्त गर्दै थिएँ। पछिल्लो भेटमा निरोजकी आमाले छोराको बिहे गरिदिने, नातिनातिना खेलाउने रहरको पोको मेरासामु फुकाएकी थिइन्। उनी मसामु आफ्नो छोरा फिर्ता माग्न आएकी थिइन्। उनी सुर्खेतबाट मलाई भेट्न काठमाडौं आएकी थिइन्।

उनको आँसुले मैले आफू अनि आफ्नो प्रेमलाई धोएँ। म निरोजको प्रेममा स्वार्थी हुँदै रहेछु। उसलाई एउटा छोरा हुनुको कर्तव्यबाट विमुख गराउँदै रहेछु। म सपनाको सिसमहलदेखि पत्थरमा बजारिएकी थिएँ।

मलाई एकदमै गाह्रो भयो। सधैं ऊसँग भेट्दा खुसी लाग्थ्यो। अहिले रुन मात्रै मन लाग्छ। मेरो व्यवहार देखेर निरोजले शंकालु नजरले विभिन्न प्रश्न गरिरहेको थियोे। आखिर ऊ एक अपराध अनुसन्धान अधिकृत पनि थियो।

‘सानी, यताउता कुरा होइन है,’ ऊ मलाई सम्झाउँदै थियो।

‘तिमीबिनाको म शून्य हुनेछु। तिमीलाई थाहै होला?’ मैले जोडले उसलाई समाएँ, जसरी सानो बालकले डराएर आफ्नी आमाको हात समात्छ।

‘हिँड, बिर्तामोड घुम्न,’ निकै बेरपछि बोल्यो निरोज।

‘जानु र?’

‘हिँड।’

उसैले मेरो कपाल कोरिदियो। ‘खाना बाहिर खाएर आउने है। के खान मन छ तिमीलाई?’ निरोजले मेरो ब्लाउजको बटम लाइदिँदै सोध्यो।

छोरीलाई त माया दिन सकिनछु, मलाई थाहा थियो तर निरोजलाई गरेको माया? खुब प्रश्न उब्जन्थ्यो मनमा र मैले बुझिसकेकी थिएँ कि माया बन्धन होइन, मायाले बाँधेर राख्नु हुँदैन माया गरेको मान्छेलाई। माया त त्यो हो, जसले उड्न, बढ्न र बाँच्न सिकाओस्। मैले निरोजलाई गरेको माया यस्तै थियो।

मैले केही खान मन छैन भनें।

हृदय फेरि चिसो भयो। यति मायालु मान्छेलाई मैले भुल्नु पर्छ भने पनि उसैमा मेरो प्राण बसेको थियो। म फेरि उसलाई नियाल्छु। कति कोमल, कति मायालु छ। ओठमा राखेको अलि अलि जुँगा अनि चिउँडाको कालो कोठी बिस्तारै सुमसुम्याउँछु। लाग्छ–संसार मेरै मुठीमा छ।

ऊ मेरो सारीको फेर मिलाइदिँदै थियो।

मतिर फर्केर मुसुक्क हाँस्छ निरोज। म उसको आँखामा नियाल्छु। आँखामा म नै देख्छु। कस्तो मेरो मृगतृष्णा?

उसको छोटो कपाल भएको टाउको छातीमा टाँस्छु। ऊ मेरो ढुकढुकी सुनिरहन्छ। सायद उसले ढुकढुकीमा आफैलाई पाएर होला, ढुक्क देख्छु।

म उसको हात समाएर होटलको सिँढी ओर्लन्छु। मेरो हात समातेर उसले बिर्तामोडका गल्ली घुमाउँछ। बेला बेला अँगालो हालेर हिँडाउँछ। सबैले हामीलाई नियालेर हेर्छन्। मलाई अलि असहज लाग्छ। उसका आँखाले मेरो असहजता बुझिहाल्छन् अनि भन्छ, ‘सानी, कति राम्रो जोडी भनेर हेरेका हुन्।’ ऊ मुसुक्क हाँस्छ, सेता दाँतका लहर हिमालझैं खुल्छन्।

उसले बोकेको रेड्युल सेट बज्छ। म झसंग हुन्छु।

उसको तातो हातको स्पर्शले मन मैनजस्तै पग्लिरहेको थियोे। यस्तैमा मेरा पाइला लरखराए। निरोजको पाखुरामा समाएर मैले आफूलाई लड्नबाट जोगाएँ।

‘सानी के भयो? गर्मी भयो? काठमाडौंभन्दा यहाँ अलि गर्मी छ।’

म ‘अँ’ को भावमा टाउको हल्लाउँछु।

यसरी नै सधैं म उसको सामीप्य चाहन्थे। शरीर उसको स्पर्श खोज्थ्यो। म निरोजसँगै बिलाउन, हराउन चाहन्थें। मन काठमाडौं फर्कन मानिरहेको थिएन तर म काठमाडौं त फर्कनै पथ्र्यो जसरी भए पनि।

नियम, कानुन, समाजको बन्धन तोड्न कहाँ सक्थें र? उल्झनको पिङ खेलिरहेको थियो मन।

मैले मेरो खुसी आफूसँग राख्न सकिनँ, आफ्नो बनाउनै सकिनँ। मेरो भागमा खुसी परेकै रहेनछ। जिन्दगी सम्झौता गरेर बिताउनुपर्ने रहेछ। कुनै सम्झौता आफ्ना लागि, कुनै सम्झौता अरूका लागि। खाना होटलमा नै खाने कुरा भयो र हामी होटल नै फक्र्यौं। रात छिप्पिने क्रममा थियो। म बिर्तामोडको पाहुना भएको पनि दुई दिन भइसकेको थियो। भोलि १० बजेको फ्लाइटमा काठमाडौं फर्कनुथियो।

‘अब झापा कहिले आउँछ्यौ?’

‘थाहा छैन।’

‘अब तिमीलाई धेरै दुःख किन दिनु? म काठमाडौं आउँछु सानी। सरुवाको प्रोसेसमा छु।’

मेरो मुटु ढक्क फुल्यो।

म निःशब्द भएँ।

निरोजको स्पर्शले मलाई छुँदै छोएन। छातीमा गह्रौं पहाड खसेजस्तो लागिरह्यो।

‘तिमीलाई ठिक त छ नि?’

‘ठिक छ।’

‘बोल न, हाँस न। भोलि त गइहाल्छ्यौ। तिम्रो बोली, हाँसो अलिकति छोडिराखेर जाऊ। म काठमाडौं आउनेछु चाँडै, मात्रै तिम्रा लागि।’

म बोल्न नै सकिनँ।

‘तिमी बिना मेरो हृदयको आधा भाग खाली हुन्छ। सानी, तिम्रो खालीपन अब कसैले पूरा हुन सक्दैन। मैले मेरी मुमा र तिम्राबीचमा भएको कुरा सुनिसकेको छु। मेरा लागि मुमा र तिमी बराबर हौ।’

‘थाहा भएछ तिमीलाई। अब तिमीले तिम्रो र बुबाआमाका लागि सोच्नुपर्छ,’ मैले कसरी भनें, थाहै भएन।

‘मेरा लागि तिम्रो विकल्प केही छैन सानी।’

‘मायाले मात्रै दुनियाँ चल्दैन। हेर, म अर्काकी श्रीमती, दुई बच्चाकी आमा। उमेरमा पनि तिमीभन्दा ठुली छु। म दुई परिवारलाई तहसनहस पार्न चाहन्नँ। तिम्रो मप्रतिको प्रेम बुझेकी छु निरोज। यद्यपि हामी एकै रथका दुई पांग्रा बन्न कहिल्यै सक्दैनौं।’

‘तिमी अरूकी श्रीमती, बच्चाकी आमा, कसैकी बुहारी हौ। यो सबै मलाई थाहा छ। सबै थाहा पाएर नै तिमीलाई मैले प्रेम गरेको हुँ सानी। तिम्रो विगत, वर्तमानसँग मेरो केही लिनु छैन। मलाई अरू थाहा छैन, तिमी नभई हुँदैन। तिमी मेरो आदत हौ सानी,’ निरोजले आत्तिएर मलाई छातीमा जोडले टाँसेर भन्यो। मेरो मन चिसो भयो।

‘म तिम्रो मनसाय बुझ्दै छु सानी। यति याद राख्नु, तिमी मेरो सबथोक हौ। तिमीले कुनै पनि बहाना बनाएर मलाई अलग गर्‍यौ भने म सहन सक्दिनँ। मलाई अलपत्र पार्न पाउँदिनौ तिमीले। मलाई फेरि शून्य नपार सानी।’

म मन गाँठो पारेर सुन्दै थिएँ।

‘तिमी म जिउने एउटा लत हौ सानी।’  

‘म तिम्रो जीवन अघि बढेको हेर्न चाहन्छु निरोज।’

‘के तिमीबिना म पाइला चाल्न सकौंला? कसरी सोच्न सक्यौ सानी?’ निरोज घुँडा टेक्दै मेरो हात समातेर प्रश्नमाथि प्रश्न गरिरहेको छ।

म नाजबाफ बनिरहेकी छु।

‘के तिमी मबिना खुसी हुन्छ्यौ र सानी?’ मेरो कम्मरमा अँगालो हालेर रोयो निरोज।

टेबलमा निरोजको रेड्युल सेट एक नासले बजिरह्यो।

‘भन सानी, तिमी मबिना खुसी हुन्छ्यौ?’

मेरा आँखाबाट बरर आँसु खसे।

‘मेरो विकल्प केही नराख सानी, मलाई गाह्रो हुन्छ। तिमीबाहेक म कसैलाई माया गर्न सक्दिनँ र कसैलाई धोका दिन पनि सक्दिनँ। मलाई थाहा छ, यो सब किन र केका लागि गर्दै छ्यौ। सबै थाहा छ तर मबाट त्यो सम्भव छैन, तिमी स्पस्ट हुनु।’

‘निरोज, तिमी बुबाआमाका छोरा हौ। उहाँहरूप्रति तिम्रो कर्तव्य छ। जीवन भनेको सम्झौता हो।’

‘बुबामुमाका लागि म छँदै छु नि, भाइ पनि छ। म रहरले तिमीसँगै बाँच्न चाहन्छु।’

म केही बोल्न सकिनँ। निरोजलाई सम्झाउन सकिरहेकी छैन तर आशा छ, उसले पनि बुझ्ने छ।

‘म तिम्रो मनसाय बुझ्दै छु सानी। यति याद राख्नु, तिमी मेरो सबथोक हौ। तिमीले कुनै पनि बहाना बनाएर मलाई अलग गर्‍यौ भने म सहन सक्दिनँ। मलाई अलपत्र पार्न पाउँदिनौ तिमीले। मलाई फेरि शून्य नपार सानी।’

मेरो छातीमा शिर राखेर टोलाइरहेको उसलाई नियाल्छु।

भोलिदेखि उसलाई भुल्दै जानुपर्छ भन्ने सम्झँदा पनि मुटु टुक्राटुक्रा भएजस्तो लाग्छ।

अबका दिन ऊबिना बाँच्नुपर्छ भन्ने अलिकति ख्याल आउँदा पनि हृदय चिसो भएर आउँछ। म केही बोल्न सकिरहेकी छैन।

निरोजको आँसुले मेरो छाती भिजिरहेको थियोे। मेरो मन सानो बालकजस्तो रोइरहेको थियोे। म निःशब्द उसको छोटो कपाल, ठुलो निधार, अलिअलि राखेको जुँगा, चिउँडाको कोठी मात्रै सुमसुम्याइरहन्छु।

‘मेरा सबै खुसी, रहर तिमीमा छ सानी। अरू मलाई केही थाहा छैन,’ हिक्क हिक्क गर्दै बोल्यो निरोज।

म स्तब्ध छु, निःशब्द छु।

टेबलमा निरोजको रेड्युल सेट एकोहोरो बजिरहेको थियो। 

प्रकाशित: २ भाद्र २०८० ०१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App