१५ असार २०८१ शनिबार
image/svg+xml
कला

पौडेल, सपुत र दमाईं महात्मा

गायक प्रकाश सपुतको सिर्जनशील क्षमता अब्बल छ। गलबन्दी, पिर, सकम्बरी आदिले उनको सिर्जना, गायकी, सोच र चेतनालाई उजागर गरिसकेको छ। विषयवस्तुलाई उठानमा ल्याउने र प्रस्तुतीकरण कलामा उनी निकै सिपालु छन्। हालसालै मात्र प्रकाशमा आएको छ ‘दमाईं महाराज’। यसले जुन किसिमको सामाजिक सन्देश प्रवाह गर्न खोजेको छ, त्यसप्रति सामाजिक बुझाइ के कस्तो छ, के कति भ्युज पायो, त्यसप्रति खासै जानकार छैन। सामाजिक सञ्जालसँग मेरो सम्बद्धता नभएकाले यस गीतले प्रेमराज शर्मा (पौडेल) को कृति ‘तपस्वीको अनुभव’ स्मरण भयो।

यो कृति १९९४ सालमा पहिलोपल्ट नेपाली भाषा प्रकाशिनी समितिबाट प्रकाशित भएको थियो। ६० वर्षपछि २०५४ सालमा दोस्रो संस्करण आयो। यसको प्रकाशन भने उर्मिला पौडेल (प्रेमराजकी बुहारी) बाट भएको थियो। गोरखापत्रको सम्पादक समेत भएका पौडेलको कृतिको दोस्रो संस्करण पंक्तिकारको हातमा सुरक्षित छ।

लुप्त रूपमा रहेका वास्तविक सन्त महात्माप्रतिको जिज्ञासा र अनुराग भएकाले यस्ता किसिमका कृति थाहा पाएसम्म किन्ने, पढ्ने र सुरक्षित गर्ने गर्छु। सपुतको हालै प्रसारणमा आएको ‘दमाईं महाराज’ले के कति मात्रामा बजारीकरण गर्न सफल भयो? समाजले कसरी बुझ्यो वा ग्रहण गर्‍यो भन्नेप्रति मेरो ध्यान गएन। सपुतको गीतका ‘दमाईं महाराज’ ले पौडेलको कृतिको ‘दमाईं महात्मा’लाई सार्वजनिक जानकारीमा ल्याउनुपर्छ भन्ने लाग्यो। सपुतका जस्तो कल्पनाद्वारा सिर्जित पात्र नभएर जीवन्त र यथार्थ पात्र थिए ‘दमाईं महात्मा’, जसको फोटो ब्राह्मण परिवारका प्रेमराज पौडेलले आफ्नो पूजा कोठामा राखेका थिए।

स्मरणीय छ कि ‘दमाईं महात्मा’ भन्ने लेख मधुपर्कको पहिलो अंक २०२५ मा प्रकाशित भएको कुरा कृतिको फुटनोटबाट थाहा हुन्छ। त्यसैले कृतिको दोस्रो संस्करणमा मात्र यो समावेश भएको थियो।

पौडेलले दमाईं महात्मासँग प्रश्न गर्छन्–‘पौराणिक र तान्त्रिक युगमा मात्र होइन, वैदिक युगमा समेत अनेक देवीदेवताको अस्तित्व स्विकार्नु हिन्दु धर्मको कमजोरी होइन?’

कृतिकार पौडेल विलक्षण मात्र नभएर विशिष्ट पुरुष भनेर आत्मसात र सम्मान गरेका ‘दमाईं महात्मा’बारे थाहा पाउँदा अचम्ममा परेका थिए। सन्त महात्माभन्दा जे जस्तो स्वरूपको कल्पना तथा बोध गरिन्छ, त्योभन्दा निकै भिन्न र फरक छन् ‘दमाईं महात्मा’, अद्वितीय छन्।

प्रेमराजले दमाईं महात्माको कुरा उप्काएका छन्, २००० सालतिरको भनेर। त्यसबेला ओमबहालमा बस्ने उनले घरको थोत्रा थाङ्ना थरा, चोलो, भोटो सिउनेलाई खोज्दै जाने क्रममा परशुराम माथेमाको घरको आँगनमा पहिलोपल्ट भेट भएको हुन्छ ‘दमाईं महात्मा’सँग। उनी कपडा सिलाइराखेका हुन्छन्। त्यहाँ काम सकिएपछि आफूकहाँ पठाउन सम्बद्ध घरका जनहरूलाई भन्छन् तर उक्त घरका मानिसले त्यति सहज नभएको बताउँछन्। त्यसपछि जे होस्, पौडेलका घरमा उनी आउँछन्। सिलाइको काम पनि गर्छन्। एक रहस्यदर्शी ‘दमाईं महात्मा’ को सम्बन्धमा कृतिकारले भनेका छन्, ‘मेरी अर्धाङ्गिनीले चाँहि तकियाका खोल, डसनाका खोल, सिरकका खोल इत्यादि थुप्य्राइदिइछन्।

परिवारमा जुन व्यक्तिको तकिया, डसना आदिको खोललाई त्यो दमाईंले छोयो, त्यो व्यक्तिको स्वभाव र विगत जीवनका बारेमा मार्मिक कुरा गाँसिएका वाक्यहरू भन्दै जान्थ्यो। पहिले त उसले बर्बराएका कुराहरूमा कसैले ध्यान दिएनन् तर पछि परिवारमा धेरै जसो मानिसहरूको मन त्यो बर्बराहटले तानेछ। घरलाई चारैतिर हेरेर त्यो दमाईंले भनेछ, ‘यो घर त जोगीको घर पो रहेछ इत्यादि। मचाहिँ त्यो दिन गोरखापत्रकै काममा व्यस्त थिएँ।’

त्यस घटनापछि कृतिकारकी पत्नीले दमाईंलाई बारम्बार घरमा आउन अनुनय–विनय गर्छिन्। सामान्य ठानिएका दमाईंलाई जब बुझ्दै जान्छन्, कुराकानी गर्छन्, त्यसपछि प्रेमराजलाई लाग्छ– मानिस सामान्य होइन। कुराकानीबाट दार्शनिक विचार आफूभन्दा निकै माथिल्लो स्तरको भन्ने बुझ्छन्। त्यसपछि उनले भनेका छन्, ‘भेट हुना साथ उनले मलाई ‘जदौ’ गर्थे तर अब उनको ‘जदौ’ भन्दा अगाडि नै मेरो नमस्कार हुन्थ्यो। पहिले पहिलेको भेटमा मैले उनलाई ‘तिमी’ भनी बातचित गरेको सम्झँदा मलाई लाज लाग्थ्यो। अब त मैले उहाँलाई ‘महात्मा’ भनेर सम्बोधन गर्न थाले।’

प्रेमराजले दमाईं महात्माको कुरा उप्काएका छन्, २००० सालतिरको भनेर। त्यसबेला ओमबहालमा बस्ने उनले घरको थोत्रा थाङ्ना थरा, चोलो, भोटो सिउनेलाई खोज्दै जाने क्रममा परशुराम माथेमाको घरको आँगनमा पहिलोपल्ट भेट भएको हुन्छ ‘दमाईं महात्मा’सँग।

त्यसपछि पौडेलमा भएको धार्मिक जिज्ञासाको समाधान ‘महात्मा’बाट हुन थाल्छ। हिन्दु धर्ममा विभिन्न देवीदेवताको पूजा–उपासना गर्ने गरिन्छ। पौडेलले त्यसैले विविध देवीदेवता पूजा गरेको विषयलाई लिएर प्रश्न गर्दा ‘दमाईं महात्मा’ले मनलाई धेरैतिर छर्नुभन्दा एउटै लक्ष्यमा लय गर्ने चेष्टा गर्नु वेश हो’ भने।

महात्माका कुरा रुचिकर लागे पनि पूर्वजहरूले त्यति धेरै देवताको कल्पना किन गरे होलान् भन्ने तर्क रहिराख्छ। त्यसपछि पौडेलको महात्मासँग प्रश्न गर्छन्–‘पौराणिक र तान्त्रिक युगमा मात्र होइन, वैदिक युगमा समेत अनेक देवताको भाव स्विकार्ने चलन हिन्दु धर्मको कमजोरी होइन?’ त्यसमा महात्माको जवाफ आउँछ, ‘यो हिन्दु धर्मको उदारता हो, यसमा जुन प्रवृत्तिका मानिसलाई पनि ढोका खुला छ। जसले पनि आफूलाई अगाडि बढाउने मौका पाउन सक्छ। ढुंगाको अगाडि बोको रेट्ने र (अहिंसाको दृष्टिबाट) कस्तुरीलाई पनि अपवित्र सम्झने दुवै भाइ ढिलो चाँडो पार लाग्न सक्छन्। सनातन धर्म कसैले चलाएको पन्थ होइन भन्ने त तपाईंले थाहा पाउनुभएकै छ। यो त एउटा प्राकृतिक धर्म हो। सिर्फ आवश्यकता छ पवित्र लक्ष्यको बस।’

अत्यन्त सरल दमाईं महात्माका लुगा झुत्रेझाम्रे हुन्थे र एउटा पोको बोकेर सधैं हिँड्ने गर्थे। एकदिन उनको फोटो खिच्न पौडेलले हत्ते गर्दा भने पौडेलका लुगा लगाएर फोटो खिचाएका थिए।

एकदिन पौडेलको स्वास्थमा गडबडी हुन्छ। नाडी र मुटुको गतिको चालमा गडबडी सुरु हुन्छ। त्यो धेरै दिन कायम भएको हुन्छ। घट्नुभन्दा बढ्दै जान्छ। आत्तिन्छन् ! एक दिन राती एक बजेतिर आफ्नी श्रीमतीलाई निराश हुँदै भन्छन्, ‘अब म धेरै बाँच्दिनँ क्यार।’

भोलिपल्ट बिहान ६ बजे महात्मा आइपुग्छन्। उनीहरू दुवैजनालाई हेरेर भन्छन्, ‘अहिले चाँडै मर्नुहुन्न।’ पौडेलले लेखेका छन्, ‘अनि उहाँले हातको एउटा चोर औंला कुप्य्राएर भन्नुभयो, ‘बुढो होउन्जेलसम्म बाँच्नुहुन्छ।’ त्यसपछि दुई जनाबीच संवाद भएको छ। त्यसमा छुवाछुतका विषयमा पनि कुरा भएको छ। ती सबैलाई आलेखमा अटाउन सम्भव भएन। तत्कालीन प्रधानमन्त्री श्री ३ पद्म शमशेरको प्रसङ्ग भने उल्लेखनीय लाग्यो।

एकदिन पौडेलको स्वास्थमा गडबडी हुन्छ। नाडी र मुटुको गतिको चालमा गडबडी सुरु हुन्छ। त्यो धेरै दिन कायम भएको हुन्छ। घट्नुभन्दा बढ्दै जान्छ। आत्तिन्छन् ! एक दिन राती एक बजेतिर आफ्नी श्रीमतीलाई निराश हुँदै भन्छन्, ‘अब म धेरै बाँच्दिनँ क्यार।’

महात्माका बारेमा प्रधानमन्त्री पद्म शमशेरलाई पौडेलले सुनाउँछन्, उनले चाख लिएर सुन्छन्। उनले महात्मालाई छ रूपैयाँ दिनुका साथै महात्मासँग एउटा प्रश्न सोध्नू है भन्छन्। उनको प्रश्न थियो, ‘मैले राजकाज छाडेर हिन्दुस्थानमा गई बस्ने विचार लिएको छु, महात्माको विचारमा कस्तो होला?’

त्यसपछि घरमा आएर पौडेल त्यो पैसा महात्मालाई दिन्छन्। पैसा लिएपछि महात्माले भन्छन्– ‘मलाई केही नसम्झेको भए श्रद्धापूर्वक पैसा किन पठाउनु? केही सम्झेको भए रूपैयाँको के माने? तर म रूपैयाँले किनिने होइन? त्यसपछि महाराजले गरेको प्रश्नको उत्तर माग्दा महात्माले मात्र ‘फाइन’ भनेका छन्। त्यसपछि महात्माबाट धेरै कुरा पौडेलले सिक्छन्, ग्रहण गर्छन्।

 पौडेलले लेखेका छन्, ‘मलाई उहाँले मन्त्रतन्त्रमा काम लाग्दो बाटो सुझाउनुभयो। यसका निम्ति म उहाँको अत्यन्त ऋणी छु। उहाँले देखाउनुभएको बाटोमा म हिजो आज पनि चल्दै छु। आज पनि वहाँको तस्बिर मेरा निम्ति आराध्य छ। मैले पूजाकोठामा राखेको छु।’

कृतिको आकार ठुलो छैन। विषयवस्तु थुप्रै छन् विभिन्न शीर्षकमा। त्यस्तै बिनु बाबा भन्ने अर्का महात्मा पनि छन्। दोस्रो संस्करण भएकाले यसको परिशिष्ट–१ मा लेखक लक्ष्मण पौडेल बिनु महात्मा, १९९४ पछि, भाइ हजुर, सुधी बाबु, महन्त बाबा (कालु गिरी), बम् बम् बाबा, लालबाबा र परिशिष्ट २ मा प्रेमराज भन्ने रुद्रराज पाण्डेको लेख समावेश गरिएको छ।

‘तपस्वीको अनुभव’ ६० वर्षपछि भन्ने लक्ष्मण पौडेल (प्रेमराजका छोरा) ले लेखेको भूमिकामा भनिएको छ, ‘श्री रुद्रराज पाण्डेज्यूले’ ‘सन्त दर्शन’ भन्ने पुस्तकमा ‘प्रेमराज’ बारे पनि प्रकाश पार्नुभएको छ। त्यस लेखलाई पनि सान्दर्भिक सम्झी परिशिष्टमा साभार स्थान दिइएको छ।’

पौडेलले लेखेका छन्, ‘मलाई उहाँले मन्त्रतन्त्रमा काम लाग्दो बाटो सुझाउनुभयो। यसका निम्ति म उहाँको अत्यन्त ऋणी छु। उहाँले देखाउनुभएको बाटोमा म हिजो आज पनि चल्दै छु। आज पनि वहाँको तस्बिर मेरा निम्ति आराध्य छ। मैले पूजाकोठामा राखेको छु।’

गायक सपुतको गीतले प्रेमराज पौडेलको कृति तपस्वीको अनुभवका ‘दमाईं महात्मा’ को चर्चा गर्ने संयोग जुरायो। त्यसका लागि सपुतलाई धन्यवाद! ‘दमाईं महात्मा’ र प्रेमराज पौडेलमा नमन र श्रद्धासुमन।  

प्रकाशित: १३ श्रावण २०८० ०२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App