१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

एथेन्समा एथेना देवीसँग एक बिहान

नियात्रा

एथेना देवी! तिमीलाई भेट्न आएको छु।

एथेन्सको पानाथेनिक रोडमा टेक्नेबित्तिकै एथेना देवीलाई श्रद्धापूर्वक स्मरण गर्छु।

म प्राचीनकालको धार्मिक बाटोमा छु। पवित्र मार्गमा उभिएको छु। त्यहाँबाट सामुन्ने देखिएको एक्रोपोलिस डाँडामा नजर लगाउँछु। चट्टानै चट्टानले बनेकोजस्तो देखिने त्यस डाँडामा रहेका भौतिक संरचनाहरू नियाल्छु। पाइला चल्नुअघि नै मनले डाँडा चढिसक्यो।

यात्रासम्बन्धी एउटा भनाइ प्रचलित छ- ‘कुनै पनि ठाउँका बारेमा जिन्दगीभर सुन्नुभन्दा एकपटक आफैं गएर हेर्नू ।’ पहिलेदेखि नै मैले थाहा पाएको तर हेर्न नपाएको एथेन्सका देवीदेवताहरू खोज्न निस्केको छु।

प्राचीन समयमा एथेना देवीलाई स्मरण गर्दै खेलकुद, नाटक, नृत्य र संगीत प्रतियोगिता आयोजना गरिन्थ्यो। उनको जन्मोत्सवमा पशु बलि दिएर पूजाआजा गरी धुमधामसाथ मनाइन्थ्यो। एथेना देवीको सम्मानमा पानाथेनिया महोत्सवमा सहभागी हुने जुलुस र झाँकी मैले टेकेको यही धार्मिक मार्गबाट जाने गर्थ्याे। गौरान्वित भएको छु पवित्र मार्गमा पाइला टेक्दा।  

मनमनै आफैसँग ठट्टा गर्छु, ‘कतै म पनि पवित्र त भइनँ?’ यस्तै कुरा मनमा खेलाउँदै लम्किरहेछु लमकलमक एक्रोपोलिसतिर।

संसारभरका मानिसको आकर्षणको केन्द्र हो एक्रोपोलिस। तिनीहरू पनि मजस्तै पश्चिमी सभ्यताको केन्द्र एथेन्सको प्राचीन कला र इतिहासको अवलोकन गर्नका लागि पुगेको हुनुपर्छ। बाटामा मानिसका अचाकली भिड देखेपछि अनुमान गर्छु।

अवलोकनकर्ताको भिड र चर्को गर्मी छल्न बिहान नौ बजे एक्रोपोलिसको प्रवेशद्वारमा पुगेको छु। मभन्दा पहिले नै मानिसका अथाह भिड र उन्मत्त सूर्य त्यहाँ पुगिसकेका रहेछन्। निराश भएर त्यहाँबाट फर्कने कुरै थिएन।

अघिल्लो दिन टिकट लिएकाले प्रवेशका लागि सिधै लाइनमा उभिन्छु र सम्झन थाल्छु एक्रोपोलिस। ग्रीक शब्द एक्रोपोलिसको अर्थ हुन्छ उच्चतम बिन्दुमा अवस्थित सहर। एथेन्समा रहेका सात वटा महत्वपूर्ण ऐतिहासिक डाँडामध्येको एक हो एक्रोपोलिस। प्राचीन समयमा एथेन्स एकदम सुन्दर र शक्तिशाली राज्य थियो। त्यहाँ पाँच हजार वर्षदेखि मानव बस्ती रहेको प्रमाण फेला परेको छ। त्यस्तो प्राचीन स्थलमा पुग्दा मनमा अनेक जिज्ञाशा उत्पन्न भएका छन्।

ग्रिकको एक पौराणिक कथा स्मरण गर्छु। कथानुसार दैवज्ञद्वारा क्रोपोलिसलाई देवताको एक प्रान्त घोषित गरिएको थियो रे। देवताको प्रान्तमा कहाँ मानिस बस्न मिल्छ र? त्यसपश्चात् त्यहाँबाट मानिसको बस्ती हटाइयो। त्यसपछि त्यहाँ पार्थेनन, एरेक्थायन र नाइकी मन्दिर बनाइयो। ती तीनवटै मन्दिर देवीका हुन्। मन्दिर निर्माणपश्चात् एक्रोपोलिसलाई एथेन्सको सबैभन्दा पवित्र स्थानका रूपमा लिन थालियो।

संसारभरका मानिसको आकर्षणको केन्द्र हो एक्रोपोलिस। तिनीहरू पनि मजस्तै पश्चिमी सभ्यताको केन्द्र एथेन्सको प्राचीन कला र इतिहासको अवलोकन गर्नका लागि पुगेको हुनुपर्छ। बाटामा मानिसका अचाकली भिड देखेपछि अनुमान गर्छु।

देखिरहेछु प्रवेशद्वारअगाडि एक्रोपोलिसको मन्दिरका अवलोकनका लागि उभिएका मानिसको लामो लाइन। साँघुरो बाटो र अत्यधिक भिडका कारण एक्रोपोलिसबाट जति अवलोकनकर्ता फर्केर आउँछन्, त्यति नै अवलोकनकर्ता खटाई खटाई माथि पठाइरहेका छन् कर्मचारीहरूले।

मन्दिर जाने भिडमा म मिसिएको छु। भिड सुस्तरी अगि बढ्दै छ। अलिकति हिँड्दै रोकिने र फेरि हिँड्ने भिडकै लयमा पाइला चालिरहेको छु। आधा घण्टा लगाएर बल्लतल्ल मार्बलले बनेको कलात्मक प्राचीन गेटनेर पुग्छु।

एक्रोपोलिसको मन्दिर क्षेत्रमा प्रवेश गर्ने एकमात्र गेट रहेछ प्रोपलिइया। ग्रिक भाषामा प्रोपलिइयाको अर्थ गेट वा अगाडिको मुख्य ढोका भन्ने बुझाउँछ। उभिएर एकछिन त्यस गेटको भव्यता हेर्छु। त्यहाँबाट तल एथेन्स सहरको एक भाग र विशाल समुद्रको निलो पानीमा आँखा डुलाउँछु। मनमोहक दृश्यलाई आँखाले स्वाद मानेर निकैबेर हेरिरहें। अत्यधिक भिडका कारण त्यहीं उभिएर रमाइरहने अवस्था थिएन।

गेट पार गरेर अगाडि बढेपछि फरक भूगोलका थरिथरिका अनुहार भएका मानिसका भिडमा मिसिन्छु। त्यहाँको भिड देख्दा यस्तो लाग्छ कि ब्रह्माण्डका सारा मानिस यहीं ओइरिएका छन् ।

एक्रोपोलिसको वरिपरि मार्बलजस्ता चट्टान नै चट्टान देखिरहेको छु। टेकिरहेको छु तिनै चट्टानमा। ‘चिप्लो चट्टानले भरिएको स्थान पो रहेछ एक्रोपोलिस !’ मेरा पाइताला एउटा चट्टानमा पर्नासाथ चिप्लिएपछि बोलेथें।

एक्रोपोलिस पुनर्निर्मित खण्डहर हो। ग्रिक सभ्यताको प्रतीक हो। महत्वपूर्ण प्राचीन स्मारक हो। यस्तै कुरा सम्झँदै पश्चिमी सभ्यताको उद्गम स्थलमा बिस्तारै पाइला चालिरहेको छु। यसको महान वास्तुकला, कलात्मकता, धार्मिक र सांस्कृतिक मूल्यका बारेमा थाहा पाउन आतुरता छ मनमा।

प्राचीन मन्दिरको अस्तित्व बताउने मोटा, गोलाकार, अग्ला पिलर र बिमहरू मात्र भएको अधुरो भवन मेरो सामुन्ने छ। त्यस वरपर कैयौं महत्वपूर्ण ऐतिहासिक अवशेषहरू देखिरहेको छु।

प्राचीनकालमा सहरको संरक्षक देवीका रूपमा एथेनालाई मानिन्थ्यो। उनलाई विजेता र कुमारी देवीका रूपमा पुजिन्थ्यो। कुनै चिजको आवश्यकता परे एथेना देवीको पूजा गरिन्थ्यो। देवीको अनुकम्पाले मनोकांक्षा प्राप्त हुने कुरामा ग्रिसवासी विश्वास गर्थे।

पाइला चालिरहँदा एक्रोपोलिसको इतिहासका पाना सर्लक्क पल्टिन्छन् मानसपटलमा। सहरको नाम एथेन्स रहनुको रोचक कथा छ। एक्रोपोलिस डाँडालाई पाँचहजार वर्षअघि आक्टिकी भनिन्थ्यो। त्यहाँ आक्टाइयो नामका राजाले शासन गर्थे। पछि उनका उत्तराधिकारी सेक्रोप्सले त्यहाँ शासन गरे। उनैको नाममा सेक्रोपिया सहरको नामकरण गरियो। सेक्रोप्स आधा मानिस र आधा सर्प थिए।

प्राचीनकालमा सहरको संरक्षक देवीका रूपमा एथेनालाई मानिन्थ्यो। उनलाई विजेता र कुमारी देवीका रूपमा पुजिन्थ्यो। कुनै चिजको आवश्यकता परे एथेना देवीको पूजा गरिन्थ्यो। देवीको अनुकम्पाले मनोकांक्षा प्राप्त हुने कुरामा ग्रिसवासी विश्वास गर्थे।

उनको शासनकालमा सहरमा खुब विकास भयो। समृद्ध सहर बन्यो। त्यो देखेर देवताहरू ईष्र्याले जल्न थाले। देवताहरूले त्यस समुन्नत सहरका बारेमा महŒवपूर्ण निर्णय गर्नका लागि बैठक बसे। उनीहरूले त्यस सहरको नाम बाह्र ओलम्पियन देवताहरूमध्ये एकको नाममा राख्नुपर्ने र सहरको संरक्षक देवता नै हुनुपर्ने निर्णय गरे।

सहरको संरक्षक हुन र आफ्नै नाममा सहरको नाम राख्न पोसिडोन देवता र एथेना देवीबीच होडबाजी चल्यो। त्यसपछि देवताका पिता जिउसले एउटा जुक्ति निकाले। जसले सेक्रोप्स राजा र सहरलाई महत्वपूर्ण उपहार दिन्छ त्यसैको नाममा सहरको नाम राखिने र उनैलाई सहरको संरक्षक बनाइने जिउसले बताए।

जिउस देवताले तोकेको दिनमा एक्रोपोलिसमा सहरका जनता पुगेर उपहारको प्रतीक्षा गर्न थाले।

एक्रोपोलिसमा समुद्रका देवता पोसिडोन पुगेर भुइँमा त्रिशूल गाडेर पानी निकाले। त्यहाँ पानीको मूल फुट्यो। देवताहरूले ठाने-यो अति उत्तम उपहार हो। त्यहाँ पहिलेदेखि पानीको अभाव थियो। अब सहरले काकाकुल भएर बस्नुपर्ने छैन भन्ने ठाने। उत्साहित जनताले त्यो पानी पिए। त्यहाँको पानी पोसिडोन देवताको समुद्रको जस्तै नुनिलो थियो। त्यो पानी पिउनलाई उपयुक्त थिएन।

एकछिनपछि त्यहाँ एथेना देवी पुगिन्। उनले कुनै वनस्पतिको बिउ भुइँमा रोपिन्। त्यो बिउ तुरुन्तै अंकुरण भएर छिटोछिटो बढ्दै गएर एकैछिनमा वृक्षमा परिणत भयो। त्यस वृक्षमा लटरम्म फल फल्यो। सहरका जनताले त्यसलाई चाखे। त्यो वृक्ष जैतुनको थियो। उक्त उपहार सबैलाई मन पर्‍यो। त्यस जैतुनको बोटमा फलेको दानाबाट तेल निकाल्न सकिने, भोक मेटाउन त्यतिकै खान मिल्ने र त्यसको वृक्षबाट काठ पनि प्राप्त हुने भएकाले निर्माण कार्यका अतिरिक्त आगो बाल्न पनि काम लाग्थ्यो।

बहुउपयोगी वृक्ष उत्पत्ति गराएका कारण जिउसले एथेनालाई विजेता ठहर्‍याए। त्यसपछि उनकै नाममा सहरको नाम एथेन्स राखियो। त्यस एक्रोपोलिसमा एथेना देवीका नाममा कलात्मक विशाल मन्दिर पार्थेनन बनाइयो। उपर्युक्त कथाले मलाई हिन्दु धर्ममा प्रचलित यस्तै खाले कथाहरूको स्मरण गरायो। हिन्दु र प्राचीन ग्रिकका देवताहरू तथा तिनका केही पौराणिक कथामा अलिकति भए पनि समानता पाएको छु।

एक्रोपोलिसमा समुद्रका देवता पोसिडोन पुगेर भुइँमा त्रिशूल गाडेर पानी निकाले। त्यहाँ पानीको मूल फुट्यो। देवताहरूले ठाने-यो अति उत्तम उपहार हो। त्यहाँ पहिलेदेखि पानीको अभाव थियो। अब सहरले काकाकुल भएर बस्नुपर्ने छैन भन्ने ठाने।

एथेना देवी आमाको कोखबाट होइन, आफ्ना पिता जिउसको निधारबाट जन्मेकी अति पवित्र देवी थिइन्। उनी जिउस देवताका अरू सन्तानभन्दा अति प्रिय थिइन्। सायद यही कारणले जिउसले उनलाई विजयी बनाएका होलान् कि भनेर अनुमान गर्छु।

उक्त कथा स्मरण गर्दै जाँदा जैतुनको एक वृक्ष अगाडि पुगिसकेको थिएँ। झ्याम्म परेको उक्त बुढो जैतुनको वृक्ष देवी एथेनाले रोपेको भनेर ग्रिकवासीहरू विश्वास गर्दा रहेछन्। ग्रिकबासीका लागि अति पवित्र रहेछ उक्त जैतुनको वृक्ष। उनीहरूको विश्वासलाई मैले के आधारमा अविश्वास गर्नु? पवित्र स्थलमा एथेना देवीले रोपेको भनिएको जैतुनको वृक्ष देखेर मेरो हात सकसकायो। हत्त न पत्त जैतुनको पातलाई हातले स्पर्श गरें। मनमा एक खालको आनन्दी भावको सञ्चार भयो। एथेना देवीलाई मनमनै नमन गरें।

एथेना देवीको जीवन कथा जति पढ्दै जान्छु, उति सनसनीपूर्ण र रोचक लाग्छ। एथेना देवी पूरै कवच लगाएको अवस्थामा जन्मेकी थिइन्। उनको शिरमा हेल्मेट लगाएको, हातमा भाला र सर्प भएका मूर्तिहरू ग्रिसमा देख्न पाइन्छ।

एथेनालाई ज्ञान, सिप, सभ्यता, न्याय र युद्धकी देवीका रूपमा मानिन्छ। उनी आफ्नो चामत्कारिक हतियार एनागिस नामक ढाल लिएर हिँड्थिन्। उनका साथमा एउटा उल्लु पनि हुन्थ्यो। उल्लु ज्ञानको प्रतीकका रूपमा मानिन्थ्यो। उल्लु एथेना देवीको प्रिय पन्छी र जैतुनको वृक्ष उनको प्रिय वनस्पति रहेछ।

पार्थेनन मन्दिर देखेर चकित हुन्छु। मार्बलले बनेको गोलाकार अग्ला पिलरहरूमाथि राखिएका बिम मात्र भएको अधुरो भवन थियो पार्थेनन। माथि छाना नभए पनि पार्थेनियन विशाल र भव्य देखिन्थ्यो। प्राचीनकालमा सग्लो अवस्थाको पार्थेनन कति सुन्दर थियो होला? अचानक मस्तिष्कमा पार्थेनन मन्दिरको भव्य स्वरूप बनाउँछु। कल्पनाका विभिन्न रङहरूले मन्दिरको सिँगारपटार गर्न थाल्छु। भिडका एक अवलोकनकर्ताले मलाई धक्का दिएपछि गर्लम्म ढल्छ मनभित्रको मन्दिर।

एथेन्समा एथेना देवी

इतिहासमा उल्लेख भएअनुसार पार्थेनन मन्दिर निर्माणमा दार्शनिक सुकरातका बुबा र स्वयं सुकरातले पनि त्यहाँ काम गरेका थिए। दार्शनिक हुनुअघि सुकरातले केही समय ढुंगामा चित्र र मूर्ति कुँद्ने काम गरेका थिए।

पार्थेनन ग्रिक शब्द पार्थेनसबाट आएको हो। जसको अर्थ हुन्छ-कुमारी वा अविवाहित महिला। पार्थेननमा कुमारी देवी एथेनाको मूर्ति राखिएको थियो। एथेना कुमारी भएकाले उनको पूजामा कुमारीहरूको महत्वपूर्ण स्थान हुन्थ्यो। कुमारी देवी एथेनालाई मेरो एक मनले हिन्दुको शक्ति र विजयकी देवी दुर्गाजस्तो ठान्यो। इटालीका मूर्तिपूजक रोमनहरूले ग्रिसको सिको गर्दै एथेना जस्तै शक्ति भएकी आफ्नै देवी मिनर्वा बनाएर पूजाआजा गर्न थालेका थिए। हिन्दु, रोमन र ग्रिसका तीन देवीहरू दुर्गा, मिनर्वा र एथेनाका बारेमा अलग्गै अध्ययन र अनुसन्धान गर्न हुटहुटी लागेको छ मलाई।

इतिहासमा उल्लेख भएअनुसार पार्थेनन मन्दिर निर्माणमा दार्शनिक सुकरातका बुबा र स्वयं सुकरातले पनि त्यहाँ काम गरेका थिए। दार्शनिक हुनुअघि सुकरातले केही समय ढुंगामा चित्र र मूर्ति कुँद्ने काम गरेका थिए।

इतिहासमा उल्लेख भएअनुसार पार्थेननमा एथेन्सका मूर्तिकारले चालीस फिट अग्लो एथेनाको मूर्ति बनाएका थिए। उक्त मूर्ति हात्तीको दाँत र सुनबाट बनेको थियो। उतिबेला त्यस भवनको बनावट र सजावट एकदम आकर्षक र उत्कृष्ट रहेको कुरा पढेको छु। एथेन्समा भएको युद्धको दौरानमा एथेना देवीको मूर्ति नष्ट भएको बताइन्छ। ती एथेना देवीको अनुकृति विभिन्न म्युजियममा अवलोकन गरेको सम्झना अझै ताजा छ।

एथेना देवीको जादुमयी पौराणिक कथा पढेर हरेक पटक रोमाञ्चित हुन्छु। एथेना देवी अर्गेन, नाइकी, पलास, पार्थेनस, पोलियस, प्रोमाचोस नामले पनि चिनिन्थिन्। एथेना देवी सभ्यताको अदलबदल गर्नमा सिपालु र सक्षम थिइन्। महिलालाई पवित्र राख्न र सशक्त बनाउने सामथ्र्य थियो उनमा। युद्धको गहिरो ज्ञान भएकी एथेना देवी युद्धको बेला युद्धको रूप नै परिवर्तन गराउन सक्थिन्। आफ्नो शक्तिद्वारा मानिसलाई सजिलै जनावरमा  परिणत गराउँथिन्।

अवलोकनका क्रममा हिँड्दै जाँदा पार्थेननको नजिकै मार्बलकै पिलर र बिम मात्र भएको तर छाना नभएको अलिक सानो भवन अगाडि पुगेर रोकिएँ। त्यो एथेना नाइकीको मन्दिर रहेछ। त्यस मन्दिरलाई ओटोमन साम्राज्यका सेनाले आक्रमण गरी नष्ट गरेका कारण अहिले त्यहाँ देवीका मूर्ति छैन। त्यहाँ मन्दिरको जिर्णोद्धार कार्य भइरहेको देख्छु। अलिकति भए पनि देवीको इतिहास जीवित भएको पाउँदा मन प्रसन्न भयो।

ग्रिक पौराणिक कथाअनुसार ‘नाइकी’ विजय र जितकी देवी हुन्। युद्धमा विजयी भएकी एथेना देवीलाई एथेना नाइकीका रूपमा पूजाआजा गरिन्थ्यो। एथेन्सले जितेको लडाइँमा विजय उत्सव मनाउन जितकी देवी एथेना नाइकीका लागि बनाइएको मन्दिर रहेछ।

विजयकी देवी नाइकीका नाममा खेलकुद सामग्री लगायत घडी, ब्याग, लत्ताकपडा, जुत्ता, चप्पल आदिको संसारभर खुब बिक्री हुन्छ। नाइकी एकदम लोकप्रिय पनि छ। नाइकी ब्रान्डले गर्ने अरबौं डलरको व्यापार कतै नाइकी देवीको कृपा त होइन? आफैसँग ठट्टा गरेथें।

एक्रोपोलिसको उत्तरपट्टि रहेको अर्को भवन नजिक पुग्छु। त्यो भवन पनि मन्दिर नै रहेछ। त्यस मन्दिरमा एकछिन आँखा बिसाउँछु। त्यो मन्दिर एरेक्थायन र एथेना पोलियस दुई नामले चिनिँदो रहेछ। जम्मा छ वटा पूर्णकदका महिलाहरूको मूर्तिले भवनको एकापट्टि भागलाई थामेको कलात्मक दृश्यलाई नियालेर हेर्छु। भवनको केही अंश महिलाहरूले थामेको दृश्यले आधा आकाश थाम्ने महिलाको स्मरण गरायो।

विजयकी देवी नाइकीका नाममा खेलकुद सामग्री लगायत घडी, ब्याग, लत्ताकपडा, जुत्ता, चप्पल आदिको संसारभर खुब बिक्री हुन्छ। नाइकी एकदम लोकप्रिय पनि छ। नाइकी ब्रान्डले गर्ने अरबौं डलरको व्यापार कतै नाइकी देवीको कृपा त होइन? आफैसँग ठट्टा गरेथें।

मन्दिर अवलोकनका क्रममा अचानक इतिहासको अर्को पाना पल्टिन्छ मनमा। युद्ध विजेताको इतिहास पढेर रिस उठ्छ। मेरो मनले मौन विरोध गर्छ तिनका कुकार्यहरूको। पहिलेका मूर्तिपूजक रोमनहरू पछि क्रिश्चियन भएपश्चात् आफ्नो साम्राज्य ग्रिसमा जर्बजस्ती क्रिश्चियन धर्म लादेका थिए।

एक्रोपोलिसका मन्दिरहरूलाई रोमन साम्राज्यकालमा चर्चमा परिणत गरिएको थियो। एथेना देवीको मूर्ति राखिएको मन्दिर पार्थेननलाई जिसस क्राइस्टकी आमा भर्जिन मेरीको नाममा समर्पित गरियो। पार्थेननले चौथो शताब्दीमा क्रिश्चियनहरूको महत्वपूर्ण धार्मिक स्थलका रूपमा ख्याति कमाएको कुरा इतिहासमा पढ्दा हाँसो उठ्छ।

अचम्मित हुन्छु, एउटा धर्मको आस्थाको केन्द्रमा कसरी अर्को धर्म स्थापित हुन्छ? दबाइएका र युद्धमा हराइएकाहरूको मनले त्यस कार्यलाई कसरी स्वीकार गरे होलान्? अर्को धर्मको मन्दिरलाई आफ्नो चर्च बनाउँदा क्रिश्चियन धर्मावलम्बीहरू खुसी भए होलान् कि अनौठो माने होलान्? अनुत्तरित जिज्ञाशा मेरो मनमा झुन्डिरहेको छ।

इतिहासका पाना पल्टाउँदै जाँदा फेरि घोर आश्चर्यमा पर्छु म। खित्का छाडेर हाँस्नु कि रिसले मुर्मुरिनु भन्ने हुन्छ मलाई। ग्रिसमा रोमन साम्राज्यको अन्त्य भएको धेरै वर्षपछि ग्रिस फेरि मुसलमानको ओटोमन साम्राज्यको अधिनमा पुग्यो। ओटोमोन साम्राज्यले एक्रोपोलिसमा पहिले मन्दिरबाट चर्चमा परिणत गरिएका सबै स्थानलाई सन् १४५८ मा मस्जिदमा परिणत गरे। त्यहाँ फेरि अर्को प्रतिशोधको तिर चलाइयो। ग्रिसवासीको आस्थाको केन्द्रमा पटकपटक प्रहार भएको घटनाले मर्माहत हुन्छु।

टर्कीका यात्रा लेखक एवलिया सेलेबीले सन् १६६७ मा पार्थेनन भवनको भव्यताका बारेमा लेखेको कुरा सम्झन्छु। उनले नयाँ मस्जिदभित्र रहेको कलाको तारिफ गरेका छन्। भुइँमा मार्वल र भित्तामा आकर्षक कला थिए भनेर लेखेका छन्।

वास्तवमा मस्जिद भनिएको भवन मन्दिरबाट चर्चमा परिणत भएको थियो। फेरि ओटोमन साम्राज्यले कथित चर्चमा कब्जा जमाएर मस्जिदमा परिणत गरेका थिए। सत्य तथ्यलाई ढाकछोप गरेर मस्जिदको कलाको तारिफ गर्ने लेखकका कुरा पढेर अचम्म मान्छु।

अग्लो स्थानमा रहेको एक्रोपोलिस एक सैनिक किल्ला र ओटोमन साम्राज्यको समयमा टर्कीका सैनिक अधिकारीहरूको आवास गृहका रूपमा उपयोग गरिएको तथ्य थाहा पाउँदा मन चसक्क हुन्छ। त्यति मात्र होइन, एक्रोपोलिसका मन्दिरहरूलाई युद्धको समयमा बारुद राख्ने गोदामका रूपमा प्रयोग गरिएको रहेछ।

एकपटक बारुद भण्डारमा विष्फोट भएर मन्दिरमा ठुलो क्षति पुग्यो। उक्त घटनामा तीनसय भन्दा बढी मानिसको ज्यान गएको कुरा पढेर दुःखी हुन्छु। कस्ता शासक हुन्? कस्ता सैनिक अधिकारी हुन्? कसरी त्यस्तो प्राचीन तथा धार्मिक स्थलमा बारुद राख्न सकेका होलान्? मेरो मनभित्र अचानक रिसको बारुद पड्कियो।

हुन त लडाइँमा सबै कुरा जायज हुन्छ। लडाइँमा धर्मको कुनै अर्थ र महत्व हुँदैन। हिन्दुले हिन्दुलाई मारेका छन्, मुसलमानले मुसलमानलाई रेटेका छन्, क्रिश्चियनले क्रिश्चियनलाई गोली ठोकेका छन्। मानिसले मानिस मार्नु कुन धर्ममा लेखेको छ हँ? पवित्र स्थलमा उभिएर धर्म गुरु र क्रूर शासकहरूलाई सोध्छु।

अवलोकनका क्रममा एकपछि अर्को गर्दै ग्रिसका शासकको विवेकका पर्खाल भत्किएको पाउँछु। र त भत्काइए एक्रोपोलिसका अधिकांश संरचनाहरू। मन्दिर भत्काइए, कथित चर्च र मस्जिद भत्काइए। भत्काइए ग्रिसवासीको आस्थाको केन्द्र।

एक्रोपोलिस भत्काइएपछि त्यहाँका अति प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्वका थुप्रै बहुमूल्य वस्तुहरू बेलायतले लगेको थियो। उक्त कार्यको बेलायती कवि लर्ड बायरनले उतिबेलै विरोध गरेका थिए। त्यहाँका सक्कली मूर्तिहरू र अन्य बहुमूल्य सामग्रीहरू ब्रिटिस म्युजियम, ग्रिसको एक्रोपोलिस म्युजियम, पेरिसको लुभ्र म्युजियम, डेनमार्क, रोम र भियनाका म्युजियमहरूमा राखिएका छन्। ब्रिटिस म्युजियममा त्यहाँका केही मूर्तिहरूको अवलोकन गर्ने सौभाग्य पाएको थिएँ मैले।

विभिन्न समयको आगलागी, भूकम्प र युद्धले पुर्‍याएको क्षतिबाट लड्दै उठ्दै आएका छन् एक्रोपोलिसमा मन्दिरका अस्तित्व बताउने भौतिक संरचनाहरू। तिनले अहिले पनि धर्म, संस्कृति र सभ्यताको मौन वकालत गरिरहेका छन्।

एक्रोपोलिसका मन्दिरहरू हेरें। देखें त्यहाँ युद्ध र धार्मिक अतिक्रमणका घाउहरू। मज्जाले सुनें शक्तिशाली साम्राज्यको पतनका कथाहरू। अनि हेर्न थालें एथेन्स सहरका परिदृश्यहरू।

अग्लो डाँडो एक्रोपोलिसबाट चारैतिरबाट एथेन्स सहरमा आँखा घुमाउँछु। सूर्यको उज्यालोमा चम्किएको छ एथेन्स सहर। हेरिरहूँ लाग्ने खालको छ सहरको सुन्दरता। एथेन्स सहरसँग पहाड छ, समुद्र छ र समथर जमिन पनि छ। वैभवपूर्ण इतिहास छ। पुर्खाको गौरवशाली इतिहास छ। एथेन्सका पहाडले के भन्दा हुन् इतिहास सम्झेर? एथेन्सका समुद्रले कुन गीत गाउँदा हुन् विगत सम्झेर?

विभिन्न समयको आगलागी, भूकम्प र युद्धले पुर्‍याएको क्षतिबाट लड्दै उठ्दै आएका छन् एक्रोपोलिसमा मन्दिरका अस्तित्व बताउने भौतिक संरचनाहरू। तिनले अहिले पनि धर्म, संस्कृति र सभ्यताको मौन वकालत गरिरहेका छन्।

इतिहासले वर्तमानलाई निर्देशन गरिरहेको हुन्छ। त्यसैले ऐतिहासिक स्थल र सम्पदाहरूको संरक्षण गर्नुपर्छ। मेरा आँखाअगाडि एक्रोपोलिसका मन्दिरहरूको जिर्णोद्धार भइरहेको देख्न पाएँ। वर्तमानको जाज्वल्यमान उज्यालोमा अलिक खुसी देख्छु एक्रोपोलिसका संरचनाहरू। पुनर्निर्माण कार्य चलिरहेकाले पर्यटकलाई आकर्षित गर्ने अवस्थामा पुगेको छ एक्रोपोलिस।  

इतिहास बताउन सक्ने अवस्थामा छन् मन्दिरहरू। धन्न त्यति भए पनि आफ्ना पुर्खाको इतिहास संरक्षण गर्ने अभियानमा लागेका रहेछन् आधुनिक ग्रिकवासीहरू। ती संरचनाले अमरत्व पाउँदा खुसी मान्छु। त्यस्ता प्राचीन तथा ऐतिहासिक स्थल जुनसुकै धर्मको भए पनि बिनाभेदभाव राज्यले नै संरक्षण गर्नुपर्छ।

एक्रोपोलिसको अवलोकनपश्चात् मेरो मन एउटा नमिठो शंकाले भरिएको छ। सम्झन्छु, देवता मान्ने कट्टरवादी मूर्ति–पूजक प्राचीन इटाली र ग्रिस। अहिले ती क्रिश्चियन धर्मको आस्थाको केन्द्र बनेका छन्।

नेपालमा तीव्र रूपमा धर्म परिवर्तन गरेर क्रिश्चियन बनिरहेको कुरा सुनेको छु। गाउँगाउँमा क्रिश्चियन धर्मको चर्च बनिरहेको समाचार क्रिश्चियनको देशमा बसेर पढिरहेको छु। केही वर्षअघि संसारको एक मात्र हिन्दु राज्य नेपाल अहिले धर्म निरपेक्ष राज्यमा परिणत भइसकेको छ। मेरो मनमा संशय उत्पन्न भइरहेको छ–यस्तै गति र मति रहे केही सय वर्षपछि नेपाल पनि क्रिश्चियन देश त बन्दैन? काठमाडौंको पशुपतिनाथ मन्दिर यदि चर्चमा परिणत भयो भने भगवान् शिव कहाँ जालान्? एउटा गह्रुँगो प्रश्नले थिच्छ बेसरी।

एक्रोपोलिसको अवलोकनपश्चात् मेरो मन एउटा नमिठो शंकाले भरिएको छ। सम्झन्छु, देवता मान्ने कट्टरवादी मूर्ति–पूजक प्राचीन इटाली र ग्रिस। अहिले ती क्रिश्चियन धर्मको आस्थाको केन्द्र बनेका छन्।

यात्रामा वस्तु होइन, अनुभूति र अनुभव सँगाल्नुपर्छ। एक्रोपोलिसको सम्झनाका लागि केही वस्तु किनौं न त भन्दा त्यहाँ सुभनियर पसल थिएनन्। त्यहाँका विविध तथ्य, तथ्यांक, अनुभूति र विराट अनुभव मनभरि सँगालेर राखें। समयको सूर्य मेरा पाइलाभन्दा पनि छिटोछिटो दौडिरहेको थियो। अरूतिर पनि जाने कार्यक्रम रहेकाले त्यहाँबाट निस्कन हतार भयो। एक्रोपोलिसबाट बाहिर निस्कनुअघि फेरि देवी एथेनालाई नमन गर्छु। 

प्रकाशित: ९ असार २०८० ०२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App