३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
कला

तिलिचो अर्थात् स्वर्गकी जादुगर्नी

नियात्रा

चिसो निकै चिसो छ हिउँ। हिमाल, हिमनदी र हिमताल पनि चिसा छन्। चिसो हिउँ नभएको पहाड हिमाल हुन्न।  हिउँलाई प्रकृतिले उच्च पहाडी थाप्लाहरूमा फुलाएको पानीको कपास भने हुन्छ। हिउँ पग्लिएर बनेको नदी अनि स्थिरीकृत बनेको कुण्ड रूपका जलभण्डार क्रमशः हिमनदी र हिमताल हुन्।

हिउँले पक्कै मान्छेमा जादु र टुनामुना गरेको हुनुपर्छ। नभए किन मान्छे यसलाई देखे पश्चात् एकोहोरो बन्छ त? किन आफ्नी प्रियतम वा प्रियतमाका गाला र कपाल मुसारेझैं यसका गाला अनि कपाल पटकपटक मुसार्न लालायित भइरहन्छ त? किन मान्छे यसैसँग पटकपटक साक्षाकार गरिरहन मन पराउँछ त? यो पृथ्वीमा हिउँले जस्तै मोहनी समुद्रले पनि लगाउँछ रे। यसैले भन्नेहरू भन्छन् -हिमाल अनि समुद्र कहिल्यै नमेटिने तिर्खा हुन्।

हिमाल, हिउँ र हिमनदी–कहाँ पो देखेनौं र यसलाई। मर्दीको थाप्लामा हिउँमाथि नै बसेर हिमाल हेरिएकै हो। पहिलोपल्ट हिउँ माथि नै बसेर हिमाल हेर्न पाउँदा हाम्रो मन कति उत्ताउलिएको थियो अनि हिमोपत्यका मानिने एविसी (अन्नपूर्ण बेस क्याम्प) मा ३६० डिग्रीको कचौराका बीच हिमालको प्रभाती सुवर्णमय थाप्लो चियाउँदा हामी भित्रका खुसीका ज्वारभाटाहरू उठेर कति आप्लावित बनाएको थियो? सम्झँदा पनि भावातिरेकहरू उत्पन्न हुन्छन् मनमा। कहाँ पो देखिएनन् र हिमनदी पनि?  यसैले गत वर्ष नै हामीले भनेका थियौ – यस वर्ष त हिमताल। तर गत वर्ष पनि हिमताल जुरेन हामीलाई। हिउँकै दर्शनार्थी बन्यौं गए साल पनि। लाङटाङबाट हेर्‍यौं हामीले गत वर्ष-हिमाल, हिउँ अनि हिमनदीलाई। अब हिमताल छोडेर २०८० सालको यो यात्रा अगाडि बढ़दैन-यसपल्ट हाम्रा मनले भने।

यात्रामा छौं यसपालि पनि -अम्बिका दाइ, रामेश्वर र म। हौसिएका छन् हाम्रा मनहरू- हिमताल दर्शनका लागि। कुन हिमताल जाने? गत साल नै यो प्रश्नको उत्तर छानिसकेका हौं। यसैले उत्तरका लागि यसपाला खासै टाउको दुखाउनु परेन। हो, तिलिचो नै थियो पोहोर हामी सबैले बनाएको साझा साध्य। तिलिचो अर्थात् उही विश्व कीर्तिमानी हिमताल। यसको कीर्तिमान भनेको -विश्वको सबैभन्दा अग्लो स्थानमा हुनु हो। थोरै होइन यसको उचाइ -४९१९ मिटर माथि अवस्थित छ तिलिचो। हुन त मनाङमा पचासभन्दा बढी तालहरू छन् रे। तिलिचोमाथि डेढ किलोमिटर लम्बाइको कजिन सारा लेक पनि फेला परेको छ भनिन्छ। त्यसको उचाइ ५००२ मिटर छ रे। तर, त्यसले प्रामाणिकता भने पाएको छैन रे। यदि त्यसले प्रामाणिकता पायो भने तिलिचोको कीर्तिमानता तोडिनेछ। यसको कीर्तिमानता तोडिए पनि सर्वोच्च उचाइमा रहेको तालको कीर्तिमान नेपालभूमिबाट चुँडिएर अन्त भने जाने छैन।

जेठ १६, २०८०, क्याम्पसमा गर्मी बिदा सुरु हुने भयो। जेठ १५ अर्थात् गणतन्त्र दिवसमै हिंड्छौं। पहिलो दिनमै  छुन्छौं तनहुँ भनी लम्जुङलाई। चितवनबाट मुग्लिन, मुग्लिनबाट डुम्रे, डुम्रेबाट पाउँदी बजार। पाउँदीबाटै सुरु हुँदो रहेछ लमजुङ। पाउँदी बजार सुरु हुनुअघि सानो पाउँदी खोला छ। त्यही खोला हो-तनहुँ अनि लमजुङको सिमाना।

तल सुसाइरहेछ मर्स्याङ्दी। मर्स्याङ्दी नछाडी हिंडिरहेछौं हामी। माथिसम्म नै मर्स्याङ्दीसँगको सहयात्रा टुट्ने छैन। मर्स्याङ्दीको उद्गम दामोदर हिमशृंखला हो। चुलुपूर्व (६५८४ मि), भृकुटी (६३६४ मि), चुलुपश्चिम (६४१९ मि.) र पिसाङ (६०९१) दामोदर हिमशृंखलामा आबद्ध हिमालहरू हुन्। तिनै हिमाल चुहिएर बग्छ मर्स्याङ्दी।

लमजुङको भोटेओडार-प्रसिध्द छ त्यो ठाउँ। ओडार नै छ रे त्यहाँ। उत्सुकता चाहिँ छ ओडार हेर्ने तर ओडार दर्शन गर्न भने संयोग जुर्दैन। बाटाहरू सजिला छैनन्। कतै धुले सडक त कतै पीच, कतै साँगुरा बाटा त कतै छङ्गाछुर भीर। यस्तैयस्तै बाटाहरू छिचोल्दै बेसीसहर नै पहिलो दिनको विश्राम बन्यो। बेसीसहर नै हो लमजुङको सदरमुकाम पनि। ओर्लिनासाथ समाते  कमल बोहोराले हामीलाई। सोधे, खोजे, जाँचे अनि निश्चित गरे भोलिको यात्रालाई, उनको सानो पुन्टे बोलेरोमा।

१६ वैशाख २०८० को बिहान। पहाडी उडान मानिने बोलेराहरू थुप्रै छन् बेसीसहरका रोडहरूमा। ट्रेकिङ सिजन लगभग अन्ततिर छ। यसैले ट्रेकरहरू निकै कम हुँदै छन्। ट्रेकरभन्दा निकै बढी छन् बोलेराहरू। बिहानको ९ बज्यो बल्ल आए कमल बोलेराको पछि सिमेन्ट लादेर। माथि खाङसारसम्म पुर्‍याउँदा एक बोरा सिमेन्टको ७५० जति लाग्दो रहेछ-  सिमेन्टको मूल्य र  ढुवानी खर्च लगभग बराबर। त्यहाँ ज्यादै महँगो छ जीविकोपार्जन।

‘बाटो बन्द छ रे पहिरो खसेर’-एउटाले भन्यो।

‘ढुङ्गाको पहरो नै खसेको हो रे।’-अर्काले थप्यो।

अस्तिको पहिरो पन्छाउन १५ दिन लाग्छ भनेको ३ घण्टामै पन्छायो।’-तेस्रोले भन्यो।

‘आ, जाँदा जाँदै खुल्छ अब हिड्ने हो।’ -कमल ढुक्क भए।

हामी गुड्यौँ विस्तारविस्तार।  हिलेधुले छन् बाटाहरू। सुनियो -९०/९५ किलोमिटर नै यस्तै बाटामा हिंड्नुपर्छ। ८/९ घण्टा लाग्छ रे जीपमा। अलिकति सर्‍यो यात्रा। बाटामा ट्राफिकले रोके दुवैतिरबाट आएका बोलेराहरूलाई। लाइसेन्स मागेनन्, गल्ती के हो बोलेनन् -ट्राफिकजी चुपचाप गजधम्म उभिए २ बोलेराका बीचमा। हाम्रा गुरुजीले नै मुख खोले, ‘नाफा घाटा बराबर।’

खिन्न र मायालाग्दो अनुहार बनाए ट्राफिकले। तलवभत्ता भन्दा बढी खोज्न हुन्न-खोजे भ्रष्टाचार हुन्छ। यही नै भन्छ सिद्धान्त। सुगमदुर्गम सबै ठाउँहरूमा सिद्धान्तले हावा खाएको छ। खोजी हिंडे भ्रष्टाचार र भ्रष्टाचारी जताततै भेटिन्छन् असरल्ल।

कालो बिरालाले बाटो काट्यो। गाडी रोकियो। गुरुजीले भने, ‘केही नभए नि भइहाल्ला जस्तो कस्तो कालो डरलाग्दो बिरालो।’

उताबाट गाडीहरूले क्रस गरेपछि मात्र हाम्रा गुरु अधि बढे। खबर सुनियो-बाटो खुल्यो रे। अम्बिका दाइले भने, ‘कालो बिरालाले बाटो काटेकाले शुभ सुनियो।’

हो, हेर्ने कसरी त्यसले यस्ता सन्दर्भहरू अर्थिन्छ। कोही डरपोक हुन्छन् र परम्परा र अन्धविश्वासको सहारा लिएर अर्थ्याउँछन् यस्ता सन्दर्भहरूलाई। कोही यस्ता सन्दर्भहरूलाई सामान्य रूपमा लिन्छन्। हाम्रोमा मात्र होइन विकसित मुलुकमा पनि छन् यस्ता विरोधाभाषी सोचाइहरू।

जीपमा खासै गफ गर्ने मुडमा कोही छैनन् -कारण सोचेभन्दा निकै खतनाक र विकट छ बाटो। जिउ अदपिल्टो हुने निश्चित छ आज। अदपिल्टो शब्दको खास अर्थ मैले आजसम्म बुझेकै रहेनछु। यो बुझ्न पुन्टे जीप चढेर मनाङतिर उक्लिनु पर्दो रहेछ।

दुई घण्टा लाग्यो चेम्चे पुग्न। बिहानी खाना त्यहीँ खायौं। पारिपट्टिको मनमोहक झर्नाले तान्यो। डेम्से फल भनिदो रहेछ। डेम्से फल जसलाई मैले मेरो नाम टक्याएँ-दुधे झरना। सायद अम्बिका दाइ अनि रामेश्वरले पनि त्यसलाई आआफ्ना नाम दिए हुनन्। कसैले माथिबाट दुधले भरिएमा हजारौं क्यान एकैपल्ट घोप्ट्याएर बनेजस्तो निख्खरा सेतो। हामी कहाँ यस्ता डेम्सेहरू थुप्रा छन् जसलाई हेर्न हामी मात्र होइन हजारौं हजार माइल पार गरेर पनि आइरहन्छन् प्रकृतिप्रेमीहरू। हामीले ठान्यौँ -हाम्रा नगदे बाली हुन् डेम्सेहरू।

चेम्चेबाट उकालो लागेपछि विकटता पनि सँगसँगै उकालो चढ्छ। बेसीसहरबाट मनाङको सदरमुकाम चामेसम्मको दूरी ६५ किलोमिटर हो। ६५ किलोमिटरमा ३५ किलोमिटर त लमजुङ नै पर्छ। बेसीसहरबाट ३५ किलोमिटरको यात्रा पछि भेटिने म्यार्दी खोलाले छुट्याउँदो रहेछ लम्जुङ र मनाङलाई। अहिले पक्की पुल छ म्यार्दीमा। पहाडी खोलाको कुनै भर छैन। बर्खामा उर्लिएर आए पक्कीकच्ची सबै पुल र बाटा सलल लैजान्छन्। यस्तै भएथ्यो त्यो खोलामा केही वर्षअघि। पुल बगेर सम्बन्ध विच्छेद गरेथ्यो लमजुङ र मनाङको। म्यार्दीबाट ३० किलोमिटर छ चामे पुग्न। सदरमुकामको पगरी पाएको चामे अनकन्टार खोचमा छ। चामेमा केही वर्ष अगाडि आएको भनिएको भयावह बाढीले बनाएका दागहरू जताततै देख्न पाइन्छ। सदरमुकाम बस्न लायक ठाउँ कत्ति पनि होइन चामे। तर, जिल्लालाई बीचाबीच पारेर राख्दा चामेको भाग्य खुलेको हो। सदरमुकाम बनेर पनि चामे विकट, अविकसित र पिछडिएको गाउँभन्दा बढी केही होइन।

पाँच बज्यो मनाङ पुग्दा। मनाङको अर्थ केही छ कि यो अर्थबिनाको कुनै स्थान सङ्केत मात्र होला भने जिज्ञासा भने आएको छ मनमा। हाम्रा यात्री सदस्य रामेश्वर भन्छन्,- म भनेको घर र नाङ भनेको निगालो हो। निगालाको घर हुने भएकाले मनाङ नाम रहन गएको हो रे।’

तर कतै त्यहाँ निगालाको घरको अवशेष पनि देखिएन। बरू त्यहाँको सबैभन्दा ठुलो गाउँ मनाङबाट नै मनाङ जिल्लाको नामकरण भएको हो भन्ने पो सुनियो। अझ मनाङ शब्द तिब्बती भाषाको म्हनाङ शब्दबाट अपभ्रंश भएर आएको रहेछ। तिब्बती भाषामा ’म्ह’ को अर्थ सहायता र ’नाङ’ को अर्थ देऊ भन्ने हुन्छ रे। विकट भूगोलमा रहेको र बाहिरी सहायताबिनाको जनजीवन अझ कष्टकर हुने भएकाले पनि मनाङको यो पछिल्लो अर्थ अझ बढी सार्थक हो कि भन्ने लागेको छ।

आलु, करु, फापर मनाङका अर्ग्यानिक कृषि उत्पादन हुन्। घोरल, पाटेबाघ, हिउँचितुवा, भालु, नाउर त्यहाँ पाइने जङ्गली जनावर रहेछन् भने याक, चौंरी, भेडा, च्याङ्ग्रा आदि घरपालुवा जनावर रहेछन्। जडिबुटीमा यार्सागुम्बा, पाँचऔले, टिम्बुर, जिम्बु, जटामसी, कुटुकी, गछेच्याउ, कुरिलो पाइँदा रहेछन् त्यहाँ। हामी पुग्दा स्थानीयहरू आलु गोडमेल गर्दै छन्। आलु खन्ने सिजन त भदौतिर मात्र हुन्छ रे। चिसाले गर्दा आलु तयार हुन पनि आधा वर्षभन्दा बढी लाग्छ त्यहाँ। मोटर बाटाले त्यहाँको जनजीवनलाई अलिकति सुगम त बनाएको छ नै तर सँगसँगै यसको निजत्व भने गुम्दै गएको छ। मनाङ सादा छ, स्वच्छ छ, त्यहाँबाट हिमाल देखिन्छ -यो हिजोको मनाङको तस्विर हो, चिनारी हो यो हिजोको मनाङको। यो परिचय सँगसँगै मनाङसँग आज अर्को परिचयको गलगाँड पनि थपिएको छ -धुले मनाङ। ससाना पुन्टे जीपहरूले धुवाँको मुस्लो छाड्ने कुरा त छँदै छ धुलाको मुस्लाले मनाङको कुरूप तस्विर पनि खिच्दो छ।

मनाङमा पहिला पानी पर्दैन थ्यो रे। पानीको सट्टा त्यहाँ हिउँ नै वैरिन्थ्यो रे तर हिजोआज मनाङले आकाशे पानी पनि पाउन थालेछ। यो आधुनिकताका नाममा मनाङले विस्तारविस्तार चुकाउँदै गरेको मूल्यको तस्बिर हो। मनाङमा पहिला पानी नपर्ने हुँदा घरको छाना पनि माटाको नै बनाइन्थ्यो। त्यसको अवशेष त्यहाँका पुराना घरहरूमा आज पनि देखिन्छन् -तर नयाँ घरहरूले पारम्परिक स्वरूप गुमाएका छन्। मनाङमा पनि धमाधम कङ्क्रिटको जंगल बिच्छ्याइँदै छ।

मनाङबाट हिँडिने २ वटा ट्रेकिङ रुट छन्-थोरोङ्ला पास र तिलिचो। स्थानीयले आफ्नै नियम बनाएका छन् त्यहाँ। थोरोङ्ला मार्गतिर मनाङेले र तिलिचो मार्गतिर खाङसारेले मात्र होटल व्यवसाय गर्न पाउँदा रहेछन्। थोरोङ्लातिर जानेहरूमध्ये कतिपयको कीरा (यार्सागुम्बा) टिप्ने उद्देश्य पनि हुँदो रहेछ। बाटाहरू अलकत्रा बिछ्याएर पीच गर्ने सिस्टम त्यहाँ देखिँदैन। सायद यसरी पीच गर्न त्यहाँको स्थानीय वातावरण र विकटता पनि बाधक भएर होला कताकति ढलान गरिएका बाटाहरू मात्र छन्। अँ, बाटामा हामीले पीच गरिएको धावनमार्ग भने देखका छौं।

अब खाङसारसम्म छ मोटरबाटो। मनाङबाट खाङसारसम्म पुग्नलाई हाम्रो पुन्टे जीपलाई एक घण्टा हाराहारी लाग्छ। आजको बास खाङसारमै हो। भोलि बिहानैबाट हाम्रो हिँडाइ सुरु हुन्छ। हिमालका सेता दन्तलहर देखिएका छन्। उत्सुकता बढिरहेछ, साथै चिसो पनि। हावा चल्दै छ। अचाक्ली नै चल्दो रहेछ त्यहाँ हावा-मान्छे नै उडाउला जस्तो। हिंडालाहरू खासै छैनन्। यसैले होटेलहरू सुनसान नै छन्। कतिपय होटेलवाला त आआफ्ना होटलहरूमा ताला लाएर झरिसके।

१७ जेठ २०८०। आजबाट हाम्रो हिँडाइ सुरु हुन्छ। खाङसारबाट तिलिचो बेस क्याम्प पुग्न ५ घण्टा लाग्छ रे। कतिपय भेटिनेहरू भन्दै छन् -आ, ३ घण्टामै पुगिन्छ बेसक्याम्प। यो त स्थानीय हावापानीमा खाइखेली गर्नेहरूको कुरा हो। हामीजस्ता ताता शहरबाट गएकाहरूलाई सायद ५ घण्टाभन्दा पनि बढी समय लाग्ला तर ५ घण्टाको नेटोभित्रै हामी बेसक्याम्प छुन्छौं।

सामाजिक सन्जालहरूमा त्यहाँका बाटाका विकरालताहरू छ्यासछ्यास्ती भएका छन्। साँच्चै यस्तै विकट होलान्  त बाटाहरू? यस्तै भए पार लाउन सकिन्छ त यो यात्रालाई? हाम्रा मन घम्साघम्सीमा छन्। खाङसारबाट हिँड्ने बेलामा माथिबाट झरेकी युवती र अधबैंसेले एकैस्वरमा सुझाव दिएका छन्-बिस्तारै जानुस्, सजिलै पुग्न सकिन्छ। बाटामा चियानास्ताका लागि भट्टीहरू छन्।

हाम्रा घम्साघम्सीमा रहेका मनहरू एकै छिन भए पनि थरक मार्छन् तर तिनीहरूका ‘भट्टी’ शब्दले भने मनमा हुँडलो ल्याएको छ। पूर्वतिरका हुन् तिनीहरू। हुन सक्छ, त्यतातिर तिनीहरूको भाषिक लवज होटललाई भट्टी भन्दो होला। हुन त भट्टीमा हुने सोमरसका बोतलहरू नभएका कुनै होटल भेटिन्नन् त्यहाँ।

श्रीखर्क पुग्नु अघि नै भेटिन्छ एउटा गुम्बा। आज गुम्बा जानेहरूको लर्को छ बाटामा। स्थानीय बुढाबुढीहरू र युवायुवतीहरू बाटामा भेटिन्छन्। आजै रहेछ गुम्बा उदघाटनको शुभ दिन।

‘मनाङतिर विकासका नाममा त गुम्बाहरू मात्र फल्छन् – कतैबाट यस्ता मसिना आवाजहरू पनि सुनिन्छन्। हामी मनमनै भन्छौ, ‘हैन, यहाँ विकासका नाममा धुले बाटाहरू पनि बनेका छन्, डोजरहरू चलेका छन्, कंक्रिटका घरहरू पनि बनेका छन्, आधुनिक विकासले हिउँका सट्टा पानी पार्न थालेको छ। विकासकै कारण हो-भेडीगोठमा भेडाहरू वालछ्याल भेटिन्नन्। चौंरी पाल्नेहरू पनि विस्तारविस्तार दुब्लाइसके। अर्गानिक बाली प्रबर्धनका सट्टा बोराका बोरा भित्रिन्छन् सेता चामलहरू।’

श्रीखर्कमा एकाध होटलहरू मात्र खुलेका छन्। बाटामा फाट्टफुट्ट भेटिने होटलहरू बन्द छन्। बरु माथि माथि उक्लिंदै जाँदा भेटिन्छ गिट्टी र वालुवाका फुस्फुसे नांगा पहाडहरू। भीर भेटिन्छ त्यहाँ -३ घण्टा जति लाग्छ भीर छिचोल्न। भीर मात्र छैन बाटामा पहिरो पनि छ। बारम्बार झरिरहन्छन् पहिराहरू। त्यहाँ त हावा अनि नाउरहरूले पनि झारिरहँदा रहेछन् पहिराहरू। तल खसूँ कि खसूँ कि भनेझैं भीरमा जमेर अड्किएका गिटीका थुप्राहरू जुनसुकै बेला वैरिन सक्छन् यात्रुमाथि। जोखिम छ तर जोखिम छ भनी हिउँझैंजमेर बस्नेहरूले कहाँ भेट्छन् र प्रकृतिको मनोरमतालाई, कहाँ भेट्छन् र तिलिचोलाई अनि ती स्निग्ध पर्वतमालाका सुरम्य थाप्लाहरूलाई नजिकैबाट सुम्सुम्याउन।

गिटीका भीरहरूले अचाक्ली नै थकाएको छ हामीलाई। थाकेर बेसक्याम्प पुग्दा वरिपरिका हिमालहरू आएर आँखामा जडिबुटीहरू दलिदिंदै छन्। हिमाल–वैद्यका बुटीहरू पाएर हामीले बिर्सिएका छौं आआफ्ना भागका दुःखाइ र थकाइहरूलाई। होटलकै आड लिएर बगेको हिमखोलाको कल्लोल गानले कर्णपटमा निर्माण गरिरहेछन् उन्मुक्त हिमनिनादलाई। बस्, ती निनादहरूका अन्तर्य सुन्न सक्नेहरूले नै भेट्टाउँछन् सुखका असीम वर्षातलाई र हिउँका नवपुस्ताका सुन्दर तरंगहरूलाई।

१८ जेठ २०८०। आज चौथो दिन हो। अब आजै पुग्नेछौँ हामी हाम्रो गन्तव्यमा। गन्तव्य भनेको उही तिलिचो नै हो। ३ बजे नै उठेर हिंडेछन् हिजो भेटिएकाहरू। पाँच बजेपछि मात्र हामी उकालियौं। उकालो तर्साउने खालको छ। रुखबिरुवाबिनाका रुखो पहाड चुनौती थपिरहेछ यात्राम । कागहरू उँडेका छन् बत्तिएर। अचाक्ली नै काला छन् यी हिमाली कागहरू। यति माथि यस्ता नाङ्गा पहाडतिर यिनले के खाएर ज्यान पाल्दा हुन्? हिउँ पर्दा यी कहाँ बस्दा हुन्? न गुँड लगाउने रुख छन् न त खोपाखोपी जस्ता कुन्तुराहरू नै देखिन्छन्। भीर त आज पनि छ तर हिजो जस्तो ज्यानमारा होइन। तल लामो किडिङमिरिङ धर्का बनेर बगिरहेछ हिमखोला। वरिपरि थाप्लाहरूमा हिउँ फूलहरू सजाएर गम्किरहेछन्  हिमालहरू। भन्छन्, अहिल्यै नथाक, तिमीलाई हामी हाम्रो जादुनगरी पु¥याउनेछौं। निश्चय नै हाम्रा गतिहरू कम हुँदै छन् तर लय र यतिचाहिं बिग्रिएको छैन। लय र यतिले निरन्तर अगाडि बढाइरहेछ हामीलाई। लय र यति समात्दा समात्दै  हामीलाई हाम्रो निरन्तरताले पु¥याउँछ थाप्लोमा।

अकल्पनीय र अद्भूत जादूनगरी छ माथि। हिमालका भित्ताहरू चड्केर बेलाबेलामा सलामी दिइरहेछन् यात्रीलाई। आजसम्म हिमाल र हिउँलाई प्रतिविघ्न निकट र यतिसारो अचाक्ली कहिल्यै देखिएको थिएन। दिवाकरले हिउँका माथ चुमिरहेछन् र चुमिरहेछन् हामीलाई पनि। चिसो बतास हिउँबाट उम्रिएर बगिरहेछन् हामीलाई नै स्पर्श गरी। चिसो स्पर्शले शरीरमा एकतामासको स्फूर्ति भने भरेको छ। फुस्फुसे हिउँमा गोडाहरू गाडिएका छन् तर मनहरू भने पाउडरी हिउँझैं फुर्फुरिएका छन्। जुत्ताहरू भिजेका छन् तर हृदय भने ओबाानिएका छन् हिउँका न्याना स्पर्शमा।

भनिन्छ, हिमालको सुरम्य काख हो तिलिचो, जहाँ पुगेर यात्रुहरू आफैंलाई बिर्सन्छन् एकफेरा। यसो पनि भनिन्छ, अचम्मको सम्मोहन छर्छ तिलिचो त्यहाँ पुग्ने यात्रुहरूलाई। हामीलाई पनि सम्मोहित बनाएको छ तिलिचोले, हामीले पनि बिर्सिएका छौं एकफेरा आफैंलाई। हो, हामीले फोटामा देखिने नीलो दह भने देखेका छैनौं तर हिउँ नै हिउँले भरिएको दह भने देखेका छौं। नीलो दहको कल्पना मात्र भरेर जानेहरूले भेट्दैनन् हिमाली आकाशका नीलो निलिमालाई। एक सन्तुष्टि मात्र दिंदैन तिलिचो यात्रीहरूलाई। सन्तुष्टिका चरमहरू अनेक भेटिन्छन् त्यहाँ। अरूका लहैलहैमा मात्र लागेर जानेहरूले कहाँ भेट्दा हुन् र गुरु गम्भीर बनाउने  त्यहाँका गहिरा अनुभूतिलाई। तिनीहरूले त मात्र देख्दा हुन् -विकटता, विकरालता र भयावहलाई। तर हामी भन्छौ -स्वर्गकी जादुगर्नी हो तिलिचो जसले मान्छेलाई आफ्ना काखमा आमन्त्रण गरी जादुमय अवतार देखाउँछे।

अन्तमा, अबका दुईतीन दिन फर्कन लाग्छन्। जानु मात्र उद्देश्य होइन फर्कनु पनि छ। अब फेरी चार दिनदेखि हिंडिएका बाटाहरू नबिराई दोहोर्‍याउनु पनि छ। हामी अब मनाङसम्म हिंडेरै पुग्नेछौं। किनकि ट्रेकिङको तलतल अझ मेटिइसकेको छैन भन्दै छन् अम्बिका दाइ अनि रामेश्वर पनि। हिमालले मोहनी लगाएर एकोहोरो बनाएका छन्।  छाड्न मन मानिरहेको छैन हिउँ अनि हिमाललाई। यो तिलिचोको त कुरै छाडौ, यो त हाम्रा आँखामा चुम्बकझैं टाँसिएको टाँसियै छ। मन नमाने पनि फर्किन्छौं। फर्कँदा फर्कंदै हामी एक मुखले भन्छौं पनि - हे अदृश्य शक्ति, यदि तिम्रो अस्तित्व यो दुनियाँमा छ भने यो स्वर्गीय भूमिलाई, यो पावन हिमनगरीलाई, यो युगीन नासोलाई युगौं युगसम्म बचाइराख मान्छे जातिका भावी पुस्ताहरूका लागि। 

प्रकाशित: २ असार २०८० ०७:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App