६ वैशाख २०८१ बिहीबार
कला

आशाको उज्यालो

पुस्तक

अश्विनकुमार पुडासैनी पेसाले बैंकर हुन्। बैंकर पेसामा जानुअघि उनी पत्रकारितामा सक्रिय थिए। उनले पेसा परिवर्तन गरे पनि आफ्नो लेखकीय धर्म भने यथावत् अगाडि बढाएका छन्।  

उनको त्यही लेखकीय कर्मबाट सिर्जित पुस्तक हो-‘बत्तीमुनि उज्यालो ।’ उनले यसलाई नयाँ नेपाल डक्ट्रिनसमेत भनेर थप प्रस्ट्याएका छन्। यस हिसाबमा यस पुस्तकमा अभिव्यक्त विचारले नयाँ नेपालका निम्ति मार्गदर्शन गर्न सक्छ भन्ने हो।

हामीले सुन्दै आएको उखान हो-बत्तीमुनि अँध्यारो। अश्विन भने यस पुस्तकमार्फत् उज्यालोको कुरा गर्छन्। उनी कहिले हजुरबुबासँगका प्रसङ्ग लिएर आउँछन् त कहिले व्यवस्थापकीय कुरा गर्छन्। कहिले उनी नेपालको परराष्ट्र नीतिमा घोत्लिन्छन् त कहिले दैनिक जीवन सार्थकताका निम्ति मार्गदर्शन गर्छन्।

अश्विनकुमार पुडासैनी पेसाले बैंकर हुन्। बैंकर पेसामा जानुअघि उनी पत्रकारितामा सक्रिय थिए। उनले पेसा परिवर्तन गरे पनि आफ्नो लेखकीय धर्म भने यथावत् अगाडि बढाएका छन्।

कुनै पनि विषयलाई खस्रो किसिमले लेख्ने मात्र हो भने त्यसले खासै पाठकलाई तान्न सक्दैन। तर, त्यसमा सामयिक विषय र सन्दर्भलाई जोड्दा गतिलो प्रस्तुति बन्छ। प्रायः उनी आफूसँग एउटा डायरी र कलम राख्न रुचाउँछन्। उनको अगाडि कसैले बोल्दै गएको छ भने त्यसका रोचक प्रसङ्ग टिप्दै जान्छन्। त्यसमा आएको कुनै रोचक प्रसङ्गबाट उनी त्यस विषयको बृहत् पक्षमा प्रवेश गर्छन्।

वास्तवमा बिन्दुमा सिन्धु हुन्छ। आखिर थोपाथोपाले सागर बन्छ। ज्ञानका थोपाहरूलाई गाग्रीका गाग्री बनाएर खन्याउन विशेष सिप हुनै पर्छ। यसका निम्ति असल श्राेता बन्न सक्नुपर्छ। त्यसैले बोल्न एउटा जिब्रो दिइएको छ तर सुन्नका निम्ति दुई कान छन्। अश्विनसँग सुन्न सक्ने विशाल क्षमता छ। उनी आफू गएका कुनै पनि कार्यक्रम, भेटेका कुनै पनि व्यक्ति, पढेका कुनै पनि प्रसङ्गबाट विशालतामा प्रवेश गर्छन्। यथार्थमा यो पुस्तक त्यही बिन्दुबाट सिन्धुमा पुग्ने महत्तम प्रयास हो।

उनी सडकमा सिसी टिभी देख्छन्। त्यसबाट उनी हजुरबाले दिएका मूल्यवान् शिक्षा सम्झन्छन्। कसैले देखेका छैनन् भनेर अरूका अगाडि देखाउन नसकिने काम नगर्नू भन्छन्। उनी व्रतबन्धका बटुकलाई उपहार दिन पुस्तक किन्न जान्छन्। अन्ततः त्यो पुस्तकका लेखकसम्म पुग्छन्। वास्तवमा एउटा जिज्ञासु लेखकको चरित्र यही हो। कुनै पनि विषयवस्तुमा प्रवेश गरेपछि त्यसलाई पर्गेल्न खोज्नु अश्विनको प्रवृत्ति हो।

‘बत्तीमुनि उज्यालो’ ३ सय ४४ पृष्ठको पुस्तक हो। यसभित्र तीन भाग छन्-समाज र संस्कृति, अर्थ र व्यवस्थापन, राजनीति र कूटनीति। यी तीन भागभित्र मिल्ने किसिमका विषयवस्तुलाई एक ठाउँमा राखिएको छ। ती विषयवस्तुमध्ये केही विस्तारित हुँदै तीनचारवटा छुट्टै पाठ पनि बन्छन्। कुनै एउटैमा सीमित हुन्छन्। तर, त्यसभित्र रहेका अनेकन प्रसङ्ग, उपप्रसङ्ग, पात्र र प्रवृत्तिहरूले पुस्तकलाई रोचक बनाउन मद्दत गरेको छ।

वास्तवमा बिन्दुमा सिन्धु हुन्छ। आखिर थोपाथोपाले सागर बन्छ। ज्ञानका थोपाहरूलाई गाग्रीका गाग्री बनाएर खन्याउन विशेष सिप हुनै पर्छ। यसका निम्ति असल श्राेता बन्न सक्नुपर्छ। त्यसैले बोल्न एउटा जिब्रो दिइएको छ तर सुन्नका निम्ति दुई कान छन्। 

एक त पुस्तकले नामबाटै आफूलाई केही भिन्न बनाउन खोजेको छ। अर्को बत्तीमुनि अँध्यारो होइन उज्यालो हुन्छ भन्ने सन्देश दिएको छ। कुनै मानिसका दुःख, समस्या, अप्ठ्यारामा पनि प्रेरणा छन्। कतिपयले समाजका दृष्टिमा असफलता हासिल गरेजस्तो देखिए पनि तिनका सच्चरित्रताका कथाले अरूलाई प्रेरणा दिन्छ। जिन्दगीभरि सडक विभागको इमान्दार कर्मचारी भएर कमाउन नसके पनि सन्तानलाई सही शिक्षा दिन सकेका कारण आज जीवन धन्य भएका प्रसङ्ग पनि यसमा भेटिन्छन्। बुढ्यौली र यसले ल्याउने समस्या अनि समाधान खोज्न पनि उनी उत्तिकै लाग्छन्।

यस हिसाबले उनी त्यत्तिकै लेखिरहेका मात्र छैनन्। लेखेर समाधान दिने पनि प्रयास भइरहेको छ। समस्या देखाउनु मात्र ठुलो पौरख होइन, समाधानका उपाय देखाउन सक्नु सबैभन्दा उपलब्धिमूलक पक्ष हो। व्यक्तित्व विकाससम्बन्धी पुस्तक र जानकारीको समाजमा कमी छैन। यस्ता विषयवस्तुलाई समेलेर फेरि प्रस्तुत गर्नु र आवश्यकताअनुसार तिनलाई नयाँ प्रसङ्ग चर्चामा ल्याउनु आवश्यक हुन्छ। यस्ता काम ‘बत्तीमुनि उज्यालो’ले गरेको छ।

एक त पुस्तकले नामबाटै आफूलाई केही भिन्न बनाउन खोजेको छ। अर्को बत्तीमुनि अँध्यारो होइन उज्यालो हुन्छ भन्ने सन्देश दिएको छ।

सडक अनुशासन व्यक्तिको जीवनमा अपरिहार्य हुन्छ। यो सभ्यता पनि हो। सडकमा निस्किँदा हामी कति आक्रोशित हुन्छौं वा शान्त रहन्छौं? प्रत्येक व्यक्तिको समय सीमित हुन्छ, त्यो समयलाई असीमित प्रयोग गर्ने प्रभावशाली व्यक्तिका सात बानीबारे चर्चा गरिएको पुस्तक ‘सेभेन ह्याबिट्स अफ हाइली इफेक्टिभ पिपुल’ जस्ता पुस्तकको चर्चाले पनि यस पुस्तकलाई जीवन्त बनाएको छ। आफू व्यवस्थापन क्षेत्रसँगै सरोकार राख्ने भएका कारण पनि यससम्बन्धी विषयवस्तुलाई पुस्तकमा राम्रै स्थान दिइएको छ। पैसा आजको समयको सबैभन्दा रोचक पक्ष हो। यसलाई चिनाउन, बुझाउन र प्रयोग गर्न पनि उनी पछि परेका छैनन्।

आजको समय विज्ञान प्रविधिले उत्कर्षता हासिल गर्दै गरेको समय पनि हो। अझ यसको विकास कहाँसम्म पुग्ने हो टुंगो लागिसकेको छैन। त्यसमा पनि कृत्रिम बौद्धिकतातिर समाज अगाडि बढिसकेको छ। यस्तो बेलामा देखिएका सामाजिक जटिलता, व्यक्ति व्यक्तिबीचका सम्बन्ध र अनेकन आयामबारे उनले रोचक उदाहरण दिएर प्रस्ट्याउन खोजेका छन्।

कुनै बेला सयौं टेलिफोन कण्ठाग्र गर्ने व्यक्ति अहिले पत्नीकै नम्बर पनि नसम्झिने अवस्थामा पुगेका छन्। हिजो धुलो, खरी र बाँसको कलम प्रयोग गरेर शिक्षा लिने व्यक्ति आज कम्प्युटरको सेतो पर्दा अगाडि काम गर्न सक्षम भएका छन्।

पुस्तक भनेको एउटा व्यक्तिले जिन्दगीभरि गरेका अनुभूतिको सारसङ्ग्रह पनि हो। व्यक्तिले ती विषय सिक्न र त्यसबाट शिक्षा लिन लामो समय लगाएको हुन्छ। पुस्तकको अध्ययनबाट एउटा व्यक्तिको सिंगो जीवन र सिकाइ केही छिनमै अर्को व्यक्तिमा हस्तान्तरण हुन्छ। त्यसकारण पनि पुस्तक पढ्न प्रेरित गरिएको हो।

पुस्तक भनेको एउटा व्यक्तिले जिन्दगीभरि गरेका अनुभूतिको सारसङ्ग्रह पनि हो। व्यक्तिले ती विषय सिक्न र त्यसबाट शिक्षा लिन लामो समय लगाएको हुन्छ।

सामान्यतः बैंकमा ससानो रकम जम्मा गरेर ठुलो पुँजी निर्माण गर्न सकिन्छ। अश्विनको यो पुस्तक पनि यत्रतत्र छरिएका विचारलाई सँगालेर बनाइएको एउटा ठुलो पुँजी हो। हामीले वास्तै नगरेका कैयन् विषय यसमा परेका छन्, जसले केही छिन घोरिन र चिन्तन गर्न प्रेरित गर्छन्।  

प्रकाशित: १३ जेष्ठ २०८० ०१:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App