अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा परामर्शदाता नियुक्ति गर्दा भ्रष्टाचार भएको ठहर गर्दै २१ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो।
विमानस्थल निर्माणका लागि भएको इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) सम्झौताभित्रै परामर्शदाताका लागि बजेटको व्यवस्था हुँदाहुँदै बदनियतपूर्वक प्राधिकरणको छुट्टै आन्तरिक बजेटबाट खर्च गराई सरकारी सम्पत्ति हानि पुर्याएको आयोगको दाबी छ।
आयोगले कुल ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी गरेको छ।
आरोपपत्रमा कर्मचारीहरूसँगै ठेकेदार कम्पनी ‘चाइना सीएएमसी इन्जिनियरिङ’ र परामर्शदाता ‘ईआरएमसीरए-नटरस्लेट जेभी’ लाई पनि विपक्षी बनाइएको छ । ईपीसी ठेक्काको सर्त विपरीत २८ लाख अमेरिकी डलरको शीर्षक परिवर्तन गरी दोहोरो बजेट भार पारेको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ ।
प्रकाशित: ८ चैत्र २०८२ १५:२९ आइतबार





