coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘उमंग’ लघुकथासंग्रहभित्र कथ्यचित्र

पाठक्यौली

भारतको असम राज्यको ओदालगुडीलाई मुकाम बनाएकी लघुकथाकार इन्दिरा गौतमलाई मैले भेटेको छैन। तथापि प्रविधिका माध्यमबाट भने हामी आफन्ती हौं। समयका प्रवाहमा हामी भेटिन पनि सक्छौं, समय नजुर्न पनि सक्छ। तर, हामी प्रविधिका माध्यमबाट नजिकिइरहेका छौं।

कृतिको आवरण सकारात्मक सन्देश दिने खालको हरियालीमा दुई बालबालिका उमङ्गले नाचिरहेको दृश्यले परिलक्षित छ। पुस्तकको कलेवर रङ संयोजनका दृष्टिले पनि सुन्दर देखिएको छ। आवरण कला सहज र सुगम्य छ।

लघुकथासंग्रहबारे पाठक्यौली राखिरहँदा पाठकलाई पनि लघुकथा के हो वा लघुकथाको स्वरूप कस्तो हुन्छ भन्नेबारे थोरबहुत ज्ञान भएमा पाठकले पनि कृतिलाई न्याय गर्छन्। यसो भएकाले मैले बुझेको लघुकथाबारे भन्नु नपर्ने भएको छ। किनभने लघुकथासंग्रह ‘उमङ्ग’ भित्र प्रयुक्त भएका भूमिकाहरूमा लघुकथा तथा लघुकथाकारबारे यथेष्ट चित्र खिचिएको छ। लघुकथाको अर्थ, परिभाषा, स्वरूप तथा समग्र रूपविधानबारे चर्चा गरिएको छ। तिनै कुराको चुरोभित्र पसेर चिन्तनमनन गरियो भने लघुकथाकार आफैंमा घच्चीका बन्ने छन् भन्ने ममा निश्चिन्तता छ।

भारतको असम राज्यको ओदालगुडीलाई मुकाम बनाएकी लघुकथाकार इन्दिरा गौतमलाई मैले भेटेको छैन। तथापि प्रविधिका माध्यमबाट भने हामी आफन्ती हौं।

कृतिभित्र भूमिकाकार असमकै गोहाटीलाई कर्म क्षेत्र बनाएकी साहित्यकार डा. इन्दुप्रभा देवीले लघु आयाम,सूक्ष्म कथानक,सीमित सहभागी पात्र, प्रतीकात्मकता, विद्युत तरङ्गात्मकता, उज्ज्वल प्रभावकारिता, कौतूहलता, खँदिलो संरचना शिल्प,लक्ष्यतिरको तीव्र गति र रोचक परिसमाप्ति लघुकथाको विशेषता बताएकी छिन्।

अर्का भूमिकाकार दार्जिलिङकी साहित्यकार रीता ठकुरीले सांकेतिक स्वरूप, संकेतात्मकता, वेधकता अनि अति कल्पना लघुकथाका विशेषता भनी चित्रण गर्नुभएको छ। सूक्ष्म कथानक, लघु स्वरूपमाथि जोड दिइएको छ। घटना, चरित्रचित्रण तथा वातावरण तथा कथपोकथन न्यून हुनुपर्ने सूत्र पनि प्रदान गरिएको छ।

असमकै साहित्यकार डम्बर दाहाल नेपाली लघुकथाको प्रवृत्तिलाई चट्याङको दृष्टान्त दिनुहुन्छ। लघुकथा पढिसक्दा पाठकभित्र चट्याङ जस्तै बिजुली चम्कनुपर्छ भन्ने भनाइले लघुकथाको वेधकतालाई प्रष्ट पार्छ। लघुकथामा चट्याङ सिर्जना गर्न कम्तीमा दुई अलगअलग कथावस्तुको बिचमा द्वन्द्व गराएर झिल्का निकाल्न सकिन्छ। विपरीत भावमा अन्त्य गर्न तथा पाठकमा प्रतिध्वन्यात्मकता उत्पन्न गर्न चट्याङ दृष्टान्त अति उपयुक्त हो। लघुकथाकार इन्दिरा गौतमको लघुकथासंग्रह ‘उमङ्ग’ लाई यही सैद्धान्तिक घानमा राखेर हेर्ने जमर्को गरेको छु।

एक हरफमा भन्ने हो भने सुन्दर लघुकथाका लागि कथावस्तुको ओज तथा गाम्भीर्यलाई विशेष रूपविधानका साँचामा ढालेर प्रस्तुत गरिनुपर्छ अर्थात् कथावस्तु पनि भाव प्रदान गर्न सक्ने खालको र बुनौटको ढाँचा मिलेको।

अर्का भूमिकाकार दार्जिलिङकी साहित्यकार रीता ठकुरीले सांकेतिक स्वरूप, संकेतात्मकता, वेधकता अनि अति कल्पना लघुकथाका विशेषता भनी चित्रण गर्नुभएको छ।

‘उमङ्ग’ भित्रका कथानकहरूमा दृष्टि दिंदा आसमेली समाजको चित्र उतारिएको देखिन्छ। समाजका विविध घटना तथा समस्यालाई आख्यानीकरण गरी पस्किएको छ। सनातनीय कथानक मात्र होइन; अलग प्रकारका कथानक पनि छन्। रामेबाट रामु भनिंदा उसमा आएको मनोवैज्ञानिक प्रभाव (अभिनय पृ १९) लाईसमेत सुन्दर तरिकाले प्रस्तुत गरिएको छ।

यसैगरी असाध्य मिठो तरीकाले समाजमा व्याप्त गरिबीको चित्रण गरिएको छ (दरका फोटा पृ. २२)। लघुकथाभित्र मातृत्वको भावना (दस रुपियाँको नोट पृ.२७) तथा समाजले भोगिरहेका घरायसी विषयवस्तु पर्याप्त छन्। यसभित्र चिया वगानका गरिबीका कहरपूर्ण कथा (भोक ३०), तिजका कथा (भाइरल ३३), सामाजिक सम्बन्धका कुरा, छोरीका संस्कारका कुरा, एबोर्सनका कुरा, राजनीतिक प्रभाव तथा न्यायालयको न्यायको कुरा, न्यायालयमा नारीको अस्मितामाथि गरिने शब्दबाण प्रहारका लागि विद्रोह (जनताको अदालत, ४५) तथा भाइमोह (उमङ्ग ४७) आदि उल्लेख गर्न सकिने कथावस्तुहरू हुन्।

भारतमा गरिएको नोटबन्दीले ग्रामीण जीवनमा पारेको मनोवैज्ञानिक प्रभाव (नोटबन्दी ३८) लाई ज्यादै सुन्दर तरिकाले कथावस्तु बनाइएको छ। लघुकथाकारले विवाहेत्तर सम्बन्ध (अन्तरद्वन्द्व ५१) का बारेमा पनि द्वन्द्व देखाउन खोजेको देखिन्छ।

‘उमङ्ग’ भित्रका कथानकहरूमा दृष्टि दिंदा आसमेली समाजको चित्र उतारिएको देखिन्छ। समाजका विविध घटना तथा समस्यालाई आख्यानीकरण गरी पस्किएको छ।

यसैगरी प्रेमका कथा, प्रेम सफलताका कथा, असफलताका कथा, व्यापारको कथा (अर्गानिक ८७) र महिला विषयक विसङ्गति याने घरमा झगडा गर्ने, माइतमा उपदेश दिने दोहोरो चरित्रका कथा  (विडम्बना पृ. ८९), छोरा र छोरीको बिचमा गरिने विभेद (विभेद पृ.९६) समाजमा एउटा शिक्षकको अवस्था (मित्र सर ९०), अटोवालाको ठगी (अटोवाला पृ.९५) जस्ता विषयवस्तुहरू समावेश छन्।

गत दुई वर्ष पहिले विश्व कोभिड महामारीमा पर्‍यो। त्यसले विश्वकै सामाजिक व्यवस्था, आर्थिक अवस्था तथा समग्र पद्धतिमाथि प्रभाव पार्‍यो। यसको प्रभावबारे धेरै साहित्य लेखिए। कोभिडका बेला गर्नुपर्ने कुरालाई ‘सामाजिक दूरी’ (६७), ‘खुसी’ (७१) जस्ता लघुकथा लेखिएका छन् जसले भोक र लकडाउन बिचको अवस्था तथा त्रसित अवस्थाबारे उल्लेख गरेका छन् (उपलब्धि ७२)।

खास गरेर सामाजिक अवस्थाबारे धेरै लघुकथा तयार पारिएका छन्। मागी बिहेको महत्व (औडाहा ७०), विधवाको जीवनलाई रंगीन बनाउने कुरा (रङ ७३), वृद्धाश्रमको कुरा (वृद्धआश्रम ७९),  बुढाबुढी भएका बाबुआमालाई वृद्धाश्रममा राखेर वृद्ध स्याहार्न विदेसिएकाको पीडा लघुकथामा अभिव्यक्त भएको छ। वृद्धवृद्धाको समस्या/मृत्युको आवश्यकताबारे पनि लघुकथा (जीवन चरित्र १०२) लेखिएको छ, जसमा वृद्धवृद्धाको मनोविज्ञान लघुकथाकारकै शब्दमा ‘म त्यही वैश्य युगको मान्छे हुँ। मैले वैश्य युगसँग हार खाएँ। मलाई मृत्यु देऊ’ भन्दै मार्मिक तरिकाले उल्लेख भएको छ।

यसैगरी समाजमा वैवाहिक अवस्थाको चित्रण गर्न (कन्यार्थी ८६) लघुकथा लेखिएको छ जसमा धनीको हेपाइसको कुरा उल्लेख छ। परिवारभित्र साइनोको महत्त्वबारे पनि उजागर पारिएको छ (पवित्र बन्धन १०१)।

गत दुई वर्ष पहिले विश्व कोभिड महामारीमा पर्यो। त्यसले विश्वकै सामाजिक व्यवस्था, आर्थिक अवस्था तथा समग्र पद्धतिमाथि प्रभाव पार्यो। यसको प्रभावबारे धेरै साहित्य लेखिए।

लघुकथाकार पेसाले शिक्षक भएकाले बालमनोविज्ञान (हर्ष ७४), मानवीय सम्वेदनासँग खेलबाड गरिएको प्रति विरोध (वीरेको कथा ७६), जग्गा दलालको विगविगी (लगानी ७८), रेलको टिकटमा टीटी को घुस खाने शैली (मनको बाघ (१०५) तथा धर्मिक सहिष्णुताको सन्देश (होलीको रङ ११०) समेत पाइन्छ।

विषयवस्तुका हिसाबबाट हेर्दा विविध विषय समेटेको हुनाले एउटै कृतिमा विविध सामाजिक, आर्थिक, मनोवैज्ञानिक स्वाद भेटिन्छ।

पुस्तकमा विविध विशेषता छन्। विषयगत विविधता छन्। ग्राम्य परिवेशदेखि शहरी परिवेशसम्म लघुकथाकारको दृष्टि पुगेको छ। भाषामा सरलता छ। ग्राम्य भाषाको प्रयोगले कृति आलोकित भएको छ। मिठामिठा शब्द चयन भएको छ। यो कृतिको भाषाले मात्र पनि नेपाली भाषालाई समृद्ध तुल्याएको छ। लघुकथामा नेपाली भाषाको महत्त्व तथा प्रभावलाई ज्यादै सुन्दर कथ्य बुनौटका आधारमा अभिव्यक्त गरिएको छ।

भनिएको छ, ‘हाम्रो भाषा यति धनी छ। प्रशस्त शब्द भण्डार सम्पन्न छ। यसो छँदाछँदै हाम्रै कमी र कमजोरीको पासोले हामीलाई हाम्रै शब्द भण्डारको सदुपयोग गर्न सधैं लाज, डर र  हीनताबोधले गाँजिरहन्छ’। विलुप्त भएका वा हुन लागेका ठेट शब्दहरूको प्रयोगले नेपाली भाषालाई समृद्ध बनाउन त यसै पनि भूमिका खेल्छ, त्यसमाथि असामेली सुगन्धको महक पनि दिन्छ। स्थानीयता, अग्र्यानिकता तथा कुरामा पनि यसले निकै ठूलो भूमिका खेलेको छ।

भूमिकामा भनिएझैं अधिकांश लघुकथाका कथ्यगति लक्ष्यतिरको तीव्र र रोचक परिसमाप्तितिर उन्मुख छन्। कथानकलाई तीव्रता दिएर समापन गर्न खोजिएको छ। मूल कुरा त यो संग्रहमा सङगृहीत लघुकथाहरूले जीवनदृष्टिमा सकारात्मक सोच राख्छन्। यही कुरालाई भूमिकामा विनिता उपाध्याय गजुरेल (गोलिया विश्वनाथ) ले ‘हाम्रो आँगन’ का तर्फबाट ‘उहाँका लघुकथाहरूले सधैं एउटा सकारात्मक अनुभूति (पोजिटिभ भाइभ) लिएर आउँछन्’ भनिएको छ।

भाषामा सरलता छ। ग्राम्य भाषाको प्रयोगले कृति आलोकित भएको छ। मिठामिठा शब्द चयन भएको छ। यो कृतिको भाषाले मात्र पनि नेपाली भाषालाई समृद्ध तुल्याएको छ।

त्यसो त कृतिकार इन्दिरा गौतम आफैंले आफ्नो भनाइमा सुखान्त मन पराउने आफ्नो स्वभाव भएको कुरा अभिव्यक्त गरिएको अवस्था छ। यसकारण कृतिको एकदम महत्त्वपूर्ण विशेषता भनेको सकारात्मकता, सुखान्त तथा सुवचनयुक्त सोच हो। समाजको सकारात्मक पाटालाई ध्यानमा राखिएका हुनाले इन्दिराका लघुकथामा जीवनप्रति निस्सारता तथा शून्यता पाइँदैन भन्दा पनि हुन्छ। बरु उनका लघुकथामा जीवनको गतिशीलता देखिन्छन्। उनका जीवनवादी लघुकथामा ‘कुमालेको चक्र’ (६२), नीतिकथामा ‘स्वभाव’ (६३) जस्ता लघुकथा लेखिएका छन्। समाज सुधारात्मक पाटो छोइउको छ तर विद्रोह भने शालीन छ।

लघुकथा पढ्दै जाँदा लघुकथाको आवश्यक मर्मअनुरूप उठानमा आकस्मिकता देखिन्छ। कौतूहल तरीकाले कथानकको बिचैबाट उठाउने र कौतूहलताको सुरक्षा गर्ने सवालमा धेरै लघुकथामा परिपाक पुगेको छ। लघुकथामा हुनुपर्ने सूत्रात्मकता (रिजल्ट ४०) लाई पनि हेक्का राखिएको छ। यति मात्र होइन, स्वैरकल्पना याने अतिकल्पना गरेर पनि लघुकथा लेखिएको छ (खोर ५६) र पशु मारेर खाने कुरामाथि व्यंग्य प्रहार गरिएको छ।

यसरी सामाजिक विषयवस्तु, परिवर्तनको सोच, शीर्षकमा चुस्तता, उठानमा आकस्मिकता समापनमा झट्का जस्ता कुराहरू यो कृतिका विशेषता हुन्।

भारतको असमलाई कार्यपीठिका बनाएर लघुकथाको कृति लेखिनु आफैंमा ज्यादै महत्त्वपूर्ण उपलब्धि हो। आञ्चलिकताका हिसाबमा पनि यसको महत्तामाथि संकुचन गर्न सकिन्न। तथापि यो संसारमा जेनिथ सत्य केही छैन। जेनिथ मानक पनि छैन। समयले लघुकथाको विषयवस्तु प्रस्तुति तथा रूपविधानमा केही सैद्धान्तिक अवधारणा बनाएको छ। जसलाई कृतिका भूमिका लेखकले पनि त्यसको चर्चा गरेका छन्। यिनै तथ्यका आधारमा लघुकथामा केही अझै सुधार गर्न पाए झन् सुनमा सुगन्ध होला भन्ने सदाशयता राखेको छु। यद्यपि कृति प्रकाशित भइसकेको छ। आगामी लेखनमा काम लाग्न पनि सक्छ भन्ने अघोषित मान्यता राखेको छु।

लघुकथा पढ्दै जाँदा लघुकथाको आवश्यक मर्मअनुरूप उठानमा आकस्मिकता देखिन्छ। कौतूहल तरीकाले कथानकको बिचैबाट उठाउने र कौतूहलताको सुरक्षा गर्ने सवालमा धेरै लघुकथामा परिपाक पुगेको छ।

यद्यपि कुन विधाको कृतिको कस्तो प्रकारको आवरण तथा शीर्षक राख्नुपर्छ भन्ने मानक छैन, तथापि ‘उमङ्ग’ कृतिको शीर्षक र बाह्य आवरण बालसाहित्यको जस्तो देखिएको छ। कृतिको शीर्षक राख्न सुहाउने ‘उमङ्ग’ होइन। किनभने उमङ्ग शीर्षकको लघुकथामा परम्परावादीभन्दा पनि पश्चगामी विचारमा उमङ्ग ल्याएको देखिन्छ। सङगृहीत लघुकथाका शीर्षकमा कतिपय शीर्षक लामालामा छन्। लघुकथाले छोटो, कौतूहलता तथा विषयसँग सम्बद्ध शीर्षक खोज्छ।  

कृतिका धेरै लघुकथामा उठान एकदम मिलेको छ। तर, कतिपय लघुकथामा परम्परिक तथा लामा कथात्मक उठान गरिएको छ। ती सबै लघुकथालाई आकस्मिक उठान बनाउन पाएको भए लघुकथामा झन् थप सुगन्ध थपिने थियो। लघुकथाको उठानलाई आकस्मिक बनाउन सम्वाद नै चाहिन्छ भन्ने छैन। साधारण वाक्यबाट पनि आकस्मिकता जोगाउन सकिन्छ।

अब लघुकथाको विकासको कुरा। लघुकथाको विकास तीव्र, बक्ररेखीय तथा संक्षिप्त हनुपर्छ। यो संग्रहमा भएका कतिपय लघुकथामा विकास चरणमा विस्तार भएको छ। कतै आयाममा विस्तार भएको छ। त्यसका बारेमा पनि ख्याल राख्नुपर्छ। उदाहरणका लागि ‘दसैको टीका, ‘पैसाको बोट’ (३१) तथा, ‘आमा’ (६८) लाई लिन सकिन्छ। आयाम लामो भएर समापन मिलाउन सकिएन भने छोटाकथातिर उन्मुख हुन्छ। कथानकमा विस्तार,परिवेशको अत्यधिक निर्माण सपाट याने सोझो समापन लघुकथाका बाधक हुन्। यो संग्रहका कतिपय लघुकथामा यी समस्याहरू पाइन्छन्।

वास्तवमा ‘उमङ्ग’ लघुकथासंग्रहभित्रको वैचारिक तथा अग्रगम्यताका दृष्टिले हेर्ने हो भने यथास्थितिवादी छ। धेरै लघुकथाले वर्तमान समाज याने यथास्थितिमा आदर्शवादी प्रगति खोजेका छन्। यसो भए पनि लघुकथाले समाज विकासको फड्को निर्धारण गर्न सक्नुपर्छ भन्ने मान्यता हो।

कृतिका धेरै लघुकथामा उठान एकदम मिलेको छ। तर, कतिपय लघुकथामा परम्परिक तथा लामा कथात्मक उठान गरिएको छ। ती सबै लघुकथालाई आकस्मिक उठान बनाउन पाएको भए लघुकथामा झन् थप सुगन्ध थपिने थियो।

वास्तवमा हामी सबै लघुकथा लेखिरहेका लघुकथाकारका लागि पाठकले वा समयले जिज्ञासा राख्न सक्छ,लघुकथाकारले आफूले भोगेको/देखेको कहर मात्र लेख्ने कि त्यो कहरबाट मुक्तिका लागि भोलिको समाज कस्तो हुनुपर्छ भन्ने सन्देश पनि प्रवाह गर्ने हो?

लघुकथाभित्र ‘स्वास्नीलाई थान्कामा राख्न नसक्ने, हातमा चुरा लगाएर हिंड्दा भइहाल्यो नि (९२) जस्ता पश्चगामी आदर्श पनि छन्। यसो गरिनु हुन्न भन्ने कुरा हो। कुनै लघुकथा लेखेपछि एकछिन त्यसबारे चिन्तनमनन र अभ्यास गर्नुपर्ने हुन्छ। यसको थिम के हो, यसले कुन विचारको प्रतिनिधित्व गर्छ र पढिसकेपछि पाठकले के अग्रगामी खुराक भेट्यो भन्ने कुरामा ध्यान दिन सकियो भने लघुकथा आफैंमा सुन्दर बनेर आउँछ।

पुस्तक पढेको छु। पुस्तकको सार खिच्नुभन्दा पहिले भूमिकाकार रीता ठकुरीले लेखेको ‘असम लगायत उत्तरपूर्वका अन्य राज्यहरूमा पनि हाम्राहरूले हेपिएर, हेलिएर, थिचिएर अनि चेप्टिएर नै बाँच्न परिरहेको स्थिति छ। यस्तो स्थितिमा पनि लघुकथाकार इन्दिरा गौतमको यो उपस्थिति स्तुत्य छ’ भन्ने कुराले मेरो ध्यान खिचेको छ। मेरो मनलाई चसक्क पारेको छ। किनभने लघुकथाको कार्यपीठिका असम हो। भोगाइ, सोचाइ र देखाइ असम हो। अल्पसंख्यक भएर भारतीय नेपालीले जीवन गुजार्नुपर्ने मनोवैज्ञानिक कहरभित्रबाट लघुकथाहरू जन्मेका छन्।

लघुकथाका शब्द, वाक्य तथा प्रस्तुतिमा कार्यपीठिकाको माटोको सुवास छ। याने असम खुलेर आएको छ। त्यहाँको आम जीवनको चर्चा छ। लघुकथाकारले भोगेकाे, देखेको र अनुभूति गरेको कुरालाई सटीक, सहज, सरल, शालीन र सम्प्रेष्य तरीकाले प्रस्तुत गरिएको छ। स्थानीय लवज तथा आञ्चलिक प्रभावले गर्दा भाषा एकदम रसिलो बनेको छ।

लघुकथाको कार्यपीठिका असम हो। भोगाइ, सोचाइ र देखाइ असम हो। अल्पसंख्यक भएर भारतीय नेपालीले जीवन गुजार्नुपर्ने मनोवैज्ञानिक कहरभित्रबाट लघुकथाहरू जन्मेका छन्।

कृतिमा स्थानीय मनोविज्ञानको टड्कारो प्रभाव परेको छ। लघुकथाकार नारी भएकाले पनि संग्रहका लघुकथामा प्रायः नारीका मनोविज्ञान, समवेदना, मनोभावना तथा गुम्सिएका अकथित पीडाहरू व्यक्तिएका छन्।

नेपाली जनजीवनको दर्शन छ। महिलाहरूले पनि समाजमा न्यायपूर्ण तरिकाले बाँच्ने चाहना छ। समानताको भुसको आगो छ कथानकमा। समानताका लागि बाँच्ने परिकल्पना छ। सामाजिक जीवनमा मात्र होइन, पारिवारिक जीवनमा पनि लैंगिक विभेदबाट कहिले मुक्त हुने भन्ने प्रश्नात्मक उत्सुकता छ। पीडा छन् कथाहरूमा। असममा मात्र होइन, नेपालकै पनि नेपाली परम्परागत रूपमा बाँचीरहेको जीवनदर्शन मजाले अभिव्यक्त भएको छ। न्यायान्मुखी चित्र छन्।

कृतिमा स्थानीय मनोविज्ञानको टड्कारो प्रभाव परेको छ। लघुकथाकार नारी भएकाले पनि संग्रहका लघुकथामा प्रायः नारीका मनोविज्ञान, समवेदना, मनोभावना तथा गुम्सिएका अकथित पीडाहरू व्यक्तिएका छन्।

लेखकले आफू वरिपरिका घटना, मिथक, चिन्तन वा परिवेशका आधार लिएर कृतिको सिर्जना गर्ने हो। आफ्नो विचार प्रक्षेपण गर्न लेखक शतप्रतिशत स्वतन्त्र हुन्छ। लेखकले आफ्नै मनका कुरा लेखेको हुन्छ। त्यसैले लेखकको हृदयभित्र रहेको तथ्य तथा आशय पाठक वा समीक्षकले बुझ्न सक्दैनन्। पाठक तथा समालोचकले पनि कृति पढेर आफूअनुकूल बुझ्ने हो। आफ्नो वैचारिक धरातलका आधारमा बुझ्ने हो। तथापि लेखक र समीक्षक बाँचेको धरातल लगभग एउटै भएकाले केही हदसम्म समान धारणा पनि बन्न नसक्ने होइन।

अब अन्त्यमा, बधाई छ लघुकथाकार इन्दिरा गौतम जसको पहिलो पाठक र सल्लाहकार आफ्नै पति सहदेव गौतम हुनुहुन्छ। यस्तो क्षण साहित्यवृत्तमा दुर्लभ हो। असममा बसेर नेपाली भाषासाहित्यलाई लगातार योगदान दिइरहेकोमा लघुकथाकार इन्दिरा गौतमलाई अति धेरै बधाई भन्छु। साथै, सम्बन्धित सबै पक्षमा हार्दिक नमन टक्य्राउँछु। र, अर्को घच्चीको लघुकथाकृतिको पर्खाइमा बसेका पाठकको तर्फबाट हार्दिक शुभेच्छा।  

प्रकाशित: ११ जेष्ठ २०८० ०५:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App