coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

युग बोल्ने कविता

पुस्तक

कवि राजु स्याङ्तानका कविताको सन्दर्भ जोड्दै लेखक मञ्जुश्री थापाले लेखेकी छिन्, ‘आफ्नो युगको मर्म अभिव्यक्त गर्न समय-समयमा असाधारण प्रतिभायुक्त कविको उदय हुन्छ।’

राजुको कवितासङ्ग्रह ‘ओ पेङ्दोर्जे !’ हालै सार्वजनिक भयो। उनका कवितामा त्यस्ता के कुरा छन् जसले उनी ‘युगको मर्म अभिव्यक्त गर्ने प्रतिभायुक्त कवि’ कहलिए? अथवा हाम्रो युगको मर्म भनेको के हो? यताबाट कुरा थाल्दा ‘ओ पेङ्दोर्जे!’ माथिको छलफल अझ रोचक होला।

कालक्रमको वर्गीकरणमा राजु स्याङ्तान २०६२/६३ सालपछि उदाएका कविहरूको पुस्तामा पर्छन्। माओवादी विद्रोहको शान्तिपूर्ण अवतरण, जनआन्दोलनको सफलता, गणतन्त्र स्थापना, समावेशिता, धर्मनिरपेक्षता, संघीयताको कार्यान्वयन, समाजवाद उन्मुख संविधान घोषणा आदि विषयले यो युगको राजनीतिलाई परिभाषित गर्छ।

कवि राजु स्याङ्तानका कविताको सन्दर्भ जोड्दै लेखक मञ्जुश्री थापाले लेखेकी छिन्, ‘आफ्नो युगको मर्म अभिव्यक्त गर्न समय-समयमा असाधारण प्रतिभायुक्त कविको उदय हुन्छ।’

दुई शताब्दी लामो राजतन्त्रको अवसान र समाजवाद उन्मुखताको मुद्दाले युगौंदेखि विभेद र उत्पीडनको जाँतोमा पिसिएका वर्गमा उत्साह र आशा पलाउनु स्वाभाविक थियो। वास्तवमै नेपाल न्याय र समानतामा आधारित नयाँ समाजमा रूपान्तरण हुने सपना नै यो युगको सपना थियो। तर, यो सपनाले कुनै मूर्त आकार पनि लिन नपाउँदै नेपाली समाजमा फेरि पनि उही पुराना विफरका खटिरा देखिन थाले।

उत्पीडित र दमित नेपाली जनताले देखेका सपना रित्तो आश्वासन मात्र भएको तितो वास्तविकता बुझ्न धेरै समय लागेन। जुन वेगका साथ भरभराउँदा सपनाले उडान भरेका थिए, झन्डै उही गतिमा ती सपनाको अवतरण भए।

अवतरण मात्र भएन, सपनाको खेती गर्नेहरू नै सपना फाड्नतिर लागे। सपना र उत्साहमाथि राजनीतिक नेतृत्वको कुठाराघातले अझ गहिरो निराशा र आक्रोश जन्मायो। उत्पीडित वर्गले नेपाली समाजमा जे कुरामा परिवर्तनका आशा गरेका थिए, ती आशामा तुषारापात मात्र भएन। समाज हिजोभन्दा अझ विकृत बन्दै गयो। २०६२/६३ सालको जनआन्दोलनपछिको युगलाई यसरी नै परिभाषित गर्न सकिन्छ।

कवि राजु स्याङ्तानले यो युगका मुद्दालाई आफ्ना कविताका विषय बनाएका छन्। त्यसकारण यो युगको मर्म अभिव्यक्त गर्न सक्षम कविता बनेका छन्।

उत्पीडित र दमित नेपाली जनताले देखेका सपना रित्तो आश्वासन मात्र भएको तितो वास्तविकता बुझ्न धेरै समय लागेन। जुन वेगका साथ भरभराउँदा सपनाले उडान भरेका थिए, झन्डै उही गतिमा ती सपनाको अवतरण भए।

‘ओ पेङ्दोर्जे !’ का कविताले हामी बाँचिरहेको समयलाई आवाज दिएका छन्। आशा र सपनाले भरिएका सङ्घर्षको विसर्जनसँगै विकृतिको दलदलमा बाँचिरहेको आजको समयमा आक्रोश पोख्नुपर्ने विषय अनेक छन्, व्यङ्ग्य गर्नुपर्ने सन्दर्भ हजार छन्। कविता नै अभिव्यक्तिको त्यस्तो माध्यम हो, जसले यो आवश्यकतालाई पूरा गर्न सक्छ।

राजु स्वयम् यो सपना र सपनाको विसर्जनका साक्षी हुन्। आफ्ना समुद्रजस्ता गहिरा आँखाले देखेका सपना नेतृत्वको पथविचलनले तुहिँदै गरेको सायद उनलाई टुलुटुलु हेरिरहन गाह्रो भयो। अनि उनले आफ्ना आक्रोश र विषाद पोख्ने औजार कवितामा भेटाए। तर, उनले यसरी लेखेका कविताले भने उनका निजी भावना मात्र अभिव्यक्त गरेनन्, बरु यो समयको वाणी बनेको छ।

माओवादी विद्रोहको विसर्जन र नेतृत्वको विचलन नेपालका कयौं युवा, विशेषतः विद्रोहमा प्रत्यक्ष संलग्नहरूको सपनामाथि घात थियो। विद्रोहको भर्भराउँदो आगोमा होमिएर समय र समाजका सबै अवसादको मलामी जाने युवा मन माओवादी नेतृत्वको ‘वर्ग उत्थान’ सँगै सेलाउँदा हिँड्दाहिँड्दै ‘प्रचण्ड कतै बीच बाटोमै छुटेको’ अनुभव गरिन्छ। माओवादी विद्रोहको ‘सर्वोच्च कमान्डर’ र सहर पसेको प्रचण्डबीचमा गहिरो भेद केलाउँदै कवि राजु पोखिन्छन्:

भोकाहरूको अलिखित इतिहासमा

एउटा अध्याय थपियो

छुटेको प्रचण्ड

अघाएकाहरूको लिखित इतिहासमा

अर्को अध्याय थपियो

पुष्पकमल दाहाल

वर्ग मुक्तिको नाममा युवाहरूलाई द्वन्द्वको दावानलमा धकेलेर आफ्नो सत्तारोहण र परिवारको वर्ग उत्थानसँगै क्रान्तिलाई धोखा दिने नेतृत्वलाई राजु प्रश्न सोध्छन्-

खै मेरो सपनाको नयाँ घर?

खै मेरो रगतले लेखिएको रातो किताब?

सपना खोसिएको ‘कमरेडको एकालाप’ मा नेतृत्वले धोखा दिँदा आधा बाटोमै लय हराएको माओवादी विद्रोहप्रति गहिरो सन्तापभाव छ। अपुरो छोडिएको क्रान्ति आधा उपचार गरिएको रोगजस्तै हुन्छ, जसले रोगलाई अझ बढी घातक बनाउँछ। माओवादी विद्रोहमा लागेका युवा आज सपनाका सबै बाटो छेकिएपछि अरब र मलेसियामा सस्तो ज्यामी बन्दै गर्दा सुत्दा देख्ने सपना पनि पीडा र हिनताबोधले भरिँदो हो।

यो कस्तो अधकल्चो बाटोमा

आइपुग्यौं हामी?  

हरेक रात सपनामा

आफू हराएको ठेगाना बोकेर

बेपत्ता योद्धाहरू आउँछन्

हरेक रात ऐंठन बनेर

डोकोमा आफ्नै सन्तानका

काटिएका टाउकाहरू बोकेर

बुढाबुढीहरू लौरो टेक्दै आउँछन्।

राजुले क्रान्तिलाई अधुरो छोडेर बाटो बदलेर आफ्नो राजनीतिक वृत्तिविकासमा निमग्न सिद्धान्तच्युत नेतृत्वलाई कठोर व्यङ्ग्य गर्न कतै ठाउँ छोडेका छैनन्। आफूसँगै लडाइँ लडेका योद्धाको स्मृतिदंशले व्यथित एक जना वर्ग फेरुवा कमरेडको मनोभाव चित्रण गर्दै उनी लेख्छन्-

म डराउँछु/आत्तिएर कराउँछु

झल्याँस्स व्युँझन्छु/उङिरहेको पाउँछु

पजेरोको पछिल्लो सिटमा।

भूपू विद्रोही कमरेडको

आलिसान महल अगाडिको

यो सडक नछाडी जानु

महलको पछिल्तिर पुगेपछि

जगतिर हेर्नु

देखिनेछ त्यहाँ

लडाइँमा उस्तै छाडिएका

घाइते सिपाहीहरूको  

एउटा सुकुम्बासी बस्ती

राजुका कविता सपनाको अवसानप्रति सन्तापमा गएर मात्र टुंगिएका छैनन्। उनलाई यो विरहको जरो कहाँ हो, राम्ररी थाहा छ। नेतृत्वमा फैलिएको रोग नै यसको मूल कारक हो। त्यसकारण उनी लाखौं युवाको सपनाको व्यापार गर्ने नेतृत्वप्रति प्रश्न गर्छन्, आक्रोश पोख्छन् र व्यङ्ग्य गर्छन्। तर, उनका आक्रोश र व्यङ्ग्यका अभिव्यक्तिमा प्रयुक्त उपमाहरू नेतृत्वका लागि तातो झिर समान हुन्छन्।

राजुका कविता सपनाको अवसानप्रति सन्तापमा गएर मात्र टुंगिएका छैनन्। उनलाई यो विरहको जरो कहाँ हो, राम्ररी थाहा छ। नेतृत्वमा फैलिएको रोग नै यसको मूल कारक हो।

राजुका कविता समाजको उत्पादनशील र मिहिनेती भएर पनि सबैभन्दा हेपिएका, पिल्सिएका श्रमिक वर्गका कथा हुन्। कोभिड महामारीले श्रमिक वर्ग हिँड्दै गरेको करौंटीको धारजस्तो जीवन मार्गलाई अझ सपाट संसारसामु उजागर गर्‍यो। कोभिड र बन्दाबन्दीमा सहरले धपाएपछि हप्तौं पैदल हिँडी चाउचाउ पानीको भरमा गाउँ फर्किन बाध्य श्रमिक वर्ग हाम्रो समयले देखेका कहालीलाग्दा तस्बिरमध्येमा पर्छ। सहर अर्थात् सम्भ्रान्त शासक वर्गका लागि महामारीबाट आफू जोगिन हिजो आफ्नो दैनिक जीवनमा नभई नहुने श्रमिक वर्ग बोझ बन्यो। अनि धपाइए गाउँतिर। राजु लेख्छन्-

सबैभन्दा धेरै सहर बनाएर

कहिल्यै सहरबासी हुन नसकेका

सहरका ती असली हकदारहरू

विपतमा सहर

झनै बिरानो बनेपछि

चिउरा र दालमोठ

चपाउँदै चपाउँदै गए

श्रमिक जनताका राजुका कविताहरू पढ्दा बे्रख्तियन शैलीको स्वाद अनुभव हुन्छ। कवितामा पात्र, संवाद, व्यङ्ग्य, आक्रोश र निष्कर्ष पनि छन्। यसले एउटा कवितालाई पूर्णता दिन्छ। आफ्नो श्रमले बनाएका भवन, दरबार, बाटोघाटो आफ्नो नहुँदा, उल्टो आफूमाथि शोषण गर्ने शासकको नाममा हुँदा श्रमिक जनताले बेहोसीमै भए पनि पोख्ने आक्रोश कवितामा पोखिएको छ।

नेपाली युवाहरू श्रम बेच्न बिदेसिनु आजको समयको अर्को मूल चरित्र हो। सरकारले देशभित्रै रोजगारी दिन नसकेपछि, अझ सरकार आफै विश्व पुँजी बजारमा सस्तो श्रमिक निर्यात गर्ने एजेन्ट बनेपछि बिदेसिने युवाहरूको घुइँचो छ। विदेशी भूमिमा नेपाली युवाहरू अपमान, शोषण, प्रतिकूल हावापानीको सिकार बनिरहेका छन्। दैनिक बिदेसिएका नेपाली श्रमिकको लास देश भित्रिन्छ। गाउँ रित्तो र खेत बाँझो छ। तर, जुनसुकै विचारधारा र आवरणका राजनीतिक दल सत्तासीन भए पनि नेपाली पाखुराको व्यापार रोकिएको छैन। युगलाई बोल्ने कविले यसबारे कविता नलेख्नु कसरी सम्भव छ र!

हुइँकिँदा हुइँकिँदै बेस्कन हल्लियो अभरमा

ढलिन् बिन्दुदेवी गाडीमै

पोखियो उनको काखबाट

भर्खरै कफिनबाट निकालेर

घाटमा पोली आएको

छोराको आलो खरानी

‘ओ पेङ्दोर्जे !’ कवितामा समकालीन सामाजिक र राजनीतिक मुद्दाहरू महिला, आदिबासी-जनजाति, दलित, मधेसका अधिकार र समानताका मुद्दालाई काव्यात्मक अभिव्यक्ति दिइएको छ।

कविले यी मुद्दालाई निरपेक्ष रूपमा चित्रण मात्र गरेका छैनन्, बरु तिनलाई राज्यसत्ताको प्रश्नसँगै जोडेर राजनीतिक समस्याका रूपमा समाधान खोजिनुपर्ने मुद्दा बनाएका छन्। पुँजीवादी विश्वव्यापारीकरणले मानिसलाई गर्दै आएको वस्तु सरहको व्यवहारजस्ता संवेदनशील विषय कवितामा पोखिएका छन्। कवितासङ्ग्रहका धेरै कविता लामो आयु बोकेका कविता छन्। राजुका कविताहरू लामो समय धेरै लेखक, अध्येता र वक्ताले उद्धृत गरिरहने कविता हुनेछन्। अझ केही थान कविताले राजु स्याङ्तानका सिग्नेचर कविता बनेर लामो समय बाँचिरहनेछ।

‘ओ पेङ्दोर्जे !’ कवितामा समकालीन सामाजिक र राजनीतिक मुद्दाहरू महिला, आदिबासी-जनजाति, दलित, मधेसका अधिकार र समानताका मुद्दालाई काव्यात्मक अभिव्यक्ति दिइएको छ।

कतिपय कविता घटना, यथार्थ र अवस्थाको चित्रणमा सीमित छन्। तर, तिनले चित्रित समस्याको सम्भावित समाधान के हुन सक्छ भन्ने विषयमा मौन बस्दा ती कविता ‘साहित्य समाजको दर्पण हो’ भन्ने व्याख्यामा मात्र सीमित भएझैं लाग्छ।

साहित्य समस्याको चित्रणमा मात्र सीमित हुनुहुन्न। समाधानको उपाय पनि साहित्यकारले दिन सक्नुपर्छ। कवि माओवादी विद्रोहको विसर्जनले निम्त्याएका समस्याप्रति जति गहिरोगरी पसेका छन्, यही कालखण्डमा नेपालका अन्य शासक राजनीतिक दलले मलजल गरेका राजनीतिक विकृतिप्रति कविताहरू कम मात्र बोलेका छन्। राजनीतिले आज झेलिरहेको विकृतिका लागि ती राजनीतिक दलहरू कम्ता दोषी छैनन्।

अब नेपाली साहित्यमा मूलधार नामको कुनै अलग धार देखिँदैन। संस्कृत भाषाको छनक दिने लेख्यलाई स्तरीय मान्ने मानक तोडिएको धेरै भइसकेको छ। अब नेपाली साहित्य कृतिमा सीमान्तकृत जनजातिका शब्दको प्रयोग नहुँदा असहज मान्ने समय आइसकेको भान हुन्छ।

कतिपय कविता घटना, यथार्थ र अवस्थाको चित्रणमा सीमित छन्। तर, तिनले चित्रित समस्याको सम्भावित समाधान के हुन सक्छ भन्ने विषयमा मौन बस्दा ती कविता ‘साहित्य समाजको दर्पण हो’ भन्ने व्याख्यामा मात्र सीमित भएझैं लाग्छ।

‘ओ पेङ्दोर्जे!’ मा तामाङ भाषाका शब्दको प्रयोगले यो कवितासङ्ग्रह आफै उत्पीडित जाति र समुदायको सांस्कृतिक आन्दोलनको हिस्सा बनेको छ। यसले युगौंदेखि सेनामा पिपा, गोर्खा सिपाही, इँटा भट्टा र होटलका मजदुर, भरियाको परिचय बोकेका तामाङ जातिको संस्कृति र भाषालाई मूल प्रवाहमा चित्रण गरेको छ। उनीहरूले आफूमाथिको शोषणको प्रतिरोधमा आफ्नै भाषाको प्रयोग गर्न थालेका छन्। यसले संयुक्त राज्य अमेरिकामा अफ्रो-अमेरिकी लेखकहरूको रङ्गभेदविरोधी सांस्कृतिक सङ्घर्षको याद गराएको छ। जसले राजुका कविता श्रमिक र उत्पीडितका वाणी बनेका छन्। साथै यो राज्यले युगौंदेखि उत्पीडनमा राखेको जातिमा गुन्जिन थालेको न्यायपूर्ण आन्दोलनको आवाज पनि बनेको छ।

‘ओ पेङ्दोर्जे!’ मा तामाङ भाषाका शब्दको प्रयोगले यो कवितासङ्ग्रह आफै उत्पीडित जाति र समुदायको सांस्कृतिक आन्दोलनको हिस्सा बनेको छ।

पेङ्दोर्जे, आपा, च्याङ्बा, याम्बु, म्हेमेजस्ता तामाङ शब्दहरू राजधानीको एउटा प्रतिष्ठित प्रकाशनले छापेको पुस्तकमा आउनु आफै पनि यो युगको मर्म हो। यो सांस्कृतिक सङ्घर्षले अद्यापि छिचोल्नुपर्ने यात्रा अझै लामो छ। तथापि समावेशिता र सामाजिक न्यायको आवाज अब क्रमशः सांस्कृतिक केन्द्रको मूलथलोमै मुखर सुनिन थालेको अनुभव हुन्छ।

कविता बिक्दैन भन्ने चर्चाले व्यापकता पाएको बेला राजु स्याङ्तानका कविताहरूको यो किताब बजारमा आउनुले कवि र कविताप्रेमीहरूलाई पक्कै हौसला दिन सक्छ। कविताले युग बोल्न सक्छ, कवितामार्फत युगलाई बोल्न लगाउन सकिन्छ। कम्तीमा पछिल्ला दुई दशक (६० र ७०) को उथलपुथलमय कालखण्ड बुझ्न अनि बुझाउन राजुका कविता प्रभावशाली छन्।  

प्रकाशित: ६ जेष्ठ २०८० ०३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App