२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘श्रीमानलाई उपहार दिने सपना अधुरै’

चलचित्रमा कथा लेखिन्छ र त्यसलाई पटकथामा रूपान्तरण गरेपछि छायाङ्कन सुरु हुन्छ। लेखकले पात्र र त्यसको पहिचान, आवरण र समाज निर्माण गरेपछि आरोहअवरोहलाई चलचित्रको शैलीमा तयार पारेर पर्दामा प्रस्तुत गरिन्छ। तर पर्दा बाहिर घट्ने केही घटनाक्रम चलचित्रभन्दा कम लाग्दैनन।

जेठको पहिलो साता प्रदर्शनमा आउने चलचित्र ‘ए साथी सुन’ की निर्मात्री विना कार्कीको जीवनी चलचित्रको कथा झैँ छ। फरक क्षेत्रमा रहेर कर्म गरिरहेकी उनले यो चलचित्र आफ्नो श्रीमानलाई ‘उपहार’ दिन निर्माण गरिन्। चलचित्रबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा चलचित्रभन्दा कार्कीको कथाले उपस्थितलाई मर्माहत बनायो। तर जानकारी नदिई उपहार दिने उनको सपना अधुरै रह्यो।

कोरोना भाइरसका कारण निर्मात्री कार्कीले श्रीमानलाई गुमाउनु पर्‍यो। 'श्रीमानलाई जानकारी नदिई निर्माण गरेँ। तर भन्नसमेत पाइनँ। यद्यपि उनको यादमा तयार गरेको चलचित्र अहिले प्रदर्शनको तयारीमा छ', उनले भनिन्। श्रीमान् श्रव्यदृश्यप्रति आकर्षित र आफ्नो सन्तानलाई कलाकार देख्न चाहना राखेको जानकारी पाएकी कार्कीले चलचित्रमा छोरा इभानलाई अभिनयको अवसर दिएकी छिन्।

'चलचित्र हामीले निर्माण गरेका हौँ भन्ने थाहा थिएन। तर छोरालाई अभिनय गराएको भन्ने जानकारी दिएकी थिए। उहाँ निकै खुसी हुनुभयो', निर्मात्री कार्कीले भनिन्। व्यवसायका कारण संयुक्त अरब इमिरेटस्को दुबईमा बसोबास गरिरहेकै कारण नेपालमा कोरोना महामारीका बेला  उनीहरु अलग भए।  निर्मात्री कार्की छोरा लिन नेपाल आएको समयमा लकडाउनका कारण यही बस्नु पर्‍यो। 'अन्तिम समयमा उहाँलाई देख्न समेत पाइनँ। अहिले मैले किन भनिनँ भन्ने पनि लाग्छ', उनले भनिन्।

चलचित्रमा सम्पूर्ण समूह नै नयाँ छन्। नयाँलाई चलचित्र बनाउन झैँ प्रदर्शन गर्न पनि सहज नरहेको निर्देशक राम राघव आचार्यले बताए। 'चलचित्र बनिसकेपछि प्रदर्शन गर्न सहज छैन। नयाँ समूहलाई जसरी कलाकारले बुझ्दैनन्, प्रदर्शनमा पनि त्यस्तै हुन्छ', उनले भने।

त्यहाँ केही टेलिचलचित्रमा काम गरेपछि कोरोना भाइरसका कारण भएको पहिलो लकडाउनमा कार्की नेपाल आएकी थिइन्।

'नेपाल आएपछि बसाइका क्रममा लेखेको कथालाई सुनाएपछि चलचित्र निर्माण गर्ने निर्णय लिएका हौँ। यसको नाम कलिपुरुष राखेका थियौँ। किनकि मानवद्वारा भइरहेको गलत क्रियाकलापको कथा प्रस्तुत गरेका छौँ', निर्देशक आचार्यले भने।

प्रेमकथानक थ्रिलर विधामा निर्माण भएको चलचित्रमा सुशील पोखरेल, जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आर्यन खड्का, विमला गिरी, रमेश अधिकारीलगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: २ जेष्ठ २०८० ०९:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App