१५ फाल्गुन २०८० मंगलबार
कला

हरिनाथको चिया पसल

लघुकथा

१) हरिनाथको चिया पसल

‘यहीं नै थियो हाम्रो सानो चिया पसल। बुबाले उता फर्केर चिया बनाउनुहुन्थ्यो। म र आमा यता बसेका ग्राहकलाई चिया बाँड्ने गर्थ्याैं। बिहान त हात खाली नै हुँदैनथ्यो।’ हरिनाथ आफ्नो छोरालाई देखाउँदै थियो।

उनीहरू छोराको उपचारका लागि आएका थिए। हरिनाथ आफ्नो छोरालाई बाल्यकालमा बिताएको ठाउँ देखाउँदै थिए।

छोराले सोध्यो, ‘पढ्न जानु पर्दैनथ्यो?’

हरिनाथले बोल्यो,‘यसो जान्थें नि स्कुल त।’

उसले छोरालाई विगत सुनाउँदै थियो,‘के गर्ने पसल भत्काएर फालिदिए। हामीलाई लिएर बा पनि गाउँ जानुभयो। पैसा भएन। पढाइ बन्द भयो। खान धौधौ भयो।’

छोराले सोध्यो,‘हाम्रो पसल मात्र भत्काएका रहेछ्न्?’

‘हाम्रो मात्रै हैन धेरै पसल भत्काए, हटाए।’

केही समयमा एक हुल मानिस हरिनाथको बुबाको पसल भएकै ठाउँमा आएर जम्मा भए।

छोराले सोध्यो,‘बाबा, खास के काम परेर भत्काएका रहेछ्न्?’

हरिनाथले देखायो,‘ऊ उता हेर त।’

एक हुल मानिसले प्लेकार्ड र ब्यानर बोकेर जिन्दवाद र मुर्दावादको नारा लगाउन थाले। हरिनाथका बाबुछोरा आज माइतीघर मण्डलामा थिए।

२.स्ववियु

‘बहिनीले दादाको परीक्षा आउन लाग्यो’ भन्दै थिइन्। उसको भने यस्तो चाल छ। कहिले पढेको देख्दिनँ। बिहानमा भर्ना गरेको मान्छे ९ बजेसम्म घरैमा सुतेको हुन्छ। उठेपछि कता जान्छ। परीक्षा आउन लागेपछि त पढ् बाबु।’ हरिप्रसादले आउँदै गरेको छोरालाई सोधे।

छोराले भन्यो, ‘कति कराउनुभएको! यहाँ आफूलाई तनाव भएको छ।’

‘धेरै तनाव लिनु हुँदैन। ढिलो भए पनि पढ्न थालेछौ। अब ठिकै होला।’ छोराले झोला बोकेको देखेर हरिप्रसादजीको मनमा आशा पलायो।

झोला कुर्सीमा राखेर छोरा भित्र पस्यो। कुर्सीमा बस्न हरिप्रसादजी छोराको झोला पन्छाउन खोजेका झोला गह्रौं लाग्यो। भित्रबाट फोनमा कुरा गर्दै आएको झोला बाबुको हातबाट खोस्दा झोलाको खुकुरी खस्यो।

हरिप्रसादले भने,‘के बोकेर हिंडेको हो? पढ्नु पर्दैन? परीक्षा तालिका नजिकै आएको छ।’

‘यस्ता कुरा नबुझ्नेसँग के कुरा गर्ने। उता कलेजमा जाँचभन्दा अगाडि चुनाव आइसक्यो’ भन्दै छोरो बाहिर निस्कियो।

प्रकाशित: ५ चैत्र २०७९ ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App