coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

वात्स्यायनको नागरिक अभिनन्दन

नागरिक अभिनन्दको क्रममा दुर्गा बराल बात्स्यायनलाई पोखरा बजार परिक्रमा गराइँदै। तस्बिर: नागरिक

व्यंग्यचित्रका माध्यमबाट नेपाली समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै व्यंग्य चित्रकारितामा स्थापित वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ८० वर्ष पूरा भएको अवसरमा शनिबार उनलाई पोखरामा नागरिक अभिनन्दन तथा विशेष नागरिक रथारोहण गरिएको छ।

पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखरामा क्रियाशील झन्डै तीन दर्जन वाङमयिक संघसंस्थाले उनलाई रथारोहण गराउँदै नागरिक अभिनन्दन गराएका हुन्। पोखराको नदीपुरस्थित निवासबाट सुरु भएको रथारोहण सहरका विभिन्न भाग परिक्रमा गराउँदै विन्ध्यवासिनी मन्दिरमा पुगेर अभिनन्दन कार्यक्रममा सहभागी गराइएको थियो। कार्यक्रममा सयौं कलाकार, साहित्यप्रेमी, व्यवसायी, विद्यार्थी, कलाकर्मीसहित सर्वसाधारण सहभागी थिए।

बजार परिक्रमाका क्रममा बाटोमा सर्वसाधारणले विभिन्न तरिकाले उनलाई स्वागत गरेका थिए। अभिनन्दन समारोहमा बोल्दै संस्कृतिकर्मी तीर्थ श्रेष्ठले वात्स्यायन व्यंग्यचित्रका पनि बादसाह रहेको बताए। कलाका माध्यमबाट कसैले समाज र राजनीतिका विकृत तथा विसंगति चिर्न सकेको छ भने त्यो वात्स्यायनले मात्र गरेको श्रेष्ठले बताए।

पोखरालाई पानीरङको पाठशालाका रूपमा स्थापित गर्न पनि वात्स्यायनको भूमिका रहेको उनले बताए। ‘समाज र राजनीतिका विकृति, विसंगतिविरुद्ध कार्टुनका माध्यमबाट वात्स्यायनले युद्ध छेडेका छन्’, उनले भने।

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले पोखरामा जन्मिएर कलाकारिताका क्षेत्रबाट वात्स्यायनले दिएको योगदान अतुलनीय रहेको बताए। वात्स्यायनलाई अभिनन्दन गर्न पाउनु पोखरा र पोखरेलीका लागि सौभाग्य रहेको उनले बताए।

१९९९ चैत ५ मा कास्कीको आर्बा (पोखरा महानगरपालिका–१३) मा वात्स्यायन जन्मिएका थिए। दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरिसकेका उनले जगदम्बाश्री, प्रबल गोरखा दक्षिण बाहु चौथो, राष्ट्रिय प्रतिभा पुरस्कार, अननिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, शिरोमणि पुरस्कार, हाँस्ने पुरस्कार, बासुदेव लुइँटेल लगायतका पुरस्कार पाइसकेका छन्। उनका चारवटा एकल चित्रकला प्रदर्शनी भइसकेका छन्। २० वर्षको उमेरमा नयाँ सन्देश साप्ताहिकमार्फत वात्स्यायनले कार्टुन करिअर सुरु गरेका थिए।

प्रकाशित: ५ चैत्र २०७९ ०२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App