१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

‘वात्स्यायन’ लाई पोखरामा नागरिक अभिनन्दन

व्यंग्यचित्रका माध्यमबाट नेपाली समाज र राजनीतिका विकृति, विसंगतलाई केलाउँदै व्यंग्यचित्रकारितामा स्थापित वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ८० वर्ष पुरा भएको अवसरमा शनिबार उनलाई पोखरामा नागरिक अभिनन्दन तथा विशेष नागरिक रथरोहण गरिएको छ।

पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखरामा क्रियाशील झन्डै तीन दर्जन वाङमयिक संघसंस्थाले उनलाई रथारोहण गराउँदै नागरिक अभिनन्दन गराएका हुन्। पोखराको नदीपुरस्थित निवासबाट सुरु भएको रथारोहण सहरका विभिन्न भाग परिक्रमा गराउँदै विन्ध्यवासिनी मन्दिरमा पुगेर अभिनन्दन कार्यक्रममा सहभागी गराइएको थियो। कार्यक्रममा सयौँ कलाकार, साहित्य प्रेमी, व्यवसायी, विद्यार्थी, कलाकर्मी सहित सर्वसाधारण सहभागी थिए।

बजार परिक्रमाको क्रममा बाटोमा सर्वसाधारणले विभिन्न तरिकाले उनलाई स्वागत गरेका थिए। अभिनन्दन समारोहमा बोल्दै संस्कृतिकर्मी तीर्थ श्रेष्ठले वात्स्यायन व्यंग्यचित्रका पनि बादसाह रहेको बताए। कलाको माध्यमबाट कसैले समाज र राजनीतिका विकृत तथा विसंगतलाई चिर्न सकेको छ भने त्यो वात्स्यायनले मात्र गरेको श्रेष्ठले बताए। पोखरालाई पानीरंगको पाठशालाको रुपमा स्थापित गर्न पनि वात्स्यायनको भूमिका रहेको उनले बताए। ‘समाज र राजनीतिका विकृति, विसंगती विरुद्ध कार्टुनका माध्यमबाट वात्स्यायनले युद्ध छेडेका छन्,’ उनले भने।

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले पोखरामा जन्मिएर कलाकारिताको क्षेत्रबाट वात्स्यायनले दिएको योगदान अतुलनीय रहेको बताए। वात्स्यायनलाई अभिनन्दन गर्न पाउनु पोखरा र पोखरेलीका लागि सौभाग्य रहेको उनले बताए।

१९९९ चैत ५ गते कास्कीको आर्बा (हालको पोखरा महानगरपालिका–१३) मा वात्स्यायन जन्मिएका थिए। उनले दर्जनौँ पुरस्कार र सम्मान प्राप्त गरिसकेका उनले जगदम्बाश्री, प्रवल गोरखा दक्षिण बाहु चौथो, राष्ट्रिय प्रतिभा पुरस्कार, अननिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, शिरोमणि पुरस्कार, हाँस्ने पुरस्कार, वासुदेव लुइँटेल लगायतका पुरस्कार पाइसकेका छन्। उनका चारवेटा एकल चित्रकला प्रदर्शनी भइसकेका छन्। २० वर्षको उमेरमा नयाँ सन्देश साप्ताहिक मार्फत वात्स्यायनले कार्टुन करिअर सुरु गरेका थिए।

प्रकाशित: ४ चैत्र २०७९ ०९:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App