१५ असार २०८१ शनिबार
image/svg+xml
कला

नेपाल स्रष्टा समाजबाट दुई वरिष्ठ साहित्यकार सम्मानित

नेपाली साहित्यमा लामो समयदेखि अथक योगदान पुर्‍याइरहेका दुई वरिष्ठ साधकलाई नेपाल स्रष्टा समाजले एक विशेष कार्यक्रमका साथ सम्मान गरेको छ।

समाजले कवि श्रीहरि फुयाँल र हास्यव्यंग्यकार नरनाथ लुइँटेललाई सम्मान गरेको हो। सम्मानित स्रष्टाहरू झण्डै पाँच दशकदेखि नेपाली साहित्य सिर्जनामा संलग्न छन्।

कवि फुयाँललाई ‘सुभद्रा-विश्वराज स्रष्टा सम्मान’अर्पण गरिएको हो। सम्मानित व्यक्तित्वलाई विशेष सम्मानपत्रका साथ नगदराशि २१ हजार १११ रुपैयाँ प्रदान गरिएको थियो। पाँच वर्षदेखि हरेक वर्ष प्रदान गरिंदै आएका उक्त पुरस्कार नेपाल स्रष्टा समाजका निवर्तमान अध्यक्ष तथा सल्लाहकार विधान आचार्यले स्थापना गरेका हुन्।

त्यस्तै हास्यव्यंग्यकार लुइँटेललाई ‘रमेश–गंगा स्रष्टा सम्मान’बाट सम्मानित गरिएको छ। यस सम्मानमा पनि समाजले विशेष सम्मानपत्रका साथ नगदराशि २१ हजार १११ रुपैयाँ प्रदान गर्ने गरेको छ।

तीन वर्षदेखि वार्षिक रूपमा प्रदान गरिंदै आएको यस सम्मानको संस्थापन वागमती प्रदेशका वर्तमान संसद् तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष माननीय डा. दिनेशचन्द्र देवकोटा तथा उनको परिवारले गरेको हो।

सम्मान अर्पण समारोहका प्रमुख अतिथि ९० वर्षीय वरिष्ठ स्रष्टा रमेशचन्द्र देवकोटा थिए भने विशेष अतिथिको रूपमा डा. दिनेशचन्द्र देवकोटा, विधान आचार्य तथा सल्लाहकार वरिष्ठ कवि शैलेन्द्र साकार रहेका थिए।

कार्यक्रमकै अवसरमा नेपाल स्रष्टा समाजका नयाँ आजीवन विशिष्ट सदस्यद्वय स्नेह सायमी र तेजप्रसाद तिम्सिनालाई समाजका उपाध्यक्ष हरित, महासचिव तिमिल्सिना तथा कोषाध्यक्ष तारा सुवेदीले संयुक्त रूपमा सदस्यताको प्रमाणपत्र तथा समाजको लोगो (ब्याज) प्रदान गर्दै बधाई ज्ञापन तथा स्वागत गरेका थिए।

सम्मान कार्यक्रमलगत्तै प्रमुख अतिथि रमेशचन्द्र देवकोटाज्यूको नब्बेऔं वर्ष प्रवेशको उपलक्ष्यमा उनलाई दीप प्रज्ज्वलनका साथ सामूहिक सम्मान, शुभकामना तथा बधाई ज्ञापन गरिएको थियो। देवकोटा परिवारको विशेष संयोजनमा सम्पन्न उक्त कार्यक्रममा झन्डै १२५ साहित्यकार तथा आफन्तजनको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम नेपाल स्रष्टा समाजका उपाध्यक्ष चेतनाथ कणेल ‘हरित’ को अध्यक्षतामा सम्पन्न  भएकाे थियाे भने सञ्चारकर्मी तथा साहित्यकार मधु पाठकले सञ्चालन गरेका थिए।

समाजका महासचिव देविका तिमिल्सिनाले स्वागत मन्तव्यको साथ सम्मानित स्रष्टाको परिचय प्रस्तुत गरेका थिए।

स्मरणीय छ, नेपाल स्रष्टा समाज २०६४ सालमा काठमाडौंमा स्थापित राष्ट्रिय साहित्यिक संस्था हो। यस संस्थामा २५० जना जति सदस्य रहेका छन्। संस्थाले विविध साहित्यिक गतिविधिका साथ वार्षिक रूपमा विभिन्न विधा र शीर्षकमा ७ वटा पुरस्कार समेत व्यवस्थापन गर्दै आएको छ। यस संस्थाले हालसम्म विविध विधाका ३ दर्जन पुस्तक प्रकाशन गरिसकेको छ। संस्थाले आउँदा दिनमा यसका गतिविधिलाई थप विस्तार गर्ने, थप प्रभावकारी बनाउने र सदस्य संख्या अझ बढाउने सोच बनाएको कुरा अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले बताएका छन्।  

प्रकाशित: २७ फाल्गुन २०७९ ०७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App