२४ पुस २०८२ बिहीबार
image/svg+xml
कला

‘छलाङ’ले बोकेको समसांस्कृतिक अनुभूति

कुनै पनि कृतिको अध्ययनपश्चात् समाजको संरचनालाई चिन्न सकिने हुनाले नै साहित्यिक कृतिलाई समाजको खोल भनिएको हो। साहित्यकारले आफ्नो सिर्जनाको कच्चापदार्थ समाजबाट लिन्छ र त्यसलाई आफ्नो कलाले सजाएर कृतिका रूपमा समाजलाई नै दिन्छ।  त्यसैले सर्जकले साहित्यको विषय समाजबाट नै प्राप्त गर्छ।  साहित्य व्यक्तिगत कल्पनाको उपज मात्रै नभएर समाजको अभिव्यक्ति पनि हो।  लेखकले कृतिमा व्यक्त गरेको विचार तथा चेतना जब उसको निजी मात्रै हुँदैन, समूहले आफ्नो भन्ने महसुस गर्छ तब त्यो कृति सामूहिक विश्वदृष्टि बन्छ।  ‘छलाङ’ दिलीप ढकालको पहिलो उपन्यास कृति हो।  

नेपाली राजनीतिको सग्लो चित्र र राजनीतिमा देखिएको विकृति र विसङ्गतिलाई युवाले कसरी सम्हालेर सुधारको बाटोमा लैजान सक्छन् भन्ने सकारात्मक पाटोलाई यस उपन्यासले समेटेको छ।  समाजमा रहेको छुवाछुतको सांस्कृतिक संरचनालाई देखाउनु उपन्यासको अर्को महत्वपूर्ण पाटो हो।  त्यसैगरी समाजमा दलित नारीको पहिचान कस्तो छ ? स्वदेशमै केही गर्छु भन्ने सपना बोकेकी नारीलाई घरपरिवारबाट कस्तो किसिमको आँखाले हेरिन्छ ? लैङ्गिक समानताको पक्षमा सबै छन् त ? पारिवारिक दबाबका कारण विदेश पुगेकी नारीको अवस्था कस्तो हुन्छ ? यस्ता धेरै प्रश्नको उत्तर बनेर आएको छ ‘छलाङ’।  

स्याङ्जा र पोखराको समाज र संस्कृतिलाई प्रमुख कार्यपीठिका बनाउँदै काठमाडौंदेखि विदेशका भूमिसम्म यस उपन्यासको कथानक लम्बिएको देखिन्छ। उपन्यासमा स्याङ्जा र पोखराको पर्यावरण बढी केन्द्रित भए पनि यो उपन्यासले नेपालका हरेक समाज एवम् हरेक मान्छेको साझा अनुभूतिलाई बोल्न सकेको छ। हरेक ठाउँमा छुवाछुतका नाममा हुने गरेका अमानवीय घटनाहरूलाई यो उपन्यासले समेटेको छ।  

दलितका विषयमा थुप्रै बहस र छलफल भएका छन्। नेपाली साहित्यमा पनि दलित एवम् छुवाछुतको विषयलाई लिएर धेरै साहित्यिक कृति लेखिएका छन्। नेपाली राजनीतिमा पनि युवाको सक्रियता हुनुपर्छ भन्ने विषयमा बहस भइरहेका छन्। छलाङमा आएको विषय पनि नौलो होइन, हामीले भोग्दै आएको र देख्दै आएको सामाजिक एवम् सांस्कृतिक परिघटना नै हो।  

सैंतीस वटा लामा छोटा प्रवाहमा संरचित छलाङ उपन्यासको प्रमुख पुरुष पात्र प्रभात ढकाल हो। यो उपन्यासमा प्रभातको भूमिका पढ्दै गर्दा विजय मल्लद्वारा लिखित ‘बौलाहा काजीको सपना’ नाटकको पात्र ‘काजी’ को स्मरण हुन्छ। समाजमा रहेका विकृति, विसङ्गतिलाई हटाएर शिक्षाको उज्यालोले जनतामा चेतनाको लहर ल्याउन ज्यान दिएको काजीजस्तै प्रभात पनि देखिएको छ। अब देशको राजनीतिक नेतृत्व युवा वर्गले लिनुपर्छ भन्ने अडान उसमा रहेको देखिन्छ। क्रान्तिकारी विद्यार्थी सङ्गठन गण्डकी अञ्चल, प्रचार विभागको प्रमुख प्रभात समाजमा संस्कृतिका रूपमा रहेको छुवाछुत प्रथाको अन्त्य गरी समतामूलक समाज निर्माणका लागि केही गरेरै छाड्छु भनेर लाग्ने युवाहरूको प्रतिनिधि पात्र हो। प्रभातका बारेमा उपन्यासमा यसरी लेखिएको छःः

हाम्रो समाजमा रहेको ठूलो जात र सानो जातका बिचको वैरभावना उस्तै छैन र ? समाजका गरिबहरू कसको जीवनमा सुख छ? दलित, दलित नै छन्। ठूला गनिएका जातहरू पनि उस्तै छन्। तिम्रा बाहरूको बाउबाजेदेखिको आरन चलाउने पेसा जस्ताको त्यस्तै छ। पृष्ठ नं. २४

संसारले एक दिन खुसी हुनु छ, कसैले रोक्न सक्तैन भनेर ऊ राजनीतिमा लागेको छ। परिवर्तनका लागि खटिएको प्रभातलाई कतिले बौलाहा पनि भनेका छन् तर परिवर्तनका लागि यात्रामा निस्किएको प्रभातले यस्ता कुरालाई महत्व दिएको छैन।  

उपन्यासकी प्रमुख नारी पात्र मानवी हो। खासमा यो उपन्यासको शीर्षक नै मानवी भएको भए पनि हुन्थ्यो। मानवी स्याङ्जा र पोखरा क्षेत्रको मात्रै प्रतिनिधित्व गर्ने पात्र नभएर पूरा नेपाल, त्यसमा पनि दलित विश्वकर्मालाई प्रतिनिधित्व गर्ने पात्र हो। दलित भएकै कारण घरबेटीले भाडामा कोठा नदिएर अपमानित हुनुपर्दाको अनुभूति मानवीले गरेकी छे। भाडामा कोठा लिनकै लागि आफ्नो थर नै लुकाउनुपर्ने बाध्यतामा आज पनि धेरै मानवीहरू परेका छन् भन्ने प्रसङ्गलाई उपन्यासमा यसरी लेखिएको छः

त्यहाँ पनि घरबेटीले उसको परिचयात्मक विवरण लिए।  उसले नाम ठेगाना सबै साँचो बताई। त्यहाँ निर्धक्कसँग बस्नका लागि मान्छेहरूका अगाडि जन्मजात तुच्छ बनाउने दलित थर ढाँट्ने निर्णय गरी। त्यस घरमा उसको नाम मानवी क्षेत्री भयो। पृ.२०

प्रभात ढकालको राजनीतिक क्रियाकलापबाट प्रेरित मानवी परिवर्तनशील पात्र हो। आफ्ना ठूलाबाको छोरा पवनसँग मासु पसल गर्दै सङ्घर्षको मैदानमा उत्रिएकी मानवी अथक साधिकाकी प्रतिमूर्ति हो। प्रभात ढकालको राजनैतिक गतिविधिलाई नजिकबाट चिनेकी मानवी पनि राजनीतिमा खुलेर लागेकी छे।  समाजमा रहेका विकृति एवम् विसङ्गति हटाउनका लागि एउटी नारी सक्रिय रूपमा लाग्दा के कस्ता बाधा आइपर्छन्? यो बोधको भोक्ता पात्र मानवी हो। आफ्नो गाउँमा गएर चेतनाको लहर फैल्याउन सक्ने खुबी मानवीमा रहेको छ। उपन्यास पढ्दै गर्दा मानवी अझै बोल्ड एवम् शसक्त भूमिकाका साथ प्रस्तुत भए पनि हुन्थ्यो भन्ने कौतूहलताको अनुभूति पाठकमा सिर्जना हुन्छ।  

उपन्यासको अर्को पुरुष पात्र मानवीको श्रीमान् गम्भीर सुनार हो। बौद्घिक पात्र गम्भीर स्कुल कलेजमा पढाउने नेपाली भाषा साहित्यको शिक्षक हो।  बौद्घिक भएर पनि राम्रो जागिर नपाउने, नेपालका प्राइभेट स्कुल कलेजमा जागिर गर्ने शिक्षकको सत्य रूप के हो भन्ने यथार्थलाई गम्भीरको भूमिकामादेखिन्छ। सुरुसुरुमा मानवी र गम्भीरको वैवाहिक सम्बन्ध राम्रै हुन्छ। गम्भीरले मानवीको राजनीतिको पाटोलाई पनि सर्पोट नै गरेको हुन्छ। तर, गम्भीरकै चाहनाअनुसार मानवीले राजनीति छोडेर पैसा कमाउनका लागि इजरायल जानुपर्ने बाध्यता उपन्यासमा रहेको छ।  नेपाली विषयमा एमफिल गरेको गम्भीरले पैसा कमाउनका लागि आफ्नी श्रीमती मानवीलाई कर गरेर इजरायल पठाउन खोजेको प्रसङ्गले हाम्रो समाजमा पुरुषवादी हैकमको हेजेमोनी अझै कायम नै छ भन्ने बोध हुन्छ।  

जब मानवी इजरायल पुग्छे तब उपन्यासले कुन मोड लिन्छ भन्ने कौतूहलता पाठकमा जागृत हुन थाल्छ। पैसाका लागि सबैथोक छोडेर विदेश पुगेका नारीको अवस्था कस्तो होला भन्ने यथार्थलाई यस उपन्यासमा देख्न सकिन्छ।  राजनीतिमा लागेर देशमा परिवर्तन ल्याउँछु भन्ने सपना बोकेका मानवीजस्ता धेरै नारीहरू पारिवारिक दबाब एवम् आर्थिक अभावका कारण कसरी खुम्चिनुपरेको छ भन्ने यथार्थलाई यस उपन्यासमा प्रस्तुत गरिएको छ।  

घर फकिर्ने समयमा मानवी गर्भवती भएकी छे। गर्भपतन नगराई उसले नेपाल आउने साहस गरेकी छे। आफूले जन्माएकी छोरी छोड्ने हो भने म तिमीलाई श्रीमती स्वीकार गर्छु भन्ने आफ्नो श्रीमान्को प्रस्तावलाई अस्वीकार गरेर मानवीले मातृत्वको पक्षमा अडान लिएकी छे। र, गम्भीर र मानवी सम्बन्ध बिच्छेद गरेर छुट्टिएका छन्।  

गम्भीरसँगको सम्बन्ध सकिएपछि प्रभात ढकाल र मानवीको अन्तरजातीय विवाह भएको छ।  प्रभातले मानवीलाई साथ दिएको छ भने मानवी पनि प्रभातसँगको सम्बन्धमा खुसी देखिन्छे। प्रभातको घरपरिवारले मानवीसँग प्रभातको बिहेलाई स्वीकार गरेका छैनन्। घर परिवारले स्वीकार नगरे पनि प्रभात र मानवीले विधिपूर्वक नै बिहे गरेका छन्।  तर, उनीहरूको सम्बन्ध पहिलेको जस्तै दाइ र बहिनी नै रहेको भए के हुन्थ्यो ? पहिल्यैदेखि मानवीले प्रभातलाई दाइ भनेर सम्मान गर्थी। प्रभात पनि मानवीलाई बहिनी भनेर माया गथ्र्यो। सम्बन्ध विवाहमै जोडिनुपर्छ र ? यो प्रश्न पाठकलाई पर्न सक्छ। यो बहसको कुरा हो।  

सार्थक शक्तिले चुनावमा भाग लियो। जनताले भारी मत दिएर जिताए पनि।  सार्थक शक्ति पार्टीको नेतृत्व र जनविकास पार्टी र राष्ट्रिय परिवर्तन दलसँगको सहकार्यमा नयाँ सरकारको गठन भएको प्रसङ्गसँगै उपन्यासले बैठानको मोड लिएको छ। युवाले चाहेमा जे पनि गर्न सक्छन् भन्ने उदाहरण सार्थक शक्तिका अध्यक्ष क्रान्ति प्रधानमन्त्री र प्रभात पूर्वाधार विकास मन्त्री भएको प्रसङ्गलाई उपन्यासकारले प्रस्तुत गरेका छन्।  

पाठकले नबुझ्ने पो हुन् कि भन्दै आदर्शलाई बढी प्रस्तुत गर्नु साहित्यमा दोष मानिन्छ। सबै कुरा आदर्शमा नै लगेर सक्नुपर्ने साहित्यकारलाई बाध्यता छ भन्ने सोच्नुहुँदैन। पाठकले सोच्ने ठाउँ लेखकले राखिदिने हो भने उपन्यास बढी विश्लेषणात्मक हुन पाउँदैन।  उपन्यासका केही प्रवाहमा समालोचकीय लाइन पनि आएका छन्।  

समाज र संस्कृतिलाई राम्ररी बुझेका लेखक दिलीप ढकालले यस उपन्यासमा नेपाली राजनीतिमा युवाको भूमिका, जातीय विभेदको अन्त्य, विकृति एवम् विसङ्गतिको अन्त्य गरी समतामूलक समाजको कल्पना गरेका छन्। सरल एवम् सम्प्रेष्य भाषाको प्रयोग र स्याङ्जा एवम् पोखरा क्षेत्रको आञ्चलिक भाषिक प्रयोगले रोचक बनेको उपन्यास नेपाली साहित्यिक पाठकहरूका लागि पठनीय कृति रहेको छ । 

प्रकाशित: २८ माघ २०७९ ०१:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App