१४ माघ २०७९ शनिबार
कला

महोत्सवमार्फत संस्कृति र परम्परा संरक्षण गरिंदै

बेनी बजारका १३ वर्षीय अप्रिम श्रेष्ठ हनुमान नाच नाचे। बेनीमा २२ वर्षयता नचाउन नसकिएको हनुमान नाच यस पटकको सातौं म्याग्दी महोत्सवमा प्रदर्शन गरिएको थियो। दुई दशक बढी समयपछि प्रदर्शन गरिएको उक्त हनुमान नाचमा बालकदेखि युवासम्मले नाचेपछि यसले धेरैको मन तान्न सफल भयो।

नेवार समुदायको ऐतिहासिक सांस्कृतिक धरोहरको रूपमा चिनिने हनुमान नाच महोत्सवमा देखाउन नेपाल भाषा मंकाखलले नयाँ पुस्तालाई तालिम र प्रशिक्षण दिएको थियो। मंकाखलले महोत्सवमा देखाएको नागा-नागीनी नाचमा छ वर्षका आरभराज श्रेष्ठ र छ वर्षकै सालिन श्रेष्ठले नृत्य देखाएका थिए।

अन्य संस्कृतिको प्रभाव बढ्दै जाँदा आफ्ना मौलिक संस्कृति हराएर जाने खतरा बढेपछि म्याग्दीका जातजाति आफ्नो मौलिक, कला, परम्परा, संस्कृति संरक्षणमा जागरूक बनेका छन्। कलाकारको अभाव र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुन नसकेको बेला तालिम दिएर नयाँ कलाकार तयार गरी हनुमान नाच देखाइएको मंकाखलका सांस्कृतिक संयोजक सञ्जयकुमार श्रेष्ठले बताए।

२०५७ भदौमा बेनीको माई भगवती मन्दिर निर्माण गर्न आर्थिक संकलनका लागि हनुमान नाच देखाइएको थियो। त्यसयता कलाकारको अभाव र नृत्य पुस्तान्तरण नहुँदा हराउँदै गएको नाचलाई मंकाखलले पुनर्जागरण गराएको हो। मृढंगना र झ्यालीको तालमा हनुमानको रूपधारण गरेका कलाकारले नृत्य देखाउने यस नाचमा सहभागी भएका थिए।

धेरैमा ११ जोडीले यस नाचमा नृत्य गर्न सक्ने हनुमान नाचलाई संरक्षण गर्न नेपाल भाषा मंकाखल म्याग्दीले तालिम नै सञ्चालन गरेको छ। यसपटकको म्याग्दी महोत्सवमा क्षत्री समाजले आफ्नो परम्परागत सरुन नाच र गुरुङ समुदायले घाटु नाच देखाएका थिए। महोत्सवले आम समुदायलाई आफ्नो संस्कृति, वेशभूषा र परम्पराको संरक्षणमा जागरूक बनाएको जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल बताउँछन्।

‘यसपटक महोत्सवलाई व्यापार व्यवसायको प्रवर्द्धनसँगै कला संस्कृति र पर्यटन प्रवर्द्धनमा जोड दिएका छौं, दैनिक रूपमा हरेक समुदायले आफ्नो मौलिक प्रस्तुति राखिरहनुभएको छ’, उनले भने। महोत्सव गाउँघरको संस्कृति शहरसम्म ल्याइपुर्‍याउने माध्यम बनेको छ। रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट सुरु भएको थाली नाच महोत्सवको आकर्षण बनेको छ।

हरेक दिनजसो नयाँ कलाकारले थाली नाचमा नृत्य प्रस्तुत गर्ने गरेको महोत्सवका सांस्कृतिक संयोजक समेत रहेका म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताए। उनले महोत्सवमा स्थानीय कलाकारलाई प्राथमिकता दिइएको कारण पनि यसपटक महोत्सव जिल्लाका कला, संस्कृति देखाउने थलो बनेको बताए।

धौलागिरि गाउँपालिका-७ ताकमको स्थानीय मौलिक संस्कृतिको रूपमा रहेको राधाकृष्ण नाच बेनीमा प्रदर्शन भएको थियो भने भने थकाली, मगर, छन्त्याल, परियार लगायतका जातजातिले आफ्नो संस्कृति, वेशभूषा र परम्परालाई महोत्सवमा प्रदर्शन गरेका छन्।

महोत्सवमा नेपाली विवाहको महत्वपूर्ण पाटो मानिने रत्यौली प्रर्दशन थप अर्को आकर्षण बन्यो। ताकम र राक्सेका आमा समूहसँगै ब्राह्मण र क्षेत्री समाजले मौलिकता देखिने गरी प्रस्तुत गरेको रत्यौलीले दर्शकमा विवाहकै झल्को दिएको थियो। महिला आफैंले बाजा बजाउने, जन्ती जाने, दुलहादुलहीसमेत बनेर विवाहको झल्को दिंदै रत्यौली गीत र नाचमा दर्शक समेत छमछमी नाचेका थिए।

देशभर आयोजना हुने महोत्सवमा आधुनिकताको प्रभाव बढिरहेको सन्दर्भमा म्याग्दी महोत्सवमा लोपोन्मुख र हराएर जाने अवस्थामा पुगेका संस्कृतिको पुनर्जागरण गराउनेमा जोड दिइएको म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले बताए। उनका अनुसार महोत्सवमा मौलिक संस्कृति जगेर्ना हुने गरी प्रतियोगिता समावेश भएका छन्। मगर, छन्त्याल लगायतका जातजातिको  पुर्ख्यौली नाचसमेत महोत्सवमा आयोजना गरिएको छ। चार समूह सहभागी भएको पुख्र्यौली नाचमा अन्नपूर्ण गाउँपालिका-८ काफलडाँडाको पुख्र्यौली समूह विजयी बने।

महोत्सवले लुकेका प्रतिभाको पहिचान र खोजी तथा मौलिक संस्कृतिको संरक्षणमा जोड दिएको प्रतियोगिताका संयोजकसमेत रहेका प्रथम उपाध्यक्ष शाक्य बताउँछन्। एकल लोकनृत्य प्रतियोगिता सम्पन्न भएको महोत्सवमा लोकदोहोरी गीत र गण्डकी लोकतारा प्रतियोगितासमेत समावेश गरिएको छ। स्थानीय कलाकारको प्रतिभा प्रस्फुटन गर्ने थलो बनेको महोत्सव कलाकारको प्रस्तुतिले संगीतमय बनेको छ भने नौमती बाजादेखि कलाकारको सांगीतिक प्रस्तुतिले महोत्सवस्थल गुञ्जायमान बनेको छ। रासस  

प्रकाशित: ५ माघ २०७९ ११:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App