coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

नाना, खाना र गाना

संस्कृति

राजधानीमा पढ्दै गरेकी बर्दियाकी निशा चौधरीलाई आइतबार आउँदै गरेको माघी पर्वले छपक्कै छोएको छ। मंगौरी, झुम्का र लेहेंगासँगै गट्टिया माला र पाउजुमा सजिएर टुँडिखेलको महोत्सवमा जाने योजना बनाएकी चौधरीले घुंगीको स्वाद चाख्दै थारु गानामा रमाउने सुनाइन्।

‘एक दिनका लागि भए पनि टुँडिखेल हाम्रा लागि ‘थरुवान’ जस्तै हुने छ,’ विगत ४ वर्षदेखि राजधानी बस्दै आएकी उनले भनिन्, ‘यहाँ हामी परम्परागत पहिरनसँगै थारु खाना र गानाको रमाइलो लिने छौं।’

मेलामा गएर ढिक्री, घाेंगी, दुधपुवा, गंगटा लगायतका थारु परिकारको स्वाद चाख्ने उनले सुनाइन्।  उनले भनेजस्तै मुलुकका विभिन्न भागबाट थारु समुदायले टुँडिखेलमा आयोजना हुने थारु माघी महोत्सवमा रमाउने भएका छन्। २०५९ सालदेखि राजधानीमा माघी महोत्सव मनाउँदै आएका थारु समुदायले यसपटक दुई दिन (पुस ३० र माघ १ ) माघी महोत्सव मनाउने थारु कल्याणकारी सभाले जनाएको छ।

महोत्सवमा थारु समुदायको कलासंस्कृति, भेषभुषा, हस्तकला, थारु खानाका परिकारसँगै नाचगान हुने आयोजकले जनाएको छ। ‘यो मनोरञ्जनसँगै हाम्रो कलासंस्कृति र खानपान प्रचार गर्ने अवसर पनि हो,’ चितवनबाट राजधानी बस्दै आएका हरेन्द्र चौधरीले भने, ‘साँघुरो टुँडिखेलमा मनाइने एक दिनको पर्वले हामीलाई सालभरको खुसी दिन्छ।’

हरेन्द्रले भनेजस्तै भौतिक रूपमा खुम्चिँदै गएको टुँडिखेलले विभिन्न जाताजाति र धर्मावलम्बीलाई फराकिलो खुसी दिँदै आएको छ। यो स्थान मुलुकभरबाट राजधानी बस्दै आएका विभिन्न जातजातिको साझा फूलबारी बन्दै छ।’

यही फूलबारीमा पुस १५ गते गुरुङ समुदायले तमु ल्होसार पर्व मनाए। परम्परागत गुरुङ पहिरनमा सजिएर आएका महिला, पुरुष तथा बालबालिकाले नाचगान गर्दै टुँडिखेलको रौनक बढाए। ल्होछार हेर्न अन्य समुदायका युवायुवतीको पनि बाक्लो भिड थियो। टुँडिखेलमा कार्यक्रम सुरु हुनुअगाडि गुरुङ समुदायको जीवनशैली झल्काउने झाँकी निस्केको थियो।

मखमल र भेलभेटको चोलो, घलेक, कटनको लुंगी, कालो मखमलको टिकिस, पटुका र मलिनको पछ्यौरीमा सजिएका युवतीहरूले हातमा चुरा, गलामा हरियो पोते, जन्तर, मुगाको माला, नौगेडी एवम् ठोकाकण्ठ, शिरबन्दी, लाहुरे फुली, ढुंग्रीले धपक्कै बलेका थिए।

त्यस्तै सेतो कछाड, मलायको पेटी, सेतो भोटो, कालो मखमलको स्टकोट र कालै मखमलको टोपीमा सजिएका पुरुष कानमा कुण्डल र घाँटीमा गलबन्दी लगाउँदै झनै राम्रा देखिए।

हरेक वर्ष ल्होछारका अवसरमा मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदान-प्रदान गर्ने गरिन्छ। तमु समुदायको मौलिक पहिरनमा सजिएका युवायुवतीले मेलाको आकर्षण बढाएका थिए। अझ गुरुङ गीतसंगीतसँगै सेल रोटी, अचार र गुन्द्रुकका परिकारसँगै माने रोटीको स्वादले अन्य समुदायका आगन्तुकको पनि मन जितेको थियो। ‘जात्रा जुनसुकै समुदायको पनि रमाइलो हुन्छ,’ जोरपाटीबाट आएका आनन्द घिमिरेले भने, ‘परम्परागत पहिरनमा सजिएर उनीहरूले पस्केको मौलिक परिवारले मनै रमाइलो बनाउँछ।’

अझ मंसिर २२ गते टुँडिखेलमा मनाइएको साकेला पर्वमा मनाइएको ‘सोई साई ला एएएए, हुर्रे हा हा, सोई ढोले सोई एएए अर्को ढोले खै?’ भन्दै राई समुदायसँग अन्य समुदायले पनि नाँच्दा त्यहाँको माहोल झनै रमाइलो बनेको थियो। परम्परागत भेषभुषा लगाएर किराँत समुदायले प्रस्तुत गरेको पारम्परिक ‘साकेला’ नृत्यमा ढोल, झ्याम्टाको धुनसँगै सिंगो टुँडिखेल नाँचेको भान हुन्थ्यो।

यसै दिन काठमाडौं उपत्यकालगायत देशैभरि छरिएर रहेका नेवार समुदायले योमरी पुन्हि पर्व मनाए। नयाँ धानको चामलको पिठोलाई माछाको जस्तो स्वरूप बनाएर त्यसभित्र चाकू हालेर बनाएको परिकारको स्वादमा थुप्रै रमाए। हाकुपटासीमा सजिएका नेवारी महिलाले भित्री सहरका गल्लीदेखि असन इन्द्रचोकमा बनाएका योमरी किन्नेमा नेवारदेखि गैरनेवार सुमदाय सबैको उस्तै भिड देखिन्थ्यो।  पुर्खाले चाडपर्व र संस्कृतिमा नाना, खाना र गानाको मिठो संयोजन गरेको संस्कृतविद् ओम धौभडेल सुनाउँछन्। ‘जाडोमा न्यायो लुगासँगै न्यानो खानाले जिउँलाई तताउने मात्र होइन,’ उनी भन्छन्, ‘नाचगानका माध्यमबाट मनलाई रमाइलो पार्ने कला पनि दिएका छन्।’

आइतबार माघी मनाएको टुँडिखेलले माघ ८ गतेको आइतबार तामाङ समुदायको सोनाम ल्होसारलाई स्वागत गर्ने छ। त्यहाँ फेरि परम्परागत पहिरन, खाप्सेरोटी र तामाङ-सेलोसँगै ‘नाना, खाना र गाना’ को अद्भुत संगम दोहोरिने छ। 

प्रकाशित: ३० पुस २०७९ ०२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App