coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘श्रीवल्ली’का पाँच लघुकथा

लघुकथा

१) भर्ना

म आर्थिक रूपले गरिब हुनुको कारण म होइन। मेरा बाबुआमा पनि गरिब थिए। बाबुआमा भन्नुहुन्थ्यो, उहाँका हजुरबाहजुरआमा पनि गरिब थिए रे। त्यसैले हाम्रो परिवार ऐतिहासिक गरिब हो।

म हुर्कँदै गर्दा सरकारले ‘सबैका लागि शिक्षा’ भन्ने नारा अघि सार्‍यो। यो नाराले गर्दा ममा पनि पढ्ने, जागिर खाने, पैसा कमाउने, धनी हुने, सुन्दर र सम्पन्न पारिवारिक सम्बन्ध बनाउने अभिलाषा पलायो। म सात वर्षकी छँदा हैजाले हैजाले मेरा बाबुआमाको मृत्यु भयो। मैले पेट पाल्न अर्काको घरमा भाँडा माझ्न थालें। मनमा लाग्यो स्कुल अर्को वर्ष भर्ना हूँला।तर, सोचे जस्तो भएन।

वर्षहरू बित्दै गए। म ११ वर्षकी थिएँ। घरधन्दा गर्न गएका ठाउँमा घरमालिकले मलाई अनेक बहानामा छुन थालेको थियो। मैले विरोध गरें। साहुनीले जागिरबाटै निकालिदिइन्।

समय फेरि पनि बित्यो। म १४ वर्षकी थिएँ। काम त फेरि पनि घरधन्दा थियो। एकदिन म बाथरुममा लुगा धोइरहेका बखत घरधनीले मलाई बलात्कार गर्न खोजें। मैले विरोध गरें। यस्तै घरायसी काम फेरिरहें। म जहाँ पुगें त्यहाँ मलाई बलात्कारको प्रयास हुन थाल्यो। खोई किन हो मैमाथि यो समाजले अन्याय गर्न खोज्छ?

२३ वर्षकी भएँ। घरधन्दाको काममा जाँदैछु। बाटामा स्कुल छ। स्कुलको गेटमा ‘शिक्षा आँखाको ज्योति हो’ भन्ने नारा लेखिएको छ। आज पहिलोपल्ट मलाई स्कुल देखेर रिस उठेको छ। स्कुलमा ताँत लागेर गइरहेका सानाठूला स्कुले विद्यार्थीसँग पनि आहारिस लागेको छ। मेरो बालसखा रविनले भर्खर ब्याचलर सक्यो रे। उसको प्रगतिमा म सधैं खुसी हुने मान्छे तर आज ऊसँग पनि रिस उठेको छ।

म अनायास स्कुलकै गेटअघि उभिएर त्यही नारासँग बर्बराइरहेकी छु, ‘म कहिले स्कुल भर्ना हुनु हँ?’

२) प्रार्थना

म धूले बाटो बजार जाँदै थिएँ। प्रचण्ड गर्मी थियो। बाटामा एउटा सिमलको रूख थियो। त्यो रूखको फेदमा एकजना वृद्ध बा सिँयाल तापिरहेका थिए। छेवैमा ७ वर्ष जतिको एकजना बालक बसिरहेको थियो। वृद्ध बा एउटा पुस्तक पढ्दै हुनुहुन्थ्यो। म पनि त्यही रूखमा पुगेपछि टक्क अडिएँ। वृद्ध बाले पुस्तकबाट आँखा मतिर लगाए।

मैले सोधें, ‘बा, के गर्दै हुनुहुन्छ?’

उनले उत्तर दिए, ‘गर्मी मापाको छ। सिँयाल तापेर यही पितृपुराण पढ्दै छु।’

मैले उनलाई सोधें, ‘कति वर्षको हुनुभयो?’

‘यही फागुनमा नब्बे लागें बाबु।’

उनले भने,‘मेरा बाबुसँग सन्तान थिए। सम्पत्ति थियो। समय थियो। घरद्वार थियो। सबैथोक थियो तर उहाँ भन्नुहुन्थ्यो ‘जीवन केही रहेनछ। जब हिंड्न थाल्छु चारैतिर दुखेर आउँछ।’

अहिले मैले बाबुले दिएको सम्पत्ति सकें। नासें। बाबुले मलाई यो पितृपुराण दिनुभएको थियो। पितृका लागि केही गर्न सकिनँ। त्यसैले पितृ उद्धारका लागि त्यही पितृ पुराण पढ्दैछु।

‘पढ्न सक्नुहुन्छ त?’

‘कण्ठै छ तर पनि पढिरहन्छु। यो नातिलाई पनि सुनाउँछु र पो मैलेझैं यसले पनि पितृ उद्धारका लागि प्रार्थना गर्छ त!’

३) हाँसो

आम्दानी र हैसियत राम्रै थियो मेरो। तर, म आफ्नै हैसियतसँग खुसी थिइनँ। बिहानै उठें। पालेलाई मेरो गाडी पुछिदिन भनें।

त्यसैबेला बुवाले भन्नुभयो, ‘काम-काम भनेर मर्लास्। आफ्नो ज्यानको पनि ख्याल राख्नुपर्छ।’

आमाले थप्नुभयो, ‘बाबु, बेलामा खानपीनको पनि विचार गर्नुपर्छ।’

गाडी स्टार्ट गर्न नै आँटेको थिएँ। श्रीमतीले भनिन्, ‘माइतमा पुराण लाग्दैछ। कति पुराना गहना लगाएर जानू। आउँदा एक सेट गहना ल्याइदिस्येला।’

छोरा बाहिर निस्केर भन्यो, ‘ड्याड, आफू गाडी चढेर बिहानै हिंड्यो। राति अबेर आयो। भैगयो। हाम्रो त भ्यालु छ र! कति यो हिरोहोण्डा मोटरसाइकल हाँक्नु? एउटा बुलेट मोटरसाइकल किनिदिनु भनेको, सुन्नुभएको होइन।’

छोरीले पनि यही बेला थपी, ‘मलाई एउटा राम्रो ब्राण्डेड स्कुटी किनिदिने भनेको आज होइन। तर, किनिदिएको भए पो। भो म भोलिदेखि त्यो खटारा स्कुटी चलाएर कलेज जान्नँ।’

यी कुरा उसले दिनहुँ फरक-फरक धार र कोणबाट सुनेकै कुरा हो। सुरुसुरुमा त यी कुराले केही फरक पर्दैनथ्यो, अचेल भने ऊ विदीर्ण हुन थालेको छ। त्यसो त ऊ रक्सी खाएका बेला हाँसेको भए हाँस्यो होला। नत्र उन्मुक्त नहाँसेको युग बितिसक्यो।

गाडी हाँकेर सडकमा निस्क्यो। बाटोमा एउटा मन्दिर थियो। मन्दिर पस्ने ढोकैमा एउटी बुढिया एउटा बालकलाई काखमा लिएर खेलाउँदै हाँस्दै थिइन्। हाँस्ता उनका मुखमा बाँकी रहेका एकाध दाँत गिजासहित हाँस्थे। ऊ यसरी हाँस्दै थिई, मानौ कि संसारको सबै हाँसो उसैमा केन्द्रीकृत छ। उसको यो हाँसो देखेर म अचम्ममा परें। यस्तो गरिबीमा पनि कसरी हाँस्न सक्छ मान्छे।

मैले उसलाई सोधें, ‘दिदी, कसरी यति मीठो हाँस्न सक्नुहुन्छ?’

उनले मलाई तलदेखि माथिसम्म नियालिन्। अनि झन् हाँस्तै जवाफ फर्काइन्, ‘सा‘ब, मसँग हाँसो छ, सम्पत्ति छैन। तपाईसँग सम्पत्ति छ, हाँसो छैन। मलाई सम्पत्ति दिनुस् र हाँसो लैजानुस्।

४) मुस्कुराहट

सम्झना छ, म त्यस्तै ६/७ वर्षकी थिएँ होला, आमाबुवा मलाई बाहिर खेल्न जाँदा गाली गर्नुहुन्थ्यो। म आमाबाबुलाई रूढ ठान्थें। म बढ्दै गएँ, ममाथि बाबुआमा मात्र होइन, समाजले अनेकौं कुरा उठाएर मलाई बाँध्न खोज्थ्यो। स्कुलमा शिक्षक एकदम राक्षसकै अवतार थिए। मेरा केटा साथी हिंस्रक लाग्थे। केटी साथी घमण्डी र ईर्ष्यालु लाग्थे।

मेरा लागि बाबुआमा, परिवार, दाजुभाइ, दिदीबहिनी, केटा साथी, केटी साथी तथा पूरै समाज वा समाजको पद्धति नै दुश्मन भएझैं लाग्दथ्यो। यो संसारलाई नै नकारात्मक सोच्दै थिएँ।

एउटा जण्डुले मलाई पहिले त फकायो। सकेसम्म फकाउने सबै फर्मुला लगायो। आइ लभ यु भन्यो। गिफ्ट ल्याइदियो। मेरो सुन्दरताको तारिफ गर्यो। तर, मैले दाल गल्न दिइनँ।

त्यसपछि उसले मेरो अपहरण गर्‍यो अनि पटकपटक महिनौसम्म बलात्कार गर्‍यो। म गर्भिणी भएँ। म गर्भिणी भएको चाल पाएर उसले मलाई स्वास्नीलाई झैं माया गर्न थाल्यो। मेरो सन्तानकी आमा भनेर चेपारो पार्न थाल्यो। मैले त्यो मुर्दारलाई अपनाइनँ। उसलाई छोडिदिएँ। छोरी पाएँ। म छोरी बोकेर त्यो शहर छोडेर भागें। अर्को शहरमा पुग्दा म एकदम कमजोर भएकी थिएँ। लाग्दथ्यो, सारा संसार पापी छ। निर्दयी छ। निर्घिणी छ। वैरी छ। त्यसैले म कसैसँग बात मार्दिनथें।

एक वर्षकी छोरी बोकेर लामो दूरीको बस यात्रा गर्दै थिएँ। छोरी चिन्नु न जान्नु पल्लो सिटको मान्छेसँग हाँस्तै थिई। त्यो मान्छे पनि मेरी छोरीसँग दिल खोलेर मुस्कुराउँदै थियो। आनन्दित हुँदै थियो। उनीहरू मुस्कुराएको देखेर म पनि मुस्कुराएँछु। अनि बल्ल मैले चाल पाएँ, पहिले आफू मुस्कुराए मात्र समाज मुस्कुराउने रहेछ।

५) मातृ औंसी

मेरी छोरीले मलाई आएर एकाबिहानै ‘ह्यापी मदर्स डे’ भनी। म भने आफैंलाई सम्झिंदै छु-म केटाकेटी थिएँ। सायद अलि बदमास पनि थिएँ कि जस्तो लाग्छ। स्कुल जान नमान्ने, बाबुआमासँग मुखमुखै लाग्ने, घर छोडेर बाहिर निस्कने, खेल्ने आदि गर्थें। यसको बदलामा मैले बाबुआमाको कुटाइ खानुपर्थ्यो। म आमाबुवालाई शत्रु जस्तै ठान्थें।

तर, जब मातातीर्थे औंसी आउँथ्यो, अनि मलाई मेरो बुबाले केही खानेकुरा वा सामान दिंदै भन्नुहुन्थ्यो, ‘आज मातातीर्थे औंसी हो। ल यो गिफ्ट आमालाई देऊ।’

मैले शत्रु ठान्ने आमालाई त्यो गिफ्ट दिंदा म कहिल्यै खुसी भइनँ। अनि मलाई लाग्थ्यो-मलाई रुवाउन किन आउँछ यो मातातीर्थे औंसी? किन आउँछ?

एसएलसी पास गरेपछि पढ्न म शहर गएँ। बाबुआमाको रिस र गालीबाट छुट्टी पाएकोमा आनन्द लागेको थियो। अचम्म हुन थालेको थियो कि म आमाबुवासँग २ सय रुपैयाँ माग्थें। उहाँहरू मलाई ३ सय रुपैयाँ दिनुहुन्थ्यो। म भने ठुस्किएर भन्थें, ‘पर्दैन धेरै!’

आमाबुवा भने भन्नुहुन्थ्यो, ‘छोरी शहरको ठाउँ, कहिले के पर्छ कहिले के पर्छ? यहाँ पो हामी थियौं। शहरमा त पैसै चाहिन्छ।

तर,मेरो रिस मरेको थिएन। एकदम पातलो घर जान्थें। मैले विए पास गर्न आँटेकी थिएँ। मेरो एकजना तल्लो जात भनिने केटासँग प्रेम भएको थियो। बिहे गर्न आँटेका थियौं।

मेरो केटाले भनेको थियो, ‘एकपल्ट आमाबाबुसँग सोध न।’

अचम्मै के भयो भने आमाबुवाले भन्नुभयो, ‘छोरी, तिमी अब ठूली भयो। राम्रो-नराम्रो छुट्याउन सक्ने भयौ। तिम्रो निर्णय हामीलाई मञ्जुर छ।’

म शहरमै थिएँ। आमाबुवा गाउँमै हुनुहुन्थ्यो। एकाएक खवर आएथ्यो कि बुबाआमा दुवै झाडापखालाले बित्नुभयो।

दिन र वर्षहरू धेरै बितेका छन्। तर, जब मातातीर्थे औंसी आउँछ म सधैं रुँदै भन्छु, ‘मलाई रुवाउन किन आउँछ यो मातातीर्थे औंसी?’

(कथाकार पोखरेलका लघुकथासंग्रह ‘श्रीवल्ली’मा सङगृहीत पाँच लघुकथा।)

प्रकाशित: १४ पुस २०७९ ०५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App