१६ मंसिर २०७९ शुक्रबार
कला

मतपत्रसामु बिलखबन्द मतदाता

गणतान्त्रिक मुलुकको म एक सार्वभौम नागरिक ! फेरि आफ्नो मौलिक अधिकार प्रत्यायोजन गर्ने अवसर प्राप्त भएको छ। यस्तो अवसरलाई किन त्यसै खेर जान दिनु ?

सोचिरहेछु, यति धेरै समयपछि हात लागेको यस्तो सुअवसरलाई खेर फाल्नु भनेको जीवनको ठूलो उपलब्धिलाई गुमाउनु हो। त्यसैले त्यो समयको व्यग्र प्रतीक्षामा छु म।

प्रतीक्षामा त छु तर त्यसभन्दा बढी सोचमग्न छु, यो अवसरलाई कसरी सदुपयोग गरूँ ! कल्पना गर्छु, ‘ब्यालेट बक्स’ सामुन्ने उभिएको हुन्छ र आफ्नो हातमा रहेको ‘मतपत्र’ त्यसमा खसाल्ने तैयारीमा हुन्छु।

त्यसभन्दा अघि–

मतदाताको पंक्तिमा उभिएको हुन्छु।

घमाइलो दिन, न्यानो घाम। अगाडि–पछाडिकाहरूको कुरा सुनिरहेको छु।

– ‘यसपालि पार्टी चेन्ज गर्ने भएँ मैले त !’ मभन्दा ठीक अगाडिकी युवती हाँस्दै भन्छिन्।

सँगैकी अर्की सही थाप्छिन्– ‘हो, म पनि चेन्ज गर्ने। कार्यकर्ता भए पो पार्टीलाई भोट हाल्ने, हामी त स्वतन्त्र नागरिक, म त नयाँ पार्टीलाई भोट दिने !’

– ‘म त टोटल्ली लाइन चेन्ज गर्ने !... पार्टीलाई नै नहाल्ने, स्वतन्त्र उम्मेदवारलाई भोट हाल्ने।’ अघिल्लो युवा केटोले आफ्नो मत जाहेर गर्छ।

‘खोई, के हाल्नु भोट यी ...हरूलाई !’ अश्लील गाली दिन्छन् पछाडिका पाको मान्छेले।

म चुप छु। बिल्कुल चुप। अहिलेसम्म निक्र्योल गर्न सकेको छैनँ, भोट पुरानैलाई हालूँ कि ! अर्को पार्टीलाई दिऊँ कि ! कि त युवकले भनेजस्तो स्वतन्त्र उम्मेदवारलाई छानूँ !

पंक्तिबद्ध भएको झन्डै एक घन्टापछि म आफ्नो मतदाता परिचयपत्रसहित निश्चित स्थानमा उभिन पुग्छु। नाम, नम्बर, ठेगाना दुरुस्त भएको पुष्टि गरिएपछि मेरो देब्रे हातको बुढी औँलामा निलो मसीको दाग लगाइदिन्छिन् एक कर्मचारी। अर्का कर्मचारीले तीन–चारवटा अलग–अलग पानाको ठूला मतपत्र मलाई थमाइदिन्छन्। त्यो एकसाथ लिएर छाप हान्ने गोप्य स्थानतिर लम्कन्छु।

अब खुल्ला छ एउटा मतपत्र मेरो अघिल्तिर। र, हातमा छ स्वस्तिक छाप।

छापदानीमा स्वस्तिक छाप चोपल्छु। मतपत्रमा छाप ठोक्न तयार हुन्छु, तर जब छाप उज्याउँछु, आफै अलमल पर्छु। के हो यस्तो ? मतपत्रमा सबैभन्दा माथिल्लो लाइनमा पहिलो दृष्टि पर्छ। ओहो! अंकित मतचिह्नहरू देखेर विस्फारित हुन्छन् आँखाहरू।

कस्ता खालका चिन्हहरू यी ?

सबै आश्चर्य लाग्दा छन् मतचिह्नहरू !

सबैभन्दा माथिल्लो लाइनमा जनावरहरूको चिह्न ! पहिलो चिह्न छ स्यालको। म सम्झन पुग्छु, साँझ पर्दा नपर्दै गाउँका कुखुराहरू चोर्न मौका छोपेर हुई... हुई... चिच्याउने स्यालको जमातलाई।  

लगत्तै, मेरा आँखाहरू मतपत्रको अर्को छेउमा अंकित मतचिह्नतर्फ पर्छन्, त्यहाँ देख्छु ब्वाँसाको तस्बिर। ब्वाँसो ! मैले कहिल्यै प्रत्यक्ष नदेखेको जनावर तर त्यसका बारेमा सुनिरहेको छु। कसैलाई हात पार्नेबित्तिकै मुख गाडेर सबै रगत तनतनी पिउने जनावर।  

स्वस्तिक छाप हान्न ठिक्क परिसकेको मेरो हात त्यसै त्यसै रोकिन पुग्छ।

त्यसपछि अलिक तलतिर आँखा दौडाउँछु। त्यहाँ पनि जनावरै जनावरको चिह्न। एउटा चिह्न छ बाँदरको। मलाई थाहा छ, बाँदर जो आफू पनि घर बनाउँदैन, अर्काको घर पनि बनाएको देख्न सक्दैन, भत्काइदिइहाल्छ।

त्यहाँबाट मेरा आँखा सर्छन् अर्को छेउतिर, त्यहाँ देख्छु भेडाको चित्र। भेडाका बोरमा म के बोलूँ ! अगाडिकाले जता–जता बाटो देखायो पछाडिकाहरू उतै–उतै हिँडिदिन्छन्। अर्कोले जे भन्यो त्यसकै पछि–पछि लाग्छन्।

मेरो दृष्टि तल्लो लाइनतिर पर्छ, ओहो गधा ! फेरि, त्यसको छेउमै कुकुरको चिह्न। भुकिरहेको कुकुर। काँचै मासुमा ज्यान फाल्ने ! हड्डीसमेत नछाड्ने। मनमनै लाग्छ, यी चिह्नहरूका सट्टा मृग, हरिणजस्ताको चित्र भए आँखा चिम्लेर छाप ठोक्न हुन्थ्यो। त्यसैले फेरि पनि मतपत्रमा आफ्ना आँखा दौडाउँछु। अहँ, मैले खोजेका चिह्नहरू पाउँदिनँ त्यहाँ। स्वस्तिक छाप हान्न तयार मेरो हात फेरि पनि रोकिई नै रहन्छ।  

अर्को मतपत्र हेर्छु। त्यसमा पनि आफूले नरुचाएका त्यस्तै चिह्नहरू भरिएका छन्।  

माथिल्लो पंक्तिमै देख्न पुग्छु छेपाराको चित्र, फेरि छेउमै सर्प। तल्लो पंक्तिमा देख्छु बिच्छी, त्यही छेउमै झुसिल्किरा। फेरि लामखुट्टे अनि झिँगा..., के के हो के के ! मनमनै सोच्छु, कसरी मत दिऊँ यस्तालाई ?

कम्तीमा पुतलीको चित्र भए त भइहाल्थ्यो ! अथवा माहुरीको। कि कमिलाको चिह्न भए पनि त सन्तोष गर्ने ठाउँ हुन्थ्यो नि ! एकपटक दोहो¥याएर त्यो मतपत्र पनि हेर्छु र आफूले एउटा चाहेजस्तो निश्चित चिह्न खोजिरहन्छु तर अहँ, पूरै मतपत्रमा माथिदेखि तलसम्मै सही चिन्ह देख्दिनँ।

अब अको मतपत्र हेर्छु। विडम्बना ! त्यसको रूप पनि फरक छैन। त्यसमा पनि त्यस्तै आफूले नचाहेकै चिह्नहरू देख्छु। सबैभन्दा माथिल्लो पंक्तिमा गिद्धको चित्र। गिद्धको रूप सम्झेरै वाकवाकी लागेर आउँछ। सिनो पनि लुछिलुछी खाने जीव। मेरा आँखा त्यो चिह्नमा अडिरहनै सक्दैनन्। तत्काल अर्को छेउमा सर्छन्, त्यहाँ थियो बाजको चित्र। त्यसको छेउमै थियो चिल, फेरि काग, यस्तै–यस्तै। सोच्छु, यी चिह्नहरूको सट्टा डाँफे, मुजुरको चिह्न भए क्या जाती हुन्थ्यो। त्यति नभए गौँथलीकै चिह्न भए पनि क्या काइदा हुन्थ्यो ! तर, सबै मतपत्रमा जति चिह्न छन् ती सब दुष्ट मति भएका जन्तु, पक्षी, किराफट्यांग्राका छन्।  

तैपनि फेरि एकपटक सम्पूर्ण मतपत्रमा अंकित चिह्नहरूमा दृष्टि पु¥याउँछु। उफ् ! आफैसँग हार्छु। ज्यान गए मेरो मनले ती मतपत्रका कुनै पनि चिह्नमा स्वस्तिक छाप ठोक्ने स्वीकृति दिँदैन।

अब के गरूँ ? मतपत्रहरू च्यातेर फालूँ भने संविधान उल्लंघन गरिएको हुने, त्यसैका आधारमा कारवाही भोग्नुपर्ने हुन्छ। त्यसमाथि, भोट हाल्नकै लागि भनेर त्यति लामो समय लाइनमा बसेर आइसकिएपछि चिह्न मन परेन भनेर भोट नहाली त्यत्तिकै किन फर्किनु ?

मतपत्रहरू खुल्लै थिए। आँखाहरू फेरि पनि तिनै चिह्नहरूमा पर्छन्। भनन... रिँगटा लागेजस्तो हुन्छ। हातमा स्वस्तिक छाप छँदै थियो, छापदानीमा चोपल्छु र आँखा चिम्लेर मतपत्रमा छाप ठोक्न तयार हुन्छु तर मनले मान्दैन। तत्काल आदेश दिन्छ– ‘नहान, छाप नहान !’ हो त नि ! सोच्छु, ‘मन नपरी–नपरी किन ठोक्नु छाप ?’

आँखा खोल्छु। सबै मतपत्रहरूलाई बिनास्वस्तिक छाप सर्लक्क पट्याउँछु र सरासर गएर मतपेटिकामा सटासट खसाल्छु। अनि ढुक्कले निस्कन्छु। निस्कँदा, एक मतदाताको कर्तव्य पूरा गरेकोमा गर्वले उठेको हुन्छ मेरो शिर। म कल्पनामै फुरुङ्ङ भएको छु।

bimalbhaukajee@hotmail.com

प्रकाशित: ३ मंसिर २०७९ ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App