२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

बागमती, गण्डकी र मधेस प्रदेशमा एमालेको प्रतिनिधि शून्य

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ। अन्तिम परिणाम नजिकिँदै जाँदा नेकपा (एमाले) तीन प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्वविहीन हुने संकेत देखिएको छ।

फागुन २१ गते भएको मतदानको सार्वजनिक नतिजाअनुसार सबैभन्दा बढी सिट जित्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो शक्तिका रूपमा उभिएको छ। समाचार तयार पार्दासम्म रास्वपाले ११२ भन्दा बढी सिटमा जित हासिल गरिसकेको छ भने थप १४ सिटमा अग्रता कायम राखेको छ। रास्वपाले सबै प्रदेशबाट प्रतिनिधित्व सुनिश्चित गरेको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १५ सिट जितेको छ भने थप २ क्षेत्रमा अग्रता कायम राखेको छ। कांग्रेसले पनि सबै प्रदेशबाट प्रतिनिधित्व कायम गरेको छ।

तेस्रो शक्तिमा खुम्चिएको नेकपा (एमाले) ले प्रत्यक्षतर्फ हालसम्म ७ सिट मात्र जितेको छ भने जारी मतगणनामा ३ क्षेत्रमा अग्रता बनाएको छ।

त्यसैगरी अर्को कम्युनिस्ट पार्टी नेकपाले ६ सिटमा जित हासिल गरेको छ भने थप १ क्षेत्रमा अग्रता बनाएको छ। श्रम संस्कृति पार्टी र राप्रपाले १/१ सिट जितेका छन् भने एक स्वतन्त्र उम्मेदवारले पनि विजय हासिल गरेका छन्।

जेनजी आन्दोलनपछि विशेष परिस्थितिमा भएको यस निर्वाचनमा विगतमा शक्तिशाली मानिएका दलहरू, नेपाली कांग्रेस, नेकपा एमाले, मधेसवादी दलहरू तथा राप्रपालगायतका दलहरू आश्चर्यजनक रूपमा खुम्चिएका छन्।

२०७९ सालको संसदीय निर्वाचनमा ७८ सिट जितेको नेकपा एमाले यसपटक प्रत्यक्षतर्फ चार वटा प्रदेशबाट मात्र संघीय संसदमा प्रतिनिधित्व गर्ने अवस्थामा पुगेको छ। हालसम्म कोशी प्रदेशमा ३, सुदूरपश्चिममा २, कर्णालीमा १ र लुम्बिनीमा १ सिट जितेर प्रतिनिधित्व गरेको छ।

यससँगै बागमती, गण्डकी र मधेस प्रदेशमा भने एमाले शून्य हुने अवस्था देखिएको छ।

एमालेका तर्फबाट कोशी प्रदेशमा इलाम–२ बाट सुहाङ नेम्वाङ र ताप्लेजुङबाट क्षितिज थेवे निर्वाचित भइसकेका छन् भने इलाम–१ को अन्तिम नतिजा आउन बाँकी छ। सो क्षेत्रमा जारी मतगणनामा एमालेका काजीमान कागते अग्रतामा रहेका छन्।

प्रकाशित: २४ फाल्गुन २०८२ १५:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App