१२ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

हिजो देउवाविरुद्ध एक ढिक्का कास्की कांग्रेसका नेता आज छुट्टाछुट्टै समूहमा

कास्कीमा कांग्रेसको विशेष महाधिवेशन हुनुअघिसम्म अहिलेको संस्थापन पक्ष देउवाविरुद्ध मोर्चा कस्थ्यो। देउवा पक्षलाई कमजोर बनाउन तत्कालीन संस्थापनइतर पक्ष एक ढिक्का भएर लड्थ्यो।

तर अहिले परिस्थिति फेरिएको छ। हिजो देउवा समूहविरुद्ध एक ढिक्का भएर मोर्चा कस्ने तत्कालीन संस्थापनइतर पक्ष अहिले भने आफू आफू नै छुट्टाछुट्टै समूह बनाएर आपसमा उत्रिएका छन्। विशेष महाधिवेशनपछि देउवा समूह छुट्टिएसँगै हालको संस्थापन पक्षमा रहेका नेताहरू आफू अनुकूल पात्रलाई चुनाव जिताउन समूह बनाएर आपसमै प्रतिस्पर्धामा उत्रिन थालेका हुन्।

अझ रोचक कुरा त के छ भने विगतमा देउवा समूहमा रहेका तर अहिले संस्थापन पक्षमा रहेकाहरूलाई टाउको उठाउन नदिने रणनीतिसमेत अपनाएको पाइएको छ। खास गरेर नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराललगायतका नेताहरू विगतमा देउवा समूहमा रहेकाहरूविरुद्ध अहिले पनि अनुदार देखिएका हुन्।

कास्की कांग्रेसको नेतृत्वका लागि अहिले समूह समूह बनाएर चुनावी प्रतिस्पर्धामा जानेगरी तयारी भइरहेको छ। कास्की कांग्रेसको सभापतिमा मनोज गुरुङ, युवराज कुँवर, देवेन्द्र रानाभाट, सुदीपमोहन भट्टराई र नवीन सिग्देलले उम्मेदवारी दिने भन्दै तयारी गरेका छन्। सभापतिको दाबेदारी गरिरहेका मध्ये गुरुङ विगतमा देउवा समूह, रानाभाट शेखर कोइराला समूहमा थिए भने बाँकी कुँवर, भट्टराई र सिग्देल गगन पक्षमा थिए।

सभापतिको दाबी गरिरहेका गुरुङ हाल कास्की ३ को क्षेत्रीय सभापति तथा तरुण दल कास्कीका पूर्वअध्यक्ष हुन्। विशेष महाधिवेशनपश्चात् देउवा समूह छाडेर संस्थापन पक्षमा खुलेका उनीविरुद्ध पहिलेदेखि नै गगन निकट मानिने पूर्व क्षेत्रीय सभापति युवराज कुँवर पनि मैदानमा छन्। त्यसबाहेक विशेष महाधिवेशन अघिसम्म कोइराला समूहमा रहेका देवेन्द्र रानाभाट पनि सभापतिको दौडमा छन्।

हाल जिल्ला सचिव रहेका रानाभाटले गगन समूहबाटै अघिल्लो चुनावमा सभापतिमा पराजित सुदीपमोहन भट्टराई र हाल जिल्ला सहसचिव नवीन सिग्देलसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ। युवाले हस्तक्षेपकारी भूमिका खेलेर नेतृत्व लिनुपर्छ भन्ने निष्कर्षसहित सिग्देलले सहसचिवबाट सिधै अध्यक्षको दाबी गरिरहेको स्रोत बताउँछ। तर सभापतिको उम्मेदवार बन्नका लागि कांग्रेस महाधिवेशन प्रतिनिधि बन्नुपर्ने प्रावधान छ। सोहीअनुसार क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि बन्न उनीहरूको दौडधुप छ।

पहिले देउवा समूहविरुद्ध लाग्नेहरू अहिले आपसमै भिड्दा पार्टी एकताबद्ध हुनुको सट्टा थप कमजोर बन्ने युवा नेता सुवर्ण केसी बताउँछन्। भन्छन्,‘कास्कीमा गुटगत लडाइँ सकिनुको सट्टा झन् मौलायो। यसले पार्टीलाई कमजोर बनाउँछ।’ विगतमा देउवा समूहमा रहेर क्याम्प परिवर्तन गरेकाहरूलाई पत्ता साफ बनाउन पहिलेदेखि नै गगन समूहमा रहेकाहरू सक्रिय रहेको उनको आरोप छ। ‘अहिले पनि हिजो को कसको पक्षमा थियो भनेर एक्लाउँदै पत्ता साफ गर्नु गलत हो, नेताहरू सच्चिनुपर्छ’–उनले भने।

जिल्लामा देखिएको गुटगत प्रतिस्पर्धा क्षेत्र, प्रदेश क्षेत्र हुँदै स्थानीय तह र वडासम्मै देखिएको जानकारहरू बताउँछन्। सोमबार भएको क्षेत्रीय अधिवेशनअन्तर्गतको उम्मेदवारी दर्ताको समयसम्म कास्की १ मा सभापतिका लागि ३ जनाको उम्मेदवारी परेको छ। जसमा ओमप्रकाश गुरुङ, सरोज केसी र अप्सरा श्रेष्ठले उम्मेदवारी दिएका हुन्। यहाँ यसअघि रामचन्द्र पौडेल निकट रहेका कृष्ण केसीका छोरा सरोज केसीलाई जिताउन स्वयं केसीसहित क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछाने, सुदीपमोहन भट्टराईलगायत लागिपरेका छन्। उनकाविरुद्ध ओमप्रकाश गुरुङ र अप्सरा श्रेष्ठलाई पूर्वजिल्ला सभापति यज्ञबहादुर थापा, वर्तमान जिल्ला सभापति किशोरदत्त बराललगायतले उचालेका छन्।

कास्की २ मा देवकृष्ण पराजुली, सुवास सिग्देल र नवीन बरालबिच प्रतिस्पर्धा हुने भएको छ। सिग्देललाई विगतमा देउवा समूहमा रहेर हाल क्याम्प परिवर्तन गरी संस्थापन पक्षमै बसेका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद विन्दुकुमार थापालगायतको समर्थन छ। बराललाई शुक्रराज शर्मासहित पार्टीका केन्द्रीय प्रवक्ता देवराज चालिसे, माधव बास्तोलालगायतको समर्थन छ। पराजुलीलाई भने पूर्व क्षेत्रीय सभापति वीरेन्द्र बिजुक्छेको समर्थन छ। दुई समूहमा विभाजितलाई मिलाउन सक्ने पराजुली भएकाले अगाडि सारिएको उनी निकट एक नेता बताउँछन्। बाहिर खुल्न नचाहने उनले भने,‘दुवैलाई ब्यालेन्स गर्न ल्याइएको पात्र हो पराजुली।’

कास्की ३ मा पनि सभापतिका लागि प्रकाश बराल र विष्णुबहादुर क्षेत्रीबिच प्रतिस्पर्धा हुने भएको छ। सिटौला समूह छाडेर संस्थापन पक्षमा लागेका क्षेत्रीले सभापतिका लागि उम्मेदवारी दिएपछि उनलाई पार्टी प्रवक्ता देवराज चालिसेलगायतले ब्याकअप दिएको बताइन्छ। उनलाई प्रदेश सभापति शुक्रराज शर्माको पनि बाहिरी समर्थन रहेको हल्ला छ।

तर नाताले भान्जा पर्ने बराललाई शर्माले भित्रभित्रै सहयोग गर्ने स्रोतको दाबी छ। प्रदेश सभा सदस्यसमेत रहेका बराललाई युवराज कुँवर, मनोज गुरुङलगायतको पनि समर्थन रहेको एक नेताले बताए। हिजो र आजको परिस्थिति फरक छ, उनले भने,‘हिजो एउटै समूहमा भएर पनि अहिले छुट्टाछुट्टै समूह बनाएर प्रतिस्पर्धा भएको हो।’

प्रकाशित: १२ आश्विन २०८३ २०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App