भक्तपुरका धेरै जात्राहरूमध्ये एउटा अनौठो जात्रा सोमबारदेखि सुरु भएको छ। प्रत्येक वर्ष इन्द्रजात्राको क्रममा हुने मुपात्र जात्रा सुरु भएको हो। भक्तपुरको इन्द्रजात्राको छैटौँ, सातौँ र आठौँ दिन यहाँ मुपात्रको जात्रा हुने गर्दछ।
पहिलो दिनको मुपात्र जात्रा भक्तपुरको दतात्रय नजिकैको सकोलानबाट साँझ सुरु भएको थियो। जात्राको क्रममा भक्तपुर नगरपालिका वडा न ९ सकुलान टोलबाट राक्षसको पोसाक लगाई अनुहारमा विभिन्न रङ्ग लगाई शृङ्गार पटारका साथ तरवार समातेर तीन जना मानिस निस्केका थिए। तिनीहरूमध्ये बिचमा मुपात्र र उनको दुई छेउमा उही राक्षसको पोशाकमा दुई जना थिए, जसलाई स्थानीय भाषामा धि:चा (मुपात्रका सहायक) भनिन्छ।
जात्राको क्रममा उनीहरूले नगर परिक्रमा गरेका थिए। यो क्रममा उनीहरूले नगरका ठाउँ ठाउँमा रहेका यमद्य (इन्द्रजात्राको पहिलो दिन नगरको विभिन्न २१ ठाउँहरूमा उभ्याइएको इन्द्रका छोरा जयन्तको प्रतिकस्वरुपको लिंगो) लाई तीन चोटि तरवारले प्रहार गरी तीन चक्कर लगाउँदै नगर घुमेका थिए। परम्परा अनुसार मुपात्रको अगाडि अगाडि यामता (त्रिशूल आकारको बत्ती) निकालिएको थियो। त्यही यामताको पछिपछि मुपात्रा लैजाने गरिएको थियो।
गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरले जनाए अनुसार पहिलो दिनको मुपात्र जात्रा साकुलानबाट सुरु भए पनि दोश्रो दिन (यो वर्ष मंगलबार) आश्विन कृष्ण तृतीयाको बेलुका भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीबाट साँझ जात्रा सुरु हुन्छ। तेश्रो तथा अन्तिम दिन भक्तपुर नगरपालिका वडा नं १ तेखापुखूबाट मुपात्र जात्रा सुरु हुन्छ। जात्रा जहाँबाट सुरु भए पनि नगर परिक्रमा गरेर सकिन्छ। जात्रा हेर्नका लागि नगरका जात्रा हुने स्थानका दुवैतिर बाटोभरि सर्वसाधारणको भीड लागेको देखिन्थ्यो।
मुपात्र जात्रा भक्तपुरको इन्द्रजात्राको प्रमुख आकर्षणको रूपमा लिइन्छ। इन्द्रजात्राको अन्तिम दिन यहाँ धूमधामका साथ पुलुकिसी जात्रा पनि मनाउने गरिन्छ।
संस्कृति अध्येता जिआर रञ्जितका अनुसार मुपात्र भन्नाले मत्र्यमण्डलका एक क्रूर शासक हो, जो हरेक अपराधीलाई क्रूरतापूर्वक सजाय दिन्छ। तथापि मुपात्रलाई मुख्य पात्र भनिनेहरू पनि धेरै छन्। सम्भवतः मुपात्र एक शासक भई बिचमा बस्ने र दुईतिर धि:चा नामक आफ्नो सहायक अर्थात् मन्त्रीहरू राखेर आउने गरेका कारण मुख्य पात्र भनिएको हो। मुपात्रलाई कतैकतै दैत्यराज पनि भनिने उनी सुनाउँछन्। सम्भवतः मुपात्र एक दैत्य स्वभावको भएकै कारण मुपात्रलाई दैत्यराजको संज्ञा दिइएको हो।
मुपात्र ल्याउने बेला जात्रालुहरूले ठुलठुलो स्वरमा ’ह्याचायगू कप मुपात्र, गेरा म्येसा ला’ अर्थात् हाँसको टाउको र गैँडाको मासु खाने मुपात्र भन्दै जिस्क्याउने गर्दछन्। यसरी हाँसको टाउको भनेको जो कोहीले खान पाउँदैन। यो भनेको परिवारको सबैभन्दा ठुलो सदस्यले मात्र खान पाउँछ। यस अर्थले मुपात्र पनि राज्यको ज्येष्ठ व्यक्ति भएरै यसो भनिएको हुनुपर्ने र गैँडाको मासु जो कोहीले खान सक्दैन। त्यस्तो हिंसकको संज्ञा दिन यस्तो भनिएको हुनसक्ने उनी औँल्याउँछन्।
ऐतिहासिक कथन अनुसार च्वथा गणेशलाई पूजा गर्न नभई नहुने एक विशेष फल (किप) स्वर्गमा पनि हुन लागेको च्वथा पूजा गर्न लिन मत्र्यमण्डल आएका इन्द्रका छोरा जयन्तले कसैलाई नसोधी टिप्न खोज्दा जनताहरूले चोर भनी समातेर टोलको मुख्य चोकमा बाँधेर राखेपछि ती चोरको हात काट्न मुपात्र स्वयम् धिचाहरूसँग आई यमद्य:को हात काट्न आउने कथन छ। जसको प्रतीक यमद्य:लाई तीन पटक घुमेर आफूले बोकेको खड्गले छुने गर्दछ। यसरी जयन्तको हात काटेकै कारण मुपात्रलाई एक जल्लादको रूपमा पनि प्रस्तुत गर्न सकिने बताइन्छ।
प्रकाशित: १२ आश्विन २०८३ २०:०५ सोमबार





