२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

स्विङ भोट: नयाँलाई आश, पुरानालाई त्रास

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रबिच गठबन्धन हुँदासमेत एक सय ९३ मतले पराजित नेकपा एमालेका महासचिव शंकर पोख्रेल यस पटक जित निकाल्न भरपुर कसरतमा छन्। अघिल्लो पटक प्राप्त मतलाई सुरक्षित राखेर नयाँ केही मत थप्न सके जित निकाल्न सकिने उनको विश्वास छ। जित निकाल्न उनी ‘स्विङ’ मतदाताको मत तान्ने योजनामा छन्। कतिपय अवस्थामा स्विङ मत निर्णायक बन्ने गरेको छ। यसलाई मौन समूह पनि भनिन्छ।

यो समूहलाई राजनीतिक भाषामा ‘नन–पोलिटिकल’ वा अस्थिर मतदाता भनिन्छ। लहरअनुसार चल्ने भएकाले यो मतलाई स्विङ भनिएको हो। कुनै दल र संगठनप्रति प्रतिबद्ध नहुने भिड र लहरमा आकर्षित हुने यो मतलाई आफ्नो पक्षमा पार्न सके सहज जित निकाल्न सकिने उनको ठम्याइँ छ। उनी दाङ–२ बाट निर्वाचन प्रतिस्पर्धामा छन्।

दाङ–३ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीपक गिरी पनि अघिल्लो पटक प्राप्त मतलाई सुरक्षित राख्दै ‘स्विङ’ मत आफ्नो पक्षमा पार्ने प्रयासमा छन्। अहिले नयाँ शक्तिका पक्षमा पर्न सक्ने देखिएको यो मतलाई रोकेर आफ्नै पक्षमा पारेर लगातार दोस्रो जित निकाल्ने दाउमा उनी छन्।

पोख्रेल र गिरी मात्रै होइन, अन्य दलीय र स्वतन्त्र उम्मेदवारको नजर पनि यही ‘स्विङ’ मततिर परेको छ। दाङमा तीनवटा निर्वाचन क्षेत्र छन्। स्विङ मत अहिले नयाँ दलहरुप्रति आकर्षित भएको देखिन्छ। जिल्लामा यो मत निर्णायक हुन सक्छ। ‘स्विङ मत भिड र लहर जता छ  त्यतै आकर्षित हुन्छ,’ महेन्द्र बहुमुखी क्याम्पसमा राजनीति शास्त्रका प्राध्यापक डा. सुदिप गौतम भन्छन्, ‘यस्ता मतदातालाई न दलका अजेन्डाले आकर्षित गर्छ न उम्मेदवारको व्यक्तित्वले प्रभाव पार्छ। यो मत दाङ जिल्लाको सन्दर्भमा हेर्दा निर्णायक बन्दै आएको छ।’

‘पुराना दलहरुले केही गर्न सकेनन्’ भन्ने नकारात्मक भाष्यको बढोत्तरी भएको अहिलेको अवस्थामा ती दलका उम्मेदवारले जितका लागि स्विङ मत पक्षमा पार्नुपर्ने देखिरहेका छन्। त्यसमाथि पुराना दलहरुलाई दोषारोपण गरेर चुनावी मैदानमा होमिएका नयाँ राजनीतिक शक्तिले यो मतलाई आकर्षित गर्न हरेक प्रयास गरेका छन्। ‘जसरी नयाँ दलहरुप्रति अहिले लहर देखिएको छ त्यही लहरमा स्विङ मत पनि बग्ने हो कि भन्ने चिन्ता पुराना दलहरुमा छ,’ नेपाली कांग्रेसका एक नेताले भने, ‘तर हिजो हाम्रो पक्षमा रहेको यो मतलाई अहिले पनि हामी सुरक्षित राखेर अगाडि बढ्छौं।’

रास्वपा भने यो मतको एक्लो हकदार आफू भएको ठान्छ। पुराना दलहरुले केही गर्न नसकेकाले विकल्पका रुपमा आफू अगाडि आएको चुनावी नारा बनाएको रास्वपाले यही नारामार्फत नै स्विङ मतलाई पक्षमा पार्न खोजिरहेको छ।

युवा, नयाँ मतदाता र सहरी मतदाता स्विङ हुने सम्भावना बढी हुन्छ। रास्वपाको अभियान पनि सहर र युवाकेन्द्रित छ। युवा तथा नयाँ मतदातालाई प्रभावित गर्ने गरी रास्वपाले विभिन्न माध्यमबाट सन्देश प्रवाह गरिरहेको छ।

रास्वपाले युवामाझ लोकप्रिय देखिएका बालेन्द्र शाहलाई भावी प्रधानमन्त्री प्रस्तुत गरी देशव्यापी चुनावी दौडाहमा निकालेको छ। बालेन्द्र दौडाहाको अर्थ पनि यही मतलाई प्रभावित पार्ने हो। बालेन्द्रको पक्षमा देखिने पनि युवा, नयाँ मतदाता र सहरी मतदाता छन्।

स्विङ मत तान्न रास्वपाले गरेको प्रयासलाई विफल पार्ने दाउनमा पुराना दलछन्। उनीहरुले पनि सहरी, नयाँ र युवा मतदातालक्षित अभियान चलाइरहेका छन्। नेपाली कांग्रेसले अहिले नयाँ पार्टीका रुपमा आफूलाई चिनाउन खोजिरहेको छ।

नयाँ मतदाता, युवा मतदातालाई प्रभावित पार्न उसले भावी प्रधानमन्त्रीका रुपमा पर्टी सभापति गगनकुमार थापालाई अघि सारेको छ। ‘नेपाली कांग्रेस अब पुरानो पार्टी रहेन, नयाँ र युवा नेतृत्वसहित कांग्रेस रुपान्तरित भएर चुनावी मैदानमा छ,’ नेपाली कांग्रेसका सहमहामन्त्री एवं क्षेत्र नम्बर १ का उम्मेदवार योगेन्द्र चौधरीले भने, ‘पुराना मतदातासंगै युवा र नयाँ मतदाताको हित गर्ने पार्टी भनेकै अब कांग्रेस मात्रै हो, हामी नयाँ कांग्रेसको यही नयाँ सन्देशसहित चुनावी मैदानमा छौं।’

दाङमा स्विङ मत १५ देखि २५ प्रतिशतसम्म रहेको अनुमान छ। यो मत हारजितका लागि करिबकरिब निर्णायक हुने प्राध्यापक गौतम बताउँछन्। यस्ता मतदातालाई प्रभावित पार्न कार्यकर्ताका सामु प्रस्तुत गरिने भन्दा फरक अजेन्डा बनाउनु पर्ने गौतमको बुझाइ छ। ‘पार्टीका कट्टर समर्थकभन्दा अनिश्चित मतदातालाई विश्वस्त पार्ने खालका अजेन्डा प्रस्तुत गरियो भने यो मत प्रभावित बन्न सक्छ,’ गौतम भन्छन्, ‘अन्यथा यो मत बहकिने खतरा रहन्छ। त्यसैले यो मतलाई स्विङ हुनबाट रोक्न उनीहरुको चाहना बुझेर अजेन्डा बनाउनुपर्छ।’

प्रकाशित: १० फाल्गुन २०८२ ०७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App