सरकार, संसद र पार्टीमा प्रभाव राख्ने नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै सुनसरी क्षेत्र नं. ४ बाट रास्वपाका दिपक साह विजयी भएका छन् ।
यो क्षेत्र नं. ४ लाई नेपाली राजनीतिको लागि महत्वपूर्ण मानिन्छ । भोक्राहा नरसिंहका साहले ४२ हजार ७७१ मत ल्याएर विजयी भएका हुन् । उनले काँग्रेसका कार्कीलाई २६ हजार १८४ मतान्तरले हराएर विजयी भएका हुन् । कार्कीले १६ हजार ५८७ मत ल्याए । कार्की २०७४ र २०७९ सालको प्रतिनिधीसभामा विजयी भएका थिए । साहले सम्भवतः कार्कीको संसदीय यात्रामा ब्रेक समेत लगाई दिएका छन् । ३४ जना उम्मेदवारले भाग लिएको यो क्षेत्रबाट एमालेका उम्मेदवार जगदीसप्रसाद कुसियतले आठ हजार ६६१ मत ल्याएका छन् । काँग्रेसका कार्कीले अघिल्लोपटक एमालेका कुसियतसँग झिनो मतान्तरले विजयी भएका थिए ।
विजयी साहको पृष्ठभूमि इन्जिनियर हो । उनी सिके राउतको जनमत पार्टीको केन्द्रीय उपाध्यक्ष भएर पछि विवाद भएपछि अर्को पार्टी जनस्वराज, सर्वोदयबाट उज्यालो पार्टी हुँदै रास्वपाबाट उम्मेदवार बनेर पहिलोपल्ट संसदीय यात्रा सुरुवात गरेका हुन् । उनका सामु बर्षौदेखि सप्तकोशी नदीको कटान, कोशीटप्पु बन्यजन्तु आरक्षबाट निस्किएर जंगली हात्तीले मच्चाउने आतंकबाट पीडितको समस्या समाधान गर्ने, गरिवी न्यूनीकरण गर्ने र बरोजगारी समस्या समाधान गर्ने जस्ता मुद्दा समाधान गर्न निकै चूनौतीपूर्ण रहेका छन् ।
क्षेत्र नं. ४ मा इनरुवा नगरपालिकाका तीनवटा, बराहक्षेत्रका ६ वटा, कोशी र भोक्राहा नरसिंह गाउँपालिकाका आठ(आठवटा वडा, हरिनगर गाउँपालिकाका वडा नं. ३ बाहेक छवटा तथा रामधुनी नगरपालिकाको एउटा गरि ३२ वटा वडा रहेका छन् ।
२०४८ सालयता यस क्षेत्रले पटक पटक प्रधानमन्त्री तथा अन्य मन्त्रीहरू पाएपनि विकासमा भने पछि पर्दै आएको छ । सुनसरी क्षेत्र नं. ४ मा गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा क्षेत्र नं. ४ मा परेको बेला, ०५१ सालको मध्यावधि निर्वाचनमा र ०५६ सालको संसदीय निर्वाचनमा क्षेत्र नं. ५ मा परेका बेला जितेका थिए । ०५३ सालको उप निर्वाचनमा भने एमालेका जगदीस कुसियतले नै जितेका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा गिरीजाप्रसाद कोइरालाकी छोरी सुजाता पराजित भएकी थिइन् । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले चुनाब जितेका थिए । २०७४ र २०७९ सालको निर्वाचनमा नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले जितेका थिए ।
क्षेत्र नं. ४ मा यसपटक एक लाख ३५ हजार ३४० जना मतदाता रहेकोमा ८५ हजार १३७ मत खसेको थियो । जसमा छ हजार ६७४ मत बदर भएको थियो ।
प्रकाशित: २४ फाल्गुन २०८२ २२:४४ आइतबार





